PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्रधानमन्त्रीज्यू, घरघरमा ग्यासको पाइप र बाटोमा रेलवे ट्र्याक खोइ भन्न बालुवाटार उत्रिएका होइनन् युवा



सहयोग रञ्जित

प्रधानमन्त्रीज्यू, घरघरमा ग्यासको पाइप र बाटोमा रेलवे ट्र्याक खोइ भन्न बालुवाटार उत्रिएका होइनन् युवा

‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ

यो देशको मुहार फेर्नलाई उठ…’

श्याम तमोटले सिर्जना गरेको यो गीत र धुन जबजब गाइन्छ तबतब नेपालीहरुले आफ्नो देशको मुहार फर्ने इच्छा व्यक्त गरिरहेका हुन्छन्। गीत रचना भएको धेरै वर्ष भयो। नेपालीहरु देशको मुहार फेर्न मनिसहरु पटकपटक उठे पनि।

पञ्चायतविरुद्ध कोरिएका यी शब्दहरु गाउँदै नेपालीहरुले प्रजातन्त्र, बहुदल, सशस्त्र विद्रोह, लोकतन्त्र, गणतन्त्रसम्मको यात्रा तय गरे। परिस्थिति अनुसार सडकमा ओलिएकाहरुले गीतमा नयाँ नयाँ शब्द थपे।

समय, व्यवस्था र शब्द जति परिवर्तन भए पनि जनता गाइरहेकाछन् , ‘फेर्नलाई उठ, यो देशको मुहार।’

मंगलवार पनि स्वस्फूर्त रुपमा प्रधानमन्त्री निवास बालुवाटार अघि भेला भएका युवाहरु देशको मुहार फेर्न उठ भन्दै थिए। चिच्याउँदै थिए। कराउदै थिए। नाच्दै थिए, गाउँदै थिए।

कोरोना भाइरसको कहरमा ठप्प देशका कार्यकारी प्रमुखको निवास अगाडि प्रदर्शनमा उत्रनुको कारण थियो ‘सुशासनको माग।’

सुशासन कोरोनाविरुद्ध।

देशलाई ‘कोरोना फ्री’ राष्ट्र बनाउने सपना पूरा भएन सरकारका केही मन्त्रीहरुको। न त भारत र चीनले राम्रो व्यवस्था गरिदिए नेपालसम्म कोरोना रोक्‍न। यस्तै न त ‘जिरो डेथ’ बनाउने सरकारको नीति नै सफल भयो।

सफल भयो त कोरोना, आफ्नो जालो फैलाउन।

पछिल्लो चरणमा देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गत वर्ष चैत १० सम्म देशभर कोभिड १९ को दुई केस देखिएकोमा हाल ४ हजार भन्दा बढी संक्रमित भइसकेका छन्। १५ जनाको मृत्यु नै भइसकेको छ। जुन आफैमा एउटा प्रश्न हो, सरकारी अकर्मन्यताको।

संक्रमितको संख्या जसरी बढ्दै गएको छ, समुदायमा संक्रमण फैलिने र भाइरसको फैलावट विकराल हुनसक्ने अवस्था रहेको जनस्वास्थ्यविज्ञहरुले बताइसकेका छन्।

यसबीच सरकारलाई परीक्षणको दायरा बढाउन हम्मेहम्मे परेको छ। ल्याबहरुमा स्वाब परीक्षणका लागि चाङका चाङ स्याम्पलहरु थुप्रिएपछि कति स्थानमा त थ्रोट स्वाब संकलन नै स्थगित गरिएको छ। पीसीआर विधिबाट कोरोना परीक्षण बढाउन पर्नेमा सरकारले यस विधिबाट हुने परीक्षणलाई उल्टै घटाउने निर्णय गर्‍यो। र, कोरोना पहिचानमा उपयोगी नमानिएको आरडीटी विधिबाट गरिने परीक्षणमा जोड दिइयो।

देशभर संक्रमितको संख्या थोरै रहेको अवस्थामा नै आरडीटी परीक्षणको भरमा मात्रै संक्रमितको पहिचान गर्न नहुने माग उठ्दै आएको थियो। तर, सरकारले ‘विकल्प नभएको’ भन्दै आरडीटीमा नै जोड दिएको हो।

यहाँ पीसीआरबाट संक्रमण देखिएका कयौंमा आरडीटी परीक्षण नेगेटिभ आएको कुरा सरकारले मनन गरेन। न त आरडीटी पोजेटिभ देखिएकोमा पीसीआरबाट परीक्षण गर्दा नतिजा सबैको पोजेटिभ नै आयो। विश्वका अधिकांश देशले ‘विश्वासिलो नभएको’ भन्दै आरडीटी परीक्षण बन्द गर्दा ‘मास टेस्टिङ’ का नाममा अहिले पनि त्यसलाई नै कायम राख्दा खतरा बढ्ने निश्चित रहेको कुरालाई बालुवाटारले देखेन।

त्यसैले, सरकार निदाएको भन्दै युवाहरु मंगलवार बालुवाटारमा सरकारका कार्यकारीलाई ब्युँझाउन पुगे। हातहातमा ब्यानर लिएर भौतिक दुरी कायम गर्दै सडकमा थचक्क बसे। र, गाउन थाले -

‘गाउँ गाउँ बाट उठ, बस्ती बस्तीबाट उठ…’

आखिर युवाहरु किन उठे र अरुलाई उठाउन खोज्दैछन्?

किन भने सरकारले लकडाउनको विकल्प देखेन। ‘स्टार्टअप’ बन्द भएपछि कयौं सपना देखेका युवाहरु सरकारले लकडाउनलाई सहज गर्दै मोडालिटी तय गर्न आग्रह गर्दैछन्। काठमाडौंमा नै पीसीआर परीक्षण र क्वारेन्टाइनको पर्याप्त व्यवस्था नहुँदा गाउँमा क्वारेन्टाइनका नाममा करोडौं खर्च गरेको सरकारको व्यवस्था देखेर युवाहरु सडकमा ओर्लिएका हुन्। क्वारेन्टाइनमा कोचिएर राखिएका मानिसको सुरक्षाको माग गर्दै सडकमा ओर्लिएका हुन् उनीहरु। सीमाबाट आएकाहरुको व्यवस्थापन माग गर्दै भेला भएका हुन्। आरडीटी परीक्षणको भरमा घर पठाइएका व्यक्तिको मृत्युपछि पीसीआर परीक्षणमा गर्दा कोरोना पोजेटिभ देखिएपछि पनि आरडीटीलाई महत्व दिइरहेको विषय विरुद्ध युवाहरु सडकमा ओर्लिएका हुन्।

तर, यी युवाहरु ‘तातोपानी पिएर, बोसीय तत्व घटाएर’ हामीलाई कोरोना लाग्दैन भनेर सडकमा ओर्लिएका होइनन्। मुखमा मास्क, हातमा स्यानिटाइजर लगाउँदै भौतिक दुरी कायम गर्दै सडकमा ओर्लिएका कयौं युवाका बाआमाले उनीहरुलाई नजान भन्दाभन्दै ‘लकडाउन उल्लंघन गर्न’ बालुवाटार घेर्न पुगेका होइन होलान्।

उनीहरु भन्न पुगेका थिए, अति भो सरकार ! ‘आरडीटी परीक्षणको भर छैन,१०० प्रतिशत पीसीआर परीक्षण लागू गर’, ‘सुरक्षित क्वारेन्टाइनको व्यवस्था गर’, ‘लकडाउनको विकल्प खोज, मोडालिटी तय गर।’

युवाहरुले प्रधानमन्त्रीलाई घरघरमा ग्यासको पाइपलाइन खोइ भनेर सोधेका होइनन्, पानीजहाज र रेल खोइ भनेर सोधेका होइनन्। किलोका किलो सुन कहाँ लुकाइयो भनेर प्रश्न गरेका होइनन्।

मात्र, यो कोरोना संकटको बेलामा ‘प्यासिभ’ देखिएको सरकारलाई अलि ‘एक्टिभ’ भइदिन भन्दै शान्तिपूर्ण प्रदर्शन गर्न पुगेका थिए।

तर, शान्तिपूर्ण रुपमा भेला भएका युवाहरुमाथि प्रहरीले लाठी र पानीको फोहोरा बर्सायो। केही घाइते भए। केहीलाई प्रहरीले पक्राउ गरी पछि छाड्यो। प्रदर्शनमा सहभागी नभएको भन्ने ‘नागरिक’ लाई त धकेलीधकेली प्रहरी भ्यानमा कोचियो। ‍

आन्दोलनको अग्रपंक्तिमा उभिएर सरकारलाई सचेत गराउन उभिएकी युवतीको अनुहारमा प्रहरीले पानीको फोहोरा बर्साउँदा सम्भवत: सडकमा पहिलोपटक उत्रेका धेरै युवाहरुले मनमनै भने होलान्, ‘आइ कान्ट ब्रिथ’/ ‘ह्वी कान्ट ब्रिथ।’

+++

यता बालुवाटारमा पानीको फोहोरा बसियो। उता एकवर्ष अघिको त्यही दिन त्यसरी नै प्रहरीले माइतीघरमा ओर्लिएका युवाहरुमाथि पानीको फोहोरा बर्साएको तस्विरहरु देखिए सामाजिक संजालमा। एक वर्षअघि ‘गुठी विधेयक’मा सरकारलाई सच्चिन भन्दै केहीबेर सडकमा पल्टिएका थिए युवाहरु। माथिको आदेशपछि प्रहरीले लाठी, बुट, पानी सबै प्रयोग गर्‍यो।

करिब ५० जनाको संख्यामा भेला भएकामाथि लाठी र पानी बर्सिएपछि उपत्यका लगायत नेवार बाहुल्य क्षेत्रमा गुनगुनाइयो त्यही गीत- ‘घरघरबाट उठ बस्ती बस्तीबाट उठ’। र, असार ४ गते माइतीघरमा हजारौं मानिस भेला हुने भएपछि सरकार विधेयक सच्याउन बाध्य भयो।

यता, मंगलवार ‘कोरोना संक्रमण रोक्न सरकारले लिएको रणनीति सच्याउन’ माग गर्दै पुगेका थिए युवाहरु बालुवाटारमा। शान्तिपूर्ण रुपमा भेला भएका उनीहरु लकडाउनको विकल्प खोज्न र आरडीटीको आतंक बन्द गर्न भन्दै सडकमा देखिएका थिए। सरकारलाई सतर्क बनाउन जाँदा प्रहरीले दमन गरेपछि हाल यो अभियान देशभर फैलिने तरखरमा छ। काठमाडौंबाट सुरु भएको अभियान अन्य जिल्लाहरुमा समेत सुरु हुँदैछ। केही सयको संख्यामा भेला भएका युवाहरु अब हजारौंको संख्यामा एकजुट हुने तयारीमा छन्।

एक वर्ष अघि गुठी विधेयकलाई ‘मिनिङलेस’ भन्दा पानीका फोहोरा माइतीघरमा बर्सियो। एक वर्षपछि सरकारको ‘लकडाउन रणनीति’ लाई ‘मिनिङलेस’ भनेका बालुवाटारमा युवामाथि पानीको फोहोर बर्सियो। सरकार उही। प्रहरी प्रशासन उही। सडकमा ओर्लने जनताको अनुहारमात्रै फरक। प्रदर्शन गर्नुको कारण भलै फरक तर माग एउटै ‘सिस्टम’मा परिवर्तन!

त्यो सिस्टम ‘जो महामारीबीच कार्पेट किन्न’ लागेको छ। त्यो सिस्टम जहाँ मृत्युपछि कोरोना परीक्षण हुन्छ र मृतकमा कोभिड १९ पोजेटिभ देखिन्छ, क्वारेन्टाइनमा मानिसहरु मर्छन्, आरडीटी परीक्षणको भरमा क्वारेन्टाइनबाट मानिसहरुलाई फर्काइन्छ र पछि पीसीआरमा संक्रमित देखिन्छन्। तर, स्वास्थ्य मन्त्री भन्छन्, ‘आरडीटी परीक्षण हामी रोक्दैनौं।’

तिनै स्वास्थ्य मन्त्रीलाई सम्झाउन सरकारको कार्यकारीलाई उठाउन युवाहरु युवाहरु पुगेका थिए बालुवाटार। तर, प्रधानमन्त्री उठेनन्।

उठे त सामाजिक संजालमा सक्रिय ‘अरिंगाल’ हरु। जो प्रधानमन्त्रीविरुद्ध एक शब्द सुन्न सक्दैनन्। तर, आफ्नो बोली व्यववहारले प्रधानमन्त्रीकै छवी बिगार्न तल्लिन छन्। जो पानीका फोहोरा खाएकाहरु युवाहरुलाई राजनीतिमा आफू सिनियर भएको भन्दै पाठ सिकाउँदैछन्। बालुवाटरमा ओर्लिएका युवाहरुलाई ‘दलाल’ भन्दैछन्। काठमाडौंमा बसेर राम्रो लागू लगाएर आन्दोलनमा आएको, ‘डलर’ खाएको आरोप लगाउँदैछन्।

यस्ता विचार राख्ने ‘प्रो ओली’ अभियानमा सक्रिय व्यक्तिहरुका कारण घाटा हुने प्रधानमन्त्री ओलीलाई नै हो। त्यसैले यस्ता व्यक्तिहरुबाट सजग हुनपर्छ प्रधानमन्त्री। विज्ञ सल्लाहकारभन्दा माथि उठ्नुपर्छ ओली। उठेर सडकमा सरकारमाथि प्रश्न गरेका युवाहरुमा रहको आशंका मेटाउनुपर्छ।

किनभने अहिलेका युवाहरुले देशमा धेरै परिवर्तन देखेका छन्। विपद् भोगेका छन्। ‘सिनियर’ भन्नेहरुको शब्द र काम देखेका छन्। प्रत्येक सरकारको मूल्यांकन गरेका छन्। राजनीतिक व्यवस्था परिवर्तन भएको देखेका छन्। तर, देश हाँक्नहरुको मुहार फेरिएको देखिएका छैनन्। उनीहरुको काम गराइमा परिवर्तन देखेका छैनन्।

त्यसैले सायद युवाहरु देश हाँक्ने मुहार परिवर्तन गर्ने सोचिरहेका छन्। तर, गाउँगाउँ र बस्तीबस्तीबाट उठ... भन्दै अब कहिलेसम्म गाइरहनुपर्ने हो प्रधानमन्त्रीज्यू?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell