PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

कोरोनाको जोखिममा युवा : नेपालमा ५५ प्रतिशत भन्दा बढी संक्रमित २१ देखि ४० वर्ष उमेर समूहका



विधुर ढकाल

कोरोनाको जोखिममा युवा : नेपालमा ५५ प्रतिशत भन्दा बढी संक्रमित २१ देखि ४० वर्ष उमेर समूहका

काठमाडौं : नेपालमा कोरोना भाइरसबाट ३ सय ४ जना मानिस संक्रमित भइसकेका छन्, आज बिहानसम्म। संक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ।

कोभिड-१९ पान्डेमिकबाट विश्वभर ६० वर्ष माथिका उमेर समूहमा संक्रमण बढी देखिएको छ। मृत्यु हुने मानिसहरु पनि यही उमेर समूहका छन्। कोरोना भाइरसको संक्रमण सबै उमेर समूहमा देखिए पनि विश्वव्यापी रुपमा संक्रमितहरुमा पुरुष र उमेर समूह बढी भएका मानिसहरु छन्।

तर, नेपालमा संक्रमितहरुको संख्या २१ वर्ष देखि ४० वर्ष सम्मका बढी छन्।

संक्रमितमध्ये सबैभन्दा बढी २१ वर्षदेखि ४० वर्षसम्मका संक्रमितहरुको संख्या ५५ प्रतिशतभन्दा बढी छ। २१ वर्ष देखि ३० वर्ष उमेर समूहका ३१.९ प्रतिशत संक्रमित छन्। त्यस्तै, संक्रमित मध्ये ३१ वर्षदेखि ४० वर्ष उमेर समूहका २५.७ प्रतिशत रहेका छन्। कूल संक्रमित तीन सय ४ मध्ये २१-३० उमेर समूहका ९७ र ३१-४० उमेर समूहका ७८ जना संक्रमित भएका छन्।

नेपालमा दुई महिने शिशुदेखि ८४ वर्षीय वृद्धसम्म छन्। पर्सामा २ महिने शिशुलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

संक्रमित मध्ये तेस्रो स्थानमा ११-२० वर्ष उमेर समूह तेस्रो स्थानमा छ। कूल संक्रमितमध्ये यो उमेर समूहका १६.८ प्रतिशत संक्रमित छन्।

४१-५० वर्ष उमेर समूहका ११.२ प्रतिशत संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। यो उमेर समूहका ३४ जनामा संक्रमणको पुष्टि भएको छ। ५१ देखि ६० वर्षको उमेर समूहका ५.३ प्रतिशत संक्रमित छन्। १० वर्ष भन्दा कम उमेर समूहका संक्रमितहरु ४.६ प्रतिशत छन् भने ६१-७० उमेर समूहका व्यक्तिहरुमा समान ३.६ प्रतिशत अर्थात् ११ जना छन्।

संक्रमितमध्ये ७१-८० वर्षको उमेर समूहका दुई जना र ८० वर्ष भन्दा माथिका एक जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमित मध्ये लिंगका आधारमा पुरुषको संक्रमण बढी छ। कूल संक्रमितमध्ये ८०.९ प्रतिशत पुरुष छन्। त्यस्तै, महिला १९.१ प्रतिशत संक्रमित भएका छन्।

भारतमा पनि संक्रमितहरुको संख्या अनुपातमा २१ वर्ष देखि ४० वर्षसम्म बढी छ। भारतको कूल संक्रमितमध्ये ४२ प्रतिशत यो २१-४० वर्ष उमेर समूहका छन्।

त्यस्तै, त्यहाँ ९ प्रतिशत संक्रमितहरु २० वर्ष भन्दा मुनिका छन्। भने ३३ प्रतिशत ४१ देखि ६० वर्ष उमेर समूहका छन्। १७ प्रतिशत संक्रमित ६० वर्ष उमेर समूहका छन्।

गत महिनासम्मको तथ्यांकमा भारतमा ७५ प्रतिशत सम्म संक्रमितहरु सक्रिय उमेर समूह २१ वर्ष देखि ६० वर्षसम्मका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell