PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

पुल्चोकमा आइपुग्यो चार वटै पाङ्ग्रा, रातो मछिन्द्रनाथको रथ निर्माण शुरु

पुल्चोकमा आइपुग्यो चार वटै पाङ्ग्रा, रातो मछिन्द्रनाथको रथ निर्माण शुरु

रोजन श्रेष्ठ/पहिलोपोस्ट


करुणामय बुगंद्य: (रातो मछिन्द्रनाथ) को रथ निर्माण कार्य सुरु भएको छ। मंगलवार ललितलपुर महानगरपालिकामा जात्रासँग सम्बन्धित जातीय समाज, गुठी संस्थान र सरोकारवालाहरुको बैठकले लकडाउनका कारण रोकिएको रथ निर्माण कार्य निर्णय भएसँगै बुधवारबाट निर्माण सुरु भएको हो।

नेपालकै सबैभन्दा लामो समयसम्म चल्ने बुंगद्य: (रातो मछिन्द्रनाथ) को रथयात्रा लकडाउनका कारण अनिश्चित बनेको थियो। लकडाउन नभएको भए अहिलेसम्म रातो मछिन्द्रनाथको रथयात्रा सकिएर उनलाई पाटनबाट बुंगमती लगिसकेको हुने थियो।

ललितपुरको त:बहास्थित मन्दिरबाट बुंगद्य:लाई वैशाख १२ गते पुल्चोकमा पुर्‍याएर रथमा राखिनु पर्थ्‍यो। र त्यसपछि रथयात्रा सुरु हुन्थ्यो। तर कोरोना महामारी रोकथाममा लागि लगाइएको लकडाउनका कारण यसपटक रातो मछिन्द्रनाथको रथ निर्माण नभएपछि मन्दिरमा उत्तर दिशातर्फ फर्काएर राखिएको मूर्तिलाई निकालेर त्यहीकै फल्चा (सत्तल)मा पूर्व दिशामा फर्काएर राखिएको थियो। मछिन्द्रनाथसँथ दुई महिनादेखि पानेजु (पुजारी) हरु पनि सत्तलमा नै बस्दै आएका छन्। रथ निर्माण सुरु भएसँगै अब तिथि हेरेर जात्रा हुनेमा स्थानीयको विश्वास छ।

३२ हात लामो रथ निर्माणको पहिलो चरण स्वरुप बुधवार बिहान पुल्चोकस्थित पीठमा रथको घचा: (पाङग्रा) पुर्‍याइएको छ। बाराहीहरुले रथमा पांगा र ल:सिं राख्नेछन्। ञँवाहरुले भने काठहरुलाई डोरी र बेतले कस्ने काम गर्नेछन्।

चार पाङ्ग्रालाई चार भैरवको प्रतिकका रुपमा लिने गरेको स्थानीय बताउँछन्। दायाँ तर्फको अगाडिको पाङग्रालाई हलसिद्धी भैरव, पछाडिको पाङग्रालाई लुप्तह्रास भैरव, अगाडिको बायाँतर्फको पाङग्रालाई ट्याङका भैरव र पछाडिको पाङग्रालाई कुन्दी भैरव भन्ने गरिन्छ।  

पाङ्ग्रा र खट बाँध्ने काम सकिएपछि रथको तल्लाको काम सुरु हुन्छ।

यता पाटनको  टंगालमा भने मीननाथको रथको अघिल्लो भागमा राख्ने घ:मा: निर्माण कार्य भइरहेको छ। पाङग्राको अगाडि रहेको घ: मा: को घेरामा डोरी बाँधेर रथ तान्ने गरिन्छ। घ: मा: लाई कर्कोटक नागराजको प्रतीकका रुपमा लिइन्छ। घ:मा: को अघिल्लो भागमा ह्यगृव भैरवको मुकुन्डो राख्ने गरिन्छ। 

रथ निर्माण भएसँग मछिन्द्रनाथ र मीननाथको रथ यात्रा हुने निश्चित भएको छ। यद्यपि, कोरोनाको संक्रमण कायम रहेको अवस्थामा सतर्कता अपनाएर रथ यात्रा गर्ने पक्षमा सरोकारवालाहरु रहेका छन्।

स्थानीयले पनि सतर्कता अपनाएर जात्रा संचालन गर्न सक्ने बताएका छन्। रथयात्रा हुने समयमा मानिसहरुलाई बाहिर निस्कन नदिने र घरबाटै दर्शन गर्ने व्यवस्था मिलाउन सकिने सुझाव उनीहरुले दिएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell