PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कक्षा ११ को परीक्षा अहिल्यै नलिन राष्ट्रिय परीक्षा बोर्डको निर्देशन



पहिलोपोस्ट

कक्षा ११ को परीक्षा अहिल्यै नलिन राष्ट्रिय परीक्षा बोर्डको निर्देशन

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा सरकारबाट विद्यालय पुन: सञ्चालनको निर्णय नभएसम्म सञ्चालन नगराउन निर्देशन दिएको छ। राष्ट्रिय परीक्षा बोर्डले शुक्रवार सूचना जारी गर्दै कोभिड १९ को सङ्क्रमणका कारण सरकारले हालसम्म विद्यालय सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा केही विद्यालयले परीक्षासम्बन्धी कार्यक्रम सार्वजनिक गरेको भन्दै सरकारको निर्णय नआइ परीक्षा सञ्चालनसम्बन्धी कार्य नगर्न निर्देशन दिएको छ।

'कोभिड १९ को सङ्क्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुन: सञ्चालनको निर्णय गरिनसकेको अवस्थामासमेत केही विद्यालयले कक्षा ११ को परीक्षासम्बन्धी कार्यक्रम सार्बजनिक गरेको पाइएको हुँदा सोबाट विद्यार्थी तथा अभिभावकहरुमा त्रासको वातावरण सिर्जना हुन गएकाले नेपाल सरकारबाट विद्याल पुन: सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सञ्चालनसम्बन्धी कार्य नगर्नु नगराउनु हुन सूचित गरिन्छ,' बोर्डले आज जारी गरेको सूचनामा भनिएको छ।

पछिल्लो समय केही विद्यालयहरुले कक्षा ११ को परीक्षा सञ्चालन, ब्यवस्थापन, मूल्याङकन,नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ अनुसार सरकारले भदौ १ गतेबाट विद्यालय भर्ना खोल्ने निर्णयलाई टेकेर परीक्षा सञ्चालनको तालिका निकाली रहेका थिए।

कार्यविधिमा कक्षा ११ का आंशिक तथा ग्रेड बृद्धि परीक्षा दिने विद्यार्थीलाई कक्षा १२ को परीक्षा हुनुपूर्व र नियमित विद्यार्थीको कक्षा १२ को परीक्षा आवेदन फाराम भर्नू अघि परीक्षा सञ्चालन गर्नुपर्ने उल्लेख छ। परीक्षा विद्यालयको अनुकुलतामा सामाजिक दुरी र स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरी सञ्चालन गर्ने कार्यविधिमा उल्लेख छ।

सम्बन्धित समाचार : कक्षा ११ को परीक्षाका लागि नयाँ कार्यविधि: विद्यालयले नै परीक्षा लिने, समिति बनाएर मूल्यांकन गर्ने



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell