PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

जागिर दिने भन्दै ‘ठगी’ गर्न खोज्ने अर्गानिक नेपाल शंकाको घेरामा, अनुसन्धान अघि बढाउँदै अपराध महाशाखा



कमलराज भट्ट

जागिर दिने भन्दै ‘ठगी’ गर्न खोज्ने अर्गानिक नेपाल शंकाको घेरामा, अनुसन्धान अघि बढाउँदै अपराध महाशाखा

काठमाडौं : विज्ञापन निकालेर सर्वसाधारणलाई ठगी गर्न खोजेको अभियोगमा प्रहरीले अर्गानिक नेपाल नामक संस्थामाथि अनुसन्धान सुरु गरेको छ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले दर्ता नै नभई आवेदकबाट पैसा असुल्न खोज्ने संस्थामाथि अनुसन्धान सुरु गरेको हो।

आइतवार संस्थाको विज्ञापन प्रकाशित भएपछि ठगी गर्न खोजेको आशंकासहित सामाजिक सञ्जाल प्रयोगकर्ता तथा इच्छुक आवेदनकर्ताले गुनासो गरेपछि प्रहरी प्रधान कार्यालयले चासो देखाएको थियो। प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार आधिकारिकता बुझ्न अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीलाई पत्र पठाएको थियो।

मेट्रोले सोमवार अनुसन्धानको जिम्मा अपराध महाशाखालाई लगाएको छ। महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुशीलकुमार यादवले सोमवारै दिउँसो अर्गानिक नेपालमाथि छानविनका लागि अपराध महाशाखालाई पत्र पठाइएको र अब महाशाखाले अनुसन्धान गर्ने बताए।

अपराध महाशाखाका एसपी होविन्द्र बोगटीले मेट्रोबाट अर्गानिक नेपालमाथि अनुसन्धान गर्न पत्र आएको बताए। ‘भोलिदेखि अनुसन्धान सुरु हुन्छ। संस्थाको आजको सूचनाले नै दर्ता नै नभई आवेदन दस्तुर असुल्न खोजेको देखिएको छ। अवैध रुपमा संस्था देखाएर पैसा असुल्नुले ठगी गर्ने उद्देश्य देखिन्छ,’ एसपी बोगटीले भने, ‘सत्य तथ्य अनुसन्धानपछि बाहिर आउँछ।’

संस्थाले आइतवार कान्तिपुर दैनिकको ११ नम्बर पेजमा विभिन्न पदमा १०५४ जनाका लागि आवेदन आह्वान गर्दै विज्ञापन प्रकाशन गरेको छ। आवेदन दस्तुर एक हजार रुपैयाँ राखिएको छ। आवेदनअनुसार छनोट हुने १०५४ जनाबाट मात्र १० लाख ५४ हजार शुल्क उठ्ने देखिन्छ।

'आवेदन त एक हजारले मात्रैले नदेलान? कोरोना महामारी र लकडाउनको समय छ। धेरैको रोजगारी गुमेको यस्तो बेला हजारौले आवेदन दिन सक्छन्। संस्थाले लाखौ रुपैयाँ आवेदनबाटै असुल्न सक्छ,' एक प्रहरीले प्रश्न गरे।

संस्थाले अर्गानिक कृषि उद्यम गर्न, कृषि क्षेत्रमा आउन युवाहरुलाई उत्प्रेरित गर्न र कृषकहरुलाई सहयोग गर्न आफ्नै गाउँघरमा बसेर स्थायी रुपमा काम गर्न इच्छुक योग्य व्यक्तिहरु आवश्यक रहेको भन्दै भदौ २० गतेसम्म आवेदन भर्ने समय दिएको थियो। आवेदन दस्तुर भने संस्थाको एचआर हायरिङ पार्टनर ज्ञानमार्ग प्रशिक्षण प्रालिको खाता रहेको राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंकमा जम्मा गर्न भनिएको छ।

तर, विज्ञापनबाट ठगी हुन सक्ने भन्दै सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा चौतर्फी प्रश्न उठ्यो। धेरैले ठगी गर्न खोजेको भन्दै सचेत रहन आह्वान गरे। मिडिया र प्रहरीले पनि चासो दियो। सबैतिरबाट प्रश्न उठेपछि अर्गानिक नेपाल संस्‍थाले आज फेरि कान्तिपुरमै ‘भुल सुधार’ भन्दै विज्ञापन निकाल्यो।

सोमवारको विज्ञापनमा संस्था दर्ता प्रक्रियाको क्रममा रहेको र कोरोना महामारीका कारण दर्ता हुन नसकेको उल्लेख गरिएको छ। साथै आवेदकले हाल आफ्नो बायोडाटा मात्र पठाउन भनियो। संस्थाले तोकेका खातामा पैसा जम्मा नगर्न भनिएको छ।

सोमवारको सूचनाले दुइटा कुरा प्रष्ट पारेको छ : एक त यो संस्था दर्ता नै नभएकाले अवैधानिक थियो। अर्को अवैध संस्थाले आवेदनका नाममा पैसा असुल्दै थियो। त्यो पनि रोकियो। विगतमा दर्ता नै नभएर विभिन्न नाम दिएका संस्थाले आवेदनका नाममा ठगी गर्दै आएको उदाहरण प्रशस्त छन्।

जागिर दिन खोजेको जिकिर

यता दर्ता नै नभई संस्थाको नाम दिएर विज्ञापन निकाल्ने अर्गानिक नेपालले भने बेरोजगारीलाई जागिर दिन खोजेको जिकिर गरेको छ। संस्थाका प्रतिनिधि माधव शर्माले आइतवार पहिलोपोस्टसँग कुरा गर्दै १२ सय मान्छेलाई रोजगारी दिन प्रयास गरेको बताएका थिए। ‘हामीले एक हजार सुरुमै लिने होइन। अन्तर्वार्ता दिन आयो भने बैंक खातामा जम्मा गर्ने हो। आवेदन दस्तुर उठाएर हामी भाग्छौं भन्ने हिसाबले प्रचार भइरहेको छ। कहाँ भाग्छौं? सरकारी बैंक हुन्छ। प्रालिको खातामा जम्मा हुन्छ। ठगी गर्‍यौं भने बैंक वा प्रहरीमा उजुरी दिए पुग्छ,’ उनले भने, ‘१२ सय मान्छेलाई रोजगारी देख्दैनन्। पैसाको मात्रै चर्चा भयो।’

आवेदन दस्तुर महंगो भयो नी भन्ने प्रश्नमा उनले भने, ‘पाँच सय र ७ सय लिनुभन्दा एभरेजमा हजार लिँदा ठीक होला भन्ने लाग्यो। त्यो पैसा अन्तर्वार्तामा आउँदा दिने हो।’

आवदेनमा धेरै मान्छे माग्दा एक हजार मागेर १० लाख खान्छ भन्ने हल्ला भएको तर १२ सयलाई जागिर दिने हल्ला नभएको शर्माको गुनासो थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell