PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

कोरोना कहरका सात महिनाः सरकारले अझै भेटेन प्रभावकारी रणनीति, 'भरोसा लकडाउन र निषेधाज्ञा'



प्रकाश भण्डारी

कोरोना कहरका सात महिनाः सरकारले अझै भेटेन प्रभावकारी रणनीति, 'भरोसा लकडाउन र निषेधाज्ञा'

काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल फागुन १८ मा आफ्नो दलबलसहित मन्त्रालयको हलमा उपस्थित भए। उद्देश्य थियो -सय दिनका कामको प्रचार गर्ने।

खचाखच भरिएका पत्रकारहरुको ध्यान उनले के गरे भन्दा पनि अब के गर्लान् भन्नेमा थियो। विश्वभर कोरोना महामारी फैलिरहँदा नेपाल सुरुवाती चरणमा थियो।

प्रगति विवरण सुनाउँदै गर्दा उनलाई कोरोनाबारे बोल्नै पर्ने थियो। किनकी नेपालमा एक जनामा माघमै संक्रमण देखिएको थिए। कामको प्रचारमा समय खर्चिएका ढकालले भाषणको अन्तिमतिर यस्तो अभिव्यक्ति दिए, 'भारत चीनको तयारीले नेपालमा त्यति जोखिम नहोल'। अभिव्यक्तिले नै इंगित गरेको थियो महामारी रोकथामबारे सरकारको कुनै योजना छैन। ढकालले यस्तो अभिव्यक्ति दिइरहँदा विश्वका धेरै देशले लकडाउन गरिसकेका थिए।

चीनमा संक्रमित बढिरहँदा भारत कसरी भाइरस रोक्ने भन्दै लागिपरेको थियो। धेरैको आशा थियो -नेपालमा पनि अब लकडाउनको विकल्प छैन।

चैत ११, लकडाउनका लागि मिति जुर्‍यो।  चैत १० गते अघि दिउँसो मन्त्रालयले पत्रकार सम्मेलन गरेर नेपालमा एक जना महिलामा संक्रमण देखिएको जानकारी दिएको थियो। लकडाउनपछिको ५ महिना र संक्रमण भित्रिएको ७ महिनासम्म पनि सरकार कोरोना नियन्त्रणमा अलमल परिरहेको छ। प्रभावकारी योजना छैन भने निषेधाज्ञा र लकडाउनमात्रै सरकारको नजरमा कोरोना रोक्ने रणनीति बनेको छ। कोभिड १९ संक्रमणले दिनदिनै चुनौती थपिरहेको छ।

'सिक्स टि'नै फेल

नयाँ वर्षको दिन स्वास्थ्यमन्त्री ढकालले 'सिक्स टी' ले कोरोना नियन्त्रण हुने दाबी गरेका थिए। ट्राभल रेस्ट्रिक्सन, टेस्टिङ, ट्रेसिङ, ट्रयाकिङ, ट्रिटमेन्ट र टुगेदरको फर्मुलाको रणनीति अनुसार सरकारले काम गर्ने उनको दाबी थियो।

कति सफल भयो 'टि' फर्मुला'?

लकडाउन घोषणा भएदेखि नै समस्या सिर्जना भयो -विदेश र काठमाडौँलगायतका ठाउँमा रहेकाहरुलाई घर कसरी जाने? सुरुवातमा जो जहाँ छ त्यहीँ बस्नुपर्ने अडान राखेको सरकारले अन्तत: सडकमा अलपत्र परेका र सिमानामा बिचल्ली भएका नेपालीलाई प्रहरीको रोहबरमा गाउँसम्म पुर्‍याउनुपर्‍यो। सरकारले शर्त अघि सार्‍यो अनिवार्य क्वारेन्टाइन। भारतबाट आएर गाउँका क्वारेन्टाइन बसेकाहरुमा संक्रमण देखिन थालेपछि संक्रमितको संख्या बढ्दै गयो। त्योभन्दा खतरा प्रशासनको आँखा छल्दै नेपाल आउनेले संक्रमणको चुनौती बढाए।

लकडाउनमा संक्रमण रोक्न तयारी नगरी बसेको सरकारका लागि पहिलो 'टी' अर्थात् ट्राभल रेष्ट्रिक्सन फेल भयो। लकडाउनकै बेला पनि आउजाउ रोकिएन।

सरकारको अर्को कोरोना नियन्त्रण गर्ने अर्को टी अर्थात् टेस्टिङ फेल भएको हालसम्मको परीक्षणको संख्याले देखाउँछ। लकडाउन गरे पनि परीक्षण नबढाएको भन्दै आक्रोश बढ्दै गएपछि काठमाडौँलगायतका शहरमा युवाहरुले प्रदर्शन नै गर्नुपर्‍यो।

पीसीआर परीक्षण बढाउनु पर्ने लगातारको दबाबपछि भने सरकारले हाल दैनिक सरदर १२ हजारको दरमा परीक्षण गरिरहेको छ। भदौ १९ गते १३ हजार ६३८ जनाको पीसीआर परीक्षण भयो। यो नै हालसम्मको सर्वाधिक परीक्षण हो। परीक्षणमा सरकारलाई सुरुमै अलमल भयो। र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) कोभिड-१९ परीक्षणमा कामै नभएको भन्ने विज्ञहरुको सल्लाह भए पनि सरकारको जोड यसमै रह्यो। अन्तत: सरकार आरडीटी परीक्षणबाट पछि हट्यो।

तर, विज्ञहरुले भने समुदायमै संक्रमण फैलिसकेकाले १० हजार परीक्षण पर्याप्त नभएको बताउँदै आएका छन्।

'ट्रेसिङ राम्रो भए फैलिँदैन थियो कोरोना'

लकडाउन अवधिभर स्थानीय संक्रमण देखिएन धेरै ठाउँमा। सुरुवाती चरणमा भारतबाट आएका अधिकांश र अरु देशबाट आएका केहीलाई संक्रमण देखियो। भारतबाट आएकामा संक्रमण देखिन थालेपछि भारतसँग सीमा जोडिएका जिल्लामा संक्रमित संख्या बढे। भारतबाट धेरै मानिस आएको सुदूरपश्चिम र भारतसँग सबै जिल्ला जोडिएको २ नम्बर प्रदेश रेड जोनमा फैलिएको थियो। भारतबाट आएकाहरुको मात्रै राम्रोसँग ट्रेसिङ गरेको भए नेपालमा संक्रमण अहिलेको अवस्थामा नपुग्ने माइक्रोबायोलोजिष्ट डा.प्रकाश घिमिरेको धारणा छ। 'सर्भिलियन्स संक्रमण रोक्न यति महत्वपूर्ण थियो तर नेपालमा यसबारे सरकारको ध्यान गएन। संक्रमितको ट्रेसिङ राम्ररी गरेको भए लकडाउनपछि संक्रमण केही घटनुपर्थ्यो,' उनले भने।

महामारी रोकथामका लागि सरकारले बनाएको अर्को रणनीति हो- ट्र्याकिङ। संक्रमित व्यक्ति कहाँ छन् भन्ने ट्र्याकिङ गर्ने काममा पनि सरकालाई अलमल भयो। सुरुमा विदेशबाट आएका व्यक्तिमा मात्रै संक्रमण भएको भए पनि ट्राभल हिस्ट्री नभएका व्यक्तिलाई पनि संक्रमण देखिन थालेको छ। सरकारले समयमै संक्रमितको ट्र्याकिङ गरेको भए अहिले स्थानीय संक्रमणको जोखिम हुने सम्भावना कम थियो।

'ट्रिट्मेन्ट' अर्थात् उपचार गर्ने सरकारको रणनीति पनि सफल भइरहेको छैन। सरकारले अस्पतालहरुमा बिरामीका लागि बेड अभाव हुनथालेपछि अहिले सामान्य अवस्थाका संक्रमितलाई घरमै बस्न निर्देशन दिएको छ। होम आइसोलेसनमा बसेकामध्ये कतिपयको ज्यान गएको छ भने क्वारेन्टाइनमा बसेकाहरुलाई सिकिस्त बिरामी हुँदा एम्बुलेन्स नआएर मरेका घटना पनि सार्वजनिक भएका थिए।

सरकारको अर्को तथा अन्तिम रणनीति हो -टुगेदर अर्थात् सँगसँगै। कोभिडसँग लड्न हातमा हात मिलाएर जाने रणनीति अहिलेसम्म पनि सफल भएको छैन। सुरुवातमा कोरोनाविरुद्ध लड्न सरकारलाई सबै पार्टीले साथ दिएको अनियमितताको प्रश्न उठ्न थालेपछि सत्तारुढ दल नेकपा र विपक्षी दलले नै सरकारको नियतमाथि प्रश्न उठाएका थिए।

'ह्वात्तै लकडाउन र निषेधाज्ञा खोल्नु हुन्न'

विज्ञहरुका अनुसार लकडाउन र निषेधाज्ञापछि संक्रमितको संख्यामा कमी आएमात्रै यो रणनीति सफल भएको मानिन्छ। तर नेपलको हकमा भने ठीक उल्टो छ। लकडाउन र निषेधाज्ञाकै बेला नेपालमा संक्रमण दर उच्च रह्यो। सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन निषेधाज्ञाका बेला संक्रमण घट्नु पर्नेमा बढ्नाले भित्रभित्रै संक्रमण तीब्र गतिमा बढेको बताउँछन्। '२ हप्तासम्ममा निषेधाज्ञा या लकडाउनको नतिजा थाहा हुन्छ। संक्रमण अली कम हुन्छ। तर अहिले कम भएको देखिएन। यसले के देखाउँछ भने निषेधाज्ञाले संक्रमण अब घटाउन सकिदैन,' उनले भने।

उनले सरकारले लकडाउन र निषेधाज्ञा गर्ने गरेको भए पनि त्यसपछिको न्यु नर्मलमा कसरी संक्रमण रोक्ने भन्नेबारे योजना नबनाएको बताए।

कस्तो हुनुपर्थ्यो सरकारको योजना?

विज्ञहरुका अनुसार सरकारले संक्रमण रोक्न गरिरहेको पहल जनस्वास्थ्यको मापदण्ड अनुसार भइरहेको छैन। सुरुदेखि नै जनस्वास्थ्यका मापदण्ड पालना गराउनमा सरकार चुक्यो।

डा. पुन सरकारले लकडाउनमा मापदण्ड पालन गराउँदा के कस्ता जनस्वास्थ्यका नियम पालना भएन भनेर समीक्षा नै नगरेको दाबी गर्छन्।

यस्तै विदेशबाट आएकाको राम्रो निगरानी गर्न नसकेकाले सरकारी पहल असफल भएको डा. घिमिरेको धारणा छ।

'हरेकलाई आफ्नो ज्वरो आफैँ जाँच्नुस् भनेर त भन्न सक्थ्यो नि सरकारले। यत्ति गरेको भए पनि केही हदमसम्म को संक्रमित हो भन्ने थाहा हुने थियो। तर यहाँ त अस्पतालमै पनि मेरो परीक्षण गरिदेउ भन्दा जाँच्न कठिन छ,' घिमिरेले भने।

संक्रमित भइसकेकालाई सरकारले एउटै व्यवहार गर्दा महामारी झनै नियन्त्रण बाहिर जाने घिमिरेको तर्क छ। बालबालिका, दीर्घरोगी र जेष्ठ नागरिकका लागि छुट्टै मापदण्ड बनाएर उपचार गरेमात्रै मृत्युदर कम गर्न सकिने उनको भनाइ छ।

'मृत्युदर अब बढिरहन्छ। यो कसरी घटाउने योजना नै छैन? संक्रमित बढे भनेर त्यति चिन्ता गर्नु पर्दैन तर मृत्युदर बढ्दा एकदमै चिन्ता हुन्छ। यसले राम्रो नतिजा दिँदैन,'उनले भने।

लकडाउन मात्रैले रोकिँदैन संक्रमण

जनस्वास्थ्य विज्ञहरु लकडाउन तथा निषेधाज्ञा केही समयका लागि समुदायमा संक्रमण फैलिन नदिन उत्तम विकल्प भएको बताउँछन्। तर उनीहरु सधैंभर लकडाउन गरेर संक्रमण रोक्न नसकिनेमा एकमत छन्।

डा. घिमिरे २१ दिनको लकडाउनपछि संक्रमणबाट बच्ने अरु उपाय अपनाएमात्रै संक्रमण कम हुने तर्क गर्छन्। तर महिनौसम्मको लकडाउन र निषेधाज्ञाको अर्थ नभएको उनको तर्क छ।

डा. पुन पनि संक्रमण रोक्न अब मान्छे आफैँ सचेत नभएमा नरोकिने बताउछन्।

'सचेत नभएको पनि होइन। अहिले मानिसलाई धेरै जानकारी छ। तर फेरि व्यवहारमा खासै प्रयोग भएको देखिँदैन। जबसम्म व्यवहारमै जनस्वास्थ्यका मापदण्ड पालना हुँदैन तबसम्म संक्रमणमा कमी आउँदैन,'उनले भने।

सरकारले साउन ७ मा लकडाउन खोलेकोमा फेरि काठमाडौँ उपत्यकालगायतका ठाउँमा संक्रमण बढ्न थालेपछि निषेधाज्ञा जारी गरेको छ। उपत्यकामा भदौ ३ गते राति देखि जारी निषेधाज्ञा तेस्रोपटक थप गरेर भदौ २४ सम्म पुर्‍याइएको छ। त्यसपछि निषेधाज्ञा के गर्ने? अब कसरी अगाडि बढ्ने भन्ने बारेमा भने सरकारले योजना बनाएको देखिँदैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell