PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

सुन र पेस्तोल प्रकरणमा नयाँ ट्विस्ट : बरामद भयो कहाँ, कमलादी कि सुन्धारा?



सविन ढकाल

सुन र पेस्तोल प्रकरणमा नयाँ ट्विस्ट : बरामद भयो कहाँ, कमलादी कि सुन्धारा?

काठमाडौं : कमलादीमा नक्कली सुन र पेस्तोल बरामद भएको भनिएको घटना शंकैशंकामा रुमलिएको छ। सुरुदेखि नै प्रहरीको 'अप्रेसन'माथि आशंका उत्पन्न भएको थियो जसलाई पुष्टि गर्ने थप आधारहरु फेला परेको छ।

त्यसैले, प्रहरीले बरामद गरेको नक्कली सुन र पेस्तोलको घटना अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा छानविन समिति गठन भएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले अपराध महाशाखाका एसएसपी दीपक थापाको नेतृत्वमा छानविन समिति गठन गरेको हो। समितिको प्रारम्भिक अनुसन्धानमा घटनामा थप आशंका देखिएको हो। प्रहरीले सुरुमा घटनास्थल कमलादी भनेको थियो। तर, समितिले गरेको अनुसन्धानमा घटनास्थलमा नै शंकास्पद देखिएको छ। घटनास्थल कमलादी नभएर सुन्धारा भएको खुलेको छ।

मंगलवार बिहान करिब ९ बजेतिर चेकिङ गर्ने क्रममा बा ६ च ५५१९ नम्बरको सिल्भर कलरको स्कर्पियो गाडी कृष्ण पाउरोटीबाट आएको थियो। प्रहरी देखेपछि नरोकी हुइँकियो। रोक्न खोज्दा भागेपछि प्रहरीले फलो गर्‍यो। गाडीमा रहेका मानिसले भित्रबाट सेतो रंगको झोला गाडीबाट बाहिर हुत्त्याए। झोला सुन र दुई थान पेस्तोलले भरिएको थियो। प्रहरीले चेक गर्दा १५ किलोमध्ये आधा किलो मात्र सुन र बाँकी चाँदीमा सुनको जलप लगाएको भेटिएको प्रहरीले जानकारी दिएको थियो।

तर, छानविन समितिले त्यही समयमा उक्त क्षेत्रमा यस्तो घटना नै नभएको तथ्य फेला पारेको छ। त्यस समयमा भएको गतिविधिका विभिन्न प्राविधिक पक्षहरु केलाएर हेर्दा घटनास्थल त्यहीँ हुन नसक्ने देखिएको हो। समितिका एक सदस्यले भने, 'घटनास्थलमा नै हामीलाई शंका लागेको छ। त्यहाँ त्यो समयमा त्यस्तो कुनै गतिविधि भएको देखिँदैन।'

सबैभन्दा धेरै आशंका त प्रहरीले गाडी किन समात्न सकेन भन्ने नै छ। महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट डीएसपी रञ्जन दाहालको नेतृत्वमा प्रहरी टोली परिचालन भएको थियो। डीएसपी दाहालले गाडी फुत्किएपछि अन्य प्रहरीलाई अलर्ट गराए कि गराएनन्? माथिल्लो निकायमा जानकारी दिए नदिएको भन्ने विषयमा पनि अनुसन्धान मोडिएको छ।

'किन गाडी समात्न सकिएन? प्रहरीको कमजोरी कि नियतवश भन्ने विषयमा अनुसन्धान हुन्छ,' कार्यालयका प्रमुख डीआइजी विश्वराज पोखरेलले भने।

समयमा नै गाडी किन समात्न सकिएन? र, उनीहरुको को थिए भन्ने विषयमा छानिविन समितिले अनुसन्धान गर्दै छ। प्रहरीको लापरबाही वा नियतबस गल्ती भएको भए कारबाही हुने डीआइजी पोखरेलले बताए।

सुन प्रकरणमा केही मानिसलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ। 'हामीले केही मानिस नियन्त्रणमा लिइसकेका छौं। तर तिनको स्क्रिनिङ हुँदैछ। अहिले नै यही भन्ने अवस्था छैन,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

सुनचाँदी व्यवसायी महासंघले गरेको परीक्षणमा बरामद भएको १५ केजी सुन भनिएको पहेलो धातुमध्ये ५ सय ग्राम अर्थात् आधा केजीमात्र सक्कली भएको पुष्टि भयो। बाँकी चाहिँ सुनको जलपमा लपेटिएको चाँदी थियो।

यसैबीच छानविन गर्न गठन भएको समितिका केही सदस्य समेत फेरिएका छन्।

सम्वन्धित समाचार

समातिएको सुन रहेछ 'नक्कली', गाडी लिएर तस्कर चाहिँ सहजै फरार!

साढे १४ किलो नक्कली सुन प्रकरणः प्रहरीको अप्रेसनमाथि नै शंका, एसएसपीको नेतृत्वमा छानविन समिति



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell