PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रचण्ड एक, लगामविहीन बोली अनेक, पटक-पटक विवादास्पद अभिव्यक्ति किन दिन्छन्?



प्रकाश भण्डारी

प्रचण्ड एक, लगामविहीन बोली अनेक, पटक-पटक विवादास्पद अभिव्यक्ति किन दिन्छन्?

२०७६ फागुन १

'गिरिजाप्रसाद कोइरालाले अझै ठूला आक्रमण गरिदिनुपर्‍यो, ठूल्ठूला फौजी आक्रमण गर्नुपर्‍यो, सदरमुकाम नै हान्नु पर्‍यो भनेर मलाई भन्नुहुन्थ्यो, यही विचित्रको परिस्थितिको बलमा राजतन्त्र ढालेर गणतन्त्र संस्थागत गर्न सफल भएका हौँ।' 

२०७६ माघ १

‘धेरै साथीहरूले मलाई १७ हजार मान्छे मारेर आएको भन्नुहुन्छ। म तथ्यांक मात्रै सच्याउन चाहन्छु। साथीहरू यो सत्य होइन। सत्य के हो मलाई भन्न दिनुहोस्। सत्य के हो भने हिजोका सामन्ती राजाहरूले १२ हजार मान्छे मारेका हुन्। हिजोका राज्यले मारेको १२ हजारको कुरा नहुने, अनि राज्यले मारेकाको पनि मेरै टाउकोमा हाल्ने यो न्याय हुँदैन'

सोही कार्यक्रममा प्रचण्डले दिएको राजपा सांसद रेशम चौधरीलाई चाँडै थुनामुक्त गर्छौँ भनेर दिएको अभिव्यक्ति पनि निकै विवादमा पर्‍यो।

नेकपाका अध्यक्ष प्रचण्डले ठीक एक महिनाको अवधिमा दिएका विवादास्पद दुई अभिव्यक्ति हुन् यी। फरक ठाउँमा दिइएका अभिव्यक्ति भए पनि सन्दर्भ एउटै थियो - द्वन्द्वको। उनी द्वन्दकालका घटनालाई लिएर बेला-बेलामा यस्तै अभिव्यक्ति दिन्छन्।

प्रचण्ड माहोल अनुसार अभिव्यक्ति पनि दिन्छन्।

धुम्बाराहीमा जनयुद्धको सम्झना गर्दै गिरिजाप्रसादसँगको सम्बन्ध खुलाएर उनले आफू रणनीतिक रुपमा कुशल रहेको घुमाउरो रुपमा दाबी गरे। प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि ‌ओलीलाई पाठ पढाउन प्रचण्डले कांग्रेसँगको सम्बन्धलाई साहारा बनाए। पछिल्ला दिनमा आफूसँग रिसाउन थालेको कांग्रेसलाई फकाउने रणनीति अनुरुप अभिव्यक्ति दिए पनि उनलाई आफ्नै भाषणले 'बुमरेङ इफेक्ट'पैदा गर्‍यो। र, कांग्रेसले विज्ञप्ति निकालेर विरोध जनायो।

उनी बेला-बेलामा आफ्ना पूर्व सहकर्मी नेत्रविक्रम चन्द विप्लवलाई सम्झिरहन्छन। कहिले नक्कल गरेर नहुने भन्दै पाठ पढाउँछन् भने कहिले आफ्नै पार्टीमा आउन सल्लाह दिन्छन् विप्लवलाई।

२०७६ असार ११ गते चितवनको भरतपुर महानगरको नगरसभामा पनि विप्लवलाई सम्झिए।

विप्लवलाई उद्धृत गर्दै प्रचण्डले भने, ‘कमरेड तपाईँले हामीलाई काठमाडौँ त लिएर आउनुभयो। तर, मलाई चाहिँ अनुभूति के भयो भने नुवाकोटको एउटा भर्खरकी चाहिँ तामाङनी केटीलाई काठमाडौँ लगेर म लगेर बिहे गर्छु भनेर बम्वई पुर्‍यायो जस्तो फिल भयो।' उनको यो अभिव्यक्तिले तामाङ समुदाय आक्रोशित बन्यो

प्रचण्डका अन्तार्रष्ट्रिय सम्बन्ध र कुटनीति अभिव्यक्ति पनि विवादमा तानिएका छन्। कुटनीतिमा आफू अब्बल देखाउन बेलाबेला दिएका प्रचण्डका अभिव्यक्ति विवादित बने। २०७५ माघ ११ मा भेनेजुएला प्रकरणमा सरकारको कुनै धारणा नआएका बेला प्रचण्डले विज्ञप्ति जारी गरिहाले। पछि पार्टीले पनि उनकै लाइनमा विज्ञप्ति जारी गरेको थियो। त्यो बेला भेनेजुयलामा राष्ट्रपति परिवर्तनका विषयमा रुस र अमेरिका दुई खेमामा विभाजित भएका थिए। उनले रुसको खेमामा उभिँदै भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गरे।

उनले विज्ञप्तिमा लेखेका थिए, 'अमेरिकाले गत दशकदेखि आर्थिक नाकाबन्दी लगाई सैनिक हस्तक्षेपको डर देखाएर भेनेजुयलामा अस्तव्यस्तता ल्याउन प्रयास गरिरहेको छ। यो संयुक्त राष्ट्र संघको बडापत्र र शान्तिपूर्ण सहअस्तित्वमाथि गम्भीर चुनौती हो।’

प्रचण्डले अन्तर्राष्ट्रिय राजनीतिमा अनावश्यक टिप्पणी गरेको भन्दै उनको धारणा त्यतिबेला पनि विवादास्पद बनेको थियो।

पछिल्ला दिनमा अमेरिकाले अमेरिकी च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामार्फत दिन लागेको सहयोग लिनुपर्ने बताए पनि यसअघि उनले इण्डोप्यासिफिक रणनीति अमेरिकाको चीनलाइ घर्ने रणनीति भएको बताएका थिए। नेकपाको केन्‍द्रीय कमिटीको बैठकमा प्रस्तुत प्रतिवेदनमा समेत यो विषय उल्लेख थियो। पछि प्रचण्डको अभिव्यक्तिको आलोचना हुनथालेपछि प्रतिवेदनबाट यो विषयलाई हटाएर पारित गरियो।

शान्ति प्रक्रियामा आएदेखि नै आफूलाई सुरक्षा चूनौती छ भन्ने सार्वजनिक अभिव्यक्ति दिने प्रचण्डले २०७५ फागुन ३० मा पनि यस्तै खालको भाषण गरे। पूर्वमाओवादीको एक भातृ संगठन 'योङ कम्युनिष्ट लिग'को कार्यक्रममा पूर्व सहकर्मी विप्लवले मार्ने धम्की दिएको बताए उनले।

प्रचण्डले भने, 'हिजसँगै सहकार्य गरेका मेरै सचिवालयमा समेत बसेकाले मलाई मार्ने षड्यन्त्र गरेको, माइनुटसमेत गरेको मलाई सूचना आएको छ'।

उनको भनाइलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले झुटो भएको भन्दै खण्डन गरेको थियो। उनी विप्लवले आफ्नो नक्कल गरेको आरोप पनि बेला-बेलामा लगाइरहन्छन्। उनी विप्लवको आलोचना गर्न 'पहिलको जस्तो अवस्था नरहेकाले नक्कल नगर्न' पनि सुझाव दिन्छन्।

उनको बोलीले बेला-बेलामा सहयात्री तथा पर्टीका अर्का अध्यक्ष केपी ओलीलाई समेत झड्का दिने गरेको छ। पार्टी एकीकरणअघि एक अर्काका कट्टर विरोधी मानिने दुई नेता लाभको पदका लागि मिल्ने गरेका छन्। त्यसकै एउटा दृष्टान्त हो, कांग्रेसलाइ साथमा लिएर सरकार चलाइरहेका प्रचण्ड भित्रभित्रै तत्कालीन नेकपा एमालेसँग हात मिलाउनु। र, चुनावी गठबन्धन हुँदै पार्टी एकिकरणसम्म पुग्नु।

पार्टी एकीकरणपछि दुबै जना एकै पार्टीको अध्यक्ष भइसके पनि बेला-बेलामा प्रचण्ड आलोपालो प्रधानमन्त्री र अध्यक्षको सहमति भएको अभिव्यक्ति दिइरहन्थे।

केपि ओली र प्रचण्डको सम्बन्ध देखाउने पछिल्लो घटना हो बालुवाटार सारंगी साँझ

२०७६ माघ २१ मा प्रधामन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा दायाँ बायाँ आफ्ना पार्टीका दुई वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाललाई राखेर बाँसुरी बजाए।

सारंगी साँझको सामाजिक सञ्जालमा निकै विरोध भयो। तर त्यसमा उनकै पार्टीका अर्का अध्यक्ष प्रचण्ड भने देखिएनन्। कारण आखिर जे भए पनि प्रचण्डले आफू सारंगी साँझमा सहभागी हुन नपाउँदा बचेको प्रतिक्रिया दिएका थिए कान्तिपुर पब्लिकेसनले माघ २६ मा आयोजना गरेको कान्तिपुर कन्क्लेभमा

कुनै बेलाका एक अर्काका कट्टर विरोधी मानिएका केपी ओली र प्रचण्डको समन्ध पार्टी एकिकरणपछि पनि दुबै जनाको बोलिले चिसिने अवस्थासम्म पुग्ने गरेको छ। प्रधानमन्त्री ओली उपचारका लागि विदेशमा जाँदा प्रचण्डले नेपालमा केही न केही विवादास्पद विचार सार्वजनिक गर्ने गरेका थिए।

आलोपालो प्रधामन्त्री हुने सहमति भएको भन्ने चर्चा पनि राजनीतिक वृतमा प्रचण्ड कार्यकारी अध्यक्ष नभएसम्म कायमै थियो। तर उनी कार्यकारी अध्यक्ष भएपछि भने आफूलाई प्रधानमन्त्री हुने रुचि नभएको बताउँदै आएका छन्।

बेला-बेलामा जनतालाई फकाउन पनि प्रचण्डले अनेक हर्कत देखाउने गरेका छन्। जनताको मनोविज्ञान अनुसार आफू चल्ने गरेको भन्ने गरेका प्रचण्डले ठाउँ अनुसार बोल्ने गरेका छन्। २०७६ मंसिर ३ मा नवलपरासीमा आयोजित कार्यक्रममा उनले भनेका थिए, 'मधेशीसँग मैले डिभोर्स गरेकै छैन। डिभोर्स गर्नेवाला पनि छैन। तर मैले डिभोर्स गरेको भन्ने तपाईँहरुलाई कसरी लाग्यो? तपाईहरुले मसँग डिभोर्स गर्न खोजेको हो र?'

संविधान जारीलगतै पनि प्रचण्डले आफूलाई चर्चाको शिखरमा राखे। खुल्लामञ्चबाटै भारतलाई धम्की दिँदै आफू कसैको 'एस मेन' नभएको बताएपछि उनी त्यो बेला पनि राजनीतिक वृत र सञ्चार माध्यममा छाए। त्यसअघि पहिलोपटक प्रधानमन्त्री भएका बेला उनले प्रधानसेनापति रुकमाङगद कटवाललाई खुल्लामञ्चबाटै को हो त्यो भनेर चुनौती दिए।

पछिल्लो समयमा सेनापति र पशुपतिको पुजारी हटाउने निर्णय आफ्नो गलत काम भएको भन्दै उनले पश्चाताप गर्ने गरेका छन्।

बोल्ने र बिवादमा पर्ने प्रचण्डको चरित्रलाइ कतिपयले कमजोरीको रुपमा बुझ्ने गरेको भए पनि उनी आफैं भने आफ्नो विषेशता ठान्छन्। उनकै शब्दमा

 

किन 'प्रचण्ड' बोली विवादमा?

प्रचण्डका विवादास्पद अभिव्यक्तिलाई राजनीतिक विश्लेषक श्याम श्रेष्ठ 'भ्रमको खेती' को संज्ञा दिन्छन्।

पार्टीले नियन्त्रण गर्न नस्कदा पनि प्रचण्डको जथाभावी अभिव्यक्ति आउने गरेको टिप्पणी गर्छन् श्रेष्ठ।

'नेताहरुको अली बढी बोल्ने बानी छ। प्रचण्ड पनि त्यसमध्येका एक हुन्। पार्टीभित्र एकजना नेता तथा कार्यकर्ता पनि देख्दिनँ। यसरी बोल्नहुन्छ? भनेर प्रश्न गर्ने। त्यही भएर पनि नेताहरुको स्वच्छाचारी बढेको हो।' उनले भने।

विश्लेषक श्रेष्ठ प्रचण्ड जानी-जानी यस्ता विवादास्पद अभिव्यक्ति दिने गरेको टिप्पणी गर्छन्। भन्छन्, 'थाहा नभएर होइन धेरै चलाख छन्। प्रचण्ड मात्रै होइन सबैजसो नेताहरुले विवादास्पद अभिव्यक्ति दिइरहेका छन्।'

भ्रम फैलाएर आफूलाई फाइदा हुन्छ भन्ने मानसिकताका कारण पनि प्रचण्डका बोली विवादमा पर्ने विश्लेषक श्रेठ बताउँछन्।

 

'एजेण्डा नहुँदा प्रचारका लागि बोल्छन् प्रचण्ड'

राजनीतिक विश्लेषक डा. पुरुषोत्तम मरहट्ठा पार्टीको नियन्त्रण नभएर भन्दा पनि कुनै एजेण्डा नहुँदा प्रचण्ड यस्तो विवादास्पद अभिव्यक्ति दिने बताउँछन्।

'आफूसँग राजनीतिक एजेण्डा नभएपछि यसरी सस्तो लोकप्रियताका लागि प्रचण्ड बोल्ने गरेका छन्। यो त नेताहरुको कुनै न कुनै हिसाबले प्रचार आइरहने रणनीति हो।' उनले भने।

मरहठ्ठा प्रचण्डका अभिव्यक्ति आफ्नै लागि प्रतित्युतपादक भएको बताउँछन्। 'यसरी जसरी पनि प्रचार चाहने र राजनीतिमा हिलो छ्याप्ने प्रवृतिले अरुलाई भन्दा पनि आफूलाई बढी असर गर्ने हो' उनी भन्छन्।

 

विश्वसनीयता गुम्दै

प्रचण्ड बोल्ने र विवादमा पर्ने कारणले पछिल्लो समय विश्वसनीयता गुमाउँदै गएका छन्। पार्टीकै नेता तथा कार्यकर्ताले पनि उनको विश्वास गर्न छोडेको विश्लेषक श्रेष्ठको ठम्याई छ। उनी प्रचण्डले आम नागरिकको पनि विश्वसनीयता गुमाउँदै गएको बताउँछन्।

'कहाँ ५ वर्षअघिको प्रचण्ड अनि अहिलेको धेरै फरक छ। प्रचण्ड मात्रै होइन सबै नेताहरुको अवस्था त्यस्तै छ। जे मन लाग्यो त्यही बोल्दा जनताले नेताको विश्वास गर्न छोडेका छन्। ५ वर्षअघिको शेरबहादुर देउवा र केपी ओलीकै पनि त अहिले कति फरक छ', श्रेष्ठ भन्छन्।

पार्टीहरुमा प्रश्नहीनता बढ्दा नेताहरुमा स्वेच्छाचारी बढेको र यसले नेताहरुलाई मात्रै नभई देशलाई समेत घाटा भइरहेको विश्लेषक श्रेष्ठको बुझाई छ।

'पार्टीहरुमा समालोचना छैन्। कार्यकर्ताले प्रश्न नै उठाउँदैनन्। त्यही कारणले नेताहरु निरंकुश भएका हुन्। उनीहरुको बोलीको ठेगान हुँदैन्'।

 

राजनीतिक संस्कार भाँडदै प्रचण्डको अभिव्यक्ति

विश्लेषक मरहट्ठा यसलाई धृतराष्ट्रको अंगालोसँग तुलना गर्दै राजनीतिक संस्कार भाँड्ने बताउँछन्। भन्छन, 'संविधान निर्माणपछि राजनीतिक वृतमा जुन संस्कार देखिएको थियो यसमा प्रचण्डले गिरिजाप्रसादलाई लगाएको आरोपले संस्कार नै विथोल्छ।'

संस्कारको राजनीति पछिल्ला दिनहरुमा घटदै जानुका पछाडि विवादास्पद अभिव्यक्ति दिएर आफूलाई चर्चामा ल्याउनु पनि एक कारण भएको उनको टिप्पणी छ।

गिरिजाप्रसादले आक्रमण गर्न भने भन्ने प्रसंगलाई उनी कांग्रेसलाई जसरी पनि कमजोर बनाउनुपर्छ भन्ने प्रचण्डको मानसिकता भएको बताउँछन्। 'अहिले कांग्रेसभित्रै र बाहिर पनि जसरी पनि कांग्रेसलाई कमजोर बनाउनुपर्छ भन्ने छ। मेरो विचारमा प्रचण्डको अभिव्यक्ति पनि त्यही हिसाबमा आएको हो।'

शान्ति प्रक्रियामा आएपछि कुशल रणनीतिकार मानिने प्रचण्ड पछिल्ला दिनमा आफ्नो बोलीका कारण पार्टीभित्र र बाहिर स्खलित हुँदै गएका छन्। बोलीमा लगाम लगाउन नसक्दा नागरिक तहमा उनलाई बोलीका ठेगान नभएका नेताका रुपमा समेत चित्रण गर्न थालिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell