PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

विरामी कि बहाना? ओली अस्वस्थ भन्दै कतिपटक भयो सचिवालय बैठक प्रभावित?



कुञ्जरमणि भट्टराई

विरामी कि बहाना? ओली अस्वस्थ भन्दै कतिपटक भयो सचिवालय बैठक प्रभावित?

काठमाडौं : गएको आइतवारका लागि डाकिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवलय बैठक अन्तिम समयमा स्थगित भयो। सचिवालय सदस्यहरु बैठकका लागि निवासबाट निस्किने तयारीमा थिए। ४ बजेका लागि बोलाइएको बैठक नबस्ने जानकारी ३ बजेमात्रै गरिएको थियो। बैठक स्थगित हुनुबारे सचिवालय सदस्यहरुबाट फरक - फरक तर्क सुनियो।

केही सदस्यहरुले भने प्रधानमन्त्री ओली अस्वस्थ रहेकाले बैठक स्थगित भएको जानकारी पाएका थिए। नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता तथा नारायणकाजी श्रेष्ठ दुवैले प्रधानमन्त्री ओली अस्वस्थ रहेकाले बैठक स्थगित भएको बताएका थिउ। तर, प्रधानमन्त्री अवस्थ भएको भन्नेबारे प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अनभिज्ञता प्रकट गरे। अर्को बैठक कहिले भन्ने तय भएको छैन।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफू अस्वस्थ रहेको जानकारी दिएपछि बैठकहरु प्रभावित हुँदै आएका छन्। अस्वस्थ रहेको भन्दै बैठक प्रभावित हुने बाँकी काममा भने प्रधानमन्त्री दुरुस्त भएर सहभागी हुने गरेका छन्। बैठक छल्न विरामी भए पनि प्रधानमन्त्री ओली आफू कमजोर छु भन्ने चाहिँ फिटिक्कै देखाउन चाहन्नन्।

आइतवार अपरान्ह ४ बजेको बैठक टारेका प्रधानमन्त्री ओली १८ घण्टापछि नेपाल टेलिभिजनबाट शुभकामना दिन झुल्किए। ओलीले कोरोना भाइरस संक्रमणका कारण वैकल्पिक प्रविधिको प्रयोगबाट शिक्षण सिकाइ सुरु भएकोमा शुभकामना सन्देश दिएका हुन्। त्यस्तै सोमवार नै ओलीले सार्कका महासचिवसँग पनि भेटघाट गरेका छन्।

आइतवारको बैठक सार्नुलाई नेताहरुले पार्टी अध्यक्षसमेत रहेका ओलीको टार्ने शैलीका रुपमा लिएका छन्। बैठकमा नेकपामा लामो समयदेखि विवादित एमसीसीबारे छलफल गर्ने तय भएको थियो। त्यसका लागि नेकपा एमसीसी कार्यदलका सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवालीलाई समेत बोलाइएको थियो। एमसीसीबारे सचिवालयमा ओली अल्पमतमा रहेकाले बैठक बस्न आनाकानी गरेको एक नेताको बुझाइ छ।

गत वैशाख २५ गतेका लागि डाकिएको स्थायी कमिटीको बैठक पनि तुहिएको थियो। २४ गते अपरान्ह उक्त बैठकको ऐजेण्डा तय गर्नका लागि सचिवालय बोलाइएको थियो। तर, आफूलाई सन्चो नभएको भन्दै बैठकको बीचमै उठेर ओली हिँडे। केही बेरमा आउँछु भनेका प्रधानमन्त्री बैठकमा फेरि फर्किएनन्। त्यसले सचिवालय मात्र प्रभावित भएन् स्थायी कमिटी बैठक नै अनिश्चित भयो। विना निस्कर्ष बैठक टुंगिएको भन्दै नेताहरु निस्किए।

आफूलाई गाह्रो भएको भन्दै बैठकबाट हिँडेका प्रधानमन्त्री केही घण्टापछि अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सँग छलफल गर्न भने उपस्थित भए। अध्यक्षद्वयबीच स्थायी कमिटीका सदस्यहरुको मागपछि तय गरिएको बैठक केही दिनमा बोलाउने सहमति बन्यो। त्यसपछि २५ गतेका लागि बोलाइएको बैठक स्थगित भयो। २४ गते दिउँसो मन्त्रिपरिषद् बैठक समेत बसेको थियो।

तर, वैशाख २५ गते (भोलिपल्ट) ओलीले वुद्ध जयन्तिको अवसरमा साँझ घरघरमा दीप प्रज्ज्वलन गर्न अपील गरे। साँझ निवास बालुवाटारमा आयोजित दीप प्रज्ज्वलनमा सहभागी बने।

केही दिनपछि ३१ गतेका लागि स्थायी कमिटी बोलाइएको थियो। कोरोना संक्रमणको खतरा रहन सक्ने भन्दै सुरु बैठक हुनु डेढ घण्टाअघि फेरि नबस्ने जानकारी गराइएको थियो।

उता, गत जेठ १० गते एमसीसीबारे छलफलका लागि सचिवालय बैठक डाकिएको थियो। बालुवाटारमा बोलाइएको बैठकमा प्रधानमन्त्री ओली सहभागी बनेनन्।

अनौपचारिक भनिएको बैठक भनिएको बैठकमा एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिस्ट, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई समेत बोलाइएको थियो। त्यस्तै अर्थमन्त्री युवराज खतिवडा, स्थायी कमिटी सदस्यहरु भीम रावल, प्रदीप कुमार ज्ञवाली, देव गुरुङ लगायत छलफलमा सहभागी थिए।

करिव एक वर्षदेखि नेकपामा विवादित एमसीसीबारे एमसीएका बिस्टले प्रेजेटेशन दिएका थिए। बिस्ट र घिसिङ निस्किएपछि सचिवालय बस्ने भनिएको थियो। तर, प्रधानमन्त्री उपस्थित नहुँदा बैठक अनौपचारिकतामा नै सीमित भयो। सो बैठकमा पनि ओलीले स्वास्थ्य अवस्था बिग्रिएकाले आफू उपस्थित हुन नसकेको जानकारी गराएका थिए।

प्रधानमन्त्री ओली बिरामी भएका कारण २०७६ साउन ३० गते, माघ २६ बोलाइएको बैठक स्थगित भएको थियो। कतिपय बैठक भने ओली र प्रचण्डबीच कुरा नमिल्दा बैठक सरेको थियो।

प्रधानमन्त्री ओली उपचारका लागि देश बाहिर गएको र आराम गरिरहेको अवस्थामा केही बैठकहरु भने प्रचण्डको अध्यक्षतामा सञ्चालन भएको छ।२०७६ भदौ ५ गते बसेको सचिवालय बैठकले ओलीको अनुपस्थितिमा प्रचण्डले पनि बैठक डाक्न पाउने निर्णय गरेको थियो। प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर गएका बेला प्रचण्डले भदौ ९ गते पहिलो बैठक डाकेका थिए।

उता, मंसिर ४ गतेको सचिवालय बैठकले दुई अध्यक्षको कार्यविभाजन गर्दै बैठक संयुक्त अध्यक्षतामा सञ्चालन हुने तर आम रुपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्ने उल्लेख भए पनि उक्त सहमति कार्यान्वयन हुन सकेको छैन। कार्यकारी अध्यक्ष बनेपछि मंसिर १८ गते बैठक बसेको थियो। प्रधानमन्त्री एपेन्डिसाइटिसको अप्रेसन गरेर आराम गरेका बेला केही बैठकहरु प्रचण्डकै अध्यक्षतामा बसेको थियो। पुस २९ गते स्थायी कमिटी बैठकको ऐजेण्डा तय गर्न बसेको बैठकमा ओली सहभागी थिए। तर, एक हप्ता चलेको बैठक प्रचण्डकै अध्यक्षतामा सम्पन्न भएको थियो।

पछिल्लो समय ओलीको अनुपस्थितिमा सचिवालय बैठक बसेको छैन। जेठ २७ गतेका लागि बोलाइएको बैठक पनि स्थगित गरिएको थियो। संसदमा संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने भएकाले बैठक स्थगित गरिएको थियो। तर, सचिवालय स्थगित गरेर बेलुकी ६ बजेका मन्त्रिपरिषद् बैठक भने बोलाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell