PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

युएईबाट नेपाल उड्ने भनिएको जहाज अन्तिम समयमा रद्द, गल्ती दोहोर्‍याउँदै दूतावास



नेत्र तामाङ

युएईबाट नेपाल उड्ने भनिएको जहाज अन्तिम समयमा रद्द, गल्ती दोहोर्‍याउँदै दूतावास

काठमाडौँ: संयुक्त अरब इमिरेट्स् (युएई) बाट मंगलबारका लागि तय भएको उडान अन्तिम समयमा रद्द भएको छ।

आबुधाबीस्थित नेपाली दूतावासले मंगलबार र बिहीबारका लागि तय भएको चार्टर्ड उडान रद्द भएको औपचारिक जानकारी दिएको हो।

कोरोना महामारीपछि नेपाल जान चाहनेहरुलाई फाराम भर्न लगाएर दूतावासले पहिलो उडानमा नेपाल जानेहरुको संख्यासेत तोकिसकेको थियो। तर, दूतावासले सोमबार साँझ प्राविधिक कारण भन्दै दुबै उडान रद्द भएको सूचना सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ।

'संयुक्त अरब इमिरेट्सबाट काठमाडौँका लागि १६ र १८ जुन २०२० (तदनुसार २०७७ असार २, मंगलबार र असार ४, विहीबार) का लागि तय भएका नेपाल एयरलाइन्सका चार्टर्ड उडान प्राविधिक कारणवश हाललाई स्थगन भएको बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,' दूतावासले जारी गरेको सूचनामा भनिएको छ, 'नयाँ उडान तालिका प्राप्त हुनासाथ जानकारी गराइनेछ।'

विवरण संकलन फाराम अनुसार नेपाल फर्कन चाहने नेपालीहरूको जम्मा संख्या १७ हजार ३७५ रहेका छन्। जसमध्ये ४१० दुई हवाइ उडानबाट नेपाल ल्याउने दूतावासको तयारी थियो।

जेठ २३ मा सूचीमा परेका नेपालीलाई उडाउने भनेपछि तयारी अवस्थामा रहेका युएईका नेपाली उड्न पाएनन्। निजी कम्पनीबाट १६८ जना नेपालीलाई उडाएपछि उनीहरु आइतबार नेपाल जाने प्रक्रियाबारे बुझ्न दूतावास पुगेका थिए। तर, दूतावासले प्रक्रिया पूरा भइनसकेको जनाउँदै उनीहरुलाई त्यहाँबाट फर्काइएको थियो

गल्ती दोहोर्‍याउँदै दूतावास

अबुधाबीस्थित नेपाली दूतावासले नेपाली कामदारको समस्या नसुन्ने गुनासो बढिरहेको छ। दूतावासको सम्पर्क नम्बरमा पनि कुनै रेस्पोन्स हुन छाडेको त्यहाँस्थित नेपालीहरुले आरोप लगाउन थालेका छन्।

गुनासो बढ्न थालेपछि दूतावासले जेठ २१ मा विभिन्न समस्यामा परेका नेपाली नागरिकलाई सम्पर्क गर्न भन्दै सूचना जारी गर्‍यो। तर, ती नम्बरमा पनि फोन रेस्पोन्स हुन नसकेको युएईको दुबई, अबुधाबीलगायत शहरमा भएका नेपालीहरुले गुनासो बढेको थियो।

दूतावासले कुनै रेस्पोन्स नगरेपछि सञ्चार माध्यममा समाचार आए। समाचार आउन थालेपछि दूतावासले ध्यानाकर्षण भएको जनायो।

यसैगरी, दूतावासले नेपाल जान चाहने १७ हजार बढी रहेकोमा पहिलो फ्लाइटमा ४१० जनामात्र लगिने जेठ २७ गते जनायो।

त्यसैगरी, जेठ २७ मै दूतावासले ल्यान्डलाइन नम्बर र डेडिकेटेड नम्बरसहितको सूचना पनि सार्वजनिक गरेको थियो। समस्यामा रहेका नेपालीहरुको फोन सम्पर्क चाप बढेको जनाउँदै जारी गरिएको उक्त सूचना दूतावासले एकघण्टामै हटायो। त्यही सूचना दूतावासले भोलिपल्ट अपलोड गर्‍यो।

सूचना संयुक्त अरब इमिरेट्सबाट काठमाडौँको लागि १६ र १८ जुन २०२० (तदनुसार २०७७ असार २, मंगलवार र असार ४, विहीवार) का लागि...

Posted by Embassy of Nepal, United Arab Emirates on Monday, June 15, 2020

यस्तै गल्ती दूतावासले दोहोर्‍याएको छ उडान रद्दको सूचना जारी गर्दा पनि। दूतावासले आइतबार यही सूचना पोस्ट गरेको केही बेरमै हटाएको थियो। यही सूचना सामाजिक सञ्जालमा भाइरल बनेपछि युएईस्थित गैरआवासीय नेपाली संघले समेत ध्यानाकर्षण भएको जनाएको थियो। सोमवार दिउँसोसम्म कतिपयले भने दूतावासको उक्त सूचना गलत भएको र मंगलबार उडान पक्का हुने बताएका थिए।

तर उनीहरुको विश्वास गलत भइदियो जब दूतावासले दुबै उडान रद्द हुने भन्दै सोमबार साँझ विज्ञप्ति निकाल्यो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell