PahiloPost

Nov 18, 2024 | ३ मंसिर २०८१

रातो मछिन्द्रनाथको रथ अलपत्र : पुल्चोकलाई ‘रणभूमि’ बनाउँदै निषेधाज्ञामा किन गर्न खोजियो रथयात्रा?



सहयोग रञ्जित

रातो मछिन्द्रनाथको रथ अलपत्र : पुल्चोकलाई ‘रणभूमि’ बनाउँदै निषेधाज्ञामा किन गर्न खोजियो रथयात्रा?

काठमाडौँ: बुधबार साँझ सामाजिक सञ्जालमा एउटा सूचना फैलियो-‘बिहीबार बिहान ९ बजे ललितपुरको पुल्चोकमा भेला हौँ। रातो मछिन्द्रनाथको रथयात्रा गर्न दबाब दिऔँ।’

वैशाखमा नै हुनुपर्ने रातो मछिन्द्रनाथको रथयात्रा कोभिड-१९ महामारी रोकथामका लागि गरिएको लकडाउनले रोकिएको थियो। स्थानीयको दबाबपछि केही समयमै रथ निर्माण भयो। तर, रथारोहण कहिले गर्ने भन्नेमा अन्योल रहयो। गुठी संस्थानले आज भोलि गर्दै हप्तौँसम्म रथारोहण गर्न सकेन। एकैदिन दुई वटा सूचना निकालेर संस्थानले रथारोहण स्थगित गर्दै गयो। 

महिनौँसम्म रथयात्रा गर्न सरोकारवाला निकायले चासो नदेखाएपछि विरोध भयो।

प्रश्न उठ्न थाल्यो, ‘रथ बनाउन दिने। अनि रथारोहण गर्न नदिने?’ 

त्यसपछि साउन १० मछिन्द्रनाथको गते रथारोहण गरियो। अनि ललितपुरबाट प्रतिनिधिसभा सदस्यसहित अन्य सरोकारवाला बसेर अवस्था सामान्य भए भदौबाट रथयात्रा गर्ने निर्णय गरे। तर, उपत्यकामा कोभिड-१९ संक्रमण बढ्दै गएपछि त्यो निर्णय कार्यान्वयन हुन सकेन।

विधि अनुसार रथारोहण भएको चौथो दिनमा रथयात्रा सुरु हुनपर्छ। तर, हप्तौँ बित्दासम्म त्यसो भएन। त्यसैले मछिन्द्रनाथको रथयात्रा गर्नका लागि मुख्य पानेजु र ज्योषितसहितले राष्ट्रपति, प्रधानमन्त्रीसम्म निवेदन दिए।

‘कर्फ्यू लगाएर भए पनि रथयात्रा गरौँ। निश्चित व्यक्ति राखेर तानौँ। प्रहरी, क्रेनको प्रयोग गरौँ। केही दिनमा नै सकाऔँ। जिल्लाको सीमा सिल गरौँ,’ उनीहरुले यस्तै सुझावसहितको पत्र समेत तयार गरे।

तर, सुनुवाइ कतैबाट भएन। 

यसबीच मलमास नजिकियो। मलमास सुरु भएपछि रथयात्रा गर्न नहुने मान्यता छ। त्यसैले पनि अहिले नै रथयात्राबारे निर्णय गर्न दबाब दिने उद्देश्यस्वरुप बिहीबार बिहान युवाहरु पुल्चोकमा जम्मा भएका थिए।

सुरुमा त केही संख्यामा प्लेकार्ड बोकेर युवा रातो मछिन्द्रनाथको रथ भएको अगाडि उभिएका थिए। कोरोना संक्रमणका कारण प्रशासनले निषेधाज्ञा लागू गरेको समयमा रथयात्राको लागि दबाब दिन काठमाडौँ र भक्तपुरबाट समेत युवा पुल्चोक पुगेका थिए। त्यसपछि प्रहरी र युवाबीच केहीबेर भनाभन भयो। प्रहरी पछि हट्यो।

त्यसपछि सुरु भयो रथ तान्ने कुरा। न रथ तान्न विषय सरोकारवालालाई नै थाहा थियो न त रथ तान्ने विधि नै अपनाइएको थियो। पाटन दरबारबाट खड्ग ल्याएपछि मात्रै सुरु हुनुपर्ने रथयात्रा प्रक्रिया नपुगी सुरु भयो। युवाहरुले डोरी ल्याए, धिमे र भुस्या ल्याए र रथ तान्न सुरु गरे। त्यो बेलासम्म प्रहरी मौन रह्यो।

युवाहरुले रथ तानेर लबिम मलसम्म पुर्‍याउन आँट्दा पुलचोक दमकल र अल्का अस्पतालबाट ठूलो संख्यामा प्रहरी ओर्लिए। वाटर क्यानन पुग्यो। प्रहरीले भीडलाई हट्न र निषेधाज्ञाको पालना गर्न भन्यो।

अर्को भागमा भने रथ तानेर बाजा बज्दै थियो। त्यसपछि प्रहरीको वाटर क्यानन अघि बढ्यो। अनि रथ तान्न पुगेका प्रहरीसँग भीड्न पुगे। युवाहरुको निशानमा प्रहरीको वाटर क्याननदेखि बाइकसम्म पर्‍यो। प्रहरी केही बेर ब्याक भयो। उता रथ तानिँदै थियो।

केही समय रोकिएको प्रहरी फेरि अघि बढ्यो। गल्लीमा बसेर दुई राउन्ड अश्रु ग्यास प्रहार भयो। अश्रुग्यास रथ तानिरहेको स्थानसम्म पुग्यो। त्यसपछि भयो भागाभाग। दुबै पक्षबीच ढुंगामुढा भयो। प्रहरीले बल प्रयोग गरेपछि मछिन्द्रनाथको रथ तान्न पुगेका भाग्न बाध्य भए। कोही पाटनतिर लागे त कोही अन्तै।

मछिन्द्रनाथ बीच सडकमा अलपत्र परे। चारै दिशाबाट मछिन्द्रनाथलाई प्रहरीले घेर्‍यो। यता प्रहरीले पुल्चोक खाली गरायो। उता टंगलबाट भने मीननाथको रथयात्रा सुरु भइसकेको थियो।

हाल मछिन्द्रनाथ बीच सडकमा अलपत्र छन्। मीननाथ पनि अघि बढ्न सकेका छैनन्। 

दोषी को?

स्थानीय र पानेजुहरु रातो मछिन्द्रनाथको रथयात्रा हुन नसक्नुमा गुठी संस्थान मुख्य जिम्मेवार भएको तर्क गर्छन्। आजको घटनाको जिम्मेवारी पनि गुठी संस्थानको काम गर्न नक्सदा उत्पन्न भएको बताउँछन् रातो मछिन्द्रनाथको मुख्य पानेजु कपिलमुनि बज्राचार्य। 

‘मछिन्द्रनाथको रथ बनाउन र अन्य पूजाको काम नगरेको भए यो अवस्था नै आउँदैन। तर गुठी संस्थानले काम गर्न सकेन। रथ बनाउन दियो। रथारोहण गर्न सकेन। अनि रथयात्रा गर्न पनि पहल गरेन’, उनले भने,‘जनताहरुलाई विधि विधानभन्दा रथयात्रा हुनुपर्ने कुरासँग सरोकार छ। आज जे भयो। यो त्यसैको उपज हो।’

आफूहरुले सबै कुरालाई सहज ढंगले मान्दै कर्फ्यू गरेर निश्चित व्यक्तिलाई मात्र राखेर केही दिनमा नै रथयात्रा सम्पन्न गराउँ भन्दा सुनुवाइ नभएको गुनासो उनको रह्यो। 

प्रशासनले भने निषेधाज्ञाको समयमा नित्य पूजाबाहेक सबै जात्रा पर्व नमनाउन निर्देशन दिएको छ। बिहीबार पनि निषेधाज्ञा तोड्दै युवाहरु भेला भएपछि बल प्रयोग गरिएको प्रशासनले जनाएको छ। उपत्यकामा कोरोना संक्रमण फैलिरहेको अवस्थामा जात्रा गर्दा थप क्षति हुने प्रशासनको भनाइ छ।

कोरोना कसले फैलायो?

काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। बिहीबारबाट तेस्रो पटक निषेधाज्ञाको समय थपिएको छ। संक्रमणकै अवस्थालाई मध्यनजर गर्दै काठमाडौँमा इन्द्रजात्रा समेत रद्द गरिएको थियो। 

यता पाटनमा भने रथ तान्दा पुल्चोक युद्ध मैदान बन्यो। 

‘कति दिन घरभित्र बस्ने। घरभित्र बस् भन्ने अनि विकल्प नदिने। अनि काठमाडौँ उपत्यका बन्द गर्ने। जात्रा पर्व रोक्ने?’  अभियन्ता यादवलाल कायस्थ प्रश्न गर्छन्, ‘लकडाउन खुकुलो गरेपछि काठमाडौँमा मानिस कहाँबाट आए? संक्रमण कहाँबाट फैलियो। उपत्यकामा नै बसिरहेका हरुले त फैलाएको होइन। बाहिरबाट निर्वाध रुपमा मानिस आउन दिएर संक्रमण फैलिन दिने अनि उपत्यका नै ठप्प गर्ने प्रवृत्तिको विरोधमा हामी आज आएका हौँ।’

कायस्थलाई हाल प्रहरीले नियन्त्रणमा लिएको छ।

मूर्खता भयो!

‘आज जे भयो त्यो गलत भयो। हाम्रो स्वास्थ्य र संस्कृतिको लागि’ फेसबुकमा एक प्रयोगकर्ताले लेखेका छन्। 

धेरैले भने आजको घटना केही युवाहरुको ‘आवेश’को उपज भएको प्रतिक्रिया दिएका छन्। तर यसलाई जातीय रंग दिन नहुने पनि मत राख्छन्। 

पाटनका स्थानीय श्याम शाक्य भन्छन्, ‘जे भयो गलत भयो। हो रथयात्रा भएन यसमा सबै पाटनबासी दुखी छन्। तर यसको अर्थ जबर्जस्ती गर्ने होइन।’

संस्कृति बचाउने नाममा भएको क्रियाकलापको नेवार समुदायबाटै विरोध भएको छ। काठमाडौँमा इन्द्रजात्रा सञ्चालन किन नगरेको भन्नेहरुलाई इन्द्रजात्रा व्यवस्थापन समितिले हालको अवस्थामा रथयात्रा नगर्नु नै उत्तम विकल्प रहेको जवाफ दिएको थियो। 

‘यो त मूर्खता भयो’ शाक्य भन्छन्, ‘महामारीको कुरा छोड्नुस्। यदि रथ ढलेको भए के हुन्थ्यो। कसैको मृत्यु भएको भए कसले दोष हुन्थ्यो?’

हाल परिस्थितिलाई थप उत्तेजित बनाउन नहुने उनको मत छ। 

किन त रथयात्रा?

कोरोना कहरका कारण यसपटक धेरैजसो जात्रा पर्व रद्द भए। घरमा नै बसेर वा नित्य पूजामा पर्व सीमित भए। तर रातो मछिन्द्रनाथको रथयात्रा चाहिँ गर्न पर्ने किन? धेरैले प्रश्न गरेका छन्। 

पानेजुहरुका अनुसार रातो मछिन्द्रनाथको रथयात्रा हालसम्म रोकिएको छैन। देशमा अनिकाल परेको बेलामा ल्याइएको मछिन्द्रनाथको रथयात्रा जति समय लाग] पनि पूरा गर्नुपर्छ। 

यता जात्रा सम्पन्न नै गर्नुपर्छ भन्नेमा तर्कमा एउटा जनश्रुतिले मुख्य भूमिका खेलेको जानकारहरु बताउँछन्। 

रातो मछिन्द्रनाथको जात्रा दशैँसम्म सम्पन्न नभए मछिन्द्राथलाई भक्तपुर लग्ने जनश्रुति रहेको छ। भूकम्पको समयमा र विगत केही महिनादेखि पाटनमा यही जनश्रुतिबारे चर्चा निकै चलेको थियो। 

यद्यपि, यसबारेमा कुनै लिखित इतिहास भने छैन। 

संस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठ ललितपुरमा रातो मछिन्द्रनाथको जात्रा सम्पन्न नभए भक्तपुरमा ल्याउने कुराबारे भन्छन्, ‘यो त्यसलाई जनश्रुति र जनआस्थाको रूपमा लिन सकिन्छ।’

श्रेष्ठले यसलाई जनश्रुति भने पनि नरेन्द्रदेवले भक्तपुरमा रातो मछिन्द्रनाथको मन्दिर बनाएको बताउँछन्।

कहाँ छ मन्दिर?

पाटनमा जात्रा सम्पन्न भएन भने भक्तपुरमा लगेर रातो मछिन्द्रनाथलाई कहाँ राख्ने?

भक्तपुरको तपलाछीमा एउटा मन्दिर छ। जसलाई भक्तपुरको रातो मछिन्द्रनाथको रूपमा लिन्छन् स्थानीय। भक्तपुरबासी त्यहाँ लोकेश्वरको पूजा गर्छन्। स्थानीय भाषामा लोकेश्वरलाई ‘लस्क द्यस्’ भन्ने गरिने बताउँछन् श्रेष्ठ।

‘त्यति बेला राजधानी भक्तपुर थियो। राजा पनि यहीँको। त्यसैले उनले लोकेश्वरलाई ल्याएर यही स्थापना गर्न खोजे। तर पाटनको ज्यापुले बाजी मारेर लोकेश्वरलाई उतै राख्न सफल भए। लोकेश्वरलाई भक्तपुरमा ल्याउन नसकेपछि तपलाछीमा मन्दिर स्थापना गरी लोकेश्वरका रुपमा ‘लस्क द्यस्’ को पूजा गर्न थालिएको उनले बताए।

सन् १९८५ मा प्रकाशित बुद्धिस्ट मोनास्ट्रिज अफ नेपाल नामक किताबमा पनि भक्तपुरको लस्क द्यस् का बारेमा उल्लेख गरिएको छ।

त्यसमा पनि स्थानीय जनश्रुतिलाई आधार मानेर लेखिएको छ, ‘पाटनमा मछिन्द्रनाथ राख्ने थकालीको निर्णय सुनेर राजा नरेन्द्रदेव निकै दुःखी भए। उनको राजधानी भक्तपुर थियो र उनी लोकेश्वरलाई भक्तपुरमै राख्न चाहन्थे। एकदिन राजाको सपनामा लोकेश्वर आए र दुःखी नहुन भने। लोकेश्वरले भक्तपुरमा आफ्नो मूर्ति स्थापना गर्न सक्ने बताए। त्यसपछि लस्क द्यस् रातो मछिन्द्रनाथको रूपमा यहाँ स्थापित भए।’

पाटनमा जात्रा नभए मछिन्द्रनाथलाई भक्तपुरकै अखं बहास् (अखण्डशील महाविहार) मा राखिने कथन समेत रहेको छ। पोटरी स्क्वायर पछाडि रहेको उक्त महाविहार पनि नरेन्द्रदेवकै पालामा निर्माण भएको बताइन्छ।

अखण्डशील महाविहारमा धेरै वर्ष पूजा गरेकी चन्द्रशोभा बज्राचार्य भन्छिन्, ‘पाटनमा जात्रा मनाउन यहाँ फूल लिन आउँथे। यहाँको फूल नलगी जात्रा हुँदैन भन्ने विश्वास थियो। रथयात्रा गर्दा यहाँको नाम लिनुपर्छ भन्ने पनि थियो।’

संस्कृतिविद् ओम धौभडेल भन्छन्, ‘राजा नरेन्द्रदेव भिक्षु बनेपछि उनी अखं वहास् मा बस्न पुगे। त्यसपछि पाटनमा जात्रा गर्नुअघि दरबारबाट नभई राजा बसेको बहास् बाट आज्ञा हुनुपर्ने भयो। त्यसैले जात्रा हुनुअघि अखुम्बहाको नाम लिने गरिन्छ भन्ने कथन छ।’

उनका अनुसार एक पटक पाटनमा जात्रा गर्न सकेन रातो मछिन्द्रनाथलाई लिन बोलाइएको थियो। तर त्यसबेला कसैले आँट गर्न सकेनन्। जान्ने बुझ्ने पनि थिएनन्। विधि पनि थाहा थिएन।

बुद्धिस्ट मोनास्ट्रिजमा पनि उक्त बहा: नरेन्द्रदेवको पालामा स्थापना भएको र उनले लोकेश्वरलाई यहाँ राख्ने सोचेको उल्लेख गरिएको छ। उक्त किताबमा सन् १९७६ मा रथयात्रा हुन नसकेको अवस्थामा पनि रातो मछिन्द्रनाथलाई भक्तपुर ल्याउने कुरा चलेको उल्लेख गरिएको छ।

त्यस बेला भनिएको थियो, ‘निश्चित दिनसम्म जावलाखेलमा रथ पुग्न सकेन भने रातो मछिन्द्रनाथलाई भक्तपुर लग्नुपर्छ। यदि यस्तो भयो भने बुंगमतिका पानेजुहरुले आश्विन महिनासम्म फिर्ता ल्याउन सक्दैनन्। रातो मछिन्द्रनाथलाई नियम अनुसार भक्तपुर लग्नुपर्छ र शरद महिनासम्म त्यहाँ राख्नुपर्छ। त्यसपछि रातो मछिन्द्रनाथलाई पाटनको त: बहामा लगिन्छ।’ भक्तपुर लगेको खण्डमा द्यस् पालाहरू समेत भक्तपुर जानुपर्ने नियम रहेको स्थानीयले बताएका थिए।

जोन के लकले गरेको उक्त अनुसन्धानमा स्थानीयहरूले उक्त रीतिरिवाजबारे केही थाहा भएको र त्यस्तो अवस्थामा रातो मछिन्द्रनाथलाई अखण्डशील महाविहारमा राख्ने भनिएको बताएका थिए। यद्यपि, केहीले भने यो पर्वसँग अखण्डशील महाविहारको सम्बन्ध नरहेको बताएका थिए।

सन् १९८५ मा प्रकाशित उक्त अनुसन्धानात्मक किताबमा उल्लेख भए अनुसार रातो मछिन्द्रनाथलाई करिब सय वर्षअघि भक्तपुर लगिएको स्थानीयले सुनाएका थिए। यद्यपि, यसबारे थप आधार र प्रमाण फेला पार्न सकिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell