काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ सम्बन्धी राष्ट्रिय परीक्षण निर्देशिकाको तेस्रो संस्करण जारी गरेको छ। सडक र सदनमा कोभिड-१९ को निदानका लागि प्रयोग हुँदै आएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)को विरोध भइरहेको छ।
आरडीटी नेगेटिभ आएर क्वारेन्टाइनबाट फर्किएकाको मृत्यु भइसकेको छ। मृत्युपछि कोरोना पुष्टि भएको छ। बुधवारमात्र मृत्यु भएका मोरङका एक व्यक्ति पनि १४ दिन क्वारेन्टाइनमा बसेर आरडीटी परीक्षण पछि घर गएका थिए। घर पुगेपछि उनलाई लक्षण देखिन थालेको थियो। अनि उपचारका क्रममा उनको मृत्यु भयो। उपचारकै क्रममा उनमा कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो।
१४ दिन क्वारेन्टाइनमा बसेर आरडीटी नेगेटिभ आएर फर्किएका सुर्खेतका एक जनाको मृत्यु भयो। मृत्युपछि परीक्षण गर्दा कोभिड-१९ को संक्रमण पुष्टि भयो।
लगातार आरडीटीका कमजोरी सतहमा आउँदा पनि सरकारले १४ गते जारी गरेको परीक्षणसम्बन्धी गाइडलाइनलाई आरटी-पीसीआर सँगै एन्टीजिनमा आधारित आरडीटीलाई प्रयोग गर्ने जनाएको छ।
डब्लुएचओले एन्टीजिनमा आधारित एन्टीजिन-डिटेक्टिङ र्यापिड डाग्नोस्टिक टेस्टलाई संक्रमितको उपचार र निदानका लागि प्रयोग नगर्न भनेको छ। यसको प्रयोग अनुसन्धानका लागि गर्न सक्ने उल्लेख छ। त्यस्तै, एन्टीबडी डिटेक्सन आरडीटीको प्रयोगशलाई पनि अनुसन्धानका लागि मात्र प्रयोग गर्न सुझाब दिएको छ।
नेपालले भने सोही प्रविधिको प्रयोग निदानका लागि पनि गर्ने गरी निर्देशिका जारी गरेको छ। यसअघि पनि क्वारेन्टाइनमा रहेका व्यक्तिको १४ दिन क्वारेन्टाइनमा रहेकालाई आरडीटी परीक्षण गरी घर पठाउने निर्देशिका थियो। यसपटक पनि आरडीटीलाई प्राथमिकतामा राखेको हो।
निर्देशिकाले अध्ययन अनुसन्धानका लागि सेरोलोजी टेस्टको प्रयोग गर्नुपर्ने उल्लेख छ।
कसको परीक्षण गर्ने?
सरकारले जारी गरेको निर्देशिकामा मा परीक्षणको दायरामा पर्नेहरुको मापदण्डसमेत निर्धारण गरेको छ।
१. सबै लाक्षणिक केसहरु (ज्वरो, खोकी, स्वासप्रस्वासमा कठिन हुने वा गन्ध तथा स्वाद हराएका वा झाडापखला लागेका व्यक्तिहरु),
२. संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा रहेका सबै
३. गम्भीर स्वासप्रस्वास सम्बन्धी सबै विरामी (एसएआरआई),
४. नेपाल फर्किएका सबै, (स्थलमार्गबाट प्रवेश गर्नेहरुको प्रवेश बिन्दु, हवाई मार्गबाट प्रवेश गर्नेलाई ५-७ दिन भित्र क्वारेन्टाइनमा),
५. अग्रपंक्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरु,
६. पछिल्लो १४ दिनसम्म कोभिड-१९ संक्रमण भएको क्षेत्रमा भ्रमण गरेका सबै व्यक्तिहरु,
७. आइसीयूमा रहेका सबै केसहरु,
८. विशेष गरी ६० वर्ष भन्दा माथिका गम्भीर अवस्थाका प्रतिरोधात्मक स्थिति कमजोर भएका व्यक्तिहरु,
९. शल्यक्रिया गर्नुपर्ने विरामीको चिकित्सकीय निर्णय बमोजिम (आपतकालीन प्रक्रियाका लागि रिपोर्ट कुर्नुनपर्ने),
१०. कोभिड-१९ को मध्यम, गम्भीर तथा जटिल केसहरुको हकमा चिकित्सकीय निर्णयका आधारमा डिस्चार्ज गर्न सकिने। तर, लक्षण नभएका वा सामान्य लक्षण भएकाको केसमा १४ दिन पूरा भएको र तीन दिनसम्म लक्षण नदेखिए डिस्चार्ज गर्ने।