PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कोभिड १९ मुक्त भएपछि वाग्मती प्रदेश सभा उपसभामुख राधिका भन्छिन् : म संक्रमित हुँदा छोरो दङ्ग



नेत्र तामाङ

कोभिड १९ मुक्त भएपछि वाग्मती प्रदेश सभा उपसभामुख राधिका भन्छिन् : म संक्रमित हुँदा छोरो दङ्ग
फोटो : facebook.com/radhika.tamang.71

काठमाडौं : वाग्मती प्रदेश सभाकी उपसभामुख राधिका तामाङ कोभिड-१९ संक्रमणबाट मुक्त भएकी छिन्। उपसभामुख तामाङ र उनका ९ वर्षीय छोरा रिदमलाई भदौ १ गते कोभिड-१९ संक्रमण पुष्टि भएको थियो।

दुवै जनाको रिपोर्ट आइतवार राति भने नेगेटिभ आएको छ। कोभिड-१९ पुष्टि भएपछि उनी हेटौंडास्थित आफ्नै निवासमा आइसोलेसनमा बसेकी थिइन्।

पहिलो पटक जाँच गर्दा उपसभामुख तामाङमा कोरोना नेगेटिभ देखिएको थियो। नुवाकोट दुप्चेश्वर गाउँपालिकाका एक जनप्रतिनिधिसँग भेटपछि उनले कोरोना आशंका गरेकी थिइन्। ती जनप्रतिनिधिमा कोरोना देखिएपछि तामाङले दुई पटक कोरोना जाँच गराएकी थिइन्।

'म नुवाकोटदेखि सिंहदरबारसम्म पुगेकी थिएँ। यही क्रममा दुप्चेश्वोर गाउँपालिका वडा न ६ का वडाध्यक्ष पनि संक्रमण देखिएको थियो। अहिले उहाँ पनि मुक्त हुनुभयो। मेरो र छोराको रिपोर्ट पनि नेगेटिभ आएको छ,' उपसभामुख तामाङले भनिन्।

होम आइसोलेनमै बसेँ

भदौ १ गते कोभिड-१९ रिपोर्ट पोजेटिभ देखिएपछि चिकित्सकको सल्लाहले घरमै बसिन् तामाङ।

'मलाई घरमै बस्दा राम्रो हुन्छ जस्तो लाग्यो, गम्भीर खाले बिरामी चाहिँ अस्पताल जाँदै राम्रो हुन्छ,' उनले भनिन्।

आफू हेर्दा फूर्तिलो भए पनि शारीरिक हिसाबले रुघाखोकी लागिरहने समस्या रहेको उल्लेख गर्दै गर्मीको समयमा नुहाइधुवाईले सुक्खा खोकीले सताएको उनले बताइन्। 'कोरोनाको खासै लक्षण देखिएन। सुक्खा खोकी अलिअलि थियो। छोरालाई पनि खासै लक्षण देखिएन,' उपसभामुख तामाङले भनिन्।

तातो झोलिलो खानेकुरा र आर्युवेदिक औषधिले प्रतिरोधात्मक क्षमता बढ्ने बुझिन् उनले। घरमै पाइने तुलसीको पात, पुदिना लगायतका जडिबुटीहरु पनि उपयोगी देखिएको उनले बताइन्।

व्यवस्थापन भद्रगोल देखियो

कोभिड १९ टेस्टपछि नेगेटिभको छिटो रिपोर्ट दिने र पोजेटिभको ढिला गर्ने गरेको आफैले भोगिन् उनले। पोजेटिभ देखिएकालाई तुरुन्तै खबर दिएर सजगता अपनाउनु पर्नेमा झन् ढिला हुनु व्यवस्थापनको कमजोरी भएको उपसभामुख तामाङको बुझाइ छ।

'मसँगै टेस्ट गरेका साथीहरुको रिपोर्ट नेगेटिभ आयो। तर मेरो रिपोर्ट भने आएन। ढिला गरी मात्र रिपोर्ट थाहा पाएँ,' उनले भनिन्, 'रिपोर्ट नआउन्जेल त कतिसँग घुलमिल हुन्छ। त्यसमा त सचेत हुनुपर्न हो नि।'

रिपोर्ट आएपछि पनि कुनै निकायबाट सतर्कता आपनाउने विषयमा सोधखोज नभएको उनको भनाई थियो। त्यसपछि आफैँले चिकित्सकहरुसँग फोन सम्पर्क गरी संक्रमणमुक्त हुने तरिका जानेको तामाङले बताइन्।

'संक्रमण भइहाल्यो। अब कसरी निको हुने भनेर डाक्टरहरुलाई फोन गरे। चितवनकै डाक्टकर भोजराज अधिकारीदेखि अरु डाक्टरलाई पनि सोधेँ। खोकी, छाती दुख्ने र एलर्जीको औषधि खाएँ,' उनले भनिन्, 'केन्द्रबाट माननीय मन्त्री डा शिवमाया तुम्बाहाम्फेले पनि आर्युवेदिक औषधि पठाइदिनुभयो। यसरी नै दैनिक खानपानमा ध्यान दिएर निको भएँ।'

कन्ट्याक्ट ट्रेसिङमा काठमाडौंमा निकै भद्रगोल देखिएको उनले दाबी गरिन्। 'मेरो कन्ट्याक्टमा आएकालाई जाँच गर्नुपर्‍यो भनेर कति भन्नुपर्‍यो। साधारण जनतालाई कति गाह्रो होला? यस्तो भद्रगोल काठमाडौंमा देखेँ,' तामाङले भनिन्।

सामाजिक दुरी कायम नगरौं

संक्रमण भएपछि एक्लिँदा धेरैको ज्यान गएको हुनसक्ने तामाङले बताइन्।

'कुनै ओहोदामा भए पनि संक्रमण भएपछि एक्लो अनुभूति हुने रहेछ। अरुले भन्दा आफैँ सचेत हुनुपर्ने रहेछ। मलाई लाग्छ धेरै मान्छे आत्तिएर पनि मृत्यु हुन्छ,' उपसभामुख तामाङले भनिन्।

उनले आफूलाई सामाजिक दुरीको विरोधी रहेको बताइन्। 'म त सामाजिक दुरीको विरोधी। यस्तो बेला भौतिक दुरी कायम गर्ने हो। सामाजिक दुरी त एकदम नजिक राख्ने बेला रहेछ यो। माया बाँड्ने समय रहेछ,' तामाङले थपिन्, 'परिवारको माया, समाजको मायाले जितिने रहेछ कोरोना।'

कोरोना पुष्टि भएपछि आफूलाई माया र सद्भावका धेरै कल आएको र त्यही मायाले चाँडै निको भएको दाबी गरिन् उनले।

छोरालाई समय दिन पाएँ

राजनीतिक गतिविधि र प्रदेश सभाको काममा व्यस्त उनले परिवारमा समय दिन पाउँदिन थिइन्। संक्रमण पुष्टि भएपछि छोरा निकै खुशी भएको उनले सुनाइन्।

'दुवै जनालाई संक्रमण देखियो। दुवै सँगै बस्यौं। छोरा एकदम खुशी छ,' हाँस्दै उनले थपिन्, 'अहिले त मामुलाई कोरोना नहटे पनि हुन्थ्यो पो भन्दैछ।'

कोरोनाले आमाको माया र स्याहार पाएकोले छोरामा त्यो भावना आएको हुनसक्ने उनले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell