काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४ जनासहित देशभर ३३८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभरका ३७ प्रयोगशालामा भएको ८ हजार ४३२ नमुना परीक्षणका क्रममा ३३८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। योसँगै नेपालमा संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ।
यसैबीच, संक्रमण पुष्टि भएकामध्ये थप ४ जनाको मृत्यु भएको उनले जानकारी दिए। योसँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या ७९ पुगेको छ।
कुल संक्रमितमध्ये हालसम्म १६ हजार ४९३ जना निको भइसकेका छन्। पछिल्लो २४ घण्टामा थप १४० जना संक्रमित उपचारपछि डिस्चार्ज भएको डाक्टर गौमतले जानकारी दिए। हाल संक्रमण पुष्टि भएकामध्ये ६ हजार ७३८ संक्रमित उपचारका क्रममा रहेका छन्।
आज कुन जिल्लामा कति थपिए?
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी प्रदेश ५ मा संक्रमण पुष्टि भएको छ। प्रदेश ५ मा १०० जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै प्रदेश २ मा संक्रमण पुष्टि हुनेको संख्या ९३ रहेको नियमित ब्रिफिङमा प्रस्तुत तथ्यांकले देखाउँछ।
त्यस्तै, वाग्मती प्रदेशमा ८० जनामा संक्रमण पुष्टि भएको छ। सबै भन्दा बढी संक्रमण पुष्टि हुने जिल्लामा बाँके छ। बाँकेका ६३ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, काठमाडौंका ३६ र रौतहटका ३१ जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा झापाका १, खोटाङका २ र मोरङका १४ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए।
त्यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १३ र महोत्तरीका ३ जनामा संक्रमण पुष्टि भएको छ। नारायणी अस्पताल प्रयोगशालामा बाराका १ र पर्साका २१ जनामा पनि कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका १२, रौतहटका १९ र सर्लाहीका २१ तथा ललितपुर र सिन्धुपाल्चोकका १/१ जनामा संक्रमण पुष्टि भएको छ। टेकुमा भएको परीक्षणमै नुवाकोटका ३ जनामा स्क्रमण पुष्टि भएको छ। शुक्रराज ट्रपिकल अस्पताल प्रयोगशालामा भएको परीक्षणमा मोरङका १ र काठमाडौंका ६ जनामा संक्रमण पुष्टि भएको छ।
किटजन्य रोग अनुसन्धान केन्द्र प्रयोगशाला हेटौंडामा बाराका २, मकवानपुरका २३, नुवाकोटका १, रौतहटका १२ र सिन्धुलीका ६ जनामा संक्रमण पुष्टि भएको छ।
प्रहरी अस्पताल काठमाडौंमा भएको परीक्षणमा काठमाडौंका ८, गोरका ३ तथा अछाम, अर्घाखाँची, बाग्लुङ, भक्तपुर, बाँके, बर्दिया, चितवन, दाङ, ललितपुर, रामेछाप र पाल्पाका १/१ जनामा पनि कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।
स्टार अस्पताल सानेपामा भक्तपुरका ३, काठमाडौंका ८, ललितपुरका २ र पर्साका १ जनामा संक्रमण पुष्टि हुँदा विध ल्याब र ह्याम्स अस्पताल प्रयोगशालामा पनि काठमाडौंकै १/१ जनामा संक्रमण पुष्टि भएको छ।
क्षयरोग उपचार केन्द्र प्रयोगशाला पोरखामा स्याङ्जाका १ तथा तनहुँ र नवलपरासी पूर्वका २/२ जनामा संक्रमण पुष्टि भएको छ।
प्रादेशिक जनस्स्थ्या प्रयोगशाला रुपन्देहीमा प्युठानका १४, कपिलवस्तुका १० र रुपन्देहीका १ जनामा कोभिड-१९ पोजेटिभ पुष्टि भएको छ। त्यस्तै, भेरी अस्पताल प्रयोगशालामा बाँकेका ६२, दाङका ४, कैलालीका २ तथा बर्दिया र सल्यानका १/१ जनामा संक्रमण पुष्टि भएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रोल्पाका १ जना तथा डडेलधुरा अस्पतालमा बैतडीका १ जनामा संक्रमण पुष्टि भएको छ। सुर्खेत अस्पताल प्रयोगशालामा सुर्खेतकै १ र सल्यानका ६ तथा दैलेख अस्पतालप्रयोगशालामा दैलेकै १७ जनामा संक्रमण पुष्टि भएको छ।
सेती अस्पताल प्रयोगशालामा बझाङका १ र कैलालीका ५ जनामा संक्रमण पुष्टि भएको छ। हाल चार वटा जिल्लामा एक्टिभ केस पाँच सय भन्दा माथि छ। काठमाडौं,पर्सा रौतहट र महोत्तरीमा उपचारका क्रममा रहेका संक्रमितको संख्या पाँच सय भन्दा माथि छ। त्यस्तै ६ वटा जिल्लामा कोभिड-१९ का एक्टिभ केस छैनन्। धनकुटा संखुवासभा मनाङ मुस्ताङ डोल्पा र हुम्लामा पुष्टि भएका कोभिड-१९ का संक्रमितहरु उपचारपछि निको भइसकेका छन्।

