काठमाडौं : काठमाडौं उपत्यकामा ९ जनासहित देशभर पछिल्लो २४ घण्टामा ४३४ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये महिला ४८ र पुरुष ३८६ जना छन्।
बिहीवार पुष्टि भएका संक्रमितमध्ये उपत्यकाका तीन जिल्लामा ९ जना रहेका छन्।
पाटन अस्पताल प्रयोगशालामा भएको परीक्षणमा काठमाडौंका ४ र ललितपुरका एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। त्यस्तै, त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका ४ जनामा पनि संक्रमण पुष्टि भएको छ।
पाटन अस्पतालमा गरिएको परीक्षणमा डोल्पा र सुनसरीका एक/एक जनामा संक्रमण पुष्टि भएको छ।
बिहीवार संक्रमण पुष्टि भएकाहरुमध्ये विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा झापा र सुनसरीका १/१ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, कोशी अस्पताल प्रयोगशालामा सप्तरीका ८ र सुनसरीका ४ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेश १ को प्रादेशिक अस्पताल प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका एक जनामा संक्रमण पुष्टि भएको छ।
प्रदेश २ को प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ९, महोत्तरीका ५, र सिराहाका २ जनामा संक्रमण पुष्टि भएको छ।
यसैगरी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा सुदूरपश्चिम प्रदेशका जिल्लाहरु अछामका १३, बैतडीका १, बझाङका १६, बाजुराका ४, डडेलधुराका २, र कञ्चनपुरका ५९ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, टेकुमा भएको परीक्षणमा प्रदेश २ को रौतहटका ३८ र सर्लाहीका ५ जनामा संक्रमण पुष्टि भएको छ।
भरतपुर अस्पताल प्रयोगशालामा भएको परीक्षणमा प्रदेश ५ को पाल्पाका ९३ जनामा संक्रमण पुष्टि भएको छ।
किटजन्य रोग अन्वेषण केन्द्र प्रयोगशाला हेटौंडामा भएको परीक्षणमा बाराका १ जनामा संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा तनहुँका ९ र नवलपरासी पूर्वका ५ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बाग्लुङका २, म्याग्दीका ६ र स्याङजाका १ जनामा संक्रमण पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा नवलपरासी पश्चिमका ३, प्यूठानका ७, पाल्पाका २८ र रुपन्देहीका ७ जनामा संक्रमण पुष्टि भएको छ।
भेरी अस्पताल प्रयोगशालामा भएको परीक्षणमा रुकुम पूर्वका १ र बर्दियाका ६ जनामा संक्रमण पुष्टि भएको छ।
सुर्खेत प्रदेशिक अस्पताल प्रयोगशालामा भएको परीक्षणमा बैतडी, बाँके, दार्चुला, धादिङ, इलाम, जुम्ला, कास्की, लमजुङ र सल्यानका १/१ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, सुर्खेतमै भएको परीक्षणमा दैलेखका १८, सुर्खेतका १३, कालिकोटका ३ र बझाङका २ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा बैतडी, दैलेख, दाङ, धादिङ, गुल्मी, इलाम, जुम्ला, खोटाङ, लमजुङ, पाल्पा, र कञ्चनपुरका १/१ जनामा संक्रमण पुष्टि भएको छ। जुम्लामै भएको परीक्षणमा बाजुराका ४, बाँकेका ३, ताप्लेजुङका ३ तथा गोरखाका, ओखलढुंगाका र रामेछापका २/२ जनामा संक्रमण पुष्टि भएको छ।
योसँगै संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ। त्यस्तै, मृत्यु भएका संक्रमितको संख्या २६ पुगेको छ। संक्रमितमध्ये हालसम्म दुई हजार ६५० जना उपचार पछि डिस्चार्ज भएका छन्। हाल आठ हजार ४८६ जनाको आइसोलेसनमा उपचार भइरहेको छ।
आत्महत्या गरेका एक जनामा कोरोना पुष्टि
दैलेखमा झुण्डिएर आत्महत्या गरेका एक जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ। दुल्लु नगरपालिका-१० गमौडीका २१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
सो मृत्युलाई प्रदेशले कोरोनाकै कारण मृत्यु भएको भनेपनि केन्द्रले पुष्टि गर्न भने बाँकी रहेको छ।