PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेपाल एयरलाइन्सको एउटा गम्भिर भूल जसले पुर्‍यायो २ सय ११ जना कोभिड-१९ नेगेटिभ भएकालाई क्वारेन्टाइन



नेत्र तामाङ

नेपाल एयरलाइन्सको एउटा गम्भिर भूल जसले पुर्‍यायो  २ सय ११ जना कोभिड-१९ नेगेटिभ भएकालाई क्वारेन्टाइन

काठमाडौं : फागुनमा जापान घुम्न पुगेका बुबाआमा नेपाल फर्कने भएपछि सुमन घिमिरे बुधवार लमजुङबाट एम्बुलेन्स रिजर्भ गरेर सीधै विमानस्थल पुगे।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जापानको नरिताबाट उडेको नेपाल एयरलायन्सको विमान साँझ ६ बजे ल्यान्ड हुँदै थियो। एक महिनाका लागि जापान पुगेका बुबाआमा लकडाउनका कारण झन्डै ६ महिना उतै बस्नुपरेको थियो।

बुबा भीष्मकान्त र आमा सबिता विरामी भएकाले सुरक्षित रुपमा घर लैजाने तयारीका साथ आइपुगेका थिए सुमन।

जापानबाट सुमनलाई बहिनीले खबर पठाइसकेकी थिइन् – बुबाआमा दुवै जनाको पीसीआर रिपोर्ट नेगेटिभ छ।

सरकारले पीसीआर रिपोर्ट नेगेटिभ भएकालाई सीधै घरमा लागेर १४ दिनसम्म 'होम क्वारेन्टाइन' मा राख्न पाउने खबर सुनेका थिए सुमनले।

त्यही आधारमा उनले लमजुङको दोर्दी - ३ मा रहेको आफ्नो घरमा तयारी सकाएर विमानस्थल हानिएका थिए। २ सय १२ जना नेपाली बोकेर आएको विमान तोकिएकै समयमा विमानस्थलमा अवतरण भयो।

सुमन बाहिर कुरिरहेका थिए। तर, जापानबाट फर्केकाहरुलाई 'स्काइ जोन' लगिने कुरा भयो।

स्काइ जोन चाहिँ गण्डकी प्रदेशका लागि छुट्याइएको होल्डिङ सेन्टर। पछि फेरि सरकारले तोकेको होटल क्वारेन्टाइनमा लगेर राख्ने कुरा आयो। सुमन आत्तिए।

'बुबा र आमा अलि कमजोर हुनुहुन्छ। सरकारी व्यवस्थापनको भर छैन। पीसीआर रिपोर्ट नेगेटिभ हुँदाहुँदै होटल क्वारेन्टाइनमा राख्ने कुरा सुनेर म अलमलमा परेंँ,' सुमनले भने।

बुबा र आमालाई सेनाले व्यवस्थापन गरेको गाडी चढाएर गौशालातिर ल्याए। गौशालाको होटल श्राद्ध प्यालेस पुगेपछि गाडी रोकियो। सुमनले त्यतै पिछा गरे। बुबाआमालाई नजिकबाट हेर्न पाएनन्। जापानबाट आएका सबै जनालाई त्यहीँ क्वारेन्टाइनमा एक हप्तासम्म राखिने भनियो।

'घर जान पाइने भनेर पो पीसीआर टेस्ट गरेर ल्याइयो। जापानमा एक जनाको पीसीआर टेस्टकै ४० हजार भन्दा बढी पर्छ। यसरी नेगेटिभ आएपछि पनि जबरजस्ती होटलमा राख्याछन्। चार्टड् फ्लाइटमा महँगो भाडा तिरेर आउनु छ,' सुमन चिन्तित सुनिए, 'अब यता पनि सात सात दिनको कति खर्च लाग्ने हो?'

खर्चभन्दा पनि होटलको व्यवस्थापनप्रति शंका छ सुमनलाई। 'एकदम सुरक्षितपूर्वक आउनु भएको छ। तर, होटलको व्यवस्थापन खासै चित्तबुझ्दो छैन। बा नशाको र आमा पेटको बिरामी भएको कारण सुरक्षित हुन्छ भन्ने सोचले गाउँबाटै एम्बुलेन्स ल्याएको थिएँ। खर्च उस्तै र होटलमा कोरोनाको जोखिम उस्तै छ। कोरोना नभएको मान्छेलाई पनि जबरजस्ती कोरोना लगाउने चलखेल भएको छ,' उनले भने।

के छ सरकारी व्यवस्था?

अन्तरार्ष्ट्रिय उडान खुल्ने जानकारी गराउँदै भदौ ८ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टाइनमा बस्नु नपर्ने बताएका थिए।

पीसीआर रिपोर्ट नेगेटिभ आएकाहरु होटल क्वारेन्टाइनमा बस्नु पर्दैन

पीसीआर रिपोर्ट नेगेटिभ आएकाहरु होटल क्वारेन्टाइनमा बस्नु पर्दैन, होम क्वारेन्टाइनमा बसे हुन्छ : मन्त्री भट्टराई

Posted by PahiloPost on Wednesday, September 2, 2020

'पीसीआर गरेका मानिसहरुले यात्रुहरुले नेपाल सरकारले वेबसाइटमा राखेको फर्म भर्नुपर्छ। नेपालको ठेगाना स्पष्ट लेख्नुपर्छ,' मन्त्री भट्टराईले भनेका छन्, 'नेपाल आएपछि एयरपोर्टबाट रिपोर्ट नेगेटिभ देखाउनुभयो भने १४ दिन आफ्नो घरमा होम क्वारेन्टाइननमा बस्ने प्रतिबद्धतासहित घर जान दिइन्छ।'

पीसीआर रिपोर्ट नेगेटिभ आएकाहरु होटल क्वारेन्टाइनमा बस्नु नपर्ने, विदेशमा अलपत्र परेकाको खर्च सरकारले व्यहोर्ने

त्यसैगरी भदौ ९ गते पर्यटन मन्त्रालले उडान सञ्चालनमा ध्यान दिनुपर्ने शर्तसहितको सूचना जारी गर्‍यो।

उक्त शर्तमा भनिएको छ, 'एउटै उडानबाट पीसीआर नेगेटिभ रिपोर्ट भएका सबै यात्रुहरु नेपाल आएपछि १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्नेछ।'

नेगेटिभ रिपोर्ट आएकाहरुलाई सीधै घरमा गएर होम क्वारेन्टाइनमा बस्न पाइने व्यवस्था सरकारले गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पनि पुष्टि गरे।

'अहिले सीधै घरमै गएर १४ दिनसम्म क्वारेन्टाइनमा बस्न पाइने व्यवस्था छ,' प्रवक्ता गौतमले भने, 'तर, विमानमा भएका शत प्रतिशतको कोभिड-१९ रिपोर्ट नेगेटिभ हुनुपर्छ।'

कोही कोभिड १९ जाँच नगरी मिसिएर आएका भए त्यहाँ भएका सबै जना होटल क्वारेन्टाइनमै बस्नुपर्ने प्रवक्ता गौतमले बताए। भने, 'कोही त्यसरी मिसिएर आएको भए उसले अरुलाई सारिहाल्छ नि। त्यसैले त्यहाँ आएका सबै जना सरकारले तोकेको मापदण्डअनुसार होटल क्वारेन्टाइनमा बस्नैपर्छ।'

होटल क्वारेन्टाइनममा बस्नका लागि सरकारले रिसोर्टदेखि पाँचतारे होटल क्वारेन्टाइन तोकेको छ। सरकारले तोकेको होटलमा विदेशबाट आएकाहरु बस्नुपर्ने उल्लेख गरिएको छ।

एयरलायन्सकै लापरवाही

जापानबाट फर्केका यात्रुलाई होटलमा राखिनुको कारण एयरलायन्सकै कमजोरी हुनसक्ने प्रवक्ता गौतमले उल्लेख गरे।

उडानमा एअरलायन्सकै कमजोरी भएको हो त?

'एक जनाको आरडीटीमात्रै गरेर ल्याएको देखियो। त्यसैले यस्तो अवस्था सिर्जना भयो,' नाम उल्लेख नगर्ने शर्तमा नेपाल एयरलाइन्सका कर्मचारीले भने।

जापानको नारिताबाट उडेको यात्रुमध्ये एक जनालाई आरडीटी जाँच गरी ल्याएकाले उनीहरु सबैलाई होटल क्वारेन्टाइनमा राखेको विमान कम्पनीले जनाएको छ।

यसले देखिन्छ - नेपाल एयरलायन्सकै लापरवाही। पर्यटन मन्त्रालयले भदौ ९ गते जारी गरेको उडानसम्बन्धी शर्तमा भनिएको छ, 'एउटै उडानमा पीसीआर गरेको र नगरेको यात्रुहरु मिसाएर ल्याउन पाइने छैन। कुनै वायुसेवाले मिसाएर ल्याएको पाइएमा उक्त वायुसेवाले आफ्नो खर्चमा उक्त उडानका सबै यात्रुहरुलाई सात दिन होटल क्वारेन्टाइनमा अनिवार्य राख्ने व्यवस्था गर्नुपर्नेछ।'

यो शर्त भदौ १६ बाट लागू हुने उल्लेख छ। यस्तो लापरवाही गर्ने अनि यात्रुले सास्ती भोग्नुपर्ने?

जवाफमा होटल क्वारेन्टाइनको सम्पूर्ण खर्च नेपाल एयरलाइन्सले नै ब्योहोर्ने ती कर्मचारीले बताए।

ती व्यक्तिको आजै पीसीआर जाँच गरिएको र रिपोर्ट नेगेटिभ आएमा सबै जनालाई सरकारी व्यवस्थाअनुसार नै छाडिने उनले दाबी गरे।

एकजनाको आरडीटी, दुई जनाको रिपोर्ट बुझ्नै गाह्रो : सेना

दुई सय १२ यात्रुमध्ये एकजनाले आरटीडी नेगेटिभ रिपोर्ट र दुईजनाको ल्याब रिपोर्ट बुझ्नै कठिन रहेका कारण सबै यात्रुलाई होटल क्वारेन्टाइनमा पठाइएको नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए।

‘एक जनाको आरटीडी नेगेटिभ रिपोर्ट रहेको छ भने दुई जना यात्रुको जापानी भाषामा रहेको ल्याब रिपोर्ट एम्बेसीको सिफारिसमा सही ठहरिएको अवस्थामा रिकन्सिडिरेसन गर्न सकिन्छ,’ प्रवक्ता पौडेलले भने, ’सरकारको निर्णयअनुसार यसरी एउटै उडानमार्फत् पीसीआर गरेका र नगरेका यात्रु आएको अवस्थामा सबैलाई एक साता होटल क्वारेन्टाइनमा राखिनेछ।’

पाँच महिना अगाडिदेखि नारितास्थित नेपाल वायुसेवा निगमको कन्ट्री म्यानेजर पद रिक्त रहेको छ। सरकारले नियमित उडान गरेसँगै नेपाल वायुसेवा निगमले मंगलबार राती १:०० बजे काठमाडौं-नारिता नियमित उडान गरेको हो। ४९ जना यात्रु र एक नाबालक लिएर गएको निगमको जहाज नारितामा रहेका दुई सय १२ यात्रु लिएर फर्केको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell