PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भारतले रोकेन मानसरोवर जोड्ने सडकको काम : भारततिरको 'ब्लास्टिङ'ले महाकाली 'ओभर फ्लो', नेपाली सेनालाई बाटो बनाउन अवरोध



कमलराज भट्ट

भारतले रोकेन मानसरोवर जोड्ने सडकको काम : भारततिरको 'ब्लास्टिङ'ले महाकाली 'ओभर फ्लो', नेपाली सेनालाई बाटो बनाउन अवरोध

काठमाडौं : नेपाली भूमि कालापानी कब्जा गरेको भारतले लिपुलेकमा सडक निर्माणको कार्य रोक्न मानेको छैन। आफ्नो भूमिमा सडक बनाएको भन्दै नेपाल सरकारले आपत्ति जनाए पनि भारतले टेरेको छैन। नेपालले सडक निर्माण स्थगित गरेर वार्तामा आउन बारम्बार आग्रह गरिरहेको छ। तर, भारत निरन्तर सडक बनाइरहेको छ।

वैशाख अन्तिम साता भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालको भूभाग लिपुलेक हुँदै चीनको सीमा कैलाश मानसरोवर पुग्ने सडक निर्माणको उद्घाटन गरेका थिए। त्यसको भोलिपल्टै निर्माण कार्य रोकेर नेपाली भूमिमा कुनै पनि गतिविधि नगर्न नेपालले आग्रह गरे पनि भारतले अटेरी गरेर निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढाइरहेको छ।

यो बीचमा नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नक्सा जारी गर्‍यो। निशान छापका लागि संविधान संशोधन गर्‍यो। कालापानी क्षेत्रमा नेपालको स्वामित्वमा रहेको व्यास गाउँपालिका १ छाङरुमा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गर्‍यो।

साथसाथै जेठ पहिलो साता दार्चुला सदरमुकाम खलंगाबाट कालापानी क्षेत्रको छाङरुसम्म जोड्ने घोडेटो बाटो बनाउन नेपाली सेना व्यास गाँउपालिका २ स्थित घाँटीबगरमा ओर्लियो। बाटो निर्माणका लागि आवश्यक सुरक्षा तथा बन्दोबस्तीसहित घाँटीबगरको थी भन्ने ठाउँमा सेक्सन प्लस फौज क्याम्प खडा गरेर तैनाथ भयो

फौजले घोडेटो बाटो निर्माण सुरु गर्‍यो। घाँटीबगरमा २ मिटर चौडा घोडेटो बाटो बनाउँदै गयो।

घोडेटो बाटोमा भारत बाधक?

असार मसान्तभित्र बाटो निर्माण गरिसक्ने लक्ष्य लिएर सेनाले घाँटीबगरमा क्याम्प खडा गरेको छ। उता भारतले ठूला मेसिन प्रयोग गरेर चट्टान/ठूला ढुंगा नदीमा खसालेर मानसरोवर जोड्ने बाटो बनाउँदै गर्दा नेपाली सेनाको काममा भने बाधा उत्पन्न गर्‍यो। जसका कारण समयमै काम सकिनेमा संशय पैदा भएको छ।

भारतले ठूला ढुंगा नदीमा खसाल्दा नदी साँघुरिएको छ भने बहाव बढेको छ। बहाव बढ्दा नेपाली सेनाले बनाएको बाटो बगाएर लगेको छ। ‘हामीले बनाएको बाटो महाकालीले बगाएर लग्यो। पारी (भारत) तिर ब्लास्टिङ भएर ढुंगा खस्दा नदीको फ्लो ‌ओभर भयो। अलिअलि खनेको पनि बगायो,’ नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने, ‘अहिले हाम्रो टोली माथि उचाईमा उक्लिएको छ। त्यहाँ बगाउने भएपछि अर्को ठाउँमा निर्माण कार्य सुरु गरिएको छ।’

व्यास गाउँपालिका २ मा पर्ने मौरी भिरमा ठूलो चट्टान र घाँटीबगरमा पहिरोसमेत गएकोले चीन र भारतको सीमासँग जोडिएको दार्चुलाको व्यास गाउँपालिका-१ मा पर्ने छाङरु र टिंकर गाउँका १८२ घर परिवारका करिब एक हजार २०० जना स्थानीयलाई जिल्ला सदरमुकाम खलङ्गा आउजाउ गर्न समस्या छ। उनीहरुले हालसम्म भारततर्फ रहेको बाटो प्रयोग गर्न बाध्य छन्।

घाँटीबगर र मौरी भिरमा पर्ने ४५० मिटर सडक खण्ड अविलम्ब सञ्चालन गर्न दार्चुला जिल्ला सुरक्षा समितिबाट निर्णय भएअनुसार सडक निर्माणको लागि नेपाली सेनाको प्रावधिक जनशक्ति सहितको टोली तैनाथ भएर बाटो बनाइरहेका बेला भारतका कारण बाधा उत्पन्‍न भएको हो।

नदीले बगाएकाबाहेक १८० मिटर सडक निर्माण गरिएको सैनिक प्रवक्ता पाण्डेले जानकारी दिए। ‘अहिले बनाएको पनि बगायो भने असार मसान्तभित्र बाटोको काम सक्न गाह्रो हुन्छ,’ उनले भने।

प्रवक्ता पाण्डेका अनुसार बाटो निर्माण कार्यका लागि दक्ष प्राविधिक जनशक्ति (इन्जिनियर) र थप सुरक्षा तथा बन्दोबस्तीको निमित्त आवश्यक नफ्रिको फौज, उपकरण (ब्लास्टिङ मेसिन, बारुद) एवं अन्य सामग्रीसहित १४० जना बाटो निमार्णमा खटिएका छन्। 'त्यसमा २ सय मिटरको चट्टान छ। सय मिटर सुख्खा पहिरो गएको हटाउनपर्ने छ,' प्रवक्ता पाण्डेले भने, 'चट्टानमा ब्लास्टिङ गरेर बाटो बनाइरहेका छौं। यहाँनेर कुल बनाउने बाटो ४५० मिटर हो।'

सेनाले असार मसान्तभित्रै घोडेटो बाटो निर्माण गरे छाङरु र तिंकरका स्थानीयले नेपालकै भूमि प्रयोग गरी सदरमुकाम आउजाउ गर्न सक्नेछन्।

दार्चुला-तिंकर ८७ किमी सडक सेनाले बनाउने

घोडेटो बाटोपछि नेपाली सेनाले दार्चुला-तिंकर सडक खण्डको ८७ किलोमिटर सडक निर्माण गर्नेछ। मन्त्रिपरिषद्को २०७७ वैशाख १४ गतेको निर्णय बमोजिम महाकाली करिडोर (दार्चुला तिंकर सडक योजना) अन्तर्गत उत्तरी क्षेत्रतर्फ रहेको ८७ किमी सडक खण्ड निर्माणको जिम्मा सेनाले पाएको छ।

सडक निर्माणका लागि सेनाले वैशाखमै रेकी गरेको थियो। जेठमा विशेषज्ञ टोली काठमाडौंबाट पठाएको थियो। केही दिनअघिमात्रै प्रधानसेनापति पूर्णचन्द्र थापाले सशस्त्र आईजीपी शैलेन्द्र खनालसँग छाङरु पुगेर सेनाले बनाइरहेको घोडेटो बाटो र जिम्मा पाएको मोटर बाटोको निरीक्षण गरेका थिए। 

'दार्चुला सदरमुकाम खलंगाबाट तिंकरसम्मको बाटोमा गएको वैशाख १४ गते नेपाल सरकारले बाटो बनाउने भनेर निर्णय गरेको छ। त्यो बाटोमा जिरोदेखि ४७ किलोमिटरसम्म सडक विभागले बनाउने र ४७ किलोमिटर पश्चात जिरो मानेर अर्को ८७ किलोमिटर नेपाली सेनाले बनाउने भनेर निर्णय गरेको छ,' सैनिक प्रवक्ता पाण्डेले भने।

सेनाले अहिलेको घोडेटोलाई भविष्यमा मोटर बाटो बनाउनेछ। 'महाकाली राजमार्ग भनिएको छ यसलाई। ४७ किमी सडक विभागले बनाउने र ४७ लाई जिरो मानेर अर्को ८७ किमी आर्मीले बनाउने हो,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell