PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

'ड्रगिस्ट'को अर्को डरलाग्दो धन्दा, प्रोजेक्ट वर्क भन्दै स्टेसनरीमा नोट छाप्दै



सविन ढकाल

'ड्रगिस्ट'को अर्को डरलाग्दो धन्दा, प्रोजेक्ट वर्क भन्दै स्टेसनरीमा नोट छाप्दै

काठमाडौं :  लागू औषधको प्रयोग तथा कारोबार भइरहेको सूचना प्रहरीले पायो। महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको टोली अप्रेसनमा खटियो। शंकाको घेरामा रहेका युवक सन्देश लामा समातिए। उनको साथबाट केही लागू औषध भेटायो।

साथमा एक हजार दरको नोट पनि। प्रहरीले लामाको गोजीमा भेटिएको नोटले झन् शंका पैदा गर्‍यो। नोट नक्कलीजस्तो देखिन्थ्यो। नोट चेक गर्दा प्रहरीको शंका सही साबित भयो। आखिर लामाले बोकेको नोट नक्कली नै रहेछ। लामा आफैँ पनि लागू औषध प्रयोगकर्ता हुन्। उनको साथमा नक्कली नोट कसरी आइपुग्यो?

लागू औषधको अप्रेसनमा खटिएको प्रहरीको अनुसन्धान एकाएक नक्कली नोटतिर मोडियो। लामाले प्रहरीलाई आफैंले नोट छापेर लागू औषधि किन्ने गरेको जानकारी दिए। अरू पनि नक्कली नोटको कारोबारमा संलग्न भयो खुल्यो। शुक्रवार काठमाडौं महानगरपालिका ३१ शान्तिनगर चोकबाट स्याङ्जा चापाकोट नगरपालिका घर भएका नारायण पौडेलसमेत समातिए।

उनको साथबाट १० थान एक हजारका नोट बरामद गरियो। उनी पनि लागू औषध प्रयोगकर्ता नै हुन्। 'अनुसन्धानले उनीहरू सबै लागू औषध लिन्छन्। त्यसको लागि नै नक्कली नोटको कारोबारमा लागेको देखियो,' महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दक्षबहादुर बस्नेतले भने।                                                  स्वयम्भुबाट प्रहरीले बरामद गरेको नक्कली नोट

उनीहरू स्टेसनरीमा गएर कलर फोटोकपी गरेर नक्कली नोट छाप्ने गरेको देखिएको छ। प्रोजेक्ट वर्क भन्दै स्टेसनरीमा गएर छाप्ने गरेको खुलेको हो। अहिलेसम्म स्टेसनरी सञ्चालकले यसबारेमा जानकारी नपाएको प्रहरीको अनुसन्धानमा देखिएको छ। '२० रुपैयाँ दिएर प्रोजेक्ट वर्क गर्न भन्दै आउने  तर उनीहरूले के गर्छन् भन्ने थाहा नभएको पसलेले बताउँछन्। थप बुझ्दैछौं,' डिएसपी बस्नेतले भने।

उनीहरूले कति नोट छापे? कहाँ कहाँ दिए भन्ने खुलेको छैन। प्रहरीले एक घुम्ती पसलबाट १ थान नक्कली नोटसमेत बरामद गरेको छ। उनीहरूले नै पसलमा सामान खरिद गर्ने सो नोट दिएको देखिएको हो।

नक्कली नोटको धन्दाः कारमा आए, नक्कली नोट दिएर मोबाइल लिएर गए

उनीहरू विरुद्ध प्रहरीले नक्कली नोटको केसमा मुलुकी ऐनको महल ६ मा रहेको खोटा चलनअनुसारको कसुरमा अनुसन्धान गर्न अदालतबाट म्याद थप गरेको छ। अदालतमा दोषी प्रमाणित भए ऐनअनुसार बिगो बमोजिमको जरिवानासहित बढीमा १० वर्ष सजाय हुनसक्छ।

त्यस्तै लागू औषध नियन्त्रण ब्युरोको टोलीले केही दिनअघि बाराको महागढीमाई नगरपालिका २ बरियापुरबाट तीन जनालाई १५ लाख ४४ हजार ४ सय नक्कली नोटसहित पक्राउ गरेको थियो। लागू औषधिको कारोबारी खोज्ने क्रममा ब्युरोको टोलीले नक्कली नोटसहित भारत मोतिहारी घर भएका सुधिर कुमारकुशवाह, बाराका नरेन्द्रप्रसाद कुशवाह र मनोज तेलीलाई नियन्त्रणमा लिएको थियो। यो घटनाले पनि लागू औषध कारोबारीले नक्कली नोटको कारोबारीमा समेत सामेल हुने गरेको देखिन्छ।

यसअघि पनि महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले स्वयम्भू क्षेत्रबाट नेपालगंज उपमहानगरपालिका वडा नम्बर ३ घर भई हाल काठमाडौं बस्दै आएका २२ वर्षीय प्रशान्त सिंह ठकुरीलाई नक्कली नोटको कारोबारमा पक्राउ गरेको थियो।

उनले अनलाइनमा बिक्री गर्न राखेको मोबाइल खरिद गर्दा नक्कली नोट दिएका थिए। १ हजार दरको १९ वटा नक्कली नोट दिएका थिए।  ठकुरीले कलर प्रिन्टरबाट नै नोट छापेको प्रहरी अनुसन्धानमा खुलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell