PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कतार एयरले पीसीआर रिपोर्ट बिना ल्याएका ६ मध्ये एक जनामा देखियो कोभिड-१९ संक्रमण



विधुर ढकाल

कतार एयरले पीसीआर रिपोर्ट बिना ल्याएका ६ मध्ये एक जनामा देखियो कोभिड-१९ संक्रमण
फाइल फोटो

काठमाडौं : सरकारको निर्देशन विपरित कतार एयरवेजले नेपाल ल्याएका यात्रुहरु मध्ये एक जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

कतार एयरवेजबाट भदौ २२ गते बिहान नेपाल आइपुगेका एक नेपालीलाई कोभिड-१९ को संक्रमण पुष्टि भएको नेपाली सेनाका प्रवक्ता बिर्गेडियर जनलर सन्तोष बल्लभ पौड्यालले जानकारी दिए। संक्रमण पुष्टि भएका यात्रुलाई आइसोलेट गरेर राखिएको उनले जानकारी दिए।

नेपाल सरकारले नियमित अन्तर्राष्ट्रिय उडान खुला गरेसँगै कतार एयरवेजले गत सोमबार २२७ यात्रु लिएर नेपाल आएको थियो। तर, सरकारको निर्देशन विपरित उक्त विमानमा रहेका नेपाली यात्रु मध्ये ६ यात्रु आरटी-पीसीआर परीक्षण नगरि आएका थिए।

सम्बन्धित समाचार: कतार एयरको लापरवाही: पीसीआर रिपोर्ट नभएका ६ यात्रु काठमाडौं ओर्लिए, २२७ यात्रुलाई होटल क्वारेन्टाइन लगियो

संस्कृति पर्यटन तथा नगरिक उड्डयन मन्त्रालयले हवाई उडान सञ्चालनका लागि हवाई सेवा कम्पनीले पालना गर्नुपर्ने १२ शर्तहरु राखेको छ।

जसमध्ये पहिलो शर्त नै उडान हुनु ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट भएका यात्रुहरु मात्र ल्याउन पाइने व्यवस्था छ। वायु सेवा कम्पनीले पीसीआर नेगेटिभ रिपोर्ट भएको सुनिश्चितता गरी मात्र बोर्डिङ पास उपलब्ध गराउनुपर्ने थियो।

तर, सोमवार कतारबाट आएको कतार एयरवेजले कोभिड-१९ को पीसीआर परीक्षण नगरेका यात्रुलाई काठमाडौंमा ओरालेको थियो।

सरकारले नियमित उडान सञ्चालनका लागि अगाडि राखेको शर्तमा भनिएको छ- 'नियमित उडानमार्फत् आउने सबै यात्रुले जहाज चढ्नुभन्दा ७२ घण्टाभित्रको आरटी-पीसीआर नेगेटिभ भएको प्रमाण र कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको वेबसाइटमा अनलाइन फर्म भरेर सोको बारकोड वा प्रिन्टकपी साथमा लिइ आउनुपर्ने छ। कुनै कारणवश त्यस्तो फर्म भर्न छुट भएको रहेछ भने सम्बन्धी वायु सेवाले अनबोर्ड गर्दाकै अवस्थामा त्यस्तो फारम यात्रुलाई उपलब्ध गराउनुपर्ने छ।'

पीसीआर नेगेटिभ रिपोर्ट भए पनि उनीहरुले नेपाल आउनु अगाडि नै सीसीएमसीको अनलाइनमार्फत नेपाल फर्किन लागेको भन्दै रिपोर्टसहितको आवेदन भरेर 'हेल्थ कोड' लिनुपर्ने छ। अथवा आवेदन फर्म भरेर अवतरण गरेसँगै अधिकारीहरुलाई बुझाउनुपर्ने छ।

आरटी-पीसीआर नेगेटिभ रिपोर्ट सहित आएका यात्रुलाई सरकारले १४ दिन होम क्वारेन्टाइनमा पठाउँदै आएको छ। कतार एयरवेजले ल्याएर आएका ६ यात्रुसँग रिपोर्ट नभएपछि विमानबाट आएका सबै यात्रुलाई होटल क्वारेन्टाइनमा राखिएको थियो।

सरकारले जारी गरेको नियम अनुसार एउटै उडानमा आरटी-पीसीआर टेस्ट गरेका र नगरेका यात्रुहरु मिसाएर ल्याए उक्त कम्पनीले नै आफ्नो खर्चमा उडानबाट आएका सबै यात्रुलाई सात दिन होटल क्वारेन्टाइनमा अनिवार्य राख्नुपर्ने प्रावधान छ।

सोही अनुरुप सबै यात्रुलाई होटल क्वारेन्टाइनमा राखिएको थियो।

विमानमा रहेका यात्रुलाई नेपाली सेनाले होटल क्वारेन्टाइनमा व्यवस्थापन गरेको थियो। ‘होटल क्वारेन्टाइनमा राखिएका मध्ये १ जनामा संक्रमण पुष्टि भएको छ। हामीले उहाँलाई आइसोलेट गरेका छौं। उहाँसँगै एउटै कोठामा बस्नु भएकालाई पनि अहिले आइसोलेट गरिएको छ,’ नेपाली सेनाका प्रवक्ता पौड्यालले भने, ‘अब बाँकी यात्रुको पनि पाँच सात दिन पछि परीक्षण गरिन्छ।‘

यसरी ल्याइएका सबै यात्रुको पीसीआर परीक्षण पछि मात्र घर पठाइने नागरिक उड्ययन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिए।

‘हामीले परीक्षण गरेकालाई मात्र ल्याउन भनेका थियौं। कम्पनीले मिसाएर ल्यायो,’ उनले भने, ‘आएका यात्रुमा कोभिड-१९ को केस देखिएपछि प्रोटोकल अनुसार सबै यात्रुको परीक्षण गर्नुपर्छ। खर्च विमान कम्पनीले ब्यहोर्नुपर्छ।’

यसरी आरटी-पीसीआर परीक्षण नगराएका, आरटी-पीसीआर पोजेटिभ भएका वा नेपाल सरकारले जारी गरेका अन्य शर्त वा आदेश पूरा नगरे वायु सेवा संस्थालाई प्रचलित कानुन बमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कारवाही गर्ने मन्त्रालयले जारी गरेको शर्तमा उल्लेख छ। त्यसरी ल्याएका यात्रुको खर्चसमेत वायु सेवाले नै ब्यहोर्नुपर्ने उल्लेख छ।

विमान कम्पनीलाई कारवाही के गर्ने भन्ने बारे नागरिक उड्डयन प्राधिकरणलाई जिम्मेवारी दिएको मन्त्रालयका प्रवक्ता भट्टराईले जानकारी दिए।

यो पनि:

नेपाल एयरलाइन्सको एउटा गम्भिर भूल जसले पुर्‍यायो २ सय ११ जना कोभिड-१९ नेगेटिभ भएकालाई क्वारेन्टाइन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell