PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

फुटबलर श्रेष्ठको तेस्रो रिपोर्ट नेगेटिभ, भन्छन्, कोरोनाले अनुशासन सिकायो



मुकुन्द घिमिरे

फुटबलर श्रेष्ठको तेस्रो रिपोर्ट नेगेटिभ, भन्छन्, कोरोनाले अनुशासन सिकायो

काठमाडौं: फुटबलका पूर्व राष्ट्रिय खेलाडी रञ्जित श्रेष्ठको कोरोना जाँचको तेस्रो रिपोर्ट नेगेटिभ आएको छ। सामाजिक सञ्जाल फेसबुकमा भिडियो सेयर गर्दै उनले यसको जानकारी दिएका हुन्।

उनलाई मे ७ मा कोरोना पुष्टि भएको थियो। त्यसयता दोस्रो पटकको टेस्ट पनि पोजेटिभ नै आएको थियो। कोरोना संक्रमण भएयता उनी दुवईस्थित रोडा अल्बुस्टान होटलमा आइसोलेसनमा थिए।

शुक्रवारको स्वाब परीक्षणमा नेगेटिभ नतिजा आएसँगै स्वास्थ्य लाभको कामना गर्ने सबैलाई उनले धन्यवाद दिएका छन्।

दुबई हेल्थ अथोरिटिजले उनी कार्यरत कम्पनीसँगको समन्वयमा उनको परीक्षण गरेर आइसोलेसनमा पठाएको थियो

कोरोनाले सिकाएको पाठ

कोभिड १९ बाट सङ्क्रमित भएर नतिजा नेगेटिभ आएसँगै उनले कोरोनाबाट पाठ सिकेको बताएका छन्। कोरोनाले डराउने भन्दा पनि डाइटिङमा ध्यान दिँदा फाइदा हुने उनको निष्कर्ष छ।

‘कोरोनाबाट धेरै डराउनु पर्ने छैन। आफ्नो हेल्थ बलियो बनाउनका लागि कसरी हुन्छ राम्रो राम्रो खानेकुरा खाने। तातोपानी, गरम खानेकुरा धेरै खाने। स्टिम लिने’ उनले सुनाए।

कोरोना लागेपछि आफूले स्वास्थ्य कति महत्वपूर्ण हुँदोरहेछ भन्ने बुझेको उनले सुनाए।

‘कोरोना लागेर चाहिँ के लेसन पाएँ भने स्वास्थ्य कति महत्वपूर्ण रहेछ, रोग लागेर मर्छु भन्ने भएपछि चाहिँ जो पनि डराउने रहेछ,’ उनले भने, ‘यसले मलाई लेसन सिकायो।’

आइसोलेसनमा रहँदा आफूले राम्रो डाइटिङ गरेकाले छिट्टै ठिक भएको उनले अनुभव गरेका छन्। टाइमटेबल अनुसार चल्नुपर्ने भएकाले अनुशासन कायम भएको उनले सुनाए।

‘मैले राम्रो डाइटिङ गरेँ। एउटा नर्मल खानुपर्ने हुन्छ नि। नेपालमै पनि दालभात तरकारी हुन्छ नि ती चिज मैले खाएँ।’ उनी भन्दै गए, ‘तातोपानी धेरै खाएँ। स्टिम लिएँ। यसले मलाई एउटा टाइमटेबल बनाइएको दियो।’

कोरोनाबाट बच्न सकेँ भन्ने हेक्का पाएसँगै उनले आफ्नो क्वारेन्टाइनको दैनिकीलाई पनि सम्झिन भ्याए।

‘बिहान उठ्ने बित्तिकै तातोपानी खानुपर्ने, दिउँसो स्टिम लिनुपर्ने। १०/१२ दिनपछि मलाई के लाग्यो भने एउटा अनुशासनमा हिडेँ,’ उनले भने, ‘त्यसले गर्दा म'मा परिवर्तन ल्याइदियो। खुशी लाग्यो।’

कोरोना रिपोर्ट नेगेटिभ आए पनि उनी डिस्चार्ज भने भइहाल्ने छैनन्। उनले अझै एउटा रिपोर्टको प्रतीक्षा गर्नु पर्नेछ। त्यो रिपोर्ट पनि नेगेटिभ आएको खण्डमा उनी आइसोलेसनबाट बाहिर निस्कने छन्।

यद्यपि नियमित ड्यूटीमा जान सक्ने छैनन्। डाक्टरहरुले शरीर कमजोर रहेका कारण केही समय आराम गर्नु सुझाव दिएको उनले बताए।

सबै नेपालीको सुस्वास्थ्यको कामना गर्दै उनले भने, 'सबैको स्वास्थ्यको रक्षा पशुपतिनाथले गरुन्।'

सम्बन्धित समाचार:राष्ट्रिय टिमका पूर्व मिड-फिल्डरको कोरोना 'डिफेन्स' : संक्रमणपछिको तेस्रो रिपोर्टको प्रतीक्षा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell