केही दिनअघि एक भारतीय च्यानलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको मानमर्दन गर्ने रिपोर्ट प्रसारण गर्यो। दुवै जनाबीच हुँदै नभएको कथित कुराकानीलाई नाटकीय ढंगले प्रसारण गरेर नेपाल र चीनविरुद्ध भारतमा ‘प्रोपागान्डा’ फैलाउन प्रयास गरियो।
फलस्वरूप केही नेपाली केवल अपरेटरहरूले दूरदर्शनबाहेक भारतीय समाचार च्यानलमाथि नै प्रतिबन्ध लगाए।
प्रधानमन्त्रीका बारेमा गलत समाचार सम्प्रेषण गरेको भन्दै टिभी सेवा प्रदायकहरूले स्वतःस्फूर्त रूपमा भारतीय समाचार च्यानल बन्द गरेको घोषणा गरेका हुन्।
नेपाल सरकारले भने आधिकारिक रूपमा भारतीय च्यानल बन्द गर्न निर्देशन दिएको छैन। यद्यपि, सेवा प्रदायकहरूले भारतीय च्यानलहरूको सेवा बन्द गरेकोमा नेपाल सरकारले सकारात्मक भनेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक विज्ञप्ति निकाल्दै भारतीय सञ्चार माध्यममा प्रधानमन्त्रीको नाम जोडेर प्रकाशित सामाग्रीलाई कपोल्कल्पित, दूरासयपूर्ण एवं भ्रामक भन्दै मन्त्रालयले राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राख्दै डिजिटल सेवा प्रदायकहरूले स्वतःस्फूर्त रूपमा ती च्यानलहरूको सेवा रोकेको धन्यवाद दिएको छ।
जस कसलाई?
नेपाली सेवा प्रदायकले भारतको न्युज च्यानल बन्द गराएपछि धेरैले ओली सरकारलाई बधाई दिए। भारतीय च्यानल बन्द गराएर ‘ऐतिहासिक कदम’ चालेको भन्दै तारिफ गरे।
भारतीय मिडिया पनि के कम। नेपाल सरकारले नै आफ्नो च्यानल बन्द गराएको भन्दै ब्रेकिङ दिए। जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले त नेपाल भारतीय समाचारवाचकसँग डराएको भन्दै ट्वीट गरे। पछि आफूले आवेशमा आएर ट्वीट गरेको भन्दै माफी माग्दै पुरानो ट्वीट हटाए।
यता भारतीय समाचार च्यानल बन्द गराएको जस लिन सामाजिक सञ्जालमा पनि तँछाडमछाड। राष्ट्रियताको विषयमा एक ठाउँमा उभिएर भारतीय न्युज च्यानलको प्रतिवाद गर्नुको सट्टा यहाँ व्यक्ति विशेषको गुणगान गाउन थालियो। हामीबीच त्यही एकताको कमीलाई हाल प्रयोग गर्दैछ भारतले।
किनभने हाम्रो पनि हाल उस्तै त हो। उता हनुमानको बिगबिगी छ यता अरिङ्गालको।
भारतीय मिडिया र पत्रकारहरूले च्यानल बन्द गराएकोमा सत्य नबुझी ‘प्रोपागान्डा’ फैलाउन थालेपछि नेपालमा मात्रै नभई भारतमै त्यसको विरोध भयो। भारतीय मिडियाको ‘मोदी मन्त्र’ सुनेर वाक्क बनेका भारतीयले पनि नेपालको कदमलाई साथ दिए। भने, ‘भारत टिकटकसँग डरायो, हाम्रोमा पनि यी च्यानल बन्द होस।’
नेपाल सरकारले नै सेवा बन्द गराएको भन्ने केही भारतीय मिडियाले आफूलाई सच्चाए र सेवा प्रदायकहरूले आफ्नो स्तरबाट ती च्यानलमाथि प्रतिबन्ध लगाएको यथार्थ स्वीकारे।
सरकारले गरेको भए सबै सेवा प्रदायकले ती च्यानल बन्द गराइसक्थे। अझै केही केबल सेवा प्रदायकहरूमा बिना अवरोध ती च्यानल आइरहेकै छन्।
त्यस्तो त ओली र यान्छीको बारेमा बनाइएको सामाग्रीलाई लिएर सरकारले कूटनीतिक र कानुनी उपचार खोज्ने बताइसकेको छ। तर त्यो कस्तो उपचार हुन्छ भन्ने खुलेको छैन।
उता, सीमा विवादमा सक्रिय नरहेको आरोप खेपेको दिल्लीस्थित नेपाली दूतावास यस विषयमा भने केही सक्रिय बनेको जनाइएको छ।
द हिन्दुका अनुसार भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले ओलीलाई लिएर केही भारतीय मिडियामा प्रसारण भएको समाचारविरुद्ध भारतीय विदेश मन्त्रालयमा असन्तुष्टि व्यक्त गरेका छन्।
उसो त नेपाल प्रेस काउन्सिलले पनि भारतीय प्रेस काउन्सिललाई पत्र लेखेर नेपालबारे त्यहाँका सञ्चार माध्यमले प्रसारण गरेको सामग्रीप्रति खेद व्यक्त गरेको छ। तर, भारतको प्रेस काउन्सिलले प्रिन्ट मिडिया र न्युज एजेन्सीलाई मात्र हेर्ने अधिकार पाएको छ।
इलेक्ट्रोनिक मिडियाको स्वनियमन गर्ने अर्कै संस्था छ। न्युज ब्रोडकास्टिङ स्टयान्डर्ड अथोरिटी (एनबीएसए) ले कुनै पनि ब्रोडकास्टरलाई चेतावनी दिनेदेखि सेन्सर गर्ने अधिकारसम्मको छ।
तर, यो स्वनियम गर्ने संस्थामा पनि ‘गोदी मिडिया’ कै हालीमुहाली रहेको छ।
नेपालमा भारतीय न्युज च्यानल बन्द गराएको जस ओली सरकारलाई दिने प्रयास भइरहँदा नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले भने नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको दबाबमा सेवा प्रदायकले भारतीय न्युज च्यानल बन्द गरिएको दाबी गरेका छन्।
‘गोदी मिडिया’को रूप
लिम्पियाधुरासहित नेपालको नयाँ सार्वजनिक गरेयता नै भारतीय समाचार च्यानलहरूले नेपाल र नेपालीविरुद्ध अतिरञ्जित सामाग्री प्रसारण गर्दै आइरहेका छन्। रोटी बेटीको सम्बन्धदेखि चीनसँगको सम्बन्धलाई लिएर भारतीय च्यानलहरूले दर्शकलाई ‘मसला’ पस्कदैछन्। कारण – टिआरपी र कथित राष्ट्रवाद।
जब भारतविरुद्ध कसैले आवाज उठाउँछ वा भारतलाई सत्यको बाटोमा दोहोर्याउने प्रयास गर्छ। भारतीय मिडियालाई त्यो अराष्ट्रिय लाग्छ र उसको प्रोपागान्डा सुरु हुन्छ। पुलवामा घटनादेखि गालवान क्षेत्रमा भएको झडपसम्मको घटनामा भारतीय मिडियामाथि सयौँ प्रश्न तेर्सिएका छन्। नैतिक रूपमा भारतभित्र नै असफल भइसकेको मिडियालाई कसले प्रशय दिइरहेको छ त?
उत्तर सहज छ। सत्ता।
भारतीय सत्ताले भारतीय मिडियालाई आफू अनुकूल प्रयोग गरिरहेको छ। र मिडिया पनि पत्रकारिताको धर्म बिर्सिँदै आर्थिक र राजनीतिक फाइदा खोजिरहेको छ। पत्रकार ‘एबीसी’भन्दा पनि ‘म्यानेजमेन्ट’बाट गाइडेड छन्। त्यसैले भारतीय पत्रकारिताका कारण भारतीय प्रजातन्त्र कै ‘मृत्यु’ भएको भन्ने समेत गरिन्छ।
भारतीय कम्युनिस्ट पार्टीका नेता कन्हैया कुमार भारतमा पत्रकारितामाथि व्यापार हाबी भएको बताउँछन्।
‘पत्रकारितामाथि मनोरञ्जन हाबी भएको छ। यदि म्यानेजमेन्टले भनेको जस्तै पत्रकारले समाचारबाट मनोरञ्जन दिन सक्दैनन् भने उसलाई फायर गरिन्छ। किन भने हाम्रो मिडियाको सिद्धान्त हायर एन्ड फायर भन्ने छ।’
कन्हैया तिनै विद्यार्थी नेता हुन जसलाई ‘गोदी मिडिया’ले बिना कुनै प्रमाण ‘देशद्रोही’ बनाइदिए।
२४/७ समय काममा खटिरहेका पत्रकार दबाबमा छन्। समाचारलाई ‘कपोलकल्पित आख्यान’ बनाउन उनीहरू माहिर छन्। त्यसैको उपज थियो, ‘ओली इश्किया’।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किँदै गर्दै भारतले त्यसलाई आफ्नो फाइदाको लागि प्रयोग गर्यो।
हुन त यसअघि नै भारतकै केही बुद्धिजीवी र पत्रकारहरूले चिनियाँ राजदूत यान्छीले पाटनमा गरेको फोटो सुटको तस्बिर राखेर चीनले नेपालमा प्रभाव बढाउन थालेको प्रचार गरिसकेका थिए। त्यसमाथि यान्छीले नेकपाका नेताहरूलाई भेटेपछि भारतीय मिडियालाई के चाहियो र।
न्युज रुममा सुरु भयो स्क्रिप्ट र्यापइटिङ। यान्छी र ओलीविरुद्ध लगाइयो तथ्यहीन र अनैतिक आरोप। पत्रकारहरूलाई बुझाइयो ‘ओली इश्किया’ को कन्सेप्ट। अनि पत्रकार बने फिल्मका नायक नायिका। अनि रिलिज भयो जी न्युजको ‘फेक स्टन्ट, ओली इश्किया।’
भारतीय मिडिया अहिले पत्रकारिता कम फिल्म धेरै बनाउँदै छन्। हेडलाइनहरूलाई फिल्मी शैलीमा प्रस्तुत गर्न र कथा मोड्न उनीहरू माहिर छन्। सत्य र झुटबीच झुटलाई बिकाउन उनीहरू पर्फेक्ट छन्। मोदीको विरुद्धमा उठ्ने आवाजलाई न्युज एन्करको ‘चर्को र भद्दा’ आवाजले दबाउने प्रयासमा छन्।
त्यसैले त भारतीय मिडियालाई ‘गोदी मिडिया’ भनिन्छ। ठूला, प्रभावशाली र चर्चित भनिएका मिडिया नरेन्द्र मोदी सरकारको ‘ल्यापडग’ भएका छन्। मोदी भक्तिमा रमेका उनीहरू ‘जिहाद’ छेड्दैछन्।
भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई ‘साइलेन्ट प्राइमिनिस्टर’ को उपमा दिइएको थियो। सन् २०१४ अघि मिडियामा बोलिरहने नरेन्द्र मोदीलाई ‘साइलेन्ट प्राइमिनिस्टर’ भन्ने गरियो। उनी मिडियामा कम ‘मन कि बात’ बढी गर्न थाले। जस कारण केही वर्ष मिडिया उनीसँग असन्तुष्ट रह्यो पनि।
तर जब मोदी प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि तयार भए। उनी ‘मिडिया फ्रेन्डली’ भए। टिभीमै आएर बोले तर आफूले चाहेको कुरा मात्रै बोले। आफूलाई मन लागेको मिडियालाई मात्रै अन्तर्वार्ता दिए। स्क्रिप्टेड उत्तर दिए। आफ्ना असफलताको प्रश्न सोध्ने पत्रकारको अगाडि परेनन्। वास्तवमा उनी ‘साइलेन्ट प्राइमिनिस्टर’ नै बने। दोस्रो कार्यकाल सम्हाल्दै गर्दा मोदी यही पथमा अडिग छन्।
नेपालको सन्दर्भमा पनि नरेन्द्र मोदी चुप छन्। लिम्पियाधुरासहितको नयाँ नक्सा जारी हुँदासम्म मोदीले नेपालको विषयमा एक शब्द बोलेका छैनन्। विश्लेषकहरूका अनुसार मोदी हाल नेपालसँगको सम्बन्ध बिगार्न चाहँदैनन्। त्यसैले आफू बोलिरहेका छैनन्।
त्यसैले ‘गोदी मिडिया’भन्दा फरक धारमा उभिएर पत्रकारिता गरिरहेको भनिने एनडीटीभीका रवीश कुमारले भनेका थिए, ‘शायद प्रधानमन्त्री नरेन्द्र मोदी मेरो प्रश्नहरूसँग डराउँछन् त्यसैले उनी मलाई अन्तर्वार्ता दिँदैनन्।’
९९ प्रतिशत मिडिया मोदीको पक्षमा वकालत गर्दै गरेको अवस्थाले समाजमा असन्तुलन उत्पन्न भएको भन्दै रवीशको दाबी छ।
रावीश तिनै पत्रकार हुन् जसले आफ्नै देशका मिडियालाई ‘गोदी मिडिया’ को उपमा दिएका थिए।
‘प्रो मोदी’ पत्रकारितामा नलागेका मोदीका कारण भारतीय प्रेस प्रजातन्त्रको लागि खतरा रहेको बताइरहेका छन्।
विश्लेषक ब्रृजेश सिंहका अनुसार केही मिडिया अहिले मोदी सरकारको भजन मण्डली बनेको छ। ती मिडिया आफ्नै नागरिकविरुद्ध साजीश गर्छैन। किनभने उनीहरू मोदीलाई हिरो बनाउन चाहन्छन्। आफ्नो नैतिकता र आचारसंहिता भुलेर केही मिडिया मोदी भक्तमा ‘अन्धो’ भएको उनको टिप्पणी छ। जसले ‘प्रोपागान्डा’ र ‘स्टन्ट’ गरेर भारतीय नागरिकको दिमागमा विष भरिरहेका छन्।
मोदी सरकार र ‘कथित राष्ट्रवाद’ को समर्थनमा भारतीय मिडिया हरेक दिन टेलिभिजनमा हिन्दु मुस्लिमको ‘टेलिभिजन वार’ चलाइरहेका हुन्छन्। हिन्दुत्वको वकालत गर्दै जिहादलाई प्रोत्साहित गरिहरेका हुन्छन्। मुस्लिम समुदायलाई लक्षित गर्दै लभ जिहाद, कोरोना जिहादको स्क्रिप्ट बुनिरहेका हुन्छन्।
‘ओली इश्किया’ त ट्रेलर मात्रै हो। भारतीय मिडियाले अहिले आफू सुध्रिएको बताए पनि त्यहाँको न्युज रूममा यस्ता इश्कियाको स्क्रिप्ट धेरै तयार हुनेछन्। किनभने मोदी बोलेका छैनन्। उनी अहिले बोल्दैनन् पनि।