PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मृत भेटिएका असईको टाउकोमा गोलीको निशान : प्रारम्भिक अनुसन्धानमा के देखियो?



सविन ढकाल

मृत भेटिएका असईको टाउकोमा गोलीको निशान : प्रारम्भिक अनुसन्धानमा के देखियो?

काठमाडौं : बिहान साढे ६ बजेतिर केही पड्किएको आवाज आयो। अरुहरुमा जस्तै स्वयम्भू बिट अन्तर्गत कार्यारत ट्राफिक प्रहरीहरुको कानमा पनि गुञ्जियो त्यो आवाज। उनीहरु बीच केही चर्चा पनि भयो, के पड्कयो भनेर। तर, निष्कर्ष थियो - कुनै गाडी वा मोटरसाइकलको टायर फुट्यो।

बिटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) विष्णु कार्की अबेरसम्म उठेनन्। राति १२ बजेसम्म ड्युटीमै खटिएका असई नउठेपछि त्यहाँका प्रहरीले झ्यालबाट चिहाएर हेरे। कार्कीको टाउकोबाट रगत बगिरहेको थियो।

'कार्की एक्लै बस्थे। झ्यालमा तारको जालीमात्र छ। त्यहाँबाट प्रहरीले हेर्दा रगत बगेको देखेपछि खबर भयो,' महानगरीय प्रहरी परिसर काठमाठौंका एसएसपी श्याम ज्ञवालीले भने।

मृतक कार्कीको टाउकोमा गोली लागेको छ। गोली उनकै पेस्तोलबाट छुटेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। दोलखा घर भएका कार्की विगत दुई वर्षदेखि स्वयम्भुमा कार्यरत हुन्। बिटका इन्चार्ज उनै हुन्। उनले हिजो मात्र इन्चार्ज बुझेका थिए।

'अहिलेसम्मको अवस्था हेर्दा आत्महत्या नै गरेको देखिएको छ। किन आत्महत्या गरे भन्ने अनुसन्धान हुँदैछ,' महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख, डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।

बिटमा ७ जना प्रहरी कार्यरत छन्। ट्राफिक प्रहरीको पनि त्यही बिट छ। असई कार्की भने छुट्टै कोठामा सुत्ने गर्थे। कार्कीले भित्रपट्ट्टिबाट ढोकाको चुकुल समेत लगाएको देखिएको एसएसपी ज्ञवालीले जानकारी दिए। अहिले घटनाको अनुसन्धान गर्न चिकित्सक सहितको टोली घटनास्थल पुगेको छ। घटना आत्महत्या वा हत्या के हो भन्नेमा अनुसन्धान हुँदैछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell