PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

स्वास्थ्य मन्त्रालयको विवरणमा अर्को पनि त्रुटि, सह प्रवक्ताले भने : आगामी दिनमा स्पष्ट वक्तव्य दिन्छौं



राधेश्याम पटेल

स्वास्थ्य मन्त्रालयको विवरणमा अर्को पनि त्रुटि, सह प्रवक्ताले भने : आगामी दिनमा स्पष्ट वक्तव्य दिन्छौं

वीरगंज : स्वास्थ्य मन्त्रालयले आज बिहान जारी गरेको कोरोना संक्रमितको विवरणमा अर्को पनि त्रुटि फेला परेको छ। बिहान जारी विवरणमा सर्लाहीको गोडैता नगरपालिकाका ८, ९, ११, १३ र १४ नम्बर वडामा संक्रमित भेटिएको उल्लेख छ। रोचक त के भने यो नगरपालिकामा १२ वटामात्र वडा रहेका छन्। १३ र १४ नम्बर वडा नै छैन।

'मन्त्रालयको रिपोर्टमा १३ र १४ नम्बर वडा पनि छ रे,' गोडैता नगरपालिकाका मेयर देवेन्द्रकुमार यादवले भने, 'बिहानदेखि बिजी छु। तपाईँहरुले नै त्यो खण्डन गरिदिन पर्‍यो।'

उनका अनुसार गोडैतामा १४ जनामा संक्रमण देखिएको हो। संक्रमितहरु सबै मुम्बई र दिल्लीबाट आएको उनले जानकारी दिए। हिजोसम्म यहाँका ६ वटा क्वारेन्टाइनमा १ सय ६० जना रहेका छन्।

मन्त्रालयले आज बिहान जारी गरेको संक्रमितको विवरणमा सर्लाहीकै रामनगर गाउँपालिकामा १५ जना संक्रमित रहेको देखिने भाषा प्रयोग भएको छ, जुन पूर्णरुपमा गलत हो। रामनगर गाउँपालिकामा १ जनामात्र संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले स्वीकार्दै भाषीक त्रुटि हुन पुगेको जनाएको छ। गडैतमा १४ जना र रामनगर गाउँपालिकामा १ जनामात्र संक्रमित भएका हुन्।

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले शुक्रवार विहान ९ बजेको अध्यावधिक विवरणको भाषा त्रुटिपूर्ण भएको स्वीकार गरे। मन्त्रालयको विज्ञप्तिमा त्रुटि हुँदा स्थानीय जनप्रतिनिधि नै अन्योलमा परेका थिए।

‘सर्लाहीमा १ महिलासहित १५ जनामात्र संक्रमित भेटिएका हुन्। गोडैता नगरपालिकाका वडा गनेर संक्रमित पढाइएको छ,' डाक्टर अधिकारीले भने, ‘आगामी दिनमा स्पष्ट विज्ञप्ति जारी गर्ने मन्त्रालय तत्पर रहनेछ।’

११ जनाको परीक्षण गर्दा १५ जनाको पोजेटिभ रिपोर्ट ! अन्योलमा वडा अध्यक्ष

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन जिसीका अनुसार सर्लाहीका १५ जना संक्रमितहरु एक साता अघि भारतको मुम्बई, दिल्ली, गुजरात, बिहार, उत्तर प्रदेश लगायतका शहरबाट आएको र उनीहरुलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा राखिएको छ।

रेल र बसबाट भारतीय सीमावर्ती बजार मेजरगंज, सोनवर्षा लगायत नाकाबाट उनीहरु नेपाल पसेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।

गोडैता बजारमा रहेको बेनी भोला नमुना उच्च माध्यमिक विद्यालयमा गोडैता घर भएका नेपालीलाई राखिएको छ भने रामनगर बहुअर्वाका बासिन्दालाई भारतबाट फर्केपछि वडा नं ४ तपस्वी जगदेव माविमा राखिएको छ।

गोडैता र रामनगरका गरी बुधवार ८६ जनाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पुर्‍याइएकोमा १५ जनामा संक्रमण पुष्टि भएको हो।

उनीहरुको स्वास्थ्य अवस्था ठीक रहेको र उनीहरुलाई आइसोलेसन वार्डमा पठाउने तयारी भइरहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी जिसीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell