काठमाडौं : भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडक उद्घाटन गरेपछि नेपालमा चर्को विरोध भयो। नोभेम्बरमा काश्मिरलाई आफ्नो राजनीतिक नक्सामा समावेश गर्ने बेला विवादित बनाइएको नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई पनि समावेश गरेपछि दुई देशबीच विवाद सुरु भएको थियो। विवाद चर्किँदै गर्दा नेपालले नक्सा, बीओपी स्थापना, घोडेटो बाटो र अन्य माध्यमबाट कालापानी क्षेत्रमा उपस्थिति बढाउँदै काउन्टर दियो।
अब नेपालले महाकालीको किनारै किनार मोटर बाटो बनाउने प्रक्रिया सुरु गरेको छ। नेपालले आफ्नो भूमिमा सडक नबनाउन भारतलाई आग्रह गरे पनि टेरेको छैन। भारतले महाकाली पारी नेपाली भूमिमा धमाधम दुई लेनको सडक बनाइरहेका बेला वारि नेपाली सेनाले पनि काम सुरु गरेको छ।
दार्चुलाको सदरमुकाम खलंगादेखि चीनसँग जोडिएको तिंकर गाउँसम्म सडक बनाउने जिम्मा नेपाली सेनाले पाएको छ। मन्त्रिपरिषद्को वैशाख १४ गतेको निर्णय बमोजिम महाकाली करिडोरको दार्चुला-तिंकर सडक योजना अन्तर्गत उत्तरी क्षेत्रतर्फ रहेको ८७ किमी सडक खण्ड निर्माणको जिम्मा पाएको सेनाले डीपीआरको काम सुरु गरेको छ।
सैनिक मुख्यालय जंगी अड्डाका अनुसार मोटर बाटोको डीपीआर तयार पार्न विकास निर्माण गणबाट प्रमुख सेनानीको नेतृत्वमा सैनिक टोली साउन २३ गते दार्चुला सदरमुकाम खलंगा पुगेको छ। गत मंगलवारदेखि रेकीको काम सुरु गरेको छ।
यो पनि :
भारतले रोकेन मानसरोवर जोड्ने सडकको काम : भारततिरको 'ब्लास्टिङ'ले महाकाली 'ओभर फ्लो', नेपाली सेनालाई बाटो बनाउन अवरोध
सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले सैनिक टोलीले सडकको सर्वे डिजाइनको काम सुरु गरेको बताए। हाल उक्त टोली सदरमुकाम खलंगामा रहेको छ।
‘सर्वे डिजाइनको प्रक्रियामा छौं। डिजाइन सकिएपछि उपयुक्त दुई ठाउँमा क्याम्प स्थापना गरेर निर्माणको काम अघि बढ्छ,’ उनले भने।
प्रवक्ता पौडेलका अनुसार सडकको ट्र्याक खोल्नका लागि ४ दिन अघि ३० दिने म्यादसहित टेण्डरसमेत आह्वान गरिएको छ। ‘एक्सप्रेसन अफ इन्ट्रेस्टका लागि ३० दिने टेण्डर आह्वान गरिएको छ। विस्तारै अरु टेण्डरहरु आह्वान गरेर योग्य साझेदार खोज्छौं,’ उनले भने।
उनका अनुसार सेनाको टोलीले अहिले साइटहरु भिजिट गर्ने, स्थानीय तह र सडक विभागसँग समन्वयको काम गरिरहेको छ।
खलंगा-तिंकर १ सय ३४ किलोमिटर सडक १२ वर्षअघि सुरु भएको परियोजना हो। हालसम्म ४३ किलोमिटर मात्रै ट्र्याक खुलेको छ। सडक विभागबाट काममा ढिलाई भएपछि सरकारले गत वैशाखमा ८७ किलोमिटरको ट्र्याक खोल्ने जिम्मा सेनालाई दियो। सडक विभागले ४७ किलोमिटर बाटो बनाउनुपर्ने र त्यहाँबाट जिरो मानेर सेनाले प्रारम्भ गर्नेछ। सडक विभागले अब ४ किलोमिटर ट्र्याक खोल्न बाँकी छ।
सैनिक प्रवक्ता पौडेलका अनुसार प्रारम्भिक चरणमा सरकारले ५ करोड ५० लाख रुपैयाँ बजेट सेनालाई उपलब्ध गराएको छ।
केही समयअघि प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि सेनाले बनाउने भनिएको मोटर बाटोको निरीक्षण गरेका थिए। निरीक्षण गर्न सेनापति थापा सशस्त्र आइजीपी शैलेन्द्र खनालसँग हेलिकोप्टरमा छाङरु पुगेका थिए। उनले तिंकरको हवाई निरीक्षण गरेका थिए।
सडक निर्माणमा चुनौती
मोटर बाटो निर्माण चुनौती भएका कारण सडक विभागले १२ वर्षमा जम्मा ४३ किलोमिटरसम्म ट्रयाक खोल्यो। त्यसैले सरकारले सेनाको जिम्मा लगायो। सैनिक प्रवक्ता पौडेल चुनौतीहरु प्रशस्त भए पनि असम्भव नभएको बताउँछन्। सरकारले बजेट दिइरहेको र सेनाले कठिनाइको सामना गर्दै दिएको जिम्मेवारी पूरा गर्ने उनको भनाई छ।
‘कठिन ठाउँ छ। मौसमले समस्या गरिररहेको हुन्छ। भौगलिक विकटता छ। प्राविधिक चुनौतीहरु छन्। धेरै ठाउँमा ब्लास्टिङ गर्नुपर्ने स्थिति छ,’ उनले भने, ‘तर बजेटमा चुनौती छैन। कार्यप्रगतिका आधारमा थप हुँदै गर्छ। कठिनाई आउँला। तर दिएको जिम्मेवारी पूरा गर्छौं।’
प्रवक्ता पौडेल सर्वे डिजाइन अर्था डीपीआर खाका तयार भएपछि निर्माणको समयसीमा अनुमान गर्न सकिने बताउँछन्। सडक कहिलेसम्म बनिसक्छ भनेर अहिले नै भन्न नसकिने उनको भनाई छ।
पटकपटक छाङरु र तिंकर पुगेका दार्चुलाका पत्रकार विक्रम गिरी खलंगा-तिंकर सडक निर्माण ठूलो चुनौती देख्छन्। ‘खलंगादेखि छाङरुसम्म अफ्ठेरो हो। यो दुरीमा धेरै कडा चट्टानहरु छन्। छाङरुदेखि उता तिंकरसम्म नदीको किनारै किनार बाटो सहज छ,’ उनले भने।
बाटो बन्यो भने चार घण्टामै तिंकर गाउँ पुग्न सकिन्छ। त्यहाँबाट हिँडेर एक दिनमा कैलाश मानसरोवर पुग्न सकिनेछ। अहिले खलंगाबाट तिकंर पुग्न कम्तीमा चारदेखि पाँच दिन लाग्छ। छाङरु र तिंकरका स्थानीय चीनको ताक्लाकोटमा व्यापार गर्छन्।
तर, मोटर बाटो तिंकर गाउँसम्म मात्रै बनाउने सरकारको निर्णय भने अदुरदर्शी छ। एकातिर सरकारले लिपुलेक नेपालको हो भनेर नक्सा जारी गरेको छ, अर्कोतिर बाटोको पहुँच तिंकर गाउँसम्म सीमित गर्नुले के संदेश दिन्छ?
यो पनि :
नयाँ नक्सा र सशस्त्रको बीओपीपछि अब सेना पठाउने तयारी : बाटो बनाउन तयार छ यस्तो खाका
गिरीका अनुसार भारतले बनाइरहेको बाटो लिपुलेकसम्म मात्रै बन्नेछ। त्यहाँबाट चीनको तिब्बत सुरु हुन्छ। चीनतिर बाटो बनाइएको छैन। केही ठाउँमा मात्रै बाटो छ। चीनतिर हिँडेरै मानसरोवर यात्रामा जानुपर्छ। नेपालतिर तिंकरसम्म सडक बने पनि मानसरोवर लिपुलेक भएरै जाने हो।
मोटर बाटो बने दार्चुलाको व्यास गाउँपालिका-१ मा पर्ने छाङरु र तिंकर गाउँका १ सय ८२ घर परिवारका करिब एक हजार २०० जना स्थानीय लाभान्वित हुनेछन्।
घोरेटो बाटोको काम अन्तिम चरणमा
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार खलंगादेखि छाङरुसम्मको घोडेटो बाटो मर्मत सम्भारको काम अन्तिम चरणमा पुगेको छ। सेनाले जेठदेखि ४ सय ५० मिटर बाटो मर्मतको काम थालेको थियो।
असार मसान्तभित्रै सक्ने लक्ष्य लिइए पनि मौसम र भौगलिक विकटताका कारण सम्भव भएन। निर्धारित समयभन्दा एक महिना ढिला भएको काम अब दुई साताभित्र सकिने सैनिक प्रवक्ता पौडेलले बताए।
‘३४० मिटर सम्पन्न भइसक्यो। ३० मिटरमा काम चलिरहेको छ। अब ८० मिटर जति बाँकी छ,’ उनले भने, ‘साउनमा सक्ने भनेको हो। चट्टान कडा खालको रहेछ। मौसम पनि अनुकुल भएन। महाकालीमा पानीको वहाब पनि उच्च रह्यो। केही भागमा निर्माण गरेको बाटो नदीले बगायो। सुरक्षा सम्वेदनशीलताले १० दिन काम नै रोक्यौं। दिनमा ५ मिटरका दरले काम गरिरहेका छौं। अबको दुई हप्तामा सक्छौं।’
उनका अनुसार घाटीबगरमा काम भइरहेको छ। तम्बाकु भीरमा पहिरो हटाउने काम भइरहेको छ।
दुई मिटर चौडा घोडेटो बाटोको निर्माण भइसकेपछि छाङरु पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्नेछ। हाल छाङरु र तिंकरका बासिन्दा सदरमुकाम आउजाउ गर्न भारततर्फ रहेको बाटो प्रयोग गर्न बाध्य छन्।
छाङरुदेखि तिंकरसम्मको घोडेटो बाटो भने भत्केको ठाउँमा सशस्त्र प्रहरीले स्थानीय मिलेर मर्मत सम्भार गरिसकेको छ।