PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

नेकपा कार्यदलको प्रतिवेदन: ओलीको राजीनामा अब एजेण्डा नबन्ने, विवाद समाधानका यस्ता छन् सुझाव



कुञ्जरमणि भट्टराई

नेकपा कार्यदलको प्रतिवेदन: ओलीको राजीनामा अब एजेण्डा नबन्ने, विवाद समाधानका यस्ता छन् सुझाव
फोटोः सूर्य थापाको फेसबुकबाट

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  को विवाद सुल्झाउन गठित कार्यदलले एक साताको गृहकार्यपछि आफ्नो प्रतिवेदन बुझाएको छ। कार्यदलले शनिबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हो।

प्रतिवेदनमा पार्टीलाई विधि पद्धतिमा लैजाने र कसरी एकतवद्ध बनाएर अघि भन्ने विषयमाथि सुझाव दिइएको कार्यदलका सदस्य सुरेन्द्र पाण्डले जानकारी दिए।

‘हामीले आज प्रतिवेदन बुझएका छौँ। पार्टीलाई विधि, पद्धतिमा लैजाने, कसरी एकतावद्ध बनाउन सकिन्छ भनेर सुझाव दिएका छौँ,' उनले भने।

त्यस्तै कार्यदलले बुझाएको प्रतिवेदनमा दुई अध्यक्षको कार्यविभाजन, केन्द्र सरकार र प्रदेश सरकारका कामलाई प्रभावकारी बनाउने, एकता महाधिवेशनका सम्बन्धमा, कोभिड १९ र आर्थिक सुदृढीकरण लगायतका विषयमा सुझाव दिइएको उनले बताए।

प्रतिवदेनमा स्थायी कमिटीको बैठकलाई नियमित एजेण्डामा लैजाने, सैद्धान्तिक तथा बाँकी रहेका केही विषय महाधिवेशनबाट टुंगो लगाउने र चैतमा महाधिवेशन गर्ने उल्लेख छ।

कार्यदलले सरकारको नेतृत्व अध्यक्ष ओलीले गर्ने र पार्टीको सबै कार्यकारी अधिकार प्रचण्डमा हुने सुझाव दिएको छ। उक्त सुझावमा दुई अध्यक्षको कार्यविभाजन स्पस्ट हुनुपर्ने उल्लेख छ।

अब प्रधानमन्त्रीको राजीनामाको विषय स्थायी कमिटी बैठकको एजेण्डा नबनाउने पनि बताइएको छ।

त्यस्तै महत्वपूर्ण राजनीतिक नियुक्ति गर्दा पार्टीमा छलफल गरेरमात्रै गर्ने, सरकारका काम अन्तर्गत संघीय सरकारको मन्त्रीमण्डल र आवश्यकता अनुसार प्रदेश सरकार हेरफेर गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ। शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने बिषयमा पनि कार्यदलले सुझाव दिएको छ।

नेकपाको विवाद चुलिएपछि असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक टुंगोमा पुग्न सकेको छैन। पार्टी विभाजनको संघारमा पुगेको भन्दै बैठकले विवाद समाधानका लागि अध्यक्षद्वय ओली र प्रचण्डलाई जिम्मेवारी सुम्पिएको थियो। पटक-पटक स्थगित हुँदै आएको बैठक गत साउन १३ गते ओलीले स्थगित गरेका थिए भने प्रचण्डले सञ्चालन गरेका थिए।

अध्यक्षद्वयको पटक-पटकको छलफलपछि गत साउन ३० गते ओली प्रचण्डले पार्टी विवाद समाधानका लागि खाका बनाउने जिम्मेवारी स्वरुप ६ सदस्यीय कार्यदल गठन गरेका थिए।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, भीम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र पम्फा भुसाल सदस्य रहेका थिए।

उक्त कार्यदललाई गत भाद्र १ गते बसेको सचिवालय बैठकले अनुमोदन गर्दै कार्यादेश दिएको थियो। दिनहुँजसो बैठकपछि कार्यदलले प्रतिवेदन बुझाएको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार कार्यदलका सबै सदस्यहरुको सहमतिमा नै प्रतिवेदन पेस गरिएको छ।

उक्त प्रतिवेदन अब दुई अध्यक्षले सचिवालय बैठकमा पेस गर्नेछन्। सचिवालय बैठकमा उक्त प्रतिवेदनमाथि छलफल गरेपछि विवादमा निकास निस्कने अपेक्षा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell