काठमाडौं : २४ घण्टाभन्दा बढी समय कोठाभित्र नै बेवारिसे बनेको ८१ वर्षीय मदन (नाम परिवर्तन)को अन्त्येष्टि गरिएको छ। विभिन्न निकायमा तारन्तार प्रयास गरेपछि आइतवार मध्यान्ह स्वास्थ्य मन्त्रालयको स्वाब संकलन गर्ने टोली शान्ति सेवा गृहमा पुगेको थियो। मृतकको स्वाब लिएपछि अन्त्येष्टि गरिएको हो।
काठमाडौं तिलगङ्गास्थित शान्ति सेवा गृहमा बस्दै आएका मदनको शनिवार बिहान १० बजेर ४५ मिनेटमा मृत्यु भएको थियो। केही दिनदेखि उच्च ज्वरोका कारण थलिएका मदनको मृत्यु कोभिड १९ को कारण हुनसक्ने आशंकामा २४ घण्टासम्म कसैले पनि शव भएको कोठा समेत खोलेका थिएनन्। शंकास्पद मृत्युमा नमुना परीक्षण तथा अन्त्येष्टि गर्ने जिम्मेवारी पाएको निकायले समेत बेवास्ता गर्दा मदनको शवबाट गन्ध आउन थालेको थियो।
यो पनि : साँघुरो कोठामा ८१ वर्षीय मदनको शव, दुई दिन भयो, न लिइयो स्वाब, न बढ्यो अन्त्येष्टिको काम
'स्वास्थ्य मन्त्रालयबाट टिम आएर स्वाब लिएर गयो। त्यसपछि हामीले कोभिड संक्रमितलाई जसरी नै अन्त्येष्टि गरेका हौं,' शान्ति सेवा गृहका कार्यक्रम संयोजक विजेन्द्र कुँवरले भने।
२४ घण्टासम्म पनि सरकारी निकायलाई पहल गर्दा स्वाव संकलन गर्न कोही नपाएपछि प्राइभेट ल्याबबाट मानिस ल्याएर संकलन गर्ने तयारी समेत गरेका थिए उनीहरुले। मृतकको थ्रोट स्वाब परीक्षण रिपोर्ट भने आइसकेको छैन।
सोमवार दिउँसो १ बजे मदनको शवलाई कोरोना संक्रमितको शवलाई जस्तै गरी व्यवस्थित तरिकाले तिलगंगामा रहेको विद्युतीय शव दाह केन्द्रमा लगेर जलाइएको हो।
'मैले आफैँ गाडी चलाएँ। हिमानी ट्रस्टले दिएको पीपीई लगाएर अन्त्येष्टि गरियो,' उनले भने।
शारीरिक रुपमा अपाङ्गसमेत रहेका मदन २५ वर्षदेखि शान्ति सेवा गृहमा बस्दै आएका थिए। उनको मृत्युसँगै त्यहाँ बस्दै आएका १ सय ५० जनाको कोभिड १९ परीक्षणको लागि नमुना संकलन गरिएको छ।
