
विश्वभर रंगभेदी आन्दोलन उत्कर्षमा पुगेका बेला बलिउड अभिनेत्री दीपिका पादुकोणले फेयरनेस क्रिम ब्राण्डबाट अलग भएकी छिन्।
फेयरनेस क्रिमको प्रचार गरेको भन्दै कलाकारको आलोचना भइरहेका बेला दीपिका फेयरनेस क्रिम र कोला ब्राण्डबाट अलग भएकी हुन्। यी ब्राण्डको विज्ञापन तथा प्रचार गरेकोमा अहिले आएर दीपिकालाई पछुतोसमेत भएको छ।
अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोयडको हत्यापछि भारतमा पनि #BlackLivesMatter अभियान चर्चामा छ। यो अभियानको पक्षमा कैयौं कलाकार उभिएका छन्।
यस्तो बेला छाला गोरो बनाउने फेयरनेस क्रिमको विज्ञापनलाई लिएर दीपिकासहित कलाकारको आलोचना भइरहेको छ। आफ्नो आलोचना भएपछि दीपिकाले आफ्नो ब्राण्ड छनोटमा गल्ती भएको भन्दै पश्चताप गरेकी छिन्। गल्ती महसुस गर्दै दीपिका ब्राण्डबाट अलग भएकी हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार दीपिका यी ब्राण्डको विज्ञापनमा लामो समयदेखि आबद्ध थिइन्। त्यतिबेला फेयरनेस क्रिमलाई प्रवर्द्धन गर्नु सामान्य कुरा थियो। तर पछिल्लो समय क्रिम प्रयोग गरेर छाला गोरो बनाउने धारणामा परिवर्तन हुँदै गएको छ।
त्यसो त रंगभेदी आन्दोलनले अमेरिकामा एचबीओ म्याक्सले ८१ वर्ष पूरानो फिल्म 'गन विद द विन्ड' हटाएको छ।