PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

तथ्याङ्कमा नेपाल कोभिड-१९ अपडेट : लकडाउन खुल्नु अगाडि भन्दा खुलेपछि २२ प्रतिशत संक्रमित बढे, परीक्षण दर भने उस्तै



विधुर ढकाल

तथ्याङ्कमा नेपाल कोभिड-१९ अपडेट : लकडाउन खुल्नु अगाडि भन्दा खुलेपछि २२ प्रतिशत संक्रमित बढे, परीक्षण दर भने उस्तै

काठमाडौं :  लकडाउन खुलेपछि दैनिक औसतमा लकडाउन खुल्नु अगाडि भन्दा २२ प्रतिशतले कोभिड १९ संक्रमितको संख्या बढ्दै गएका छन्। लकडाउन खुल्नु अगाडिको ८ दिन र खुलेपछिको ८ दिनको औसत संक्रमण पुष्टि भएको संख्यालाई आधार मान्दा दैनिक औसतमा ३० जना बढी संक्रमित पुष्टि हुँदै आएको छ।

लकडाउन खुलेपछिको ८ दिनमा एक हजार २७९ जनामा संक्रमण पुष्टि भएको छ। लकडाउन खुल्नु अगाडिको ८ दिनमा १ हजार ४९ जनामा संक्रमण पुष्टि भएको थियो। औसतमा हेर्दा यो संख्या लकडान खुल्नुअगाडि दैनिक १३१ थियो भने लकडाउन खुलेपछि दैनिक १६० जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमण बढ्दै गए पनि परीक्षणको दर भने उही गतिमा छ। सरकारले परीक्षण दर बढाउने बताउँदै आए पनि तथ्यांकले लकडाउन खुलेपछिको ८ दिन र खुल्नु अगाडिको ८ दिनमा परीक्षण दर देखाउँछ। लकडाउन खुलेपछि दैनिक औसत चार हजार ३१४ जनाको परीक्षण भएको छ भने खुल्नु अगाडि चार हजार २९६ जनाको स्वाब परीक्षण भएको थियो।

लकडाउन खुलेपछिको ८ दिनमा ३४ हजार ५०८ परीक्षण गरिएकोमा अगाडिको ८ दिनमा ३४ हजार ३७१ जनाको स्वाब परीक्षण गरिएको थियो।

चित्र १: लकडाउन खुलेपछि

चित्र २: लकडाउन खुल्नु अगाडि

लकडाउन खुलेपछि कुल परीक्षणको ‍औसतमा ३.७ प्रतिशतमा संक्रमण पुष्टि हुँदै आएको छ। भने लकडाउन खुल्नु अगाडि कुल परीक्षणको ३ प्रतिशतमा संक्रमण पुष्टि हुँदै आएको थियो।

तथ्यांकमा नेपालको संक्रमणको अवस्था

हालसम्म नेपालमा १९ हजार २७३ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये ४९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। यद्यपि प्रदेश सरकारको तथ्यांकअनुसार मृत्यु हुने संक्रमितको संख्या ५७ पुगिसकेको छ। संक्रमण पुष्टि भएका मध्ये १४ हजार २१ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। जुन कुल संक्रमितको ७२.८ प्रतिशत हो।

संक्रमण पुष्टि भएकामध्ये ०.३ प्रतिशतको मृत्यु हुनुका साथै हाल २७ प्रतिशत उपचारका क्रममा आइसोलेसनमा रहेका छन्। तथ्यांकमा आरटी पीसीआर परीक्षण गरिएकामध्ये ५.४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हाल २२ जना नागरिकको अवस्था गमीभिर रहेको र उनीहरुको उपचार आईसीयु र भेन्टिलेटरमा राखेर भइरहेको छ। जसमध्ये प्रदेश २ मा ५ जना, वागमतीमा १४, गण्डकीमा २ र कर्णालीमा १ जनाको उपचार आईसीयु र भेन्टिलेटरमा राखेर गरिएको छ।

प्रदेशगत अवस्था

हाल संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढी संक्रमित प्रदेश २ मा छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार प्रदेश २ मा पाँच हजार ७७ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये तीन हजार १८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने दुई हजार ४६ जना उपचारकै क्रममा छन्।

त्यस्तै १३ जना संक्रमितको मृत्यु भएको छ। यहाँ मृत्यु हुने मध्ये १ जना भारतीय हुन्।

प्रदेश ५ मा पनि १३ जनाको मृत्यु भएको छ। यहाँ मृत्यु भएकामध्ये ३ जनको तथ्यांक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राखेको छैन। प्रदेशको स्वास्थ्य निर्देशनालयले दुई आत्महत्या र एक भारतमा मृत्यु भई प्रदेशमा परीक्षण गरिएका व्यक्तिलाई पनि मृत्युमा समावेश गरेको छ।

त्यस्तै वागमती प्रदेशमा एक हजार ३३ जनामा संक्रमण पुष्टि भएकामध्ये १० जनाको मृत्यु भएको छ। जसमध्ये एक जना चिनियाँ नागरिक हुन्। संक्रमितमध्ये ५१८ डिस्चार्ज भएका छन् भने ५०५ जना आइसोलेसनमा छन्।

सुदुरपश्चिम प्रदेशमा  ९ संक्रमितको मृत्यु भएको छ। सुदुरपश्चिममा चार हजार ४२४ जना संक्रमितमध्ये एक हजार ५४३ जना आइसोलेसनमा छन् भने दुई हजार ८७३ जना डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। मन्त्रालयले प्रदेशमा ७ जनाको मृत्यु भएको उल्लेख गरे पनि प्रदेशको सामाजिक विकास मन्त्रालयले दुई जना आत्महत्या गरेका संक्रमितलाई पनि मृत्युमा समावेश गरेको छ।

कर्णाली प्रदेशमा ६ जनाको मृत्यु भएको छ। ६ जनामध्ये २ जनाले आत्महत्या गरेका हुन्। प्रदेशमा एक हजार ९९५ जनामा संक्रमण पुष्टि भएकोमा दुई एक हजार ६८६ जना डिस्चार्ज भइसकेका छन्। यहाँ ३०३ जना उपचारका क्रममा छन्। त्यस्तै गण्डकी प्रदेशमा पनि मृत्यु हुनेको संख्या ६ छ। जसमध्ये एक जना आत्महत्याको प्रयास गरेका र उपचारका क्रममा संक्रमण पुष्टि र मृत्यु भएका छन्। प्रदेशमा एक हजार ५५९ जनामा संक्रमण पुष्टि भएकोमा एक हजार २२७ जना संक्रमित डिस्चार्ज भइसकेका छन्। त्यहाँ ३२६ जना संक्रमित उपचारका क्रममा छन्।

कम संक्रमण पुष्टि भएको प्रदेश हो प्रदेश १। यहाँ एक हजार २४ जनामा संक्रमण पुष्टि भएकामा २३४ जना आइसोलेसनमा छन्। ७८९ जना डिस्चार्ज भइसकेकोमा एक जनाको मृत्यु भएको छ। बुधवार अबेर मृत्यु भएका मोरङका ४५ वर्षका पुरुषको पुष्टि मन्त्रालयले गरिसकेको छैन।

उमेर समूहका आधारमा संक्रमित

उमेर समूहका आधारमा संक्रमितहरुको वर्गीकरण गर्दा सबै भन्दा बढी २१ वर्षदेखि ३० वर्ष उमेर समूहमा संक्रमण पुष्टि भएको छ। कुल संक्रमित मध्ये ३७.५ प्रतिशत संक्रमित यही उमेर समूहका छन्। यो उमेर समूहका पाँच हजार २२२ जनामा संक्रमण पुष्टि भएको छ।

त्यसपछि ३१ देखि ४० वर्ष उमेर समूहका २३.४ प्रतिशत संक्रमित छन। यो समूहका चार हजार ५१७ जनामा संक्रमण पुष्टि भएको छ। त्यसपछि ११ देखि २० वर्ष उमेर समूहका किशोरोकिशोरीमा संक्रमण बढी देखिएको छ। कुल संक्रमितमध्ये यो उमेर समूहका १९.६ प्रतिशत छन्। जुन तीन हजार ७८० हो।

त्यस्तै ४१ देखि ५० वर्ष उमेर समूहका १०.१ प्रतिशत छन्। यो उमेर समूहका १ हजार ९४४ जनामा संक्रमण पुष्टि भएको छ।

कुल संक्रमितमध्ये १० वर्ष मुनिका बालबालिका तथा शिशुहरु ४ प्रतिशत छन्। ३ महिनाका शिशुसम्म कोभिड-१९ को संक्रमणबाट अछुतो छैनन्। यो उमेर समूहका ७६३ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै ५१-६० वर्ष उमेर समूहका ३.८ प्रतिशत छन्। यो समूहका ७६३ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै ६१ देखि ७० वर्ष उमेर समूहका १.३ प्रतिशत संक्रमित छन्। यो उमेर समूहका २४७ र नगन्य मात्रामा ७१ वर्ष देखि माथिको उमेर समूहका संक्रमित छन्।

विदेशमा यही उमेर समूहका संक्रमित बढी रहेको र मृत्यु पनि यही समूहका भए पनि नेपालमा यो उमेर समूहमा संक्रमण कम छ। ७१ देखि ८० वर्षसम्मका ५९ र ८० वर्षभन्दा माथिका १६ जनामा संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell