PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कोरोनाको ‘साइलेन्ट स्प्रिडर’ बढ्दै: क्वारेन्टाइनमा रहेका सबैको पीसीआर परीक्षण नहुनु कति वैज्ञानिक ?



सहयोग रञ्जित

कोरोनाको ‘साइलेन्ट स्प्रिडर’ बढ्दै: क्वारेन्टाइनमा रहेका सबैको पीसीआर परीक्षण नहुनु कति वैज्ञानिक ?

काठमाडौं : बिहीवार बिहान करिब २ :१५ बजे सुर्खेतको पञ्चपुरी नगरपालिकाको हाँसे गाउँका २० वर्षीय पुरुषको मृत्यु भयो। मृत्यु भएका सुर्खेतका पुरुष जेठ ८ गतेदेखि क्वारेन्टाइनमा थिए। विदेशबाट आएका उनको २१ गते र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो। त्यसपछि उनलाई होम क्वारेन्टाइन पठाइयो।

घर पठाइएको २४ घण्टा नबित्दै उनको मृत्यु भयो। मृत्यु हुँदासम्म उनमा कुनै लक्षण देखिएको थिएन। २२ गते बिहान मृत्युभएपछि उनको स्वाब निकालियो र परीक्षण गर्न पठाइयो। पीसीआर परीक्षण गर्दा नतिजा पोजेटिभ देखायो। यी युवकको मृत्युसँगै देशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुग्यो।

क्वारेन्टाइनमा रहेका उनको पहिलालाई किन पीसीआर परीक्षण किन गरिएन भन्ने प्रश्न अहिले खडा भएको छ। पहिला नै पीसीआर विधिबाट परीक्षण गरिएको उनमा भाइरसको संक्रमण रहेको थाहा हुने थियो होला। तर यहाँ आरडीटी विधिको भरमा उनलाई बिना कुनै सावधानी घर पठाइयो र उनको मृत्यु भयो।

मृत्यु हुँदा उनमा कोरोनाको कुनै लक्षण देखिएन। यस्तै उनको आरडीटी नेगेटिभ देखियो। त्यसैको आधारमा उनलाई घर पठाइयो। जेठ २० गते स्वास्थ्य मन्त्रालयले जारी गरेको कोभिड १९ परीक्षणका लागि नयाँ निर्देशिका अनुसार उनलाई क्वारेन्टाइनमै राखिरहनुपर्ने देखिएन। यस्तै विदेशबाट आए पनि लक्षण नदेखिएकोपछि उनको पीसीआर पनि गर्न निर्देशिकाले रोक्यो।

देशभर संक्रमितको संख्या बढ्दै गइरहेको अवस्थामा परीक्षणको दायरा बढाउनुपर्नेमा निश्चित प्राथमिक्ताको आधारमा मात्रै कोरोना संक्रमणको परीक्षण भइरहेको छ। मन्त्रालयको तथ्यांका अनुसार शुक्रवारसम्म देशभर १ लाख ६६ हजार ७ सय ६५ जना क्वारेन्टाइनमा छन्। तर यी सबैको पीसीआरबाट परीक्षण गरिएको छैन। यस्तै सीमाबाट निर्वाध आएकाहरुको समेत कुनै स्वास्थ्य परीक्षण भएको छैन। जसकारण समुदायमा कोरोना संक्रमण फैलिसकेको हुनसक्ने अनुमान जनस्वास्थय विज्ञहरुले गर्दै आएका छन्।

देशभर संक्रमितको संख्या थोरै रहेको अवस्थामा नै आरडीटी परीक्षणको भरमामात्रै संक्रमितको पहिचान गर्न नहुने माग उठ्दै आएको थियो। तर, सरकारले ‘विकल्प नभएको’ भन्दै आरडीटीमा नै जोड दिएको हो।

हालसम्म पीसीआरबाट ८८ हजार ३ सय ६६ परीक्षण गरिँदा आरडीटीबाट १ लाख ३२ हजार ९ सय ६६ परीक्षण भइरहेका छन्। तर पीसीआरबाट संक्रमण देखिएका कयौंमा आरडीटी परीक्षण नेगेटिभ आएको कुरा सरकारले मनन गरेर। विश्वका अधिकांश देशले आरडीटी परीक्षण बन्द गर्दा ‘मास टेस्टिङ’ को नाममा अहिलेपनि त्यसलाई नै कायम राख्दा खतरा बढ्ने निश्चित छ।

सरुवा रोग विशेषज्ञ डा अनुप सुवेदीले काठमाडौंमा आरडीटीमा नेगेटिभ र पीसीआर पोजिटभ देखाउँदा पहिलोपोस्टसँगको कुराकानीमा भनेका थिए, 'आरडीटीबाट संक्रमितको पहिचान हुने सम्भावना कम नै हुन्छ। त्यसमा नेगेटिभ आउँदैमा कोरोनाको संक्रमण हुँदैन भन्ने होइन। आडीटीमा पोजिटिभ देखाएर पीसीआरले नेगेटिभ देखाए पनि उसमा भाइरसको एन्टीबडी हुन्छ। त्यसैले समुदायस्तरमा परीक्षण गराउँदा आरडीटी र पीसीआर दुवैलाई सँगसँगै लैजानु पर्छ।'

++‌+

स्वास्थ्य मन्त्रालयले कोभिड १९ परीक्षणका लागि नयाँ निर्देशिका तयार गरेको छ। जसमा क्वारेन्टाइनमा रहेका सबैजनाको परीक्षण पीसीआर विधिबाट नहुने उल्लेख गरिएको छ। प्राथमिक्ताको आधारमा मात्रै पीसीआरबाट परीक्षण गर्ने नयाँ निर्देशिकामा उल्लेख छ।

यस्तै, नयाँ निर्देशिकामा होल्डिङ सेन्टर क्वारेन्टाइनमा रहेका व्यक्तिहरुमा लक्षण देखिएमात्रै पीसीआर प्रविधिबाट परीक्षण गर्ने उल्लेख छ। तर क्वारेन्टाइनमा बसेको तर कोरोनाको कुनै लक्षण नदेखिएकोहरुमा भने पीसीआर परीक्षण नगर्ने उल्लेख गरिएको छ। यद्यपि, उनीहरुको आरडीटी परीक्षण भने गरिने जनाइएको छ।

क्वारेन्टाइनमा बसेका र बिना लक्षण कोरोना संक्रमित भइ मृत्यु समेत भएको अवस्थामा मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अव्यवहारिक र अवैज्ञानिक भएको जनस्वास्थ्य विज्ञहरु बताउँछन्।

क्वारेन्टाइनमा बसेका र लक्षण देखिएकालाईमात्रै पीसीआरबाट परीक्षण गरिने व्यवस्थाले ठूलो संकट निम्त्याउन सक्ने उनीहरुको भनाइ छ।

नयाँ निर्देशिका अनुसार लक्षण नदेखिएको अवस्थामा बिना परीक्षण क्वारेन्टाइनबाट ‘किल्न सर्टिफिकेट’ लिएर मानिसहरु बाहिरिनेछन्। तर हाल क्वारेन्टाइनमा १४ दिन बसिसकेकाहरुमा भने ‘बन्द’ नै गर्नुपर्ने माग उठेको आरडीटी परीक्षण भने हुने भएको छ।

क्वारेन्टाइनमा बसेर घर फर्किएका व्यक्तिको मृत्युपछि कोरोना संक्रमण देखिएको केस नेपालमै देखिएको छ। यस्तै हालसम्म ११ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएकोमा अवस्थामा ९ जनामा मात्रै मृत्यु अघि कोरोना पुष्टि भएको छ।

यस्तो अवस्थामा मन्त्रालयले प्राथमिक्ताको आधारमा मात्रै परीक्षण गर्ने, र आरडीटी परीक्षणलाई प्रोत्साहन गरिरहेकोमा विरोध भइरहेको छ।

नयाँ निर्देशिका अन्तर्गत कोरोना संक्रमणको आशंकामा गरिने परीक्षणलाई तीन वटा प्राथमिक्ताका अधारमा छुट्याइएको छ।

पहिलो प्राथमिक्तामा संक्रमणको आशंकामा आइसोलेसनमा रहेका, संक्रमित क्षेत्रबाट आए र संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएकाहरु परेका छन्। उनीहरु सबैको परीक्षण पीसीआर विधिबाट गरिनेछ।

दोस्रो प्राथमिक्तामा अग्रपंक्तिमा रहेका काम गर्दै आएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ कर्मचारी, तत्काल शल्यक्रिया गर्नुपर्ने बिरामी र संक्रमणको खतरा हुन सक्ने विरामीहरुको परीक्षण गरिने उल्लेख छ।

तेस्रो प्राथमिक्तामा लक्षण भएका र धेरै संक्रमण देखिएको समुदायको व्यक्तिमा पीसीआर विधिबाट परीक्षण हुने उल्लेख छ। यस्तै ज्वरो,श्वासप्रश्वासमा समस्या आएको र दीर्घ रोगीहरुका साथै शल्यक्रिया गर्नुपर्ने विरामीहरुको पनि पीसीआरबाट परीक्षण गरिनेछ।

यस निर्देशिकामा कोरोना भाइरसको कुनै लक्षण नदेखिएको, संक्रमितको सम्पर्कमा नआएको र संक्रमित क्षेत्र वा व्यक्तिसँगको ट्राभल हिस्ट्री नभएको व्यक्तिहरु पीसीआर विधिबाट कोरोना परीक्षणको प्राथमिक्तामा परेका छैनन्। यस्तै आफै कोरोना परीक्षण गराउने हरु पनि प्राथमिक्तामा पर्ने छैनन्।

++‌+

कोभिड १९ को कहर विश्वबाट कहिले अन्त्य हुन्छ त्यो कसैलाई थाहा छैन। वैज्ञानिकहरु भाइरसविरुद्ध खोप तयार पार्न जुटिरहेका छन्। तर हालसम्म त्यसमा सफलता हासिल गर्न सकिएको छैन। चीनको वुहानबाट भाइरसको संक्रमण विश्वभर फैलिएसँगै अधिकांश देश ‘लकडाउन’ भए। लकडाउनको मुख्य उद्देश्य थियो- संक्रमण फैलिनबाट रोक्नु।

तर अहिले लकडाउनमामात्रै कोरोनाको संक्रमण रोक्ने उपाय नभएको भन्दै अधिकांश देशहरुले सतर्कता अपनाउँदै लकडाउन खुकुलो पार्दै गइरहेका छन्। तर उनीहरुले पीसीआर परीक्षणको दायरा घटाएका छैनन्। विश्व स्वास्थ्य संगठनले पनि भाइरसको नियन्त्रणका लागि परीक्षणको दायरा बढाउनुको बाहेक विकल्प नभएको बताइरहेको छ।

लक्षण बिहिन संक्रमितहरुलाई होम क्वारेन्टाइनमा नै राखिएपनि उनीहरुको नियमित स्वास्थ्य परीक्षण गर्ने व्यवस्था अरु राष्ट्रहरुमा गरिएको छ। मध्यम खालको लक्षण देखिएकाहरुलाईलाई घरमै बस्न र त्यहीबाट उपचार गरिँदैछ। नेपालमा पनि ‘होम क्वारेन्टाइन’ को अवधाराण लागू गरिएको छ।

शुक्रवारमात्रै धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित भइ उपचार गइरहेका ६ जना डिस्चार्ज गरिएको छ। उनीहरु पूर्णरुपमा कोरोना मुक्त नभएपनि स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको हो।

निर्देशिका अनुसार संक्रमण पुष्टि भइ आइसोलेसनमा १४ दिन रहेका तर लक्षण नदेखिएहरुमा पुन: परीक्षण नगरिने भएको छ। यस्तै लक्षण देखिएका र क्वारेन्टाइनमा १४ दिन बसेका तर ३ दिनसम्म उनमा लक्षण नदेखिए उनलाई पनि पुन: परीक्षण नगरी डिस्चार्ज गरिनेछ।

वैज्ञानिकहरुका अनुसार कोरोना अहिले ‘साइलेन्ट स्प्रिडर’ बनेको छ। अर्थात यो भाइरसको संक्रमण पहिला भने झै लक्षण देखिएर आएको छैन। यसको स्वरुप परिवर्तन भएको छ। पहिला ज्वरो, खोकी, स्वाद र बास्ना थाहा नपाउने भए कोरोना संक्रमण हुन सक्ने बताइएको थियो। धेरै मानिस एकै स्थानमा भेला हुँदा भाइरसको संक्रमण तिव्र गतिमा फैलिने आंकलन थियो। तर अहिले कोभिड १९ बाट संक्रमित हुनेहरुमा पहिला भनेझै लक्षण देखिएको छैन।

नेपालमा समेत पछिल्लो चरणमा देखिएका संक्रमितहरु लक्षणबिहीन थिए। काठमाडौं उपत्यकामा भेटिएका कयौं संक्रमितहरुको संक्रमणको स्रोत पत्ता लागेको छैन। संक्रमण पुष्टि भएका मृतकहरु समेत लक्षण बिहिन थिए। यस्तो अवस्थामा नेपालमा समेत ‘साइलेन्ट स्प्रिडर’ हरु देखिएको अनुमान गर्न सकिन्छ। देशको सीमाबाट दैनिक हजारौं मानिस भित्रिरहेको र अन्य देशबाट पनि हजारौंको संख्यामा मानिस भित्रिने अवस्था छ। अझै लकडाउन खुकुलो पार्ने बारेमा छलफल चलिरहँदा संक्रमणको त्रास अझै हुन्छ। त्यसैले भावी दिनमा आउन सक्ने परिस्थितिको मूल्यांकन गर्दै संक्रमितको पहिचान गर्न पीसीआर विधिको दायरा बढाउन मन्त्रालय अग्रसर हुनुपर्छ। लकडाउनमा घर भित्र थुनिएका र लकडाउन खुकुलो हुनासाथ बाहिर आउने तयारी गरिरहेका हामी सबैभने सतर्क बनिरहनुपर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell