PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

कोरोना संक्रमण भर्खरै देखिएको कर्णालीमा थपिँदै संक्रमित : भारतबाट भित्रनेको लर्कोले 'डेन्जर जोन' बन्ने खतरा बढ्दो



पी बी खड्का

कोरोना संक्रमण भर्खरै देखिएको कर्णालीमा थपिँदै संक्रमित : भारतबाट भित्रनेको लर्कोले 'डेन्जर जोन' बन्ने खतरा बढ्दो

सुर्खेत : कर्णालीमा पाँच दिन अघिमात्र कोरोना संक्रमण भएको प्रदेशमा दर्ज भयो। यसअघि केही प्रदेश कोरोना हट् स्पट बनिसकेका थिए। लकडाउन शुरु भएको ५५ दिनसम्म कोरोना संक्रमित नदेखिनु कर्णालीका लागि सुखद विषय थियो। ढुक्क थिए कर्णालीवासी।

तर, अब अवस्था त्यस्तो रहेन। जेठ ५ गते राति स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत कर्णालीमा कोरोना संक्रमित देखिएको जनायो। आज, तीन जना थपिए संक्रमित।

लकडाउनकैबीच भारतबाट फर्किएका दैलेख आठबीस नगरपालिकाका एक युवा महेन्द्रनगरमा १४ दिन क्वारेन्टाइनमा बसेर जेठ १ गते गाउँ आइपुगे।

उनलाई स्वास्थ्यमा कुनै समस्या र लक्षण नभए पनि क्वारेन्टाइनको समय अवधिमै सबैको आरटी पीसीआर परीक्षण भयो। उनीसँगै रहेका अन्य ३८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आउँदा उनको भने कोरोना पोजेटिभ देखियो।

बिहीवारमात्रै कर्णाली प्रदेशमा १७ सयको हाराहारीमा भारतबाट प्रवेश गरेको तथ्यांक छ। सोही संख्याभित्रका तीन जनामा आज कोरोना भाइरस संक्रमण देखिएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार भारतबाट आएका झण्डै १७ सय नागरिकमध्ये सात सय ९० जनाको आरडीटी परीक्षण गर्दा १३ जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो।

१३ जना मध्येकै हुन् आज सुर्खेतका संक्रमित। २२ वर्षीया महिला, ३२ र २५ वर्षे पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए।

‘अहिले संक्रमितहरुको अवस्था सामान्य छ,’ उनले भने, ‘उहाँहरुलाई हिजो नै प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखेर चिकित्सक र स्वास्थ्यकर्मीले निगरानी गरिरहेका छन्।’

पछिल्लो समय भारतबाट फर्किनेको लर्को लाग्न थालेसँगै कर्णालीमा खतराको संकेत देखिन सुरु गरेको छ। कर्णालीमा प्रदेश र स्थानीय सरकारले निर्माण गरेको क्वारेन्टाइनलेसमेत थेग्न नसक्ने अवस्था देखिन्छ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार झण्डै ८० हजार कर्णालीवासी भारतमा रहेको र ३० हजारको हाराहारीमा भित्रिने अनुमान गरेको छ। ठुलो संख्या भित्रिने अनुमान गरिएपनि कोरोना भाइरससँगको पौठेजोरी भने निकै कमजोर छ। जहाँ की दैलेखका संक्रमितको उद्धार ३८ घण्टा पछि भयो भने, अस्पतालमा पाँच दिनपछि मात्रै ल्याईयो। यसले गर्दा पनि सरकारको पूर्वतयारी बारे प्रस्ट हुन्छ।

प्रदेशको सिमा नाका बबईबाट भित्रिने नागरिकको आरडीटी परीक्षण गरेर मात्रै जिल्ला जिल्लामा पठाइएको छ। यद्यपि उनीहरुलाई राख्ने मापदण्ड बमोजिमका क्वारेन्टिन त छँदै छैन्। काम चलाउ क्वारेन्टाइन समेत पर्याप्त छैन।

कर्णालीमा निर्माण गरिएका अधिकांश क्वारेन्टिन मापदण्डका छैनन्। प्रदेश सरकारको आग्रहमा नेपाली सेनाले वीरेन्द्रनगरमा बनाएको चार सय बेडको क्वारेन्टिन मध्ये दुई सय वटा बेड मात्रै मापदण्ड अनुसारको छ। स्थानीय निकायहरुले बनाएको क्वारेन्टिनको मापदण्ड हुने कुरै भएन।

प्रदेशको स्वास्थ्य महाशाखाका अनुसार हालसम्म क्वारेन्टिनको बेड संख्या ६ हजार आठ सय ४८ रहेको छ भने, ६ हजार ६ सय ९७ जना रहेका छन्। कर्णालीमा आईसियूको बेड संख्या ४० रहेको छ भने, भेन्टिलेटर १७ वटा मात्रै रहेको छ।

पछिल्लो समय भारतबाट फर्किएकाहरुलाई सुरक्षित क्वारेन्टिनमा राख्न सकिएन भने र उचित स्वास्थ्य परीक्षण गर्न नसक्ने हो भने कर्णालीमा कोरोना भाईरसले भयावह अवस्था सिर्जना गर्ने संकेत देखिसकेको छ।

गाउँमा जान हतारो गर्ने कर्णालीवासी स्वयंम तथा स्थानीय र प्रदेश सरकारले अझै ध्यान नदिने हो भने दिन दुई गुणा रात चौ गुणाले संक्रमण फैलिनेमा कुनै दुई मत छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell