PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

ओली कमरेड ! पैताला बजार्ने, कपाल लुछ्ने, रोइकराइ गर्ने किन?



नेत्र तामाङ

ओली कमरेड ! पैताला बजार्ने, कपाल लुछ्ने, रोइकराइ गर्ने किन?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अहिले सत्ता कसले चलाउने भन्ने विषयमा रडाको मच्चिएको छ।

आफूलाई हटाउनेदेखि राष्ट्रपतिलाई महाभियोग लगाउनेसम्मको सूचना पाएपछि प्रधानमन्त्री केपी शर्मा ओली आत्तिएका छन्।

कुनै बेला आफैले 'अध्यादेश' ल्याएर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरुलाई तह लगाउन सफल ओली अहिले आफैँ संकटको भुङ्ग्रोमा देखिन्छन्।

शनिवार स्थायी कमिटी रद्द गरेर ओलीले आफ्नो मन्त्रिमण्डललाई बालुवाटार डाके। अनि कित्ता क्लियर गर्न निर्देशन दिए। राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि यस घटनामा मुछ्न उद्दत देखिए ओली। क्षणक्षणमा शीतल निवास पुगेर राष्ट्रपतिलाई महाभियोग लगाउन खोजिएको आशंकाको जनाउ दिँदै आफूअनुकूल वातावरण बनाउन खोजेका छन् उनले। 'वनको बाघले खाओस् नखाओस्, मनको बाघले खायो' भने झैं ओलीले आफू जोगाउने धुनमा राष्ट्रपति भण्डारीलाई पनि राजनीतिमा मुछेका छन्।

हुन त अहिले देश स्वास्थ्य संकटमा छ। कोरोना संक्रमण दिनहुँ बढ्दो छ। कोरोनाकै कारण ३४ जनाको ज्यान गइसकेको छ। ओलीलाई त्यसको चिन्ता छैन।

सत्तारुढ दल र सत्ताको ध्यान जनताको स्वास्थ्यप्रति सचेत देखिन्न। अहिले सत्तारुढ दलका नेताहरु आफ्नो कुर्सी कसरी जोगाउने भनेर लागिपरेका छन्।

बालुवाटारमा रडाको मच्चिँदा कोही धुम्बराहीमा अनशनमा छन् भने बाँकी कार्याकर्ता ओलीलाई राजनेताको उपमा दिएर सडकमा उत्रन थालेका छन्।

नेकपामा हिजो ओली र प्रचण्डको टसल स्पष्ट देखिन्थ्यो। अहिले ओली ग्याङको कार्यशैलीका कारण धेरैजस्तो नेताहरु प्रचण्डतिर उभिन पुगेका छन्।

बालुवाटारमा बिहीवारको स्थायी कमिटीमा उभिएको एउटा कित्ता त प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रष्ट देखाइदिए। जसमा थिए - प्रचण्डसहित, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, भीम रावल, नारायणकाजी श्रेष्ठलगायत।

कित्ता त क्लियर यसबाट देखियो नै। तर, ओलीले घुर्कीको अस्त्र फेरि प्रयोग गरेका छन्, मन्त्रिमण्डलमा। घुमाउरो पारामा उनले आफूलाई जोगाउन गुहार पनि मागेका हुन्।

जेठ ३ मा मिलेको थियो दुई पार्टी। दुई पार्टी एक हुनुअघि पुस ५ गते ओलीले अनेकन प्रश्नको सजिलो उत्तर दिएका थिए।

त्यतिबेला ओलीले भनेका थिए, ‘मैले उनीहरुलाई भन्ने गरेको छु, एकीकरण भयो भने एमालेले माओवादीलाई निल्छ, माओवादीले एमालेलाई निल्छ, त्यसपछि न एमाले रहन्छ न माओवादी रहन्छ।’

दुई पार्टी एकतामा नेपाली काँग्रेसले मात्र हैन वामपन्थी दलहरुलेसमेत शंका गरेका थिए। निर्वाचनको केही समयमै यो दलको एकताको असली रुप देखिने आँकलन गरेका थिए। यद्यपि आशंकाका बबजुद् घिसीपिटी सरकार बन्यो। कुर्सी सहमतिमा धेरै कुरा मिल्यो।

खुट्टा बजार्ने, कपाल लुछ्ने किन?

निर्वाचनमा जानुअघि एक भइसकेका थिएनन् एमाले र माओवादी। तीनकुनेको रोयल व्याङ्क्वेटमा साझा घोषणापत्र जारी गर्दा ओली मक्ख देखिन्थे।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ओली र प्रचण्ड तीनकुनेको रोयल ब्याङ्क्वेटमा सँगै उभिए। साझा चुनावी घोषणापत्र जारी गरे।

तर, त्यतिबेला ओली बसीबसी बोले। प्रचण्डलाई जबरजस्ती उठेरै बोल्न लगाइएको थियो। माधव नेपालले बोल्न पनि पाएनन्। खासमा त्यो चुनावी तालमेलको घोषणालाई त्यतिबेला 'सर्प्राइज'का रुपमा लिइएको थियो।

ब्याङ्क्वेटमा घोषणापत्र सार्वजनिक गर्दै ओलीले भनेका थिए, ‘एमाले र माओवादी मिल्दा कसैले खुट्टा बजार्ने, कसैले कपाल लुछ्ने काम किन गर्ने?’ ओलीले तोकेरै कुनै दलको नाम नभने पनि यो काँग्रेसतिर लक्षित थियो। २१ कात्तिक २०७४ को ओलीको यो प्रश्न संयोग भनौं यही बेला आफैतिर सोझिएको छ।

सत्ता र पद जोगाउन ओली यतिबेला रोइकराइ गराइरहेका छन्। कहिले स्थायी कमिटीमा सरकारको राम्रो कामको प्रचार भएन भनेर। कहिले मदन भण्डारीको जन्मजयन्तीमा भारतले सरकार ढाल्न लाग्यो भनेर।

तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा ओलीले घोषणापत्रको व्याख्या यसरी गरेका थिए - ‘यो सर्वोत्कृष्ट घोषणापत्र हो, यो चुनावी घोषणापत्रमात्र नभएर देशको विकासको प्रतिबद्धतापत्र हो, ग्यारेन्टी जस्तै हो।’

यस घोषणापत्रमा ग्यारेन्टीका पाँचवटा विषय रहेको उनले बताएका थिए। ‘राष्ट्रियताको सवालमा, लोकतन्त्रको सवालमा, राष्ट्रिय एकताको सवालमा, शान्तिको सवालमा र विकासको सवालमा यो ग्यारेन्टी पत्र हो।’

यता प्रचण्डले भने एमाले र माओवादीको मिलनले ७० वर्षदेखिको राजनीतिक भुमरीको अन्त्य हुने दाबी गरेका थिए।

४८ पृष्ठ लामो घोषणापत्रमा उल्लेख गरिएको विषयमध्ये अहिले लोकतन्त्रको विषय चर्चामा छ। नेकपाभित्र ओलीको रोइकराईले लोकतन्त्र हराएको छ। विकासको सवालमा त्यस्तै छ। राष्ट्रिय एकताको सवालमा प्रश्न उठेको छ। प्रचण्डले राजनीतिक भूमरी अन्त्य हुन्छ भनेका थिए। तर, अहिले सतहमा विवादको भूमरीका निर्देशक उनी नै देखिएका छन्। ग्यारेन्टीपत्रका यी दुई साक्षीको यो क्रियाकलाप हेर्दा अब के एमाले माओवादीले बाँडेको त्यो ग्यारेन्टीपत्रको म्याद सकिएको हो त?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell