PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नेकपाको गुट राजनीतिमा शीतल निवास सहजकर्ता, नेता मिलाउँदा जोगिएला राष्ट्रपतिको गरिमा?



प्रकाश भण्डारी

नेकपाको गुट राजनीतिमा शीतल निवास सहजकर्ता, नेता मिलाउँदा जोगिएला राष्ट्रपतिको गरिमा?

काठमाडौँ: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक किचलो जब तात्छ तब शीतल निवास नामको ठिक विपरीत जान्छ। राजनीतिको तापक्रम एकाएक बढ्छ। सेरोमोनियल भूमिकामा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पूर्व पार्टीमा देखिएको मतभेद मिलाउन सबैभन्दा अगाडि देखिन्छिन्।

शीतल निवास पछिल्ला दिनमा पार्टीका नेताहरुका लागि सरसल्लाह गर्ने ठाउँ बनेको छ। धुम्बाराहीमा हुनुपर्ने बैठक बालुवाटार हुँदै शीतल निवास सरेको विश्लेषण समेत गरिएको छ।

नेकपा एमाले र माओवादीको एकतापछि पार्टी भित्रको विवाद मिलाउन विभिन्न समयमा साक्षी बनिरहेकी छिन् राष्ट्रपति भण्डारी। पदीय दायित्व भुलेर पार्टी राजनीतिमा लागेको भन्दै उनको आलोचना भइरहेको छ।

असार १८ गते नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको दौडधुप बढ्यो। स्थायी कमिटी बैठकअघि प्रचण्डले ओली पक्षका नेतालाई आफ्नै निवास खुमलटारमा भेटेर ओली शीतल निवासतिर लागे। नेकपाभित्रको रडाको चरम रुपमा पुगेर ओलीको पद धरापमै परेका बेला राष्ट्रपतिसँगको भेट सामान्य थिएन। आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर हतारिँदै शीतल निवास गएका ओलीले फर्केर संसद् अधिवेशन अन्त्यको सिफारिस गरे।

सिफारिसको केहीबेरमै शीतल निवासले निर्णय सदर गर्‍यो।

बालुवाटारमा स्थायी कमिटी बैठकमा जुटेका प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समुहका नेता भने सशंकित भइरहेका थिए। हुनत बालुवाटारमै रहेका प्रचण्डले ओलीले संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गर्दैछन् भन्ने सुइको नपाउने कुरै थिएन। तर ओलीले उनलाई त्यो दिन बिहान वचन दिएका थिए -अधिवेशन तत्काल अन्त्य हुँदैन भनेर।

प्रचण्डलाई छक्याउदै ओलीले अधिवेशन अन्त्य गरेपछि बालुवाटारको माहोल बदलियो। प्रचण्डले ओलीलाई केहिबेर एक्लै भेटे र उनी त्यसपछि शीतल निवास हान्निए। शीतल निवासमा ओलीले अध्यादेश ल्याउँदै छन् कि छैनन् भन्ने जान्न चाहेका प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीबाट तत्काल अध्यादेश नआउने संकेत पाएपछि फर्किएर स्थायी कमिटी बैठक चलाउन पुगेका थिए।

ओलीको अनुपस्थितमा प्रचण्डले स्थायी कमिटी सदस्यलाई ब्रिफिङ गरे, 'पार्टी फुटी नै सक्यो, म रोक्ने प्रयास गर्छु।'

राष्ट्रपतिसँगको भेटमा उनले अध्यादेश आएमा तत्कालै स्वीकृत नगर्न आग्रह गरेका थिए। असार १८ मा शीतल निवासलाई प्रचण्डले आफूलाई सहयोग गर्न आग्रह गरे भने ओलीले पार्टीभित्रको विवाद समाधनका लागि राष्ट्रपतिको सहयोग खोजे। तारन्तार राष्ट्रपतिको भेटमा रहेका ओली प्रचण्डका नौलो भेट थिएन,  न त नेकपाको विवाद मिलाउने शीतल निवासकै भुमिका नौलो थियो।

नेकपा भित्रको चर्किएको विवादले बेलाबेलामा शीतल निवासमा ह्वातै राजनीतिक सरगर्मी बढ्ने गरेको छ। नेकपाका नेताहरु महत्वपूर्ण भेटघाट अघि वा पछि शीतल निवासमा धाउने गरेका छन्। शीतल निवास पछिल्ला दिनमा नेकपाको आन्तरिक किचलो मिलाउन सल्लाकारको भूमिकामा देखिन थालेको भन्दै आलोचना भइरहेको छ। तर सक्रियता रोकिएको छैन्।

ओलीले पद जोगाउन राष्ट्रपतिको साहरा लिएको उनकै दलका नेताहरुले आरोप लगाइरहेका छन्। यो कुरा स्वयम् प्रधानमन्त्री केपी ओलीकै बोलीमा झल्किन्छ।

असार २१ को मन्त्रिपरिषद् बैठकमा ओलीले आफू र राष्ट्रपतिको पद बचाउन जस्तोसुकै कदम चाल्ने सन्देश मन्त्रीहरुलाई दिएका थिए। राष्ट्रपति आफ्नो पक्षमा रहेको सिग्नल उनले मन्त्रीहरुलाई दिएका थिए। त्यसदिन पनि ओलीले मन्त्रिपरिषद् बोलाएर आफू शीतल निवास गएका थिए। राष्ट्रपतिलाई भेटेर आएका ओलीले मन्त्रीहरुलाई कित्ता क्लियर गर्न निर्देशन दिएका थिए।

मन्त्रीहरुलाई उनले भनेका थिए,'मेरा र राष्ट्रपतिका विरुद्ध षड्यन्त्र भयो।'

शीतल निवासबाट सत्ता सञ्चालनको ग्रीन सिंग्नल पाएका ओलीले मन्त्रीहरुलाई पनि त्यही अनुसार ब्रिफ गरे। राष्ट्रपतिलाई महाभियोग लगाउने षडयन्त्र भएको उनले मन्त्रीहरुलाई बताए। कित्ता क्लियर गर्न ओलीले मन्त्रीलाई दिएको निर्देशनले नेकपाभित्रको विवाद नबल्झिने कुरै थिएन। भोलिपल्ट फेरि शीतल निवास नेकपा विवाद मिलाउने अखडा प्रतीत हुनेगरि ओली इतरका नेता राष्ट्रपति भण्डारीलाई भेटन पुगे। ओलीसँगको भेटलाई रोकेर प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल शीतल निवास पुगेका थिए। प्रचण्ड-नेपालले पनि भण्डारीलाई ओली अनुकूल हुनेगरि निर्णय नगर्न आग्रह गरे।

अघिल्लो दिन ओलीलाई स्वागत गरेको शीतल निवासले पछिल्लो दिन उनका विरोधी नेताहरुलाई स्वागत गर्‍यो। ओली विरोधी नेताहरुले राष्ट्रपतिविरुद्ध षडयन्त्र नगरेको प्रष्टीकरण पनि दिएका थिए। उनीहरुले राष्ट्रपतिलाई महाभियोग नलगाउने बचन दिए।

नेकपाको घर झगडा जब-जब बल्झिन्छ शीतल निवास झगडामा चासो राख्छ। यस्तै खालको पछिल्लो घटना हो। ओलीले ल्याएको ‘महाधिवेशन कार्ड’।

सत्ता टिकाउन अनेक अस्त्र प्रयोग गरिरहेका ओलीले पछिल्लोपटक महाधिवेशनको एजेण्डा अघि सारे। मंसिरमा महाधिवेशन गराउने र एकल अध्यक्षका लागि प्रचण्डलाई सघाउने एजेण्डामा राष्ट्रपतिलाई साक्षी राख्न खोजेको घटना प्रचण्डले नै सार्वजनिक गरिदिए।

शीतल निवास जानुअघि बसेको सचिवालय बैठकमा ओलीप्रति प्रचण्ड नरम देखिएपछि नेपाल समूहका नेताहरुले शंका गरेका थिए। उनीहरुले शंका गरे अनुसारकै समाचार आइसकेका थिए।

सञ्चार माध्यमा प्रचण्ड मंसिरमा महाधिवेशन गराउने ओलीको प्रस्तावमा सहमत भएका समाचार भाइरल भइसकेका थिए। ओली पक्षका नेताहरुका अनुसार शीतल निवासमा उनले मंसिरमा महाधिवेशन गर्ने एजेण्डामा असहमति जनाएनन्। तर खुमलटार फर्कँदै गर्दा प्रचण्ड यूटर्न भए। सचिवालयलाई महाधिवेशनको कुरा खण्डन गर्न लगाए।

'कुनै पनि प्रस्तावमा सहमति भएको छैन, सबै भ्रम हो,'सचिवालयको खण्डनमा लेखिएको थियो।

खण्डन गरे पनि नेपाल समूहका नेता भने आश्वस्त भएका थिएनन्। गुटका नेतालाई प्रचण्डले आइतबार बिहान आफू परिबन्दमा परेर शीतल निवास गएको र महाधिवेशनको प्रस्तावमा सहमति नगरेको भन्दै आश्वस्त पार्न खोजे।

प्रचण्डले नेताहरुलाई बताए अनुसार शनिबारको सचिवालय बैठक सकिएलगतै उनको मोबाइलमा महासचिव बिष्णु पौडेलको म्यासेज आयो। ओलीले भेटन खोजेको सन्देश पाएपछि प्रचण्ड वालुवाटारतिर लागे तर त्यहाँ ओली थिएनन्। प्रचण्ड बालुवाटार पुग्नुअघि नै शीतल निवास पुगेका ओलीले प्रचण्डलाई पनि शीतल निवास नै बोलाए।

राष्ट्रपतिलाई साक्षी राखेर महाधिवेशनमा सहमत गराउन खोजेको प्रचण्डले आफू निकट नेतालाई बताएका छन्। आफू सहमत नभए पनि सहमति नै गरेको भनेर शीतल निवासमा आफ्नो अपमान भएको प्रचण्डले आफू निकटका नेतालाई ब्रिफ गरे।

संविधानले दिएको भूमिकालाई कुल्चिएर दल विशेषको राजनीतिमा चासो दिइरहेको घटना पछिल्लो दिनको ओली-प्रचण्डको शीतल निवासको दौडधुपले मात्रै होइन ओली अनुकूल हुनेगरि राष्ट्रपतिले अकास्मात गर्ने निर्णले पनि पुष्टि गर्ने गरेको छ।

 सरकारले वैशाख ८ मा राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउँदा पनि हठातमै शीतल निवासबाट उक्त अध्यादेश स्वीकृत भएको थियो। ‍

राष्ट्रिय महत्वका विषयमा राष्ट्रपतिले विवेक प्रयोग गर्न सक्ने भए पनि शीतल निवासको ध्यान त्यतातिर गएको देखिँदैन। ओली क्याबिनेटले संसद् अधिवेशन अन्त्य गर्ने सिफारिस गर्दा त्यसबाट भविष्यमा पर्ने सक्ने नकारात्मक असरबारे सोच्दै नसोची राष्ट्रपति कार्यालयले बैठक अन्त्य भएको सूचना नै सार्वजनिक गरेको थियो।

सेरेमोनियल राष्ट्रपति नेकपाको आन्तरिक किचलो मिलाउन सक्रिय हुन थालेपछि भण्डारीको आलोचना भइरहेको छ। सामाजिक सञ्जालमा राष्ट्रपतिका भूमिकालाई लिएर प्रश्न हुन थालेको छ। उनले राष्ट्रपति संस्थालाई निष्पक्ष राख्न नसकेको भन्दै अहिले आलोचना भइरहेको हो।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिको सक्रियता लोकतन्त्रका लागि खतरा भएको भन्दै नेकपाभित्रको आन्तरिक किचलो मिलाउन सक्रियता देखाउनु दुःखद् भएको टिप्पणी गरेका छन्। उनले ट्वीट गर्दै राष्ट्रपति भण्डारीलाई पदको गरिमा ख्याल गर्न आग्रह गरेका छन्।

'राष्ट्रपति सामान्य र राजनीतिक व्यक्ति होइन। साझा,सम्मानित र सर्वोच्च निकाय हो। राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्छ। पछिल्ला दिनमा नेकपाभित्रको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रको लागि अत्यन्तै दुःखद हो,'उनले लेखेका छन्। 

नेपाली कांग्रेसकै अर्का नेता रामहरि खतिवडाले पनि राष्ट्रपतिको भूमिकालाई लिएर प्रश्न गर्दै राष्ट्रपति भण्डारी नेकपाको नेता भएको आरोप लगाए।

'सम्मानित  राष्ट्रपति विद्यादेवी भण्डारीलाई अब नेकपाको स्थायी मानर्थ अध्यक्ष घोषणा गर्नुपर्ने भो,' ट्वीट गर्दै उनले लेखेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell