
काठमाडौं : कोभिड १९ को महामारी चलिरहँदा परीक्षा र कक्षा सञ्चालनबारे विद्यालयतहदेखि विश्वविद्यालय तहसम्म बहस चलिरहेको छ। यस्तोमा भर्चुअल माध्यमबाट सिकाइ केही अघि बढे पनि परीक्षा भने अझै अन्योलमा छ। देशकै ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यलले भदौ महिनामा स्थगित परीक्षा सञ्चालनको तयारी अघि बढाए पनि दशैं अघि सम्भव नहुने देखेर पछि हटिसकेको छ। पदधिकारीविहीन पोखरा विश्वविद्यालयको अवस्था पनि उही छ।
नेपाल संस्कृत विश्वविद्यालयले पनि कोरोना महामारीका कारण अर्को सूचना जारी नगरुन्जेलका लागि परीक्षा स्थगित गरिएको भनेर भदौ १२ गते नै सूचना निकालेर आनन्दले बसेको छ।
‘कोभिड १९ को संक्रमण कम भइ जिल्ला जिल्लामा यातायातको सहज स्थिति हुनसाथ भौतिक दुरी कायम गरी परीक्षा सञ्चालन गरिने अवस्था रहेमा स्थगित परीक्षाको कार्यक्रम प्रकाशन गरी परीक्षा सञ्चालन गरिने हुँदा परीक्षा फाराम भरेका विद्यार्थीहरु आआफ्नो विद्यापीठमा सम्पर्कमा रहिरहन र विश्वविद्यालय मातहतका विद्यापीठहरुले पनि विद्यार्थीहरुलाई सम्पर्कमा राखिरहन सूचित गरिन्छ,’ नेपाल संस्कृत विश्वविद्यालयको पछिल्लो सूचनामा भनिएको छ।
यता काठमाडौं विश्वविद्यालयले भने भर्चुअल कक्षा र परीक्षामा सुरुबाटै मिलाएर अघि बढेको देखिन्छ।
सुदरपश्चिमाञ्चल विश्वविद्यालयले भने भर्चुअल विधिबाटै परीक्षा गराउन लागि परेको छ। त्यसका लागि डेपुटी एक्जाम कन्ट्रोलर डा प्रेम सिंह भाटले भने परीक्षाका लागि फर्महरु भरिसकेको र निर्देशिका बनाएर परीक्षा असोजबाट गराउने तयारीमा लागेको बताए।
‘लगभग लगभग असोजको दोस्रो हप्तादेखि जाँच गराउने तयारीमा छौं। निर्देशिका बनिसक्यो। त्यसमा अलिअलि छलफल चलिरहेको छ। १५ वटै क्याम्पस चिफहरुसँग जुम मिटिङ चलिरहेको छ,’ उनले भने, ‘कार्यविधिमा प्रश्नपत्रको मोडल कस्तो बनाउने, टाइमिङ आवर कति दिने? त्यसैमा छलफल भइरहेको छ। लगभग ५/६ घन्टाको टाइमिङ दिने भन्ने भएको छ। तीन देखि ५ प्रश्न दिने भन्ने भएको छ।’
उनले फ्याकल्टी हेरेर त्यसअनुसारको प्रश्न बन्ने र विद्यार्थीले अनलाइनबाटै लेखेर सम्बन्धित केन्द्रमा नै कापी बुझाउनु पर्ने थ्रेसिङ गरेर भन्ने विषयमा छलफल चलिरहेको बताए।
‘केन्द्राध्यक्षलाई इमेलबाट नै प्रश्न पठाउने भन्ने अहिलेसम्म विकास भएको छ। फर्म भर्ने काम चाहिँ अहिलेसम्म भइसकेको छ। पहिला स्नातकको पहिलो र तेस्रो सेमेस्टरको जाँच हुन्छ। त्यसपछि पाँचौ र सातौंको हुन्छ,’ उनले भने, ‘त्यस सँगसँगै बीबीएस चौथो वर्ष र तेस्रो वर्षको पनि लगभग तयारीमा हुन्छ। त्यसपछि मास्टर्समा सेकेन्ड र फोर्थको तयारी हुन्छ। त्यो आधारमा हाम्रो तयारी चलिरहेको छ।’
यता पूर्वाञ्चल विश्वविद्यलले भने भर्चुअल बैठकबाट परीक्षा लिने निर्णय गरेको छ। भदौ १४ गते बसेको विश्वविद्यालको प्राज्ञिक परिषद र कार्यकारी परिषदको बैठकले वैकल्पिक विधिबाट परीक्षा लिने निर्णय गरेको हो।
जसमा सेमेस्टर परीक्षा प्रणाली अनुसार स्नातक तथा स्नाकोत्तर तहको नियमित तर्फको परीक्षा टाइम बाउन्ड होम एक्जाम विधिबाट सञ्चालन गरिने विश्वविद्यालयले जनाएको छ। परीक्षा असोजको पहिलो साताबाटै गराउने तयारी रहेको छ।
त्यस्तै, वार्षिकतर्फका नियमित/आंशिक र सेमेस्टर तर्फका आंशिक परीक्षाबारे पछि निर्णय हुँदै जाने बताइएको छ।
‘टाइम बाउन्ड एक्जाम भनेको चाहिँ विश्वविद्यालयले प्रश्न पठाउँछ कलेजहरुलाई जाँच हुनुभन्दा आधा घण्टा अगाडि। त्यसपछि कलेजले आफ्ना विद्यार्थीहरुको सबै आइडीहरु मागेर सबै पहिलै तयार गरिसकेको हुन्छ,’ भर्चुअल परीक्षाबारे विश्वविद्यालयका परीक्षा नियन्त्रक प्राध्यापक डा सूर्यप्रसाद संग्रौलाले भने, ‘त्यसपछि दिएको निर्धारित समयसम्म विद्यार्थीले घरै बसेर लेख्छन्। त्यसपछि अन्तिमममा फेरि फोटोकपी स्क्यान गरेर कलेजमा पठाउँछ। कलेजले फेरि फाइल बनाएर विश्वविद्यालयलाई तोकेको इमेलमा पठाउँछ। र बाँकी पुरानै प्रकृयाले जान्छ।’
परीक्षा प्रविधिमा आधारित रहेर पहिलो पल्ट लिइँदै गरेको भएकाले सफलता असफलता हेरेर सच्याउँदै लैजाने मुडमा परीक्षा नियन्त्रक संग्रौला सुनिए।
‘अहिले हामीले सेमेस्टरको रेगुलर विद्यार्थीलाई मात्र गराएका छौं। यो नयाँ प्रविधि अन्तर्गत गर्न खोजेको हो हामीले अब यसमा सफलता कति हात पर्ला, असजिला कति आउलान्? विद्यार्थी संघ संघठनहरुको कस्तो प्रतिकृया आउला? त्यो हेरेर विश्वविद्यालयले फेरि उचित निर्णय लिन्छ,’ संग्रौलाले भने।
के छ निर्देशिकामा?
परीक्षाको सम्बन्धमा विश्वविद्यालयले आज निर्देशिकासमेत जारी गरेको छ। जसमा क्याम्पस र विद्यार्थीका लागि नियमहरु उल्लेख गरिएको छ।
क्याम्पसको सन्दर्भमा सात बुँदामा निर्देशन रहेको छ। जसमा क्याम्पस प्रमुखले तोकेको एक जना केन्द्राध्यक्ष रहने सहायक केन्द्रध्यक्ष, कर्मचारी र सहयोगी कर्मचारी रहनेछन्। परीक्षा व्यवसस्थापन कार्यालयले उपलब्ध गराएको विद्यार्थीहरुको रजिस्ट्रेसन नम्बर, रोल नम्बर र आवश्यक निर्देशनहरु परीक्षा सुरु हुनुभन्दा ५ दिन अगावै जानकारी गराउनु पर्ने निर्देशिकामा उल्लेख छ।
त्यस्तै, परीक्षा सञ्चालनको ३० मिनेट पहिले परीक्षा व्यवस्थापन केन्द्राध्यक्षको आधिकारिक इमेलमा पठाउने र परीक्षाको १५ मिनेट अगाडि त्यसलाई विद्यार्थीको इमेल आइडीमा पठाउनु पर्ने उल्लेख छ। क्याम्पसले विद्यर्थीले पठाएको उत्तरपुस्तिकाका आधारमा हाजिरीविवरण तयार गर्नेछ।
अर्कोतर्फ विद्यार्थीका लागि पनि विश्वविद्यालयले ११ बुँदे गाइलाइन दिएको छ जसमा परीक्षा दिनका लागि अनिवार्य व्यवस्थापन कार्यलयबाट रोल नम्बर प्राप्त गरेको हुनुपर्नेदेखि कम्तीमा परीक्षाको १० दिन अगाडि आफ्नो इमेल आइडी दिइसक्नुपर्ने लगायतका निर्देशन छन्।
त्यस्तै, परीक्षामा हस्तलिखित कापीलाई मात्र मान्यता दिइने स्पस्ट पारिएको छ। मतलब विद्यार्थीहरुले टाइप गरेर परीक्षा दिन पाउने छैनन्। कुनै कारणवस यो परीक्षामा विद्यार्थी सहभागी हुन नसके अर्को परीक्षामा नियमित विद्यार्थी सरह सहभागी हुन पाउने उल्लेख छ।
त्यस्तै, परीक्षा सकिएसँगै उत्तर पुस्तिकालाई स्क्यान गरेर इमेलमार्फत् पठाउनु पर्नेछ भने प्रयोगात्मक परीक्षा सामान्य अवस्था आएपछि मात्र सञ्चालन हुने तयारी रहेको उल्लेख गरिएको छ।
सम्बन्धित समाचार : पूर्वाञ्चल विश्वविद्यालयले ‘टाइम बाउन्ड’ विधिबाट परीक्षा लिँदै, कसरी हुन्छ यो परीक्षा?