कोरोना भाइरसको संक्रमणका कारण उपत्यकामा मनाइने धेरै जात्रा पर्व यसपटक स्थगित गरिए। संक्रमितको संख्या बढ्दै गइरहेको अवस्थामा जात्रा पर्व नहुने लगभग निश्चित छ। तर अपवादमा ललितपुरमा लोकेश्वर करुणामय बुंग द्य: (रातो मछिन्द्रनाथ) को रथ यात्रा भने गर्ने तयारी भइरहेको छ।
सहकालका देवता रातो मछिन्द्रनाथको रथारोहण वैशाख १२ गते नै हुने तय भएको थियो। तर कोरोना जोखिम न्यूनीकरणका लागि गरिएको लकडाउनका कारण नेपालकै सबैभन्दा लामो समयसम्म चल्ने रातो मछिन्द्रनाथको रथ यात्रा अनिश्चित बनेको थियो। यद्यपि, रथारोहण बाहेकका अरू सबै कर्म भने सञ्चालन भइरहेका थिए। परिस्थिति अनुकूल भएको भए अहिलेसम्म रातो मछिन्द्रनाथलाई बुंगमति पुर्याइने थियो।
कोरोना कहर घट्ने कुनै आधार नदेखिए पनि लकडाउन खुकुलो भएसँगै असार १० गतेबाट रथ निर्माण सुरु गरियो।
महामारीबीच नै रथ यात्रा गर्नेगरी रथ निर्माण भएपछि त्यसको पक्ष र विपक्षमा मानिस देखिए। स्थानीय पनि यसमा विभाजित देखिए। रातो मछिन्द्रनाथको रथ यात्रा अहिलेकै अवस्थामा गर्नुको कारणमा विभिन्न तर्क आए।
यसबीच पाटन पुग्ने धेरैले एउटा चर्चा सुने।
‘दसैँसम्म जात्रा नभए मछिन्द्रनाथलाई भक्तपुर लग्नुपर्ने नियम छ। त्यसैले हतार-हतार अहिले जात्रा गर्न लागेको।’
२०७२ सालमा भूकम्प गएपछि रथ बाटैमा कयौँ दिनसम्म अलपत्र परेको थियो। भूकम्प गइरहेको बेलामा रथ तान्न नहुने बताइए पनि क्षमापूजा गरेर रथ यात्रा गरिएको थियो। त्यो बेला पनि रातो मछिन्द्रनाथको रथ यात्रा सम्पन्न नभए भक्तपुर लग्नुपर्ने कथन रहेको सुनिएको थियो।
अनिकालपछि..
रातो मछिन्द्रनाथको रथ यात्रा भक्तपुरका लिच्छवी राजा नरेन्द्र देवले सुरु गराएका थिए। त्यसो भए ललितपुरमा कसरी मछिन्द्रनाथको रथ यात्रा भयो। यो जिज्ञासा उठ्नु नि स्वाभाविक हो। भक्तपुरका राजा नरेन्द्र देव, काठमाडौँका बन्धुदत्त आचार्य र ललितपुरका किसान रथचक्र मिलेर कामरुपीठबाट ल्याएको कथन छ। यसबारे धेरै कथा छन्।
मछिन्द्रनाथ वंशावलीका अनुसार नरेन्द्र देवको शासनकालमा नेपालमा वर्षा नभएर अनिकाल भयो। पानीको अभावमा प्रजा र पशुपन्छीको मृत्यु हुन थाल्यो। हाहाकार मच्चिएको देखेर राजा नरेन्द्र देवले अनिकाल अन्त्य गर्न उपाय खोज्न थाले। विभिन्न देवदेवताको पूजा गरियो। तर पानी परेन।
बुंगमतीमा रातो मछिन्द्रनाथको मन्दिर जाने प्रवेश द्वार (हाल मन्दिरको पुनर्निर्माणको काम भइरहेको छ)
पानी नपर्नुको कारण थियो -योगी गोरखनाथ। कानफट्टा योगीका रूपमा चिनिने गोरखनाथ नवनागहरूलाई आसन बनाई तपस्या बसेका थिए। योगी गोरखनाथ नउठेसम्म र नागहरू मुक्त नभएसम्म पानी नपर्ने निश्चित थियो। यो कुरा थाहा पाएका शान्तिकर बज्राचार्यले राजालाई सुनाए, ‘गोरखनाथ कुनै डर, त्रास, लोभ शस्त्रअस्त्रले उठ्दैनन्। तिनलाई उठाउन करुणामय लोकेश्वरलाई नेपाल ल्याउनुपर्छ।’
करुणामय लोकेश्वर गोरखनाथका गुरु थिए।
लोकेश्वरलाई नल्याई पानी नपर्ने निश्चित भएपछि नरेन्द्र देवले काठमाडौँका बन्धुदत्त र ललितपुरका किसान रथचक्र मिलेर कामरुपबाट करुणामयलाई नेपाल मण्डल ल्याएका थिए। आफ्नो गुरु लोकेश्वर नेपाल आएको थाहा पाएपछि नवनागहरूलाई आसन बनाएर बसेका गोरखनाथ उठे र नागहरू स्वतन्त्र भए। त्यसपछि नेपालमा जलवृष्टि भएर अनिकाल अन्त्य भएको कथन छ।
मन्दिर भक्तपुरमा बन्यो, राखियो पाटनमा
लोकेश्वरलाई नेपाल त ल्याइयो। बुंगमति हुँदै लोकेश्वरलाई पाटनको इति: भन्ने स्थानमा पुर्याइयो। त्यसपछि सुरु भयो विवाद। राजा नरेन्द्र देवले लोकेश्वरलाई भक्तपुरमा लग्ने तरखरमा थिए। तर यहाँ बन्धुदत्त आचार्यले लोकेश्वरलाई काठमाडौँको बाटो हुँदै लग्न चाहे। दुवैबीच विवाद चल्दा किसान चक्ररथले पनि लोकेश्वरलाई पाटनमा राख्नुपर्ने मत राखे। तीन जनाबीच लोकेश्वर ल्याउन गर्ने परेको परिश्रमलाई लिएर जुहारी चल्यो। विवाद बढ्दै जाँदा बन्धुदत्तले एउटा जुक्ति निकाले। पाटनकै थकालीलाई यस विषयमा निर्णय गर्न लगाउने प्रस्ताव अघि सारे। सबैले सहमति जनाए।
उक्त कुरा पाटनका राजासम्म पुग्यो। त्यसपछि रथचक्र र राजा मिलेर थकालीलाई नुनको सोझो गराउने र लोकेश्वरलाई पाटनमा राख्न लगाउने सहमति गरे। फलस्वरूप राजा र रथचक्रले थकालीलाई दहीमा नुन मिसाएर पठाए र करुणामयलाई पाटनमा राख्न भन्न निर्देशन दिए।
थकालीले सोचे, नीति अनुसार त लोकेश्वरलाई भक्तपुर लग्नुपर्ने हो। तर नुनको सोझो त गर्नैपर्यो। त्यसैले पाटनमा एक समारोहबीच सात टोलबाट ल्याइएको उग: (चिउरा कुट्ने ओखल) माथि चढेर थकालीले लोकेश्वरलाई पाटनमा नै राख्ने निर्णय सुनाए। त्यसपछि ती थकालीले त्यहीँ सिद्धी प्राप्त गरेको स्थानीय बताउँछन्। पाटनमा नै लोकेश्वर राख्ने भएपछि नरेन्द्रदेवले जात्रा सञ्चालनका लागि गुठी स्थापना गरिएको समेत विभिन्न वंशावलीमा उल्लेख छ।
भक्तपुरको रातो मछिन्द्रनाथ
पाटनमा जात्रा सम्पन्न भएन भने भक्तपुरमा लगेर रातो मछिन्द्रनाथलाई कहाँ राख्ने? धेरैले भक्तपुरको न्यातपोल भनेर उत्तर दिएको सुनिन्छ। न्यातपोल निर्माण भएको त करिब ४२२ वर्ष मात्रै भयो। लोकेश्वरको इतिहास करिब १६ सय वर्ष पुरानो छ।
भक्तपुरको तपलाछीमा एउटा मन्दिर छ। जसलाई भक्तपुरको रातो मछिन्द्रनाथको रूपमा लिन्छन् स्थानीय। भक्तपुरवासी त्यहाँ लोकेश्वरको पूजा गर्छन्। स्थानीय भाषामा लोकेश्वरलाई ‘लस्क द्य:’ भन्ने गरिने बताउँछन् संस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठ।
तपलाछीमा रहेको लस्क द्य: को मन्दिर
‘त्यति बेला राजधानी भक्तपुर थियो। राजा पनि यहीँको। त्यसैले उनले लोकेश्वरलाई ल्याएर यही स्थापना गर्न खोजे। तर पाटनको ज्यापुले बाजी मारेर लोकेश्वरलाई उतै राख्न सफल भए। लोकेश्वरलाई भक्तपुरमा ल्याउन नसकेपछि तपलाछीमा मन्दिर स्थापना गरी लोकेश्वरका रुपमा ‘लस्क द्य:’ को पूजा गर्न थालिएको उनले बताए।
ललितपुरमा रातो मछिन्द्रनाथको जात्रा सम्पन्न नभए भक्तपुरमा ल्याउने कुराबारे उनी भन्छन्, ‘यो त्यसलाई जनश्रुति र जनआस्थाको रूपमा लिन सकिन्छ।’
सन् १९८५ मा प्रकाशित बुद्धिस्ट मोनास्ट्रिज अफ नेपाल नामक किताबमा पनि भक्तपुरको लस्क द्य: का बारेमा उल्लेख गरिएको छ।
त्यसमा पनि स्थानीय जनश्रुतिलाई आधार मानेर लेखिएको छ, ‘ पाटनमा मछिन्द्रनाथ राख्ने थकालीको निर्णय सुनेर राजा नरेन्द्रदेव निकै दुःखी भए। उनको राजधानी भक्तपुर थियो र उनी लोकेश्वरलाई भक्तपुरमै राख्न चाहन्थे। एक दिन राजाको सपनामा लोकेश्वर आए र दुःखी नहुन भने। लोकेश्वरले भक्तपुरमा आफ्नो मूर्ति स्थापना गर्न सक्ने बताए। त्यसपछि लस्क द्य: रातो मछिन्द्रनाथको रूपमा यहाँ स्थापित भए।’
पाटनमा जात्रा नभए मछिन्द्रनाथलाई भक्तपुरकै अखं बहा: (अखण्डशिल महाविहार) मा राखिने कथन समेत रहेको छ। पोटरी स्क्वायर पछाडि रहेको उक्त महाविहार पनि नरेन्द्रदेवकै पालामा निर्माण भएको बताइन्छ।
अखण्डशिल महाविहार
अखण्डशिल महाविहारमा धेरै वर्ष पूजा गरेकी चन्द्रशोभा बज्राचार्य भन्छिन्, ‘पाटनमा जात्रा मनाउन यहाँ फूल लिन आउँथ्यो। यहाँको फूल नलगी जात्रा हुँदैन भन्ने विश्वास थियो। रथ यात्रा गर्दा यहाँको नाम लिनुपर्छ भन्ने पनि थियो।’
संस्कृतिविद् ओम धौभडेल भन्छन्, ‘ राजा नरेन्द्रदेव भिक्षु बनेपछि उनी अखं वहा: मा बस्न पुगे। त्यसपछि पाटनमा जात्रा गर्नुअघि दरबारबाट नभई राजा बसेको बहा: बाट आज्ञा हुनुपर्ने भयो। त्यसैले जात्रा हुनुअघि अखुम्बहाको नाम लिने गरिन्छ भन्ने कथन छ।’
उक्त बहा: सन् १९३४ को भूकम्पमा भत्किएको र धेरै वर्षसम्म ओझेलमा रहेको बताइन्छ। पछि भने उक्त महाविहार पुनर्निर्माण गरिएको थियो। स्थानीयहरू यहाँ रहेका देवतालाई पनि लोकेश्वरकै रूपमा पूजा गर्न गर्छन्। हाल उक्त विहारमा निलो आकृति भएका लोकेश्वर छन्।
अखण्डशिल महाविहारमा रहेका लोकेश्वर
यदि पाटनमा जात्रा नभए यही बहा: मा रातो मछिन्द्रनाथलाई राख्न ल्याउनुपर्ने नियम रहेको बुढापाकाले भन्ने गरेको सुनेको बज्राचार्य बताउँछिन्।
‘पाटनमा जात्रा गर्न सकेन भने यहाँ ल्याउनुपर्ने भन्ने सुनेको हो। यसबारेमा जान्ने बुझ्ने सबै बितिसके’ उनी सुनाउँछिन्, ‘ एक पटक उता जात्रा हुन नसकेपछि रातो मछिन्द्रनाथलाई लिन बोलाएको थियो। तर त्यसबेला कसैले आँट गर्न सकेनन्। जान्ने बुझ्ने पनि छैन। विधि पनि थाहा छैन। सुनेको भरमा यस्तो कुरा गर्न पनि सकिन्न।’
अहिले ७ घरले उक्त विहारको नित्य पूजा सञ्चालन गर्दै आइरहेका छन्।
बुद्धिस्ट मोनास्ट्रिजमा पनि उक्त बहा: नरेन्द्रदेवको पालामा स्थापना भएको र उनले लोकेश्वरलाई यहाँ राख्ने सोचेको उल्लेख गरिएको छ। उक्त किताबमा सन् १९७६ मा रथ यात्रा हुन नसकेको अवस्थामा पनि रातो मछिन्द्रनाथलाई भक्तपुर ल्याउनु कुरा चलेको उल्लेख गरिएको छ।
त्यस बेला भनिएको थियो, ‘ निश्चित दिनसम्म जावलाखेलमा रथ पुग्न सकेन भने रातो मछिन्द्रनाथलाई भक्तपुर लग्नुपर्छ। यदि यस्तो भयो भने बुंगमतिका पानेजुहरुले आश्विन महिनासम्म फिर्ता ल्याउन सक्दैनन्। रातो मछिन्द्रनाथलाई नियम अनुसार भक्तपुर लग्नुपर्छ र शरद महिनासम्म त्यहाँ राख्नुपर्छ। त्यसपछि रातो मछिन्द्रनाथलाई पाटनको त: बहामा लगिन्छ।’ भक्तपुर लगेको खण्डमा द्य: पालाहरू समेत भक्तपुर जानुपर्ने नियम रहेको स्थानीयले बताएका थिए।
जोन के लकले गरेको उक्त अनुसन्धानमा स्थानीयहरूले उक्त रीतिरिवाजबारे केही थाहा भएको र त्यस्तो अवस्थामा रातो मछिन्द्रनाथलाई अखण्डशिल महाविहारमा राख्ने भनिएको बताएका थिए। यद्यपि, केहीले भने यो पर्वसँग अखण्डशिल महाविहारको सम्बन्ध नरहेको बताएका थिए।
सन् १९८५ मा प्रकाशित उक्त अनुसन्धानात्मक किताबमा उल्लेख भए अनुसार रातो मछिन्द्रनाथलाई करिब सय वर्षअघि भक्तपुर लगिएको स्थानीयले सुनाएका थिए। यद्यपि, यसबारे थप आधार र प्रमाण फेला पार्न सकिएन।
मछिन्द्रनाथका पानेजु पूर्ण शाक्य भन्छन्, ‘ढिला भए पनि यो जात्रा रोकिएको छैन। ६ महिनासम्म जात्रा नहुँदासम्म पनि रथ यात्रा भएको छ। रथ जतिपल्ट ढले पनि फेरि बनाएर यात्रा गर्नुपर्छ। यो जात्रा अहिलेसम्म रोकिएको छैन र रोकिँदैन।’
पानेजुले जात्रा सम्पन्न नभए रातो मछिन्द्रनाथलाई भक्तपुर लग्ने भन्ने कुरा आफूहरूले पनि सुनेको बताए। तर आजसम्म त्यसको कुनै प्रमाण नभेटिएको उनले दाबी गरे। यद्यपि, भक्तपुरको राजाको प्रतिनिधि आएर आज्ञा नदिएसम्म रातो मछिन्द्रनाथको रथारोहण देखिको अन्य कर्म पूरा हुने नियम चलिरहेको उनले बताए।
यीसँगै रातो मछिन्द्रनाथ र भक्तपुरको अन्य सम्बन्ध नि रहेको छ। जाउलाखेलमा भोटो देखाइ नख्खु हुँदै बुङमतिमा रहेको मन्दिरमा मूर्ति लग्दा छ्वाली बालेर देवतालाई बाटो देखाउने गरिन्छ। यसलाई स्थानीय भाषामा 'सवा लाख छ्वालीप्वाः च्याकाः लं स्ववनेगु' भनिन्छ। यसको अर्थ सवा लाख परालको मुठा बालेर देउताको बाटो हेर्न जाने हुन्छ। पानेजु मदन शाक्यका अनुसार पहिला भक्तपुरबाट दीप बोकेर मानिस रातो मछिन्द्रनाथलाई बाटो देखाउन आउँथे। अहिले भने त्यो परम्परा रोकिएको उनी बताउँछन्।
यस्तै, लोकेश्वरलाई कामाक्षाबाट ल्याएपछि भक्तपुरको राजाले आफैँ यजमान बनेर गुंला पर्वको अन्तिम बधुबार प्रजासहित बुंगमतिमा पूजा गर्न आएको कथन छ। त्यसैले गुंला पर्वको अन्तिम बुधबार रातो मछिन्द्रनाथको दर्शन गर्न भक्तपुरबाट सयौँको संख्यामा मानिस बुंगमति पुग्ने चलन अहिले पनि निरन्तर चलिरहेको छ।
‘भ्रम हो’
बुंग द्य: का पानेजु कपिलमुनि वज्राचार्य पनि १६ सय वर्षभन्दा पुरानो यो जात्रा अहिलेसम्म नरोकिएको भन्दै अहिले पनि यो जात्रा रोकिन नहुने बताउँछन्। हाल राज्यले रातो मछिन्द्रनाथको जात्रामा जथाभाबी गर्न खोजेमा आफूलाई दुःख लागेको भन्दै उनले विकल्प खोजेर भएपछि जात्रा सकाएर रातो मछिन्द्रनाथलाई बुंगमति लग्नुपर्ने बताए।
लकडाउनका कारण स्थगित गरिएको रथारोहण असार २४ गते गर्ने भनिएको थियो। तर कोरोना संक्रमितको संख्या बढेसँगै रथारोहरण स्थगित गरियो। हाल त: बहाको एक सत्तलमा पूर्व फर्काएर राखिएको रातो मछिन्द्रनाथलाई साउनमा पुल्चोकमा लगेर रथमा पूर्व फर्काएर राख्नेबारे छलफल भइरहेको छ। यस्तै, महामारीबीच कसरी रथ यात्रा सञ्चालन गर्ने भन्ने बारेमा सरोकारवालाबीच छलफल भइरहेको छ। यसबीच पाटनमा फेरि भक्तपुरसम्बन्धी ‘जनश्रुति’ बारे चर्चा चलिनै रहेको छ।
यसबारेमा संस्कृतिविद् हरिराम जोशीलाई सोध्दा उनले रातो मछिन्द्रनाथलाई भक्तपुर लग्ने कुनै आधार नभएको दाबी गरे। भने, ‘यसको कुनै आधार छैन। यो भ्रममात्रै हो।’
उनले थप प्रस्टाए, 'मछिन्द्रनाथको रथ यात्रा पहिला शरद ऋतुमा हुने गरेको तथ्य १३औँ शताब्दीमा तिब्बती यात्री धर्मस्वामिनको जीवनीबाट थाहा हुन्छ। जयस्थिति मल्लको समयमा यो वसन्त ऋतुमा गर्ने परम्परा सुरु भएको अनुमान छ। त्यसैले पहिला शरदमा रथ यात्रा हुन्थ्यो भने कसरी दसैँअघि जात्रा नसके रातो मछिन्द्रनाथलाई भक्तपुर लग्ने भन्ने कुराको आधार देखिँदैन। यो भ्रममात्रै हो।’
जोशीले यसो भनिरहँदा फेरि बुद्धिस्ट मोनास्ट्रिजमा उल्लेख भएको कुरा तिर फर्किऔँ। त्यसमा उल्लेख भए अनुसार रातो मछिन्द्रनाथको जात्रा हुन नसकेको अवस्थामा शरद ऋतुसम्म करुणामयलाई भक्तपुरमा राख्नुपर्ने र शरद ऋतुमा फर्काएर ल्याउनुपर्ने उल्लेख थियो। धर्मस्वामिनले पनि बुंगद्य: को रथ यात्रा शरद ऋतुमा सुरु हुने उल्लेख गरेका छन्। त्यसैले इतिहासमा रातो मछिन्द्रनाथ र शरद ऋतुको कथन बारेमा थप अनुसन्धान आवश्यक रहेको अध्येताहरूको मत छ।