काठमाडौं : गत असार ५ गते राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले 'सद्धे मान्छेले आत्महत्या नगर्ने' भन्दै कोरोनाले मानिसलाई शारीरिकमात्र नभई मानसिक तनाब पनि दिएको बताए। कोरोनाकै कारण नेपालमा कसैको पनि मृत्यु नभएको दाबी गर्दै प्रधानमन्त्रीले भनेका थिए, 'कोरोनाले त्रास फैलाएको र त्रासले डिप्रेसनमा जाने र डिप्रेसनमा गएको एउटा लक्षण हो, मरुँमरुँ लाग्ने। सद्धे मान्छेले आत्महत्या गर्नै सक्दैन।'
गत चैतदेखि सुरु भएको लकडाउनपछि पाँच सय भन्दा धेरैले आत्महत्या गरिसकेका छन्। आत्महत्या गर्नेमा कोरोना भाइरसका संक्रमित पनि छन्। कोरोनाको संक्रमण पुष्टि भइ आत्महत्या गर्ने वा आत्महत्या गरेपछि कोरोना पुष्टि हुनेको रेकर्ड भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राखेको छैन।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जारी गरेको कोभिड-१९ सम्बन्धी मृत्युका घटनाको दर्ता तथा वर्गीकरण सम्बन्धी गाइडलाइनले कोभिड-१९ संक्रमण पुष्टि भएका हरेक मृत्युको प्रमाणपत्रमा 'कोभिड-१९' उल्लेख गर्नुपर्ने लेखिएको छ।
मृत्युको कारण वर्गीकरण गर्नेक्रममा अन्य कारणहरु हृदयघात, निमोनिया वा अन्य केही भए उल्लेख गर्नुपर्ने भनिएको छ। कोभिड-१९ सम्बन्धी मृत्युसँगै हुने 'चेन अफ इभेन्ट्स' मा मृत्युको प्रकृति खुलाउनुपर्ने उल्लेख छ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार मृत्युको प्रकृति रोग वा अन्य प्राकृतिक दुर्घटना, 'इन्टेन्सनल सेल्फ हार्म' (आत्महत्या), युद्ध, कानुनी हस्तक्षेप वा खुल्न नसकेको उल्लेख गर्नुपर्ने गाइडलाइनले भनेको छ।
निर्देशिकामा मृत्युको कारण अन्य भए पनि व्यक्तिमा कोभिड-१९ संक्रमण देखिए सहयोगी कारणमा कोभिड-१९ उल्लेख गर्नुपर्ने उल्लेख छ।
यसबीच नेपालमा संक्रमित मध्ये ६ जनाले आत्महत्या गरेका छन्। एक जनाले आत्महत्याको प्रयास गरेका थिए। उपचारका क्रममा अस्पतालमा मृत्यु भयो।
गोरखा भीमसेन थापा गाउँपालिका वडा २ का एक पुरुषले आत्महत्याको प्रयास गरे। असार २० गते उनलाई उपचारका लागि पाटन अस्पताल ल्याइयो। मानसिक रोगीसमेत रहेका उनको यसअघि पनि पटकपटक पाटनमा उपचार गरिएको थियो।
अस्पतालको आइसीयूमा राखेर उपचार गरिएको उनमा कोभिड-१९ को संक्रमण पुष्टि भयो। २२ गते राति ती २७ वर्षे पुरुषको मृत्यु भयो।
उनको डेथ सर्टिफिकेटमा कोभिड-१९ उल्लेख भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो मृत्युलाई कोभिड-१९ को मृत्युको तथ्यांकमा समावेश गरेको छैन।
गण्डकी प्रदेशमा यीबाहेक अन्य ५ संक्रमितको मृत्युको तथ्यांक मन्त्रालयसँग रहेको छ। अन्य प्रदेशले आत्महत्यालाई पनि मृत्युको संख्यामा गणना गरे पनि गण्डकी प्रदेशले भने गणना गरेको छैन।
सुदूर पश्चिमका २ आत्महत्या
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा सुदूर पश्चिममा ६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको उल्लेख छ। प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा भने प्रदेशमा ८ जना संक्रमितको मृत्यु भएको छ।
असार १९ गते सुदूर पश्चिममा बझाङका एक युवकले आत्महत्या गरे। त्यसअघि उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। बझाङको खप्तड छान्ना गाउँपालिका वडा नम्बर ७ मा रहेको लामागाडा प्राविको क्वारेन्टाइनमै उनले आत्महत्या गरेका थिए।
‘जेठ १९ गते भारतबाट आएका वडा नम्बर ७ गडराय घर भएका १८ वर्षीय युवक क्वारेन्टाइनमा बस्दै आएका थिए,’ गाउँपालिकाका प्रवक्ता रामबहादुर सिंहले भने, ‘त्यहाँ रहेका २५ जनामध्ये कोरोना जाँच गर्दा ५ जनाको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि पीसीआर परीक्षण गर्दा रावतको मात्र पोजेटिभ देखिएको थियो। कोरोना पुष्टि भएर एक्लै बस्दा उनी मानसिक रूपमा निकै तनावमा देखिने गरेका थिए। उनले सोही कारण आत्महत्या गरेको हुनसक्ने हाम्रो बुझाई हो।’
त्यस्तै, असार ५ गते बाजुराको क्वारेन्टाइनमा एक पुरुषमा कोभिड-१९ को संक्रमण पुष्टि भयो। ती पुरुषले जेठ ३० गते नै आत्महत्या गरिसकेका थिए। बाजुराको बडिमालिका नगरपालिका–२ भौनेरामा रहेको सत्यवादी माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बसेका ४५ वर्षीय पुरुषले जेठ ३० गते आत्महत्या गरेका थिए।
बडिमालिका नगरपालिकाका मेयर पदम बडूवालका अनुसार वडा नम्बर २ माझी गाउँका उनी ६ जना परिवारका सदस्यसँगै जेठ २८ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए।
‘हामीले उनको बारेमा त्यतिखेर बुझ्दा उनी दमको बिरामी भन्ने थाहा पाएका थियौँ,’ मेयर बडूवालले भने, ‘३० गते साँझ साढे ८ बजेतिर डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो। आर्थिक अवस्था निकै कमजोर रहेकाले गरिबीकै कारण उनले आत्महत्या गरेका हुन कि भन्ने हाम्रो बुझाइ हो।’
सुदुर पश्चिममा उनीहरु सहित ८ जना कोरोना भाइरस संक्रमितको मृत्यु भइसकेको छ।
कर्णालीमा २ संक्रमितको आत्महत्या
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा कर्णाली प्रदेशका ४ जना संक्रमितको मृत्यु भएको उल्लेख छ। तर, प्रदेशको सामाजिक विकास मन्त्रालयले मृत्यु हुनेको संख्या ६ रहेको उल्लेख गरेको छ।
दैलेखको दुल्लु नगरपालिका १० गमौडीका २१ वर्षीय युवकले आफ्नै घरमा आत्महत्या गरे। असार ११ गते उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो।
११ जेठमा भारतको अहमदाबादबाट आएर स्थानीय पञ्चकोशी माविको क्वारेन्टाइनमा १४ दिन बसेपछि आरडीटी परीक्षणमा नेगेटिभ आयो उनको। उनलाई जेठ २५ गते घर पठाइयो। घर गएको १६ दिनपछि असार ९ गते उनले आत्महत्या गरेका थिए। आत्महत्या गरेको ३ दिनपछि उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो।
सुर्खेतको सिम्ता गाउँपालिकाकी २५ वर्षिया युवतीले असार १ गते आत्महत्या गरिन्। घर नजिकै आत्महत्या गरेकी उनी १४ दिन क्वारेन्टाइनमा बसेर अघिल्लो दिनमात्र फर्किएकी थिइन्।
जेठ १२ गते श्रीमान र तीन वर्षकी छोरीसहित भारतबाट आएर क्वारेन्टाइनमा बसेका उनीहरु आरडीटी नेगेटिभ आएपछि घर पठाइएको थियो। घर पुगेको अर्को दिन नै उनले आत्महत्या गरिन्। ३ गते पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आयो।
प्रदेश ५ का पनि दुई आत्महत्या
प्रदेश ५ मा पनि दुई जना संक्रमितले आत्महत्या गरेका छन्। आत्महत्या पछि उनीहरुको शवबाट थ्रोट स्वाब संकलन गर्दा उनीहरुमा कोभिड-१९ पोजेटिभ देखिएको थियो।
असार ३ गते अर्घाखाँचीको शितगंगा ५ का ४५ वर्षका पुरुषले क्वारेन्टाइनमै आत्महत्या गरे। जेठ १० गते भारतबाट आइ क्वारेन्टाइनमा बसेका उनमा जेठ २४ गते आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। पोजेटिभ देखिएपछि २४ गते नै उनको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाइयो। तर, रिपोर्ट आउन ८ दिनभन्दा बढी लाग्यो।
असार ३ गते पीसीआर रिपोर्ट पोजेटिभ आयो। तर, उनले क्वारेन्टाइनमै अघिल्लो राति आत्महत्या गरेका थिए।
प्रदेश ५ मा अर्को आत्महत्याको घटना रोल्पामा भयो। असार १७ गते जिल्लाको गंगादेव गाउँपालिकाको क्वारेन्टाइनमा भारतबाट फर्केर आएपछि बसेका थिए। आत्महत्यापछि मृतकको स्वाब संकलन गरी परीक्षणका लागि अस्पताल पठाइएको थियो। असार १९ गते उनमा कोभिड-१९ को संक्रमण पुष्टि भयो। सात महिना अगाडि मात्र दुबई गएका उनी कोरोना महामारीका कारण असार १० गते सरकारले तय गरेको चार्टर उडानमार्फत् आफ्नै लगानीमा नेपाल फर्किएका थिए।
गाउँ फर्किएपछि गाउँपालिकाले विद्यालयमा तय गरेको क्वारेन्टाइनमा बसेका थिए। सो क्वारेन्टाइनमा उनीभन्दा अगाडिदेखि भारतबाट आएका ७ जनासमेत थिए। उनले गाउँपालिकालाई छुट्टै आख्न अनुरोध गरेका थिए। तर, उनको आग्रहर मानिएन्। उनका बाबुले उनलाई गाउँपालिकाकै निगरानी गर्ने गरी घर नजिकैको गोठमा बस्ने गरी लगे।
असार ११ गतेदेखि क्वारेन्टाइन बस्दै आएका थिए उनी। उनलाई गाउँपालिकाले नै दिँदै आएको खाना सुविधाको व्यवस्था पनि गरिएको थियो। विदेश गएको छोटो समयमै फर्किनुपरेको, विदेश गएसँगै कोरोना महामारी फैलिएपछि कमाई नभएको र ऋण तिर्नुपर्ने चिन्ता व्यक्त गरिरहने उनले आत्महत्याको बाटो रोजे।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा प्रदेश ५ मा १० जना संक्रमितको मृत्यु भएको उल्लेख छ। प्रदेशको स्वास्थ्य निर्देशनालय तथा सामाजिक विकास मन्त्रालयले जारी गरेको तथ्यांकमा १३ जनाको मृत्यु भएको उल्लेख छ। जसमध्ये दुई जना आत्महत्या गरेका अर्घखाँची र रोल्पाका हुन् भने एक जना दाङका हुन्। उनको मृत्यु भारतमा भएर नेपालमा शव ल्याइ स्वाब परीक्षण गर्दा कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो।
क्वारेन्टाइनसँग जोडिएका अन्य आत्महत्या
वैशाख १९ गते उदयपुरको रौतामाईँका १८ वर्षीय किशोरले आत्महत्या गरे। काठमाडौंबाट घर पुगेका उनी वैशाख ११ गतेदेखि क्वारेन्टाइनमै बस्दै आएका थिए। श्रीमती सहित रहेका उनले श्रीमतीको सलको पासो लगाएर आत्महत्या गरेका थिए।
गुल्मी छत्रकोट गाउँपालिकाका ४६ वर्षका पुरुषले पनि क्वारेन्टाइनमै आत्महत्या गरे। भारतबाट आएका उनले १७ गते आत्महत्या गरेका थिए। त्यस्तै बझाङको पाथिभेराका २० वर्षका पुरुषले पनि क्वारेन्टाइनमै असार ७ गते आत्महत्या गरे। तनहुँका ४९ वर्षका पुरुषले पनि असार ९ गते क्वारेन्टाइनमै आत्महत्या गरे।
लमजुङको एक क्वारेन्टाइनमा बसेका युवक साउन २ गते मृत भेटिए। ब्क्होलासोथर गाउँपालिका-९ गिलुङस्थित बुद्धोदय माविको क्वारेन्टाइनमा बसेका २३ वर्षीय युवराज घर्ती क्वारेन्टाइनमै झुण्डिएको अवस्थामा फेला परेका थिए।
उनी असार ३१ गते बुटवलबाट घर आएका थिए। उनलाई साउन १ गतेमात्र क्वारेन्टाइनमा लगिएको थियो। सोही रात उनले आत्महत्याको बाटो रोजे। उनमा कोभिड-१९ को संक्रमण पुष्टि भएन। तर, कोभिड-१९ र त्यसपछिको अवस्था आत्महत्याको कारण बनेको हुनसक्ने मनोविद् सनम पौडेलले बताइन्।
'मानिसमा मनदेखि शरीरसम्म र शरीरदेखि मनसम्म जान सक्छ। संक्रमण नदेखिएकाहरु पनि क्वारेन्टाइनमा आत्महत्या गरेका छन्। उनीहरुमा मनको त्रास शरीरसम्म देखियो। आत्महत्याको बाटो रोज्न पुगे,' उनले पहिलोपोस्टसँग भनिन्, 'कोभिड-१९ को संक्रमण भएकाले आत्महत्या गर्नुको पाटो भनेको शरीरको तनाब मनसम्म पुगेर फेरि मनदेखि शरिरसम्म पुग्नु हो। संक्रमण पुष्टि नभएकाहरुमा पहिले नै मनको त्रासले उनीहरुले यस्तो बाटो रोज्न पुगे।'
यस्ता आत्महत्याका पछाडि कोभिड-१९ पान्डेमिकले निम्त्याएको आर्थिक र सामाजिक संकट रहेको उनको तर्क छ।
'जागिर गुमाएका छन्। मानिसहरुले भोलिको विकल्प देख्न सकेनन्। परिवार कसरी पाल्ने चिन्ता होला। खाने लाउने चिन्ता। विदेशबाट फर्किएका छन्। ऋण तिर्ने चिन्ता होला,' उनले भनिन्, 'क्वारेन्टाइनमा बस्दा अन्य केही गर्ने काम हुँदैन। उनीहरुले हिजोको अवस्था सम्झिए। भोलि कस्तो होला कल्पिए। भोलिको विकल्प नदेखेपछि आत्महत्याको अन्तिम बाटो रोज्ने हुन्।'
सरकारले आत्महत्या रोक्नका लागि तत्काल क्वारेन्टाइनमा रहेकाहरुलाई मनोसामाजिक परामर्श उपलब्ध गराउन पर्ने उनको भनाइ छ।
'क्वारेन्टाइनमा बस्नेहरु सबैमा उस्तै समस्या हो। विदेशबाट आएका हुन्। धन कमाउन विदेश गएका हुन्। उनीहरुलाई भोलि के गर्ने भन्ने चिन्ता हो,' पौडेलले भनिन्, 'सरकारले क्वारेन्टाइनमा रहेकाहरुलाई मनोसामाजिक परामर्श दिएर तत्कालका लागि आत्महत्याको सोच आउनबाट रोक्न सक्छ।'
अहिलेको क्वारेन्टाइनमा भएका आत्महत्या भन्दा भोलिका दिनमा अझै बढ्ने उनको आँकलन छ।
'अहिले आर्थिक सामाजिक रुपमा प्रभाव कम छ। संक्रमण नियन्त्रणमा आएपछि कामको खोजी, रोजगारी नपाउँदा मानिसहरुमा मानिसक विछिप्तता आउँछ। यो समस्यालाई दीर्घकालीन रुपमा सम्बोधन नगरे आत्महत्याका घटना थप बढ्न सक्छन्,' उनले भनिन्।
-सुदुरपश्चिमबाट एम बमको सहयोगमा।