PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

शशांकलाई विमलेन्द्रको जवाफ, 'मैले मात्र हराउन सक्छु भनेर कुनै फाइदा छैन, हराउनुछ भने कम्युनिस्टलाई हराउँ'



पहिलोपोस्ट

शशांकलाई विमलेन्द्रको जवाफ, 'मैले मात्र हराउन सक्छु भनेर कुनै फाइदा छैन, हराउनुछ भने कम्युनिस्टलाई हराउँ'

काठमाडौं: नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको महाधिवेशन मोडालिटी परिवर्तन गर्नुपर्ने बताएका छन्।

काँग्रेस महाधिवेशनसँग जोडिएका प्रसंगहरु विषयक वेबिनारमा उपसभापति निधिले कोरोना महामारीका कारण महाधिवेशनको मोडालिटी परिवर्तन गर्नु आवश्यक भएको बताएका हुन्।

‘कोरोनाको कारणले भीडभाड गर्न मिल्दैन। जसरी बारको चुनाव हुन्छ। जिल्ला जिल्लामा हुन्छ। त्यहीँ फर्म्यार्टमा जानुपर्छ. महाधिवेशन रोक्न मिल्दैन,’ उनले भने।

निधिले महाधिवेशनमा ढिलोमा वैशाख र जेठभन्दा पर लानु नहुने भन्नेमा सभापति शेरबहादुर देउवाको निवासमा रामचन्द्र पौडेल, कृष्ण सिटौलालगायत नेताहरुबीच अनौपचारिक छलफल भएको जानकारी पनि गराए।

‘सकिन्छ भने फागुनमा गरौं, सकिँदैन भन्ने जेठसम्म गरौं भन्ने कुरा भयो। तर औपचारिक छलफल भने भएको छैन,’ उनले भने।

उनले १४ महाधिवेशनमा वैचारिक स्पष्टता, पार्टीभित्रको आन्तरिक एकतालाई आधार बनाएर जानुपर्नेमा जोड दिए।

कम्युनिस्टलाई हराउ

नेता निधिले पार्टीभित्रको आन्तरिक हारजित भन्दा कम्युनिस्टलाई हराउने गरी एकत्रित हुन आह्वान गरे। यसका लागि वैचारिक स्पष्टता र आन्तरिक एकतासहित नेतृत्व चयन गर्नुपर्ने उनको भनाई थियो।

‘फेरि कम्युनिस्ट जित्यो भने पश्चिम बंगालको जस्तो हालत हुन्छ। जनता, राष्ट्रिय, अन्तर्राष्ट्रिय शुभेच्छुकले कांग्रेस चाहिरहेका छन्। विचार र एकताको काम १४ ‍औ महाधिवेशनबाट गरौं,’ उनले भने।

नेता निधिले महाधिवेशनको होडबाजीमा नलाग्न पनि आग्रह गरे। ‘कसैले कसैलाई दोषारोपण नगरौं। मैले मात्र हराउन सक्छु भनेर कुनै फाइदा छैन। हराउनुछ भने कम्युनिस्टलाई हराउँ,’ महामन्त्री डा शशांक कोइरालातर्फ संकेत गर्दै उनले भने। केही समयअघि शशांकले सभापतिमा शेरबहादुर देउवालाई आफूलेमात्रै हराउन सक्ने दाबी गरेका थिए।

कम्युनिस्ट सरकारका कारण संघीयता, गणतन्त्र खतरामा रहेको आशंका गर्दै निधिले थपे, ‘प्रधानमन्त्री न संघीयता, न गणतन्त्र र न त लोकतन्त्रमा नै विश्वास गर्छन्। एउटा छिमेकी (चीन) देशको एकदलीय प्रणालीतिर सरकार उन्मुख हुँदैछ। हामीले त्यसलाई हटाउने ताकत छ कि छैन। म मेरा भाईहरु मभन्दा पछिका नेताहरुलाई भन्न चाहन्छु, मलाई हराउन, तपाईलाई हराउन त ताकत होला। तर कम्युनिस्टलाई पराजित गरेर चारतारे झण्डाले जित्नु महत्वपूर्ण कुरा हो।’

जनताको जनवाद एक दलीय शासनको प्रतिबिम्ब भएको त्यसलाई असफल पार्न कांग्रेस सिंगो संगठन वैचारिक रुपमा स्पष्ट हुनुपर्ने र त्यसको आधारमा एकता हुनुपर्नेमा निधिले जोड दिए। ‘गुटबन्दी समाप्त गर्नुपर्छ। नेतृत्वमा जति उठ्छन् ती मध्ये जसको नाममा पनि सहमति गरौं न,’ उनले भने।

निधिले सहमतिमै नेतृत्वमा चयनमा पनि जोड दिए। ‘दाबेदार ७ जना वा १० जनामध्ये एक जनामा सहमत हुन प्रयास त गरौं। कोसिस गरौं सम्भव छ। परिवर्तन र एकता सम्भव छ। सम्भव बनाएर आगामी महाधिवेशनमा जाऔं। परिवर्तन, विश्वास र भरोसायोग्य नेतृत्वको तयारीमा लाग्न मेरो अनुरोध छ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell