PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भक्तपुरमा तीन जनाको शंकास्पद मृत्यु : घटनास्थल पुगेका वडाध्यक्ष भन्छन, 'शव गनाएर हेर्नै सकिएन'



पहिलोपोस्ट

भक्तपुरमा तीन जनाको शंकास्पद मृत्यु : घटनास्थल पुगेका वडाध्यक्ष भन्छन, 'शव गनाएर हेर्नै सकिएन'

काठमाडौँः भक्तपुरमा एक घरभित्र तीन जनाको शव फेला परेको छ। मध्यपुर थिमि नगरपालिका ९ स्थित निकोसेरा भन्ने ठाउँमा घरभित्र एकै परिवारका तीन जनाको शव फेला परेको हो। साँझ करिब ५ बजेतिर घरभित्र तीन जना मृत अवस्थामा देखेपछि आफन्त र स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

साढे तीन तलाको घरभित्र प्रत्येक तलामा रहेको कोठामा श्रीमान-श्रीमती र उनीहरुको छोराको शव फेला परेको थियो।

घरमा ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया पत्नी सम्झना अधिकारी र १५ वर्षका छोरा मृत अवस्थामा फेला परेका हुन्।

'शवको प्रकृति हेर्दा उनीहरुको मृत्यु केही दिनअघि नै भएको देखिएको छ। शव गन्हाउने अवस्थामा छ।' पहिलो तलमा महिलाको शव थियो। एकदमै गन्हाउने। शरीर फुलेको थियो।' मध्यपुर थिमि नगरपालिका ९ का वडाध्यक्ष रामकाजी चक्रधरले भने।

त्यस्तै घरमा पालेको सेतो रंगको कुकुर पनि मरेको अवस्थामा फेला परेको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। अहिलेसम्म घटना हत्या वा के हो भन्ने खुलिसकेको छैन। तर घटना शंकास्पद भएको महानगरीय प्रहरी अपराध अनसन्धान महाशाखाका एसएसपी दीपक थापा बताउँछन्।

'अनुसन्धान भर्खर सुरु भएको छ। केही भन्ने अवस्था छैन । घटना शंकास्पद रहेको देखिन्छ', एसएसपी थापाले भने।

उनीहरुको पुर्खौली घर भने सोही नगरपालिकाको वडा नम्वर ६ मा पर्ने चक्रधरले बताए।

'उहाँहरु घर बनाएर यहाँ सर्नु भएको हो। आज आफन्तले मासु पुर्‍याउन जाँदा मृत देखेपछि प्रहरीलाई खबर गरेको जानकारी पाएँ', चक्रधरले भने।

घटनाको अनुसन्धान गर्न महानगरीय अपराध अनुसन्धान महाशाखा, केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) को टोली समेत परिचालन गरिएको छ। प्रहरीले घटनाको प्राविधिकदेखि अन्य पक्षबाट अनुसन्धान सुरु गरिसकेको जनाएको छ।

सम्बन्धित समाचार-

भक्तपुरमा घरभित्र एकै परिवारका तीन जनाको शव फेला, घरमा पालिएको कुकुर पनि मरेको अवस्थामा भेटियो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell