काठमाडौं : प्रदेश ५ मा लक्षण सहितका कोभिड-१९ संक्रमितको संख्या बढ्दै जान थालेपछि उपचारका लागि आइसीयू सहितका अस्पतालको अभाव हुन थालेको छ। कोभिड-१९ संक्रमितको उपचारका लागि भनेर लुम्विनी प्रादेशिक अस्पताल मातहत सञ्चालित कोभिड विशेष अस्पताल धागो कारखानाका आइसीयू भरिएको छ।
प्रदेश ५ मा चार वटा कोभिड-१९ विशेष अस्पताल सञ्चालनमा छ। अहिलेसम्म बुटवलको धागो कारखानामा निर्माण भएको अस्थायी अस्पतालमा मात्र संक्रमितको आइसीयूमा राखेर उपचार भइरहेको छ।
कोभिड-१९ का संक्रमितको उपचारका लागि भनेर छुट्याइएका चार अस्पतालमा २३ आइसीयू २३ मोनिटर र १४ वटा भेन्टिलेटर छ। यसमध्ये बुटवल अस्पतालमा रहेका मोनिटरसहितका ८ र सामान्य आइसीयू गरेर १६ वटा आइसीयू कक्ष अहिले भरिएको छ।
भीम अस्पतालमा ५, शुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेमा १० र केन्द्रीय संस्कृत विद्यापिठ बेलझुण्डी दाङमा पनि १० वटा आइसीयू रहेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ। तर, भीम अस्पतालमा आइसीयू भए पनि सञ्चालन गर्न सक्ने दक्ष जनशक्तिको अभाव देखिएको छ।
स्वास्थ्य निर्देशनालय प्रदेश पाँचको तथ्यांक अनुसार अहिले अस्पतालमा १६ वटै आइसीयू भरिएको छ। हाल प्रदेशका कोभिड विशेष अस्पतालमा ९२ सामान्य वार्ड र १६ जना आइसीयूमा उपचार भइरहेको छ। जसमध्ये बुटवलमा मात्र २० सामान्य र १६ आइसीयूमा गरी ३६ जनाको उपचार भइरहेको छ।
कोभिड विशेष अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाका अनुसार आइसीयूमा रहेकामध्ये २ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। यही अस्पतालमा आइसीयूमा उपचाररत तीन जना कोभिड-१९ का संक्रमितको मृत्यु समेत भइसकेको छ। जसमध्ये २ जना कपिलवस्तु र एक जना प्युठानका हुन्।
प्रदेशभरबाट आइसीयूमा राख्नुपर्ने संक्रमितलाई लुम्विनी प्रादेशिक अस्पतालमा पठाउँदै आइएको छ।
‘अब यहाँ पनि ठाउँ छैन। केही विरामीको क्रिटिकल अवस्थामा उपचार भइरहेको छ। नयाँ विरामी आए राख्ने आइसीयू छैन,' डाक्टर थापाले भने।
प्रदेश ५ स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदकुमार गिरीले पछिल्लो समय संक्रमितहरुमा जटिल समस्या देखिन थालेपछि आइसीयू भरिँदै गएको बताउँदै आइसीयू थप्ने तयारी गरिरहेको जानकारी दिए।
निर्देशनालयका निर्देशक गिरीले संक्रमितको अवस्था जटिल बने नेपालगंज र दाङमा रहेका आइसीयूमा पठाइने बताउँदै गर्दा प्रादेशिक अस्पतालका एक वरिष्ठ चिकित्सक भने उपचारका लागि काठमाडौं आएका छन्।
लुम्विनी प्रादेशिक अस्पतालको नेतृत्व गरिसकेका ती चिकित्सकमा एक साता अगाडि संक्रमण पुष्टि भएको थियो। होम आइसोलेसनमा बसेका उनको स्वास्थ्यमा समस्या देखिन थालेपछि शुक्रवार राति काठमाडौं आइपुगेका हुन्।
स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार हाल २०१ जना संक्रमित लक्षणसहितका छन्।
१ हजार १ सय १५ जना एक्टिभ केसमध्ये २ सय १ मा लक्षण देखिको तथ्यांक निर्देशनालयसँग छ। जसमध्ये ३६ जनामात्र आइसोलेसन अस्पतालमा छन्। बाँकी स्थानीय स्तरमा सञ्चालित आइसोलेसन सेन्टरमा छन्। लक्षण देखिएका सबैभन्दा बढी संक्रमित कपिलवस्तुका छन्। १ सय ९२ सक्रिय संक्रमित रहेको कपिलवस्तुमा १ सय ३४ जनामा लक्षण देखिएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ। जसमध्ये २ जना मात्र आइसोलेसन अस्पतालमा र बाँकी सबै स्थानीय आइसोलेसनमा छन्।
बाँकेमा ४ सय ११ एक्टिभ केस मध्ये ४८ जनामा संक्रमणको लक्षण देखिएको निर्देशनालयले जनाएको छ। जसमध्ये ३२ जना आइसोलेसन अस्पतालमा र बाँकी १६ जना स्थानीय आइसोलेसनमा राखिएको छ। निर्देशनालयको तथ्यांकमा जोखिम समूहका संक्रमित कोही नभएको उल्लेख भए पनि बुटवलस्थित कोभिड विशेष अस्पतालमा ८ जनाको गम्भिर अवस्थामा उपचार भइरहेको अस्पतालका फोकल पर्सन डाक्टर थापाले बताए। जसमध्ये २ जनालाई भेन्टिलेटरमा राखिएको छ।
लक्षणसहितका संक्रमित बढ्दै जाँदा आइसीयू थप्ने तयारी भइरहेको निर्देशनालयका निर्देशक डाक्टर गिरीले बताए पनि आइसीयू सञ्चालनका लागि दक्ष जनशक्तिको अभाव रहेको प्रादेशिक अस्पतालका एक चिकित्सकले बताए।
'भन्न त भन्छन् नि तर कसले चलाउने? भनेर पनि उनीहरुलाई सोध्नुस त,' ती चिकित्सकले प्रश्न गरे, 'भएका आइसीयू पूर्ण रुपमा चलाउन सकेका छैन। अब थपिएकालाई कसरी चालउँछन्?' आइसीयु र भेन्टिलेटर थप्ने भनेर बाहिर हल्ला गरे पनि भित्र यथार्थ अर्कै रहेको उनको भनाई छ।
सम्बन्धित समाचार: