- राजु आचार्य -
हृदय छुने तस्बिर
यही भाद्र ६ गते सर्पको एउटा हृदय विदारक तस्बिर फेसबुकमा राखियो। शरीरभरि घाउ। माथिल्लो घाउबाट हड्डी समेत बाहिरिएको प्रस्ट देखिएको थियो। शरीरका काँचुली ठाउँ ठाउँमा च्यात्तिएका। गुँड कुरेर बस्ने बेलामा सो घटना मानिसले गराएका थिए। सर्पले आफ्नो गुँड र गुँडमा रहेका फुलहरू जोगाउन गरेको सङ्घर्ष उसको शरीरको हालबाट प्रस्ट देखिन्थ्यो। नजिकै गुँडमा रहेको फुल पनि मानिसले पूर्ण रूपमा फुटालेका थिए। ढुङ्गाले गुँडलाई क्षतविक्षत पारिएको थियो।
त्यही घम्साघम्सीमा सर्प नराम्ररी घाइते भयो। मानिसले जिते, सर्पले हार्यो। सर्प पनि चानेचुने थिएन, सर्पको राजा पो थियो। तर, के गरोस्, ज्याद्रा मानिससँग सके पो! सबै मानिसहरू पापी पनि काहाँ हुन्छन् र? घाइते सर्पलाई प्रकृतिमा रुचि राख्नेहरूले देखेपछि उद्धारका लागि फोन गरे। त्यो सर्पलाई ‘सर्प संरक्षण समाज नेपाल’ का स्वयम सेवकहरूले उद्धार गरी पचभैया स्थित ‘उद्धार केन्द्र’मा बुझाए। सो केन्द्रले पनि गर्न सक्ने केही थिएन।
चितवन र काठमाडौँ बाहेक नेपालमा वन्यजन्तुको उपचार राम भरोसेमै चल्दै आएको छ। सर्प समेत सबै वन्यजन्तु बाँच्यो भने, उद्धार गर्यो भनेर सामाजिक सञ्जालमा हिरो हुने, मर्यो भने कसैलाई खबरै नगर्ने परिपाटी आजभोलि सामान्य हुन थालेको छ। उद्धार गरिएको त्यो सर्प मर्यो। गहिरो घाउमा लगाइएको बेटाडिनले निको पारोस् कसरी?
मरेको सर्प काली नाग थियो। यसलाई राज गोमन भनेर पनि चिनिन्छ। अङ्ग्रेजीमा किङ्ग कोब्रा। सर्पको राजा। यही सर्पको तस्बिर अनुसन्धानकर्मी तथा संरक्षणकर्मी ऋषि बरालले आफ्नो फेसबुकमा राखेपछि त्यो भाइरल बन्यो। दु:खका प्रतिक्रियाहरू आइरहेका थिएl उनी आफैँ पनि भावुक बनेर सामाजिक सञ्जालमा पोष्टाएका थिए फोटो।
सर्पका विज्ञ तथा प्राध्यापक करनबहादुर शाहले प्रतिक्रिया लेखे- ‘असाध्यै लाजमर्दो, नाग देवताले अपराधीलाई सजाय दिउन्।’
जीवनमा पहिलो पटक सर्प बचाउन हिँड्दा ‘किङ्ग कोब्रा’कै उद्धार गरेका पोखरा ह्याग्जाका केशव सापकोटाले लेखे - ‘रानीलाई श्रद्धान्जली।’
त्यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका बाल रोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलाले लेखे - ‘कृपया सर्प नमारौँ... प्रत्येक जिवित प्राणीलाई संरक्षण गर्नैपर्छ।’
वन्यजन्तुमा रुचि राख्ने विनय घिमिरेले आक्रोश यसरी पोखे - ‘जनावरभन्दा बढी हिंस्रक र अराजक भएर लाज पचाउने काम नगर। मान्छे हुँ भन्ने दम्भ होला तर अलि लाज पनि मान्ने गर।’
पोथी राज गोमन मरेपछि सधैँ झैँ प्रश्नहरू उठ्यो - ‘मानिसले सर्प देखिने बित्तिकै मार्ने हो भने, यसको संरक्षण कसरी हुन् सक्छ?
उद्धार गरेर प्राकृतिक वासस्थानमा छोडिएकोराज गोमन
यो कस्तो सर्प हो ?
धेरै सर्पले फुल पारेर छोडी दिन्छन्। फुलबाट बच्चाहरू निस्किएर आफै प्रकृतिमा रहन थाल्छन्। तर, राज गोमन गुँडमा फुल पार्छ र २ देखि ३ महिनासम्म कुरेर बस्छ। फुलको संरक्षण गर्नका लागि वरिपरिको सुकेका झार तथा पातहरू जम्मा गरेर गुँड बनाउने गर्छ। गुँड बनाउने सर्प यो मात्र हो।
संरक्षणकर्मी ऋषि बराल भन्छन्- ‘यो राम्रो इन्जिनियर पनि हो। यसले गुँड दुई तहमा तयार गरेको हुन्छ। बाहिर हल्का पातहरू हुन्छ भने भित्रपट्टि पानी पनि छिर्न नसक्ने गरी बनाइएको हुन्छ।’
जमिनदेखि केही अग्लो हुनेगरी यसले गुँड बनाएको हुन्छ।
यो सर्प ठूलो, लामो (१९.२ फिटसम्मको) हुन्छ र विषालु पनि। यसले मानिसलाई डस्यो र विष मानिसको शरीरमा प्रवेश गर्यो भने बाच्ने सम्भावना हुँदैन। तर संरक्षणकर्मी ऋषि बराल भन्छन्, ‘राजा भनेको राजा नै हो, गुँडमा बसेका बेला यसको सान गज्जबको हुन्छ। अन्तिम अवस्था नपरेसम्म मानिसलाई आक्रमण नै गर्दैन।’
प्राध्यापक शाहलाई पनि यो सर्पलाई गुँड वा अन्य ठाउँमा देख्दा तर्साउने खालको लाग्छ। 'भयानक जस्तो लाग्छ। हिँड्न पनि हतार नगर्ने। च्यालेन्ज गरेजस्तो लाग्छ। मलाई भने यो सर्प असाध्यै मन पर्छ,' शाहले भने, ‘तर यो जस्तो भलाद्मी सर्प मैले देखेको छैन। तपाईँले कुल्चनु भयो, हान्नु भयो, गुँड भत्काउनु भयोभने मात्र हो, नत्र यसले सितिमिति आक्रमण नै गर्दैन। अहिलेसम्म नेपालमा १ जनामात्र यो सर्पको टोकाइबाट मरेको अभिलेख छ। त्यो पनि सर्प उद्धार गर्दा बढी आत्मविश्वासी भएर। र, त्यसको बारेमा जानकारी कम भएर।’ उनका अनुसार त्यो सर्प राज गोमन हो भन्ने पहिचान नगरी उसलाई पीडा हुने गरी समाएर खेलाउँदा सो घटना भएको थियो।
चिडियाखानामा १४ वर्षसम्म बाँचेको यो सर्प प्राकृतिक वासस्थानमा कति अवधि बाँच्छ भन्ने अनुमानको विषय मात्र बनेको छ। नेपालमा धेरै स्थानहरूमा यिनीहरूको अभिलेख गरिएको छ। पछिल्ला समयमा यसको उपस्थिति ३८ जिल्लामा देखिएको छ। मध्ये पहाडी क्षेत्रमा गुँडहरू प्रशस्त भेटिएका छन्। समुन्द्र सतहदेखि २५६६ मिटरसम्मको उचाइ यिनको वासस्थान हो।
नेपालमा यिनीहरूले १४ देखि ५५ वटा सम्म फुल परेको भेटिएको छ। विगत १५ वर्षमा कास्की, लमजुङ, स्याङ्जा र पर्वतमा गरी करिब ६६ पटक राज गोमन अभिलेख गरिएका छन्। नेपालमा पहिलो पटक सन् १९७४ मा अभिलेख गरिएको थियो।
राजगोमनको गुँड (पहेलो घेराभित्र )र गाउँलेहरुले चढाएको दूध र प्रसाद
यिनको चुनौती कति?
मानिसले देख्ने बित्तिकै मार्नु सबैभन्दा ठूलो चुनौती हो अहिले। नेपाली समाजमा नागलाई पूजा गर्ने भए पनि, नाग र अन्य सर्पलाई छुट्याउन नसक्दा यिनीहरू मरिन्छन्।
यो सर्पले सर्प खान रुचाउँछ। प्रकृतिमा रहेका अन्य बिषालु सर्पहरू खाएर मानिसलाई ठूलो गुन लगाएका हुन्छन् यिनले। तर यो फाइदाको बारेमा जानकारी नभएका मानिसहरू यिनलाई देख्ने बित्तिकै डराएर मार्न अग्रसर हुन्छन्। संसारभरी तीन जना मानिसमध्ये एक जना मानिस सर्प देखेर डराउने गर्छन्।
प्राध्यापक शाह भन्छन्, ‘एउटा राज गोमनले अर्को राज गोमन मारेको पनि भेटेका छौँ। यसले थुप्रै फुलहरू पार्ने भए पनि यिनको बाच्ने दर निकै कम हुन्छ। नत्र जताततै यही सर्पमात्र हुनुपर्ने थियो।'
यस सर्पलाई धेरैले सुरुमा अजिङ्गर भन्ठान्छन्। घरपालुवा कुखुरा, खरायो, बाख्राको पाठापाठी, गाइको बाच्छा खाने यही हो भन्दै मानिसहरू देख्ने बित्तिकै आक्रमण गर्न थालिहाल्छन्। यिनको उपस्थिति र गुँडको बारेमा जानकारी सामाजिक सञ्जालबाट बाहिर आउनु पनि यिनको लागि थप चुनौती बनेको छ। बासस्थानको खण्डीकरण र आगलागीजस्ता कारणले यिनलाई नियमित असर गर्दै आएको छ।
संरक्षणमा अब के गर्ने?
गत वर्ष पाल्पा जिल्लामा राज गोमन जोगाउन हिमाली प्रकृतिका कुलबहादुर थापाले संरक्षणका कार्यक्रम नै सञ्चालन गरेका थिए। संरक्षण सामग्री वितरण, छलफल, विद्यालयहरूमा चेतना शिविर, रेडियो कार्यक्रम, उद्धार टोली गठन आदि गरिएको थियो पाल्पामा।
कास्की जिल्ला र आसपास ‘अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना’ र ‘सर्प संरक्षण समाज नेपाल’ले गुँड वरिपरि जालीले घेरेर मानिससँगको प्रत्यक्ष भेटलाई न्यून गर्ने प्रयास गरेका छन्। वरपरका सर्वसाधारणलाई जम्मा गरेर यिनको फाइदाको बारेमा जागरूक बनाउने प्रयास समेत गरिएको छ।
विज्ञहरूले सञ्चार माध्यमको प्रयोग गरी यिनको महत्त्व र संरक्षण गर्नुपर्ने कारणबारे बताइरहेका छन्। पछिल्लो समयमा उद्धार गर्ने समूह र व्यक्तिहरू बढ्दै जानुले पनि यिनको संरक्षणमा योगदान पुगेको छ। तर, यिनको संरक्षणसँगै चटक देखाउनेहरूको पनि बिगबिगी बढेको छ। युट्युबका लागि बनाइने भिडियोको अस्वस्थ प्रतिस्पर्धाले पनि सर्पलाई सकस बनाएको छ।
यिनको फाइदाको बारेमा धेरैभन्दा धेरै स्थानीयहरूलाई जानकारी गराउँदै, घर वरपर आइपुगेका सर्पको उद्धार गर्न सके यिनको संरक्षणमा टेवा पुग्नसक्छ। सबै उद्धार केन्द्रमा घाइते सर्प राख्ने ठाउँ र उपचार कक्ष बनाउन सके राज गोमनमात्र होइन, अरू सर्प पनि जोगिने थिए।
नाग पञ्चमीमा पुजा गर्दै पोखराका स्थानीय
अन्त्यमा,
यदि अन्य बिषालु सर्पबाट मानिस जोगिने हो भने, राज गोमनको संरक्षणको विकल्प छैन। सर्प देख्नेबित्तिकै मार्ने प्रवृत्ति कम गर्न संरक्षण शिविर सञ्चालन गर्नुपर्छ।
यो सर्पको उपस्थितिले मात्रै पनि हाम्रो वातावरण कति स्वस्थ छ भनेर अनुमान गर्न सक्छौँ। यिनको बसाइसराइ, बानी ब्यहोरा, फुलबाट बच्चा निस्कनु १०/१५ दिन अघि किन गुँड छोड्छन् आदिका बारेमा अनुसन्धान हुनु आवश्यक छ। जबसम्म स्थानीय जागरुक हुँदैनन्, यिनको संरक्षण बिज्ञहरुले मात्र गर्न सक्दैनन्।