PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

यी हुन् ४० करोडको जग्गा हत्याउने नक्कली छोरा : अनुसन्धानको सुई बंसलतर्फ, शंकाको घेरामा मालपोतका तीन कर्मचारी पनि



राधेश्याम पटेल

यी हुन् ४० करोडको जग्गा हत्याउने नक्कली छोरा : अनुसन्धानको सुई बंसलतर्फ, शंकाको घेरामा मालपोतका तीन कर्मचारी पनि

वीरगंज :  भूमिसुधार तथा मालपोत कार्यालय, पर्साबाट कीर्ते गरी वीरगंज–५ मुख्य सडकमा होटल मकालु अगाडि सिटी स्क्यान सेन्टर रहेको जग्गा सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको छ।

भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत तारानाथ दंगालले साउन ४ गते घटना छानबिन गर्न जिल्ला प्रशासन कार्यालय, पर्सामा पत्राचार गरिएको र प्रशासनले जालसाजीको मुद्दा प्रहरीबाट अनुसन्धान हुने भन्दै सोको जिम्मा लगाएको जनाए। पर्साकी एसपी गंगा पन्तले अनुसन्धान शुरु भइसकेको बताइन्।
 

उक्त जग्गा काठमाडौं महानगरपालिका–१ बस्ने गोपाल राजभण्डारीकी पत्नी कमला राजभण्डारीको नाममा दर्ता थियो। वीरगंज महानगरपालिका – ५ कित्ता नं. ३ को १२७३.८ वर्गमिटर, कित्ता नं ७१ को ३२५ वर्गमिटर, कित्ता नं. १८६ को १०३.४ वर्गमिटर र कित्ता नं. १४३ को ८६.१० वर्गमिटर गरी करिब ५ कठ्ठा जग्गा २०७६ फागुन १२ गते मालपोत कार्यालय पर्साले नक्कली छोरा बनेका मुकेश राजभण्डारीको नाममा नामसारी गरेको थियो।

पछि कीर्ते ठहर भयो। मालपोत कार्यालयसमेतले अनुसन्धान गर्दा वडा कार्यालयको सिफारिशदेखि नाता प्रमाणित, नागरिकता प्रमाणपत्र, अस्ट्रेलियास्थित नेपाली दूतावासमा भएको मन्जुरीनामालगायत सम्पूर्ण कागजपत्र नक्कली भेटिएको थियो।
 

जग्गाधनी कमला राजभण्डारीका छोराहरू दीपक राजभण्डारी, राजीव राजभण्डारी र सञ्जीव राजभण्डारी हुन् र सञ्जीव राजभण्डारी इङ्गल्यान्डमा छन् भने दीपक र राजीव काठमाडौंमैं छन्। तर कमलाका नक्कली छोरा बनेर मुकेश राजभण्डारीले राकेश राजभण्डारी र रूपेश राजभण्डारी दुई भाइ अस्ट्रेलियामा रहेको जनाउँदै त्यहाँस्थित नेपाली दूतावासबाट भाइहरूको मन्जुरीनामाको नक्कली कागज बनाएर प्रस्तुत गरेका थिए।
 

अनुसन्धानको सुई व्यवसायी बंसलतर्फ
 

करिब ४० करोडभन्दा बढी मूल्य पर्ने उक्त कीर्ते कार्यमा व्यवसायी गिरधारीलाल अग्रवाल (बंसल)को संलग्नता देखिएको छ। जालसाजमा संलग्न मुकेशले आफ्नो नाममा जग्गा नामसारी भएपछि बंसलसँग ५० लाख रुपैयाँ तमसुक गरेर बैना लिएको देखिन्छ। तमसुक गरेका व्यक्तिले जालसाजको सुराक नपाउँदै पर्सा जिल्ला अदालतमा लेनदेनको मुद्दा दिनुले बंसलको संलग्नता रहेको देखिन्छ।
 

आफैंले बैना दिने, लकडाउन खुकुलो हुने बित्तिकै खुलेको अदालतमा मुद्दा दिने र जग्गा रोक्का गर्ने कार्यले बंसलको संलग्नता रहेको सङ्केत गरेको कानुनविद् अधिवक्ता सुधीर कर्ण तर्क गर्छन्।


रमाइलो त के छ भने कीर्ते गर्ने र बंसलसँग तमसुक गरेर ५० लाख रुपैयाँ बुझ्ने मुकेशलाई बंसलबाहेक अहिलेसम्म कसैले देखेका छैनन्। सबै काम कागजी रूपमा भएको छ तर मुकेशको अनुपस्थितिमा।

बंसलले असार २४ गते अदालतको आदेशमा जग्गा रोक्का राखेपछि बल्ल कीर्ते जालसाजको पोल खुलेको हो। असार २७ गते स्व कमला राजभण्डारीका वास्तविक छोराहरूको तर्फबाट नातेदारहरू आएर पर्सा मालपोत कार्यालयमा उजूरी दिएको र सोही उजूरीको आधारमा मालपोत कार्यालय पर्साले बाँकी रहेको तीन कित्ता जग्गा रोक्का राखेको छ।


मालपोतका ३ जना कर्मचारी शंकाको घेरामा
 

बंसलले मुकेशको बारेमा जानकारी दिएका छैनन् भने मालपोत कार्यालयसँग पनि बंसलबारे कुनै जानकारी छैन। मालपोत कार्यालय, पर्साको मुद्दा शाखाका नायब सुब्बा श्रीनारायण यादवले आफूले मुकेशलाई नदेखेको बताए।


उनले कागजी प्रमाणहरू दुरुस्त भएको र आफू कार्यालयमा नयाँ व्यक्ति भएको कारण झुक्याएर हस्ताक्षर गराएको प्रतिक्रिया दिए। यो घटनामा मालपोत कार्यालय, पर्साका तीनजना कर्मचारी शङ्काको घेरामा परेका छन्। कम्प्युटर अपरेटर जीतबहादुर चौधरी र मुद्दा शाखाका श्रीनारायणले सनाखत प्रमाणित गरेपछि तत्कालीन मालपोत कार्यालय प्रमुख सुमन झाले टिप्पणी सदर गरेका थिए।
 

तत्कालीन मालपोत कार्यालय प्रमुख र हाल मालपोत अधिकृत झाले घटनामा संलग्न सबैलाई कारबाई हुनुपर्ने प्रतिक्रिया दिएका छन्। उनले दोष प्रमाणित भएको खण्डमा आफू सजायको लागि तयार रहेको बताएका छन्।

सम्बन्धित समाचार

४० करोडको जग्गा हत्याउने नक्कली छोरा!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell