PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

बोलेरै चर्चामा आइरहने प्रचण्ड कोरोना संकटमा चुपचाप, के खुमलटारमा ओलीलाई गलाउने रणनीति बन्दै छ?



प्रकाश भण्डारी

बोलेरै चर्चामा आइरहने प्रचण्ड कोरोना संकटमा चुपचाप, के खुमलटारमा ओलीलाई गलाउने रणनीति बन्दै छ?

काठमाडौं: दुई हप्ता यता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेसबुक पेज अपडेट छैन। जेठ १९(जुन १) मा बाँकेको राप्ती-सोनारि ठोरियामा सवारी दुर्घटना हुँदा मृत्यु भएका १२ जनाप्रति श्रद्धाञ्जली दिएको स्टाटसपछि उनले फेसबुकमा केही लेखका छैनन्। सामाजिक सञ्जालदेखि आफ्नो व्यक्तिगत वेबसाइटमा आफ्ना गतिविधिलाई महत्वकासाथ राख्ने प्रचण्ड जुन १ यता ट्वीटरमा पनि सक्रिय छैनन्। सिएमप्रचण्ड डट कम पनि अपडेट छैन।

सरकारले जेठ १५ मा ल्याएको बजेटका विषयमा संसदबाट निस्कँदै गर्दा उनले सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिएका थिए। झण्डै एक मिनेटको भिडियोको लिंक उनको फेसबुकमा पनि छ। उनले बजेटमा आफू सन्तुष्ट भएको बताएका थिए।

'बजेट कोरोना महामारीको विषम परिस्थितिमा पनि निकै सन्तुलित, जनतालाई राहत दिने किसिमले, सिर्जनात्मक, प्रगतिशिल र समाजवाद उन्मुख नै छ। म खुसी छु। यो बजेटले निम्न वर्गकालाई राहात दिने जुन प्रयास गरेको छ। त्यो सरहनीय नै छ,' उनले प्रतिक्रिया दिँदै भनेका थिए। दुई हप्ता अघिसम्म उनको आधिकारिक फेसबुक पेजमा औपचारिक राजनीतिक गतिविधि पनि अपडेट छन्। गणतन्त्र दिवसमा शुभकामना दिएको, कम्युनिष्ट नेताहरुको निधनमा श्रद्धाञ्जली दिएका गतिविधि पनि छन्, फेसबुकमा।

वैसाख २८ गते प्रतिनिधि सभा राज्य व्यवस्था समितिमा सरकारले लिपुलेक कालापानीका विषयमा गम्भिर हुनुपर्ने अभिब्यक्ति दिएको भिडियो पनि उनको फेसबुकमा छ।

सामाजिक सञ्जालमामात्र हैन, जल्दाबल्दा बिषयमा पनि चुप छन् उनी। लकडाउनका बेला भएकाले सभा सम्मेलन तथा औपचारिक भेटघाटको आयोजना भएका छैनन्। त्यसैले उनी अधिकांश समय खुमलटारस्थित आफ्नै निवासमा छन्। महत्वपूर्ण भेटघाटका लागि मात्रै उनी घरबाट निस्कने गरेका छन्।

आफू निकटसँग संवाद तीव्र तर जल्दाबल्दा विषयमा चुप

प्रचण्ड संसद चलेको दिन संसद बैठकमा सहभागी हुने र अरु दिन घरमै बसेर अनौपचारिक छलफल तथा भेटघाटमा सहभागी हुने गरेको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। प्रचण्डले औपचारिक छलफल र भेटघाट नगरे पनि अनौपचारिक भेटघाट र छलफलमा भने सक्रिय छन्। उनले आफू निकट नेताहरुसँगको कुराकानीमा तीब्रता दिएका छन्। 'मिडियामा बोल्ने र विचार दिनुपर्ने कुरा नभएकैले उहाँले नबोल्नुभएको हो। तर पछिल्ला घटनाक्रममा निस्क्रिय हुनुहुन्न,' सापकोटाले भने।

सापकोटाले भनेजस्तो प्रचण्डका लागि बोल्ने विषय नभएको होइन। लकडाउन सुरु भएको केही समयपछि कुनै राजनीतिक घटनाक्रम नहुँदा पनि उनले एक टेलिभिजनमा अन्तवार्ता दिएर आफ्नो दैनिकीबारे बताएका थिए। तर अहिले सरकारबिरुद्ध भइरहेको आन्दोलन, कोरोना नियन्त्रणमा भइरहेको असफलता, एमसीसी विवाद र नयाँ नक्सा जारीपछि भारतसँग भइरहेका पहलका बिषयमा उनी मौन बसेका हुन्।

अरु बेला नेपालका मात्रै होइन अन्तर्राष्ट्रिय राजनीतिका घटनाक्रमका विषयमा बिषयमा समेत आफ्नो धारण दिइहाल्ने प्रचण्ड अहिले भने चुप बस्ने रणनीतिमा पुगेका हुन्। माओवादी युद्धताका आधार इलाका मानिने रुकुममा ६ जनाको हत्या हुनुको कारण जातीय छुवाछुत भएको भनेर चौतर्फी आवाज उठेको भएपनि यसबारे पनि उनले औपचारिक प्रतिक्रिया दिएका छैनन्। जातीय उत्पीडनको राजनीतिक पृष्ठभुमिबाट आएका भएपनि यस घटनामा उनले मौनता साँधेका छन्। बरु उनका पार्टीका वरिष्ठ नेता माधव नेपालले निष्पक्ष छानविनको माग गर्दै विज्ञप्ति जारी गरेका थिए।

किन मौन?

प्रचण्ड बोलीकै कारण विवादमा पर्ने नेता मध्येका एक नेता हुन्। उनी जल्दोबल्दो विषयमा बोलेर कहिले प्रशंसा कमाइरहेका हुन्छन् भने कहिले आलोचना भएर चर्चामा आइरहेका हुन्छन्। उनी कहिल्यै आफ्नै पार्टी भित्रको गुट उपगुटका बारेमा बोल्छन् त कहिल विपक्षीलाई निशाना बनाउछन्। उनी बोल्ने र पछि विवादमा पर्दा माफी माग्न पनि पछि हट्दैनन्

तर प्रचण्डले पछिल्लो समय भने समसामयिक विषयमा कुनै टिप्पणी गरेका छैनन्।

प्रचण्ड निकट मानिने नेता हरिबोल गजुरेल प्रचण्ड मौन बसेको स्वीकार्दैनन्। उनी अहिले के बोल्ने कस्तो बल्ने भन्नेमा सचेत हुन थालेकाले केही समय मौन बसेका बताउँछन्। अहिलेको विषयमा आफ्ना धारणा दिन ठीक नभएकैले नबोलेको उनले बताए। उनी आफ्नो धारणा सार्वजनिक गर्नमा मात्रै होइन ओलीसँगको संवादमा समेत सजग हुन थालेका छन्। पछिल्लो समय प्रचण्ड र अर्का अध्यक्ष केपी ओलीबीच संवाद हुन छाडेको गजुरेलले बताए। सरकारले पार्टीमा कुनै सरसल्लाह नगरी मनपरी गरिरहेकाले प्रचण्ड सरकारका काम कारवाहीका विषयमा मौन भएको उनले बताए।

सरकारले ल्याएको बजेटका विषयमा बोल्दा पनि नकारात्मक सन्देश जाने भएकाले प्रचण्ड सामान्य प्रतिक्रिया बाहेक मौन बसेको गजुरेलको भनाई छ। 'सरकारले नीति तथा कार्यक्रम ल्यायो। आफ्नै सरकार भएकाले त्यति बोल्ने कुरा भएन। लकडाउन गर्दा पनि पार्टीमा कुनै छलफल भएन। कुनै सरसल्लाह नै हुदैन। प्रचण्ड कमरेड अहिले पनि सक्रिय हुनुहुन्छ। विभिन्न खालका राजनीतिक विषयमा,' उनले भने। तर अब केही दिन पछि राजनीतिक तात्ने उनको भनाई छ।

मुख्यगरी एमसीसीका विषयमा मौन बस्ने र त्यही बिषयमा ओलीलाई गलाउने रणनीतिमा छन्, प्रचण्ड। उनी यसरी लामो समयसम्म मौन बसिरहने नेता होइनन्। लकडाउनकै बेला पनि उनले कहिले घरको प्रांगणमा साइकल चलाएको भिडियो सर्वजनिक गरेर त कहिले टेलिभिजनमा अन्तवार्ता दिएर आफ्ना विषयमा बहस गराइरहेका थिए। तर पछिल्लो समय उनी सबैजसो विषयमा मौन बस्नु अर्थपूर्ण ठानिएको छ। अहिले उनी आफू बोलेर विवादमा भन्दा पनि सरकार आफ्नै कामले अप्ठेरोमा परोस् भन्ने मनस्थितिमा पुगेका छन्।

एमसीसीबाटै गलाउने रणनीति

पार्टीभित्र पेचिलो बनिरहेको एमसीसी सम्झौताका विषयमा पनि उनले औपचारिक रुपमा आफ्नो धारणा सार्वजनिक गरेका छैनन्। तर उनी निकट नेताहरु यसको विपक्षमा उभिन थालेका छन्। एमसीसीमा मौन बस्ने रणनीतिमा पुगेको उनी निकट नेताले बताए। यसअघि जेठ २७ गतेका लागि बस्ने भनिएको सचिवालय बैठकमा पनि एमसीसीको विषयले आफू दबावमा पर्ने देखिएपछि ओलीले अन्तत: स्थगित गरेका थिए। जसको जानकारी प्रचण्डलाई स्थगित गर्नुअघि दिइएको थिएन। त्यसमा पनि उनले केही प्रतिक्रिया जनाएका छैनन्। लकडाउनको सुरुवातमा सक्रिए रहेका प्रचण्ड खुकुलो लकडाउन हुने बेला भने मौन बसेका हुन्।

२ हप्ता यता गुपचुप बसेको प्रचण्ड केही समय अगाडि यतिसम्म सक्रिय थिए कि सरकारले राजनीतिक दल र संवैधानिक अयोगसम्बन्धी अध्यादेश मन्त्रिपरिषद्बाट ल्याउने निर्णय गरेको केही बेरमै उनले आफू निकटका नेतालाई छलफलका लागि बोलाइसकेका थिए। उनलाई सरकारले अध्यादेश ल्याउँदै छ भन्ने जानकारी भए पनि उनले रोक्न चाहेनन् र सरकार बिरोधी मोर्चालाई बलियो बनाउनतर्फ लागे। पछि प्रधानमन्त्री ओली यसबाट पछि हट्न प्रचण्डले बाध्य बनाएका थिए। यसलाई प्रचण्ड समुहका नेताले सफलताका रुपमा व्याख्या गरे।

अहिले पनि ओलीइतरका नेताहरुको जोड तत्कालै स्थायी कमिटीको बैठक बोलाउनुपर्नेमा छ। त्यसका लागि उनीहरुले प्रचण्डलाई दबाब दिन औपचारिक तथा अनौपचचारिक रुपमा आग्रह गरिरहेका छन्। तर पनि ओलीसँगको संवादलाई भने प्रचण्डले पातलो बनाएको उनी निटक एक नेताले बताए। यसअघि सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुनु केही दिनअघि ओलीले स्थायी कमिटी बोलाउनेमा सहमति जनाएका थिए। नेकपाका उपाध्यक्ष वामदेव गौतम निवास भैंसेपाटीमा भेला भएर स्थायी कमिटी बोलाउने माग गरिएको थियो। तर पछि स्थायी कमिटी सदस्य भीम रावलका सुरक्षाकर्मीमा कोरोना देखिएको भन्दै बालुवाटारले बैठकमा भाग लिन बाटोमा पुगेका सदस्यहरुलाई घर फर्काएको थियो। यसरी भैंसेपाटी तुरुप फेल खाएको थियो। पछि रावलले नै आफ्ना कारणले बैठक स्थगित गर्नु नपरेको भन्दै बैठक स्थगित गरेकोमा असन्तुष्टि व्यक्त गरेका थिए।

मौन बसेरै दबाव बढाउने रणनीति

प्रचण्ड एकताका कतिसम्म सक्रिय भए भने प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीसँग दुरी बढ्दै गएपछि सचिवालय बैठकमै ओलीको राजीनामा माग्ने निर्णय सम्म पुगे। त्यसबेला ओली इतरका नेताहरुको भेला तथा छलफलहरु दिन दिनै भइरहेका हुन्थे। वरिष्ठ नेता माधव नेपाल र प्रचण्डबीच भेटघाट बाक्लिएको थियो। ओली इतरका २० स्थायी समिति सदस्यले सरकारका कामको समीक्षा, एक ब्यक्ति एक मुख्य जिम्मेवारी लगायतको माग राखेर लिखित रुपमा स्थायी कमिटी माग राखेपछि नेकपाभित्रको विवाद सतहमा आएको थियो।

त्यतिबेला प्रचण्डले आफू र नेपाल निकट सांसदहरुको हस्तक्षर चलाए। पछि बालुवाटारमा ओलीले पनि आफ्नो पार्टीमा बहुमत देखाउन हस्ताक्षर नै चलाएका थिए। प्रधानमन्त्री ओलीले अध्यादेश नल्याउनु अघि पनि उनी राजनीतिक हिसाबमा सन्चार माध्यममा सक्रिय नै थिए। इमेज टेलिभिजनमा दिएको एक अन्तवार्तामा उनले आफूले कोरोना महामारीका बेला उच्चस्तरीय राजनीतिक संयन्त्र चाहेको बताए। तर ओलीले त्यसको ठाडै अस्वीकार गरिदिए। यसअघि बेलाबेला सरकारका कामकाजबारे खुलेरै आफ्नो धारणा राख्ने प्रचण्ड अहिले भने मौन बसेका हुन्। ओलीको स्वभाव राम्रोसँग बुझेका प्रचण्ड मौन बसेरै ओलीमाथि थप दबाव बढाउने पक्षमा देखिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell