PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

चिनियाँ राजदूतको 'ग्लु'ले कति समय जोडिएला नेकपा? यान्छीको सक्रियता, परराष्ट्र बेखबर



विधुर ढकाल

चिनियाँ राजदूतको 'ग्लु'ले कति समय जोडिएला नेकपा? यान्छीको सक्रियता, परराष्ट्र बेखबर

काठमाडौं : नेपालमा राजनीतिक सत्ता संघर्ष जारी रहँदा भारतीय मिडियामा नेपालको सत्ता समीकरणमा चिनियाँ हात र चासो रहेको टिप्पणी गरिरहेका छन्। नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश गरी नक्सा जारी गरेसँगै भारतीय मिडियाले नेपाल चीनको बहकावमा आएको टिप्पणी गर्दै आएका छन्। अझ भारतीय सेनाध्यक्ष मनोज मुकन्द नरवणेले चीनको नाम नलिइ नेपाल गोटी बनेको आरोपसमेत लगाए।

यससँगै नेपालमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र राजनीतिक संघर्ष उचाइमा पुगेको छ। यही अवस्थामा नेपालस्थित चिनियाँ राजदूतको सक्रियतासमेत बढ्दै गएको छ।

नेपालको शक्ति संघर्षमा चिनियाँ चासोलाई लिएर भारतीय मिडियामा समेत चर्चा चुलिएको छ भने उनीहरुले नेपाललाई अर्को पाकिस्तानको दर्जा दिएका छन्। भारतीय मिडियाले चिनियाँ राजदूत होउ यान्छीको पकड सेनादेखि सरकारसम्म रहेको भन्दै उनका गतिविधिलाईसमेत नजिकबाट नियालिरहेका छन्।

पछिल्लो समय राजदूत होउको सक्रियताले पनि उनीहरुको दावीलाई पुष्टि गरिरहेको छ। आइतवार साँझमात्र नेकपाका वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपाललाई उनकै निवास कोटेश्वरमा पुगेर भेट गरेकी राजदूत होउले मंगलवार बिहान डल्लु पुगेर नेकपाका अर्का वरिष्ठ नेता झलनाथ खनाललाई भेट गरेकी छिन्।

कोरोना भाइरसको बढ्दो संक्रमण र नेकपामा विवाद बढ्दै जाँदा चिनियाँ राजदूत होउ यान्छीको सक्रियता पनि उत्तिकै तीब्र गतिमा चलिरहेको छ।

वैशाखमा पनि नेकपाभित्र राजनीतिक किचलो उत्कर्षमा रहेका बेला उनले प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेता नेपाललाई छुट्टाछुट्टै भेट गरेकी थिइन्। उनको कुटनीति 'ग्लु'ले दुवै अध्यक्षलाई जोड्न सफल भएको थियो, त्यतिखेर।

यसबीच उनले निरन्तर रुपमा बालुवाटरसँग सम्पर्क गरिरहेको र नेकपाका नेताहरुसँग सम्पर्क कायम गरिरहेको स्रोतले बताएको छ। यद्यपि, यी भेटमा के विषयमा छलफल भयो भन्ने कुरा आधिकारिक रुपमा बाहिर ल्याइएको छैन।

भेटका अवसरमा दुवै देशबीचको सम्बन्ध र कोरोना भाइरस विरुद्धको सहकार्यका विषयमा छलफल भएको जानकारी राजनीतिक नेतृत्वको सचिवालयले बताउँदै आएको छ।

२ महिना अगाडि नै नेकपामा विवाद उत्कर्षमा रहेका बेला चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुखसहितका नेताहरुसँग नेकपाका नेताहरुले भिडियो कन्फ्रेन्स मार्फत् छलफल गरेका थिए। असार ५ मा समेत नेकपाको स्कुल विभागले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका पदाधिकारीसँग छलफल तथा प्रशिक्षण आयोजना गरेको थियो।

यसअघि नेपालमा नयाँ राजनीतिक घटनाक्रम हुँदा भारतीय पक्षको सक्रिया बढ्ने सामान्य जस्तै हुन्थ्यो। यसपटक चिनियाँ सक्रियता बढी देखिन्छ।

यद्यपि, भारतीय राजदूतले पनि गोप्य रुपमा नेपालका राजनीतिक नेतृत्वसँग छलफल गरेको स्रोत बताउँछ। तर, यसको आधिकारिक पुष्टि भने भएको छैन।

दुई महिना अघि टरेको विवाद समाधान होला त?

दुई महिना अगाडि पनि नेकपामा विवाद उत्कर्षमा थियो। त्यतिबेला नेकपाभित्र प्रधानमन्त्रीको राजीनामाको विषय चर्को रुपमा उठेको थियो। स्थायी कमिटीको बैठक माग भएको थियो। तर, डाकिएको स्थायी कमिटीको बैठक कोरोना भाइरसको संक्रमण, प्रधानमन्त्रीको अस्वस्थतालाई बाहना बनाउँदै स्थगित हुँदै आएको थियो।

त्यतिबेलाको चर्काचर्कीमा वामदेव गौतमलाई प्रधानमन्त्री, नेपाललाई तेस्रो अध्यक्षको तुरुप फालेर प्रधानमन्त्री ओलीले विषयान्तरण गर्न खोजेका थिए। तर, अर्को पक्ष प्रचण्ड, नेपाल, खनाल र गौतम समूह भने आफ्नो अडानमा कायम थियो। प्रधानमन्त्री ओलीले संसदीय दलमा आफ्नो बहुमत देखाउनका लागि हस्ताक्षर संकलन समेत सुरु गरेका थिए।

विवाद उत्कर्षमा पुग्दा राजदूत होउले तीब्र रुपमा दुवै पक्षका नेताहरुसँग छुट्टाछुट्टै छलफल गरिन्। छलफलपछि नेकपाको विवाद 'समाधान' भयो। नेताहरुले त्यतिबेला विवाद समाधान भएको भन्दै प्रतिक्रिया दिएका थिए। तर, त्य विवाद २ महिना नबित्दै बल्झियो।

र, फेरि राजदूतको सक्रियता बढ्न थालेको छ।

आइतवार नेता नेपाललाई भेट गरेको नेपालको सचिवालयले पुष्टि गरे पनि छलफलको विषय भने सार्वजनिक गरेको छैन। त्यस्तै, आज बिहान डल्लु पुगेर नेता खनाललाई भेट गरेकी राजदूत होउसँग के कुराकानी भयो बाहिरिएको छैन।

राजदूत होउको सक्रियताले उब्जाएको प्रश्न

मदन भण्डारी जन्मजयन्तीमा प्रधानमन्त्री ओलीले भारतले आफूलाई हटाउन खोजेको भन्दै प्रतिक्रिया दिए। ओलीको यो भनाई आलोचित भयो। जारी स्थायी कमिटीको बैठकमा यस विषयले पनि प्रवेश पायो। प्रचण्डले राजीनामा भारतले नभई आफूले मागेको भन्दै अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिन भने।

एकातिर प्रधानमन्त्रीले भारतले आफूलाई हटाउन लागेको भन्दै सार्वजनिक रुपमा भन्नु र चिनियाँ राजदूतको सक्रियता बढ्नुले भारतीय मिडियाले गर्दै आएको टिप्पणीलाई बल पुगेको छ।

अर्कातिर, उनको सक्रियतालाई लिएर नेपालभित्र पनि चर्चा सुरु भएको छ। पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्रीसमेत रहिसकेका राप्रपाका अध्यक्ष कमल थापाले रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ? भन्दै प्रश्न सोधेका छन्।

'प्रम ओली भन्नुहुन्छ-सरकार गिराउन भारतीय राजदूत सक्रिय भए। अर्कोतर्फ चिनिया राजदूत सरकार बचाउन नेताहरुको घर पुग्छिन। के यस्तै रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ? राष्ट्रियता जोगाउन सक्छ? स्वाभिमान र निर्णायकत्व गुमाएको व्यवस्थाले देश बचाउन र बनाउन सक्दैन,' उनले सोमवार फेसबुकमा लेखका छन्, 'पुर्वाग्रहबाट माथि उठौं। विगतमा सबैबाट गल्ती भएका छन्। गल्तीबाट पाठ सिकौं, आत्मालोचना गरौं। बाह्य हस्तक्षेपविना राष्ट्रियता र प्रजातन्त्र बलियो हुने नेपाली परिवेश अनुकूल मौलिक प्रजातन्त्रको निर्माण गरौं। कसैले जित्ने, कसैले हार्ने होइन सबै नेपालीले जित्ने व्यवस्था स्थापित गरौं।'

नेपाली कांग्रेका केन्द्रीय सदस्य धनराज गुरुङले चिनियाँ राजदूतको सक्रियतालाई विदेशी हस्तक्षेपको रुपमा टिप्पणी गर्दै सरकार बचाउन घरदैलो कार्यक्रम गरेको बताएका छन्। 'कुटनीतिक मर्यादा विपरीत सरकार बचाउन चिनियाँ राजदूतले गरेको घरदैलो र प्रधानमन्त्री ओलीको भनाई बमोजिम भारतीय राजदूतले सरकार ढलाउन गरेको षड्यन्त्र दुवै विदेशी हस्तक्षेप हो। विदेशी हस्ताक्षेपलाई आफू अनुकुल व्याख्या गर्नेहरु जोसुकै भए पनि राष्ट्रघाती हुन्,' उनले ट्वीट गरेका छन्।

परराष्ट्र बेखबर

यता चिनियाँ राजदूतको सक्रियताबारे परराष्ट्र मन्त्रालय भने बेखबर छ। परराष्ट्र मन्त्रालयले कुटनीतिक नियोगका प्रमुखहरुको भेट तथा कार्यक्रमलाई नियमन गर्न निर्देशिका जारी गरे पनि कार्यान्वयन भने देखिँदैन।

'निर्देशिका एकातिर छ। तर त्यसको कार्यान्वयन तर्फ नीति निर्माताहरुले नै ध्यान दिँदैनन्,' परराष्ट्रका एक अधिकारीले भने, 'चिनियाँ राजदूतको दौडधुपबारे हामीलाई थाहा छ। तर, परराष्ट्रलाई थाहा छैन।'

परराष्ट्र मन्त्रालयले कुटनीतिक गतिविधि नियमन गर्नका लागि जारी गरेको निर्देशिकामा यस्ता भेटमा परराष्ट्रका अधिकारी सहभागी हुनुपर्ने वा त्यस्तो सम्भव नभए भेटमा भएका छलफलको रेकर्ड परराष्ट्रलाई जानकारी गराउने व्यवस्था छ।

सम्बन्धित समस्या

नेकपामा चर्किएको राजनीतिक किचलोसँगै चलायमान भयो चीन, सक्रिय भयो राजदूतावास

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell