PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कोभिड-१९ संक्रमित थप पाँच जनाको मृत्यु, आइसीयुमा उपचाररत शंकास्पद संक्रमितको पनि गयो ज्यान



विधुर ढकाल

कोभिड-१९ संक्रमित थप पाँच जनाको मृत्यु, आइसीयुमा उपचाररत शंकास्पद संक्रमितको पनि गयो ज्यान
फाइल फोटो

काठमाडौं :  कोभिड-१९ को संक्रमण पुष्टि भएका थप पाँच जनाको मृत्यु भएको छ। बुधवार बिहान विभिन्न अस्पतालमा पाँच जनाको मृत्यु भएको हो। मृत्यु भएका चार जनाको विभिन्न अस्पतालका सघन उपचार कक्षमा उपचार भइरहेको थियो।

मृत्यु भएकामध्ये एक जना कपिलवस्तुका पुरुष रहेका छन्। कपिलवस्तुका ४२ वर्षका पुरुषको बुटवलस्थित कोभिड-१९ विशेष अस्पतालमा उपचारका क्रममा बुधवार बिहान मृत्यु भएको हो।

अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सपोर्टमा उपचार गराइरहेका उनको बुधवार बिहान ४ बजे मृत्यु भएको कोभिड विशेष अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिए।

साउन २५ गते अस्पतालमा भर्ना भएका उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो।

यता सप्तरीमा एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा एक जनाको मृत्यु भएको छ। सप्तरीको राजविराज नगरपालिका वडा नं ६ का ७२ वर्षका पुरुषको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा लैजाने क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डन्ट रंजित झाले जानकारी दिए।

करिब १० दिनदेखि रुघाखोकी तथा ज्वरो लागेका पुरुषको कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनलाई अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको झाले बताए। मृतक थाइराइड तथा मुटुसम्बन्धी रोगी रहेको निमित्त मेसु झाले बताए।

यता ललितपुरको पाटन अस्पतालमा पनि उपचारका क्रममा कोभिड-१९  संक्रमित महिलाको मृत्यु भएको छ। धनुषा जनकपुरकी ३८ वर्षीया महिलाको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले जानकारी दिए।

साउन १८ गते अस्पतालमा भर्ना भएकी उनमा कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो।

यता ललितपुरको किस्ट अस्पतालमा पनि एक महिलाको निधन भएको छ। उनको आज बिहान मृत्यु भएको हो। उनको नतिजा बुधवार बिहानै पोजेटिभ पुष्टि भएको छ। उनी काठमाडौंकै ७८ वर्षकी महिला हुन्।  

त्यस्तै ७१ वर्षका एक पुरुषको उपचारका क्रममा मेडिसीटी अस्पतालमा विहान १२: ३० बजे मृत्यु भएको ललिपतुरका स्वास्थ्य कार्यालय प्रमुख गेलालले जानकारी दिए। मृतक धनुषाका पूर्व मेयर कृष्ण गिरी रहेको उनका छोरा डाक्टर सन्तोष गिरीले पुष्टि गरेका छन्।

जनकपुरधाम स्थित होटल रामाका संचालक समेत हुन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई २० दिन देखि अस्पतालमा भर्ना गरिएको थियो। श्री एयरको विमान चार्टर्ड गरी उपचारका लागि काठमाडौं ल्याइएको थियो। पाटन अस्पतालमा उपचारका क्रममा उनमा संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्यमा थप समस्या आए पछि उनलाई साउन २६ गते मेडीसीटी अस्पताल रिफर गरिएको थियो।

मेडिसिटीमा उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

कोभिड अस्पतालको आइसीयुमा उपचाररत संकास्पद संक्रमितको मृत्यु

यस्तै, कोभिड-१९ को लक्षण देखिएका कपिलवस्तुका २५ वर्षीय युवकको बुटवलस्थित कोभिड विशेष अस्पतालमा आज बिहान २ बजे मृत्यु भएको छ। मंगलवार मात्र अस्पतालमा भर्ना गरिएका उनको मेडिकल रिपोर्ट आइसकेको छैन।

अस्पतालका फोकल पर्सन डा.थापाका अनुसार मंगलवार नै उनको स्वाब संकलन गरी पीसीआर टेस्टका लागि पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell