PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पाटनबाट कोरोना संक्रमितको शव किन उठ्यो ढिला?



नेत्र तामाङ

पाटनबाट कोरोना संक्रमितको शव किन उठ्यो ढिला?
फाइल फोटो

काठमाडौं : गोरखा भीमसेन थापा गाउँपालिका वडा २ का एक पुरुष घरमै झुन्डिँदै गर्दा आफन्तले भेटिहाले। उनको आत्महत्यालाई असफल पार्न तत्लका उद्धार गरी घ्याम्पेसलस्थित मनास्लु अस्पताल गोरखामा भर्ना गरियो। तर, उनको अवस्था बिग्रिसकेकाले त्यहाँ थप उपचार सम्भव देखिएन। त्यसैले काठमाडौं रिफर गरियो।

असार २० गते उनलाई ललितपुरस्थित पाटन अस्पतालमा भर्ना गरियो। अस्पतालको आइसियूमा राखेर उनको उपचार शुरु भएको थियो। अस्पताल भर्ना हुनसाथ उनको थ्रोट स्वाब संकलन गरिएको थियो, कतै कोरोना त छैन?

२२ गते राति ती २७ वर्षे पुरुषको मृत्यु भयो। आत्महत्या प्रयास तत्काल असफल भए पनि उनी रहेनन्। तर, मृत्युपछि उनमा कोरोना भाइरसको संक्रमण भएको रिपोर्ट आयो।

उनको मृत्यु भएपछि शव व्यवस्थापनका लागि सेनालाई खबर गरियो। खबर भए पनि तत्कालै उनको शव भने उठेन।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित भएर मृत्यु भएका व्यक्तिको अन्त्यष्टिका लागि बनाएको कार्यविधिमा सकेसम्म छिटो अन्तिम संस्कार गर्ने स्थलमा पुर्‍याउनुपर्ने उल्लेख गरिएको छ।

'सोमवार राति निधन भएको जानकारी अस्पतालबाट आयो। मंगलवार व्यवस्थापनका लागि अस्पतालले पटकपटक फोन गरेको सुनेँ। तर कोही पनि आउनुभएन,' कोरोना संक्रमणबाट मृत्यु भएका पुरुषका आफन्तले भने।

अस्पतालले असार २३ गते मंगलवार शव व्यवस्थापनका लागि सेनालाई बोलाएको थियो। तर, सेना उक्त दिन आइपुगेन। प्रहरी सहयता कक्षाबाट सेनालाई पटकपटक फोन गरेको ती आफन्तले बताए।

मृत्युको पर्सिपल्ट २४ गतेमात्र उनको शव व्यवस्थापन भयो। त्यतिन्जेल उनको शव अस्पतालको आइसीयूमै रहिरह्यो। कार्यविधिले भनेअनुसार समयमा नै शव नउठ्दा त्यसले त्रास बढाइरह्यो।

असार २४ गते बिहानै पशुपतिस्थित विद्युतीय शवगृहमा ती पुरुषको दाहसंस्कार भयो।

कोरोना संक्रमण कसरी भयो?

झुन्डिएर आत्महत्या प्रयास गरेका ती पुरुष यसअघि पनि मानसिक उपचारका लागि पाटन अस्पतालमा दुई पटक भर्ना भएको उनका आफन्तले बताए।

'दुई पटक त पाटन अस्पतालमा भर्ना हुनुभएको थियो। २५ दिनभन्दा बढी साइकीअर्टिक वार्डमा बस्नुभएको थियो,' उनका आफन्तले भने।

काठमाडौंमै स्वरोजगारीमा रहेका उनका श्रीमती, एक छोरा र एक छोरीसमेत रहेका छन्। लकडाउनअघि उनी गाउँ पुगेका थिए। त्यही उनले आत्महत्याको प्रयास गरेका थिए। तर, उनमा कोरोना भाइरसको संक्रमण चाहिँ कसरी भयो अन्योल नै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell