
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म नेपालको वीरगंजबाट पश्चिम भएको दाबी गरे। तिनै ओली जसले २०७५ वैशाख २८ गते जनकपुरबाट भारतको अयोध्याका लागि सिधा बस सेवा सुचारु गरेका थिए भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै हरियो झण्डा देखाएर।
भारतमा चुनावको महोल चर्किँदै गर्दा दुई दिने नेपालको धार्मिक भ्रमणमा आएका मोदीलाई स्वागत गर्न प्रधानमन्त्री ओली मोदीले जस्तै पहिरन लगाएर जनकपुरमा उभिएका थिए। त्यतिबेला बसमा गृहराज्य मन्त्री सरोज सिंह कुशवाहा र अर्थराज्यमन्त्री उषा यादव अयोध्या पुगेका थिए। त्यहाँ उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उनको स्वागत गरेका थिए।
त्यतिबेला नै प्रधानमन्त्री ओलीले रामायण सर्किटको सुभारम्भसमेत गरेका थिए।
'हामी खुसी भएका छौं जनकपुर खुसी भएको छ। राम लक्षमण आउँदा धनुषा भंग गरिदाँसम्म अहिलेसम्म पनि हाम्रो परम्परा छ। अयोध्याबाट बरात आउँछ। यहाँबाट जानकी विदायी गरेर पठाइन्छ। यस परम्परालाई यस परम्पराको शिलशिलालाई माथि उठाउनका लागि मोदी आउनु भएको छ,' अयोध्याबाट रामको जन्ती आउने परम्पराको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भनेका थिए, 'जनकपुर भन्ने वित्तिकै सीता सम्झन्छौं। रामयण सर्किट विकास गरी राम र सीताको जीवन विताएका क्षेत्रहरुको विकास गर्नका लागि रामायण सर्किट विकास गर्दै छौं। यसै अनुरुप जनकपुरबाट अयोध्याका लागि बस सेवा सुरु हुँदै छ। मित्रताको संकेत स्वरुप बसे सेवा सुरु गर्दै छौँ।'
प्रधानमन्त्री ओलीको बाेली, हिजाे र आज
Posted by PahiloPost on Tuesday, July 14, 2020
६ सय ५० किलोमिटर लामो रामायण सर्किटले भारतको उत्तर प्रदेशको अयोध्या, शृंगवेरपुर र चित्रकुट, नेपालको जनकपुर, बिहारको सीतामढी, बक्सर र दरभंगा, मध्यप्रदेशको चित्रकुट, पश्चिम बंगालको नन्दीग्राम, उडिसाको महेन्द्रगिरि, छत्तीसगढको जगदलपुर, तेलंगानाको भद्राचलम, तमिलनाडुको रामेश्वरम, कर्नाटकको हम्पी, महाराष्ट्रको नासिक र नागपुरको धार्मिकस्थललाई जोड्ने र बहृत् रामायण सर्किटमा श्रीलंकासमेत जोडिने उल्लेख छ। भारतले सन् २०१४ र १५ को बजेटमै रामायण सर्किटको अवधारणा अघि सार्दै बजेट विनियोजन गरेको थियो। प्रधानमन्त्री ओलीले जनकपुरमा मोदीको सामुन्ने रामायण सर्किट कार्यान्वन अगाडि बढ्नेसमेत घोषणा गरेका थिए।
विवादमा राम जन्मभूमि
भारतमा अयोध्यासम्बन्धी विवाद नयाँ होइन। यसको विवाद बाबरी मस्जिद र राम मन्दिरको रुपमा चर्चित छ। जुन भारतको अदालतमा पनि पुगेको विषय हो।
रामको जन्मभूमि र अयोध्याको विवाद भारतमा नौलो होइन। तर, नेपालमा नेपालीले रामको जन्मभूमि भारतकै उत्तर प्रदेशमा रहेको अयोध्यालाई मान्दै आएका छन्। सोही परम्पराअनुसार हरेक वर्ष विवाह पञ्चमीमा अयोध्यादेखि जनकपुरसम्म जन्ती आउँछन्। जानकी लिएर फर्किन्छन्।
भारतमा नै रामको जन्मभूमि अयोध्या नभई हरियानाको हिसार जिल्लाको वनावालीमा रहेको तर्क पनि छ। जुन कुनै जमानामा त्यहाँ बग्दै आएको र अहिले नबग्ने सरस्वती नदी क्षेत्रमा रहेको उल्लेख छ। भारतका आर्कियोलोजिष्ट एमभीएन कृष्णा रावले वनवाली सीललको अध्ययन पछि यस्तो निष्कर्ष निकालेका हुन्। भारतको आर्कियोलोजी सर्भेका पूर्व महानिर्देशक जेपी जोशी र रावले लेखेको रामा एण्ड रावना इन इन्डस सिलमा उनीहरुले रामायणको व्याख्या गर्दै इन्डस सिलका 'रामा साना' लाई रामचन्द्रसँग तुलना गरेका छन् भने गर्मी मौसममा इन्डस भ्याली र अहिलेको इरान र अफगानस्थानमा राज्य गरेका लार्साका 'रिम सिना'सँग तुलना गरेका छन्।
रावले रिमसीनले लामो अघोषित युद्ध लडेको र अन्तिममा हाम्मुरावीलाई हराएको रावले लेखेका छन्। हाम्मुरावी नै इन्डस सिलका राभना रहेको बताइएको छ।
वेविलोनियाका राजाले हाम्मुरावीलाई पराजित गर्न सुवर्तु, हुर्रियान र मिताललियानको साथ लिएको इन्डस सिलको ग्रन्थ राभनी धममा उल्लेख रहेको छ।
त्यस्तै अर्का इतिहासकार राजेस कोचरले रामायणमा उल्लेख भएको सरायु नदीको किनार र अयोध्या पत्ता लगाउने क्रममा सो नदी हरिरुद भएको र जसलाई इतिहासमा हरोयु भन्ने गरिएको जुन हाल अफगानस्थानमा रहेको उल्लेख छ। उनले रामका ६० पुस्ता देखिका पूर्वजहरु इक्छाभाकु परिवारवाट भएको र उनीहरु अफगानस्तानको पूर्व इरान क्षेत्रमा बस्दै आएको उल्लेख गरेका छन्।
रामका पूर्व राजा कुवालासाले सावारी किनारमा राक्षसलाई मारेको र उन ताल अहिले इरानको हामुन ए सावारी भनेर चिनिने उनले बताएका छन्।
कोच्चरले अयोध्या अहिले सरायु नदीको खोजबाट भन्दा पनि हरोयु नदीसँगै खोज्नुपर्ने तर्क गरेका छन्।
सन् २०१५ मा अब्दुल रहिम कुरेसीले एउटा पुस्तक लेख्दै रामको जन्म पाकिस्तानको रहमन धेरीमा भएको र पुरानो सकेत शहर ११ औं सताब्दीमा आइपुग्दा अयोध्याको नामाकरण भएको हो।
अनेकथरी रामायण
वाल्मिकीले लेखेको रामायण पनि धेरै भाषामा अनुवाद र कथ्य रुपमा विकसित हुँदै गएका छन्। भारतकै हिमांचलमा लाहोली भाषाको रामायण प्रचलित छ। लिखित रुपमा नभए पनि वाचन गरिने यो रामायणमा सीतालाई रावणकी छोरीको रुपमा व्याख्या गरिएको छ।
त्यहाँ एउटा मन्दिर पनि छ त्रिलोकिनाथ जहाँ वुद्धको शिरमा सीताको मूर्ति स्थापना गरिएको छ। लाहोली रामायणमा स्थानीय एक ब्राह्मण लक्ष्मीलाई खुसी पार्न पूजा गरिरहेका थिए। उनले पूजा गरिरहेका बेला रामणले पूजाको कलश लिएर घर जान्छन्। रावणले पत्नी मन्दोधरीलाई कलशमा विष रहेको र सुरक्षित राख्न भन्छन्। मन्दोधरीले कलश खोलेसँगै मन्दोधरी गर्भवती भएको र डरले मन्दोधरीले जमिनमा सीतालाई गाढेको र जनकले फेला पारेको मान्यता लाहोली समुदायमा रहेको छ।
इसु डाइभर्ट गर्ने प्रधानमन्त्री ओलीको विवादित बयान
पछिल्लो पटक प्रधानमन्त्री ओली पटक पटक विवादित अविव्यक्ति दिँदै आएका छन्। उनले मदन भण्डारी जन्मजयन्ती समारोहमा भारतले आफूलाई हटाउन खोजेको अभिव्यक्ति दिए। उनको अभिव्यक्तिलाई लिएर नेपालभित्र सत्तारुढ दलभित्रै विवादमा आए।
अहिले उनी राम जन्मभूमिलाई लिएर विवादित बयान दिए। यसको विरोध भारतबाट मात्र नभई नेपालमा पनि सुरु भएको छ। सत्तारुढ दलकै नेताहरुले पनि विरोध जनाएका छन्।
भारतीय सत्तारुढ दल भाजपाका सुब्रमणिम स्वामीले प्रधानमन्त्री ओलीले भारतलाई उस्काउनका लागि आफ्नो पक्षमा जनमत जम्मा गर्न खोजेको टिप्पणी गरेका छन्। उनी सीमा विवादको विषयमा भरातीय संस्थापन पक्षलाई वार्ताबाट समस्या समाधान गर्नका लागि आग्रह गर्दै विदेश नीति परिवर्तन गर्न माग गरेका थिए।
कोरोना भाइरसको संक्रमण फैलिँदै गर्दा सरकारको व्यवस्थापन गर्न असफल भएको भन्दै आलोचना हुँदै गर्दा प्रधानमन्त्री ओलीले भारत विरोधी अभिव्यक्ति दिँदै आफ्नो पक्षमा सेन्टिमेन्ट लिन खोज्दै आएका छन्। भारत विरोधी सेन्टिमेन्टलाई क्यास गर्नका लागि उनले पटक पटक विवादित अभिव्यक्ति दिँदै आएका छन्।
तीन वर्ष अगाडि भारतीय प्रधानमन्त्री मोदीसँग गला जोडेर अयोध्याका लागि बस छुटाउने ओली, रामायण सर्किटको उद्घटन गर्ने ओलीको पछिल्लो विवादित अभिव्यक्ति किन र कसरी आयो? समयले प्रष्ट पार्ने छ।