जबदेखि म अलि बुझ्ने भएँ तबदेखि दुईवटा अक्षर ‘त’ र ‘ट’ बीच फरक छट्याउन कोसिस गरेँ। सोही अनुरुप यी दुई अक्षरको फरक उच्चारण गर्न पनि नखोजेको होइन। किनकि मलाई थाहा थियो, त्यसो गर्न नसक्दा थुप्रै असहज परिस्थितिको सामना गर्नुपर्छ भन्नेमा पनि प्रष्ट थिएँ।
स्वभाविक रुपमा हाल मैले ती परिस्थितिहरूको सामना गर्नुपरेको छ। ‘त’लाई ‘ट’ भन्दा व्यङ्ग्य र प्रश्न सहनु परेको छ।
सुन्नेलाई सामान्य लाग्छ। जाबो दुई वटा अक्षर त हुन् भन्नेहरू पनि छन्। बुझ्न नचाहनेका लागि मेरो बोली ‘गल्ती’ हो। मैले पटक पटक गर्ने गलत उच्चारणलाई ‘दोष’ नै मान्नेहरू पनि हुन्छन्।
केहीले सिक्नै नचाहेको आरोप समेत लगाउँछन्। तर, एउटै अक्षरलाई उनीहरूले भन्दा फरक उच्चारण गर्नु नै मेरो मातृभाषा नेपाल भाषाको ‘पहिचान’ हो भनेर मैले बुझाउन सकिँन। म जस्तै हजारौं छन् जो पहिचान र आरोपको बीचमा पेलिएका छौं।
***
घर : काठमाडौं, देशको राजधानी।
जात : नेवार।
यो मेरो परिचयको हिस्सा हो। नेवार समुदायभित्र पनि भाषाको विषयलाई लिएर मजस्ता युवाविरुद्ध प्रश्न नउठ्ने कहाँ हो र?
भनिन्छ – नेपालभाषा नै बोल्दैनन्।
मेरो हकमा यो आरोप केही हदमा सही हो। किनकि म मातृभाषामा पोख्त छैन। सिक्दैछु। सिक्दैछु र त बुझ्न बुझाउन सक्षम भइसकेको छैन। मैले यहाँ इंकित गरेको बुझाइ आफू र आफ्नो प्रयोगमा आउने राष्ट्रिय भाषा र मातृभाषा सँग सम्बन्धित छ।
लाग्थ्यो – त र ट को फरक उच्चारण गर्न सकेपछि म राष्ट्रिय भाषा बुझ्न सक्ने हुन्छु। नेपालभाषामा पोख्त भएपछि नेवार समुदाय र संस्कृतिबारे धेरै कुरा जान्ने हुन्छु।
बिहीवार भने मेरो भ्रम टुट्यो। मैले त भाषाभन्दा अगाडि समाज र समुदाय नै बुझ्न सकेको रहेनछु। व्यक्तिको स्वार्थ बुझ्न सकेको रहेनछु।
बुंगद्य: रातो मछिन्द्रनाथको रथ तान्ने निहुँमा पाटनमा जे भयो, ती दृश्य हेरिरहँदा म सही गलत खुट्याउन असमर्थ थिएँ। तर, लागिरह्यो – समुदायभित्रका केही व्यक्तिको स्वार्थ अब पनि बुझ्ने कोसिस नगर्ने हो भने पूरा समुदायलाई नै असर पर्नेवाला छ।
अधिकांशलाई थाहा नै छ - बिहीवार ललितपुरको पुल्चोकमा बिहानै केही युवाहरु भेला भए, ‘लोकेश्वर बुंग्द्य:’ (रातो मछिन्द्रनाथ)को रथ तान्न दवाव दिने उद्देश्यसहित।
वैशाखमा हुनुपर्ने रथयात्रा कोरोना भाइरसको संक्रमणका कारण हुन सकेन। धेरै विकल्प र संवादबीच पनि सरोकारवालाहरूले रथ तान्ने विषयमा चासो देखाएनन्। त्यसैले दवावको वातावरण सिर्जना भयो।
दवाव दिन पुग्नेमा ललितपुरका स्थानीयमात्र थिएनन्। काठमाडौं र भक्तपुरका समेत थिए। केहीबेर प्रहरीसँगको दन्तबजान भयो।
सरकारले हाम्रो संस्कृति मास्न लाग्यो, कोरोनाको नाममा बुंग्द्य:लाई बाटोमा नै अलपत्र छाड्यो भन्ने ‘इमोस्नल स्पिच’ त्यहाँ सुनियो। तिनै ‘अभियन्ता’सँग जोडिए स्थानीय। कोरोनाको डर त उनीहरुलाई पनि थियो होला। तर, कोरोनाभन्दा बढी डर भगवानको रहेछ। डरैले त होला उनीलाई रोकेन। भुस्या र धिमे बोकेर सडकमै उत्रिए। न विधि पूरा गरे न साइत पर्खिए। सरासर रथ घुमाउन थाले।
त्यतिन्जेल प्रहरी मौन थियो। तर, जब रथ पुलचोक आकासे पुल नजिक पुग्न लाग्यो तब सुरक्षाकर्मी ‘एक्सन’मा उत्रिए। सायद ‘माथिको आदेश’ आयो होला। जुन आदेश अलि ढिला आयो भन्ने मेरो ठम्याइ हो।
त्यसपछि प्रहरीले वाटर क्यानन तेर्स्यायो अनि पुल्चोक ‘युद्ध मैदान’ बन्यो। संस्कृतिक शहर धेरैको नजरमा ‘असांस्कृतिक’ प्रमाणित भयो।
***
बुधवार राति नै खबर पाएको थिएँ, बिहीवार केही युवा पुल्चोकमा भेला हुँदैछन् भन्ने। डर थियो, के होला? भन्ने।
डर यथार्थमा बद्लियो।
प्रहरी र युवाहरुबीच झडप भयो। किनभने भीड अनियन्त्रित हुँदा यस्ता घटना थुप्रै पटक घटेका छन्। म साक्षी छु।
बिहीवार भएको घटनाका लागि म आफूलाई पनि जिम्मेवार महसुस गरेको छु र जे भयो त्यसका लागि माफी माग्दछु। एक नेवारको हैसियतले। सँगै लेख्दैछु : ‘यो हिंसालाई जातीय रंग दिने प्रयास हुँदैछ। यसलाई नियन्त्रण गर्नुपर्छ।’
जे भयो त्यो अमानवीय र असभ्य घटना हो। तर, सामाजिक संजालमा घटनालाई नेवार समुदायमाथि आक्रमण गर्ने बाहना बनाउनेहरू पनि धेरै देखेँ।
बुंगद्य:लाई इंगित गर्दै ‘भारतबाट ल्याएको उतै लगे पनि कसैको केही जाने होइन’ भन्दै समेत लेखेको देखेँ। ‘होमा हो’ मिलाउनेहरू पनि थिए। जसलाई एउटा समुदायमाथिको आक्रमण नमानी बस्न सकिँन। यस्ता टिप्पणीहरूले हिजोको घटनालाई गलत भन्ने नेवार समुदायका व्यक्तिलाई एकपटक फेरि सोच्न बाध्य बनाएको छ।
घटना अप्रिय घटेकै हो। मछिन्द्रनाथ र मीननाथको रथ अगाडि जे भयो त्यसबाट स्वयं देवताहरु पनि खुशी भएनन् होला। कोभिड-१९ को त्रासबीच सबैजात्राहरु रोकिँदा यही जात्रामात्रै किन संचालन गर्नुपर्यो भनेर प्रश्न गर्नेहरु पनि छन्।
यो जात्रा गर्नैपर्ने केही बाध्यता भए यसलाई प्रशासन र सरोकारवालाहरुले मिलेर हल गर्नुपर्थ्यो। हुन त यसअघि कर्फ्यू लगाएर जात्रा गर्ने भन्ने विषयमा एक हदसम्म सहमति भइसकेको थियो। तर, प्रशासन र गुठी संस्थानले यसमा कुनै पहल गरेन।
अन्तत: आवेगमा हुल बाँधेर पुगे मानिस, थाले रथ तान्न। निषेधाज्ञा तोडेर। दोषको भारी उनीहरूले नै भोग्नुपर्छ। घटनाबारे जिम्मेवार हुनुपर्छ र जवाफ दिनुपर्छ।
तर, सामाजिक संजालमा प्रश्नहरू आउने क्रम जारी छ:
घटनाको कारक को, के, किन? यसबारे पनि चर्चा हुन आवश्यक छ।
मलाई लाग्छ - पहिलो कारण त कर्मचारीतन्त्र नै हो। त्यो पनि गुठी संस्थान। गुठी संस्थानले नेवार समुदायलाई कति दु:ख दिएको छ त्यसको फेहेररिस्त लगाउन गाह्रो छ। बिहीवारको घटनामा केही ‘उग्र तत्व’ले भिड भड्काए पनि त्यस्तो परिस्थिति सिर्जना हुने अवस्था गुठी संस्थानबाट सुरु भएको पानेजुहरु बताउँछन्। पानेजु भनेको बुंगद्य: का पूजारी।
संस्थानको कारण गुठीको काममा अड्चन आउने त छँदैछ। यसपटक गुठी संस्थानले ‘पत्र नीति’ खेल्यो।
पत्र पठाउने रथ बनाउ भन्ने। रथ बन्न सुरु भएपछि रोक भन्ने। फेरि पत्र पठाउने रथारोहण आज गर्ने भन्ने। फेरि भोलि अर्को पत्र निकाल्ने रथारोहण नगर्ने भन्ने।
हप्तौं बित्यो। यसबाट पाटनवासी र पानेजुहरुले आजित भइसकेका थिए। पाटनवासीमात्र होइन गुठी संस्थानको खारेजी र गुठीको स्वायत्तता नेवार समुदायको बटमलाइन नै हो। त्यसका लागि छुट्टै संघर्ष जारी छ।
बुंगद्य: को बल्लतल्ल रथारोहण भयो। तर रथयात्रा गर्नेबारेमा चासो संस्थानले फेरि लिएन। सरोकारवालाहरुले राष्ट्रपति कहाँसम्म पत्र पठाउँदा समेत संस्थानले चासो लिएन। बुंगद्य: का मूल पानेजु कपिलमुनी बज्राचार्यका अनुसार गुठी संस्थान काम नलाग्ने भइसक्यो। विकल्प दिँदासमेत संस्थानले जात्रा संचालनमा कुनै पहल गरेन। समयमा नै निर्णय लिन नसकेको परिणाम बिहीवार पुल्चोकमा देखियो।
अर्को कारक तत्व - सत्ताको व्यवहार। सत्ता अर्थात् केपी ओली होइन। व्यक्ति वा पार्टी विशेषभन्दा पनि सरकारदेखि टोलको र समुदायको सत्तासम्म। त्यो सत्ता जसले जात्रालाई भीडसँग दाज्यो। देवतालाई केही जातिमा विभक्त बनाउने प्रयास गर्यो। पर्वलाई कोरोना फैलिने माध्यमको रुपमा प्रस्तुत गर्न खोज्यो। त्यो सत्ता जसले निषेधाज्ञा र लकडाउन जारी गर्यो। विकल्पहरू दिएन। मानिसलाई घरभित्र थुनेरै उपत्यकालाई संक्रमणको जोखिम मुक्त बनाउने असफल प्रयास गर्यो।
पछिल्लो तथ्यांक हेर्ने हो भने लकडाउनको अवधिभर भन्दा निषेधाज्ञाको समयमा ४ हजार संक्रमित बढी पहिचान भएका छन्।
यसको कारण के? बिहीवार सडकमा ओर्लिएका जनता?
पक्कै पनि सत्ता आफ्नो कुर्सी बचाउने बार्गेनिङमा अल्झियो। सत्तालाई मोतियाबिन्दु भयो र संक्रमण समुदायस्तरमा नै फैलियो। जनता पनि कम थिएनन्। हिजोको भिडको मात्र कुरा गरेको होइन। समग्रमा हामी सबै जो कोरोनालाई गन्दैनौं। निर्देशन मान्दैनौं।
सरकार अझै पनि संक्रमण समुदायस्तरमा फैलिएको मान्न तयार छैन। निषेधाज्ञाको विकल्प सोच्न तयार छैन।
तर, यसको अर्थ सरकारको विरोध गर्दै सडकमा ओर्लिनु उचित हो त?
‘ओर्लिएपनि ‘इनफ इज इनफ’का अभियान्ता जसरी योजनासहित आउनु पर्यो, सबैको समर्थन पाउने गरी। माइतीघरमा प्रधानमन्त्रीको समर्थनमा ओर्लिनुपर्छ, देश बनाउँ भन्दै। प्रहरीले केही नगर्ने गरी! एउटा रथ तान्न ओर्लिने हो त? संस्कार नै नभएकोले के संस्कृति जोगाउलान्?’ यस्ता थुप्रै धारणा पढियो।
मैले पनि यस्ता थुप्रै प्रश्नहरूको सामना गर्नुपर्यो।
हो, बिहीवार केही युवाहरुले संस्कार बिर्सिए। त्यो गलत नै थियो। तर, यसको दोष सिङ्गो जातीय समुदायमाथि थुपार्नु कति सभ्य अनि संस्कारी तरिका हो?
आफूहरु सामाजिक देखिन कुनै जात विशेषको ‘हुर्मत’ लिनु त घटनालाई साम्प्रदायिक रुप दिने प्रयास गर्नु सरह भएन र?
केही व्यक्तिको गल्तीको सजाय ‘नेपाल मण्डल’ सभ्यतालाई दिन मिल्दैन।
यहाँ हिजो सबैले भिडको गल्ती देखे। सत्ताको दोष देखेन। वास्तवमा भन्नु पर्दा बिहीवार जनता र प्रहरी भिडाउने काम भयो। भेला भएको करिव दुई घण्टासम्म न प्रशासनले भिड हटाउन अग्रसरता देखायो न त स्थानीय सरकारले नै। बस् ‘माथिको आदेश’ पर्खियो।
परिस्थितिलाई साम्य बनाउन सत्ताले कुनै पनि प्रयास गरेन। न संवाद मार्फत् न अरु केही विकल्प दिएर। समन्वयकारी भूमिका खेल्नु पर्ने महानगरपालिका पनि मौन रह्यो, खोकनामा जस्तै, जहाँ खेतमा काम गर्न पुगेकाहरुमाथि प्रहरीको लाठी बर्सियो। त्यसबेला पनि सबै मौन बसे। सामाजिक संजालमा अहिले संस्कार र संस्कृति सिकाउन ‘हुर्मत’ लिनेहरु पनि मौन नै थिए त्यो बेला।
तर, अहिले जे भयो हुनुहुन्नथ्यो। जे भयो त्यसलाई मात्र हेरेर पूरै समुदायमाथि अहिले आक्रमणको प्रयास हुन उक्त समुदायलाई पहिला देखि नै हेरिने नजरको उपज हो। सामाजिक संजालमा एउटा जातिमाथि विभिन्न टिकाटिपप्पी भइरहेका छन्। त्यो गलत हो भन्न खोजेको हुँ।
यही घटनालाई कसैले समग्र नेवार समुदायसँग तुलना गर्छ भने अर्को गल्ती हो। तर त्यो ‘गल्ती’ सच्याउने बाटो तर्फ जानुको सट्टा यहाँ जसरी ‘जातीय’ दोष दिने क्रम फैलिएको छ त्यो बडो खतरनाक देखिएको छ।