PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

गोठसँगै ४ गाई र गाईसँगै योजनाहरु जलेका दम्पतीलाई वसन्त चौधरीको सहयोग



पहिलोपोस्ट

गोठसँगै ४ गाई र गाईसँगै योजनाहरु जलेका दम्पतीलाई वसन्त चौधरीको सहयोग

गत जेठ ७ गते कागेश्वरी, मनहरा नगरपालिका वडा नम्बर ७ मा विद्युत सट भएर एक गोठमा आगलागी भएको थियो। आगोमा परी गोठसहित चार वटा गाई, गाईका लागि जम्मा गरिएका दाना, पिठो, पराल लगायत आहार जलेर नष्ट भए। पशु र आहारसँगै नष्ट भए खड्गबहादुर (हरि) र सरस्वती ढकालका योजनाहरु।

आगलागीका कारण आर्थिक एवं भौतिक क्षति व्यहोरेका ढकाल दम्पतीलाई व्यवसायी वसन्त चौधरीले सहयोग गरेका छन्। उनले सहयोगार्थ ५० हजार रुपैयाँ उपलब्ध गराएका हुन्। सोमबार सहयोग हस्तान्तरण पछि सरस्वती ढकालले भने,'शून्यबाट उठ्नु पर्छ। चार वर्षमा ऋण तिरेर सकिएला भन्ने थियो अब थप चार वर्ष लाग्ने भयो। यस्तो अप्ठ्यारोमा सहयोग मिलेको छ। फेरि गर्नुपर्छ भन्ने हिम्मत जुटेको छ।' 

काभ्रेपलाञ्चोकबाट २०७५ सालमा काठमाडौं आएका थिए उनीहरु। काठमाडौंमा गाई पालन गर्ने। पैसा कमाउने र भूकम्पले भत्काएको घर पुन: बनाउँदा लागेको ऋण तिर्ने योजना थियो उनीहरुको। ऋण चुक्ता भएपछि दुई सन्तानलाई बोर्डिङमा पढाउन सक्ने आशा थियो।

पाँच गाईसहित तरकारी खेती पनि गर्थे। गाईको मल बेच्थे। तर, आगलागीपछि उनीहरु छन्। काठमाडौंमा पढाउन सके भोलि आफूले जस्तै गरिबी भोग्न बाध्य नहोलान् भन्ने आशा थियो उनीहरुको। तर, गोठ बनाउँदा, गाई किन्दा थप ऋणमा परे। छोराछोरीलाई बोर्डिङ स्कूल पठाउन सकेनन्। तर, आमदानी राम्रै हुँदै थियो। त्यस्तै बीच आगो लागेको हो। 

आगलागी पछि पहिलोपोस्टमा उनीहरुको योजना र दुर्घटनाबारे पहिलोपोस्टमा सामाग्री प्रकाशित भएको थियो।

कागेश्वरी, मनहरा नगरपालिकाले ढकाल दम्पतीलाई गोठ निर्माणका लागि आर्थिक सहयोग गर्ने बताएको छ। तर, हालसम्म प्रक्रिया अघि नबढेको खड्गबहादुरले बताए। भने, 'आश्वासन मिलेका ठाउँहरुबाट सहयोग जुटे त आँट्न सकिन्छ। नत्र फेरि गाई पालन गरेर ऋण तिरौंला, छोराछोरीलाई राम्रो स्कूल पढाउँला भन्नु मुश्किल छ।'

उनीहरुले गाई पालनकै लागि भनेर कागेश्वरी मनहरामा एक रोपनी ९ आना जग्गा भाडामा लिएका छन्। 

पूरा स्टोरीका लागि : चारवटा गाईसँग गोठमै जल्यो भूकम्पले थोपरेको ऋणबाट उकासिने योजना



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell