PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

ओली - प्रचण्डको झगडा : शुरु विधि पद्धति भन्दै, मिलन चाहिँ पदीय भागबण्डामा



प्रकाश भण्डारी

ओली - प्रचण्डको झगडा : शुरु विधि पद्धति भन्दै, मिलन चाहिँ पदीय भागबण्डामा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र केपी ओली पुनर्मिलनको अवस्थामा छन्। उनीहरुका पछिल्ला ६ महिना कटुतापूर्ण रहेको थियो।

'लभ हेट' रिलेसनमा रहेका प्रचण्ड-ओलीका लागि यो नौलो कुरा भने होइन। आरोप प्रत्यारोपदेखि एक अर्काविरुद्ध षड्यन्त्र गर्न खप्पिस् 'नेकपा जेट'का दुई पाइलटको सम्बन्धले एमाले माओवादी एकतापछि बनेको पार्टीको भविष्यमाथि समेत प्रश्न उठ्ने गरेको छ।

ओली-प्रचण्ड सम्बन्ध सुधारका कारण फुटोन्मुख पार्टीमा अहिलेका लागि लगभग फेरि विवाद साम्य भएको छ। विधि पद्धतिको नाममा सुरु भएको किचलो भागबण्डामा गएर टुंगिएसँगै यो विवाद साम्य भएको हो। कुनै बेला दुई फरकफरक पार्टीको बागडोर सम्हाल्ने दुईबीच अनेकन विषयषमा छेडछाड चल्थ्यो। जुँगामा ताउ लाउने विषयमा चर्काचर्की पर्थ्यो। यस्तो स्वभावका ओली प्रचण्ड नजिकिएपछि माओवादी र एमाले एकता सम्भव भएको थियो। एकतापछि पनि उनीहरुको सम्बन्ध बेलाबेला चिसो हुँदा पार्टी एकतामा प्रश्न उठ्ने गरेका छन्।

सुरु विधि पद्धतिबाट

वैशाख ८ मा ओलीले अध्यादेश ल्याएपछि नेकपामा उनी इतरका नेताहरुले विधि पद्धति मिचेको, पार्टीमा सल्लाह नगरेको आरोप लगाउँदै उनीविरुद्ध मोर्चा बनाए। सचिवालयका ९ सदस्यमध्ये ६ जना ओलीको विपक्षमा उभिए। ओलीविरोधी मोर्चा बलियो देखियो। प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले उनलाई सरकारबाट हटाउनेसम्मको रणनीति बनाए। संसदीय दलमा बहुमत देखाउन बालुवाटार र खुमलटारमा सांसदहरुको हस्ताक्षर अभियान नै सुरु भयो।

पार्टी विधानमा रहेको एक व्यक्ति एक मुख्य जिम्मेवारी ओलीले मिचेको प्रचण्ड-नेपाल गुटको आरोप थियो। उनीहरुको बटमलाइन थियो - पार्टीको विधान यथाशीघ्र मानिनुपर्छ। २० जना स्थायी कमिटी सदस्यले ओलीले राजिनामा दिनुपर्ने भन्दै हस्ताक्षर नै गरे, स्थायी कमिटी बैठकको माग गर्दै।

तर पाँच महिनाअघि सरकरको समीक्षा गर्नुपर्ने भन्दै सुरु भएको नेकपाको रडाको हाल भने सरकारको समीक्षा गर्न तयार छैन। सहमतिका लागि तयार पारिएको खाकामा पनि सरकारको समीक्षा महाधिवेशनअघि मात्रै हुने उल्लेख छ। बरु एकतालाई असर पर्ने गरी पार्टी अनुशासन उल्लंघन गर्दै सामाजिक सञ्जालमा टिप्पणी गरेको भन्दै ओली प्रचण्डले नेताहरुलाई सामाजिक सञ्जालमा गरिने टिप्पणीमा अंकुश लगाउने प्रस्ताव गरे। उक्त प्रस्ताव स्थायी कमिटिबाट शुक्रवार पारित भइसकेको छ।

हाल विवाद सकिएको बताउने प्रचण्ड भागबण्डा नमिलेसम्म ओलीसँग मिल्न तयार भएनन्। यति सम्मकी ओली-प्रचण्डको बोलचालसमेत बन्द भएपछि दोस्रो तहका नेताहरु अघि बढेर वार्ताका लागि पहल गर्नुपरेको थियो। भागबण्डाको हिसाब नमिलेकैले प्रचण्डले सहमतिको खाकाले आफ्ना भूमिकालाई प्रष्ट नबनाएको भन्दै प्रस्तावमा कार्यकारी अध्यक्षको जिम्मेवारी रहने बुँदा घुसाएका थिए।

ओली टसमस भएनन्, प्रचण्डले थाले बार्गेनिङ

प्रचण्ड निकट मानिने एक नेताका अनुसार प्रचण्डको एउटै असन्तुष्टि आफूलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको र त्यो पालना नभएको भन्नेमा थियो। तर त्यसका लागि लड्न उनी एक्लैले मात्रै ओलीसँग नसक्ने भएपछि उनले वरिष्ठ नेता नेपालसँग सहकार्य गरेको नेकपाकै एक नेता बताउँछन्। 'पावर सेयरिङकै लागि थियो। बाहिर विधि पद्धति भनियो,' ती नेताले भने। वैशाख १७ गतेको सचिवालय बैठकमा आत्मलोचनाका लागि तयार भएका ओली २० गतेको सचिवालयमा भने यु टर्न भए। कारण थियो- उपाध्यक्ष बामदेव गौतमको गुट परिवर्तन।

वामदेवलाई प्रधानमन्त्री बनाइदिने आश्वासनपछि ओलीले प्रचण्ड-नेपाललाई आफूलाई पदबाट हटाउन चुनौति दिए। तर वामदेव धेरै समय ओलीको साथमा रहेनन्। असार १० मा सुरु भएको स्थायी कमिटी बैठकमा गौतमले नै ओलीविरुद्ध चर्को आवाज उठाए। तर ओलीले आफ्नो अडान फेरेनन्। बरु उनले आफूलाई पदबाट हटाउन खोजे पार्टी फुटाउने चेतावनी दिए। ओली निकट नेता सुवास नेम्वाङले महाधिवेन सम्म पार्टी एकता प्रक्रिया नै नटुंगिएकाले ओलीलाई दुई मध्ये एक पदबाट हटाउन सम्भव नभएको बताएका थिए। उनले बरु नेतृत्वले पुराना सम्झौताको पालना गर्ने संकेत गरे। नेम्वाङले भने झैं हाल नेकपाको विवाद ओलीको दुई पद सुरक्षित भएरै मिलेको छ। ओलीले पदबाट आफू हट्न सम्भव नै नभएको ढिपी गरेपछि प्रचण्डले ओलीसँगको एक्ला एक्लै तथा समूहगत वार्तामा पनि पुराना सम्झौता पालना नभएकोले अब नयाँ शिराबाट सम्झौता गर्नुपर्ने अडान अघि सारेका थिए। यसै अनुसार अर्ली महाधिवेशन गरेर प्रचण्डलाई अध्यक्षमा सघाउने साउन ३ मा गोप्य खाका बनेकोमा शीतल निवासमा सहमति गर्दा भने प्रचण्ड पछि हटेका थिए।

ओली प्रचण्डको भागबण्डा मिल्दा नेपाल असन्तुष्ट

ओली प्रचण्डले तयार पार्न लगाएको सहमतिको प्रस्तावलाई लिएर वरिष्ठ नेता नेपालले भने असन्तुष्टि जनाएका छन्। उनले भदौ २६ को स्थायी कमिटी र १८ गतेको सचिवालय बैठकमा १५ बुँदे असन्तुष्टि नेपालले राखेका थिए। एक व्यक्ति, एक मुख्य जिम्मेवारीको मुद्दा नसमेटिएको भन्दै नेपालले असन्तुष्टि जनाएका हुन्। उनले परिमार्जनपछि मात्रै सहमतिको प्रस्ताव पारित गर्नुपर्ने धारणा राखेका थिए। यसअघि पनि नेपाल ओली प्रचण्डको भेटबाट सशंकित हुने गरेका थिए। साउन ३० मा कार्यदल गठन हुँदा पनि नेपालले असन्तुष्टि जनाएका थिए भने साउन ३ मा पनि ओली प्रचण्डको गोप्य सहमतिमा नेपालले साथ नदिने देखेपछि प्रचण्डले सहमति नै नभएको भन्दै खण्डन गरेका थिए। कार्यदल गठन गर्दा पनि नेपालको असन्तुष्टि समेटनकै लागि उनी निकट दुई जना नेता भीम रावल र सुरेन्द्र पाण्डेलाई राखिएको थियो।

ओली प्रचण्ड मिलेको प्रचार

महिनौं लामो झगडा नेता कार्यकर्ता हुदै स्थानीय स्तरमै पुगेको भए पनि ओलीले एपी वान टेलिभजनको एक कार्यक्रममा साउन २९ मा प्रचण्डसँगको झगडा मिलेको बताए। उनले ५ दिनको काउन्टडाउन समेत दिए। त्यसैको पछिल्लो दिन साउन ३० गते विवाद समाधानका लागि कार्यदल गठन भएको थियो। सोही कार्यक्रममा भदौ ३ गते प्रचण्डले आफ्नो ओलीसँग धेरै विषयमा कुराकानी भएर सहमति भइसकेको जानकारी दिए।

उनले थुप्रै विषयमा सहमति भएको संकेतसमेत गरेका छन्। त्यसयता ओली र प्रचण्ड गुटका नेताहरु अब विवाद सकिएको भन्दै त्यसैको प्रचारमा लागेका छन्। भदौ २६ को स्थायी कमिटी वैठक अघि बिहान प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि ओली प्रचण्डको झगडा सकिएको भन्दै स्टाटस् लेखेका थिए। फागुनदेखि सुरु भएको विवाद नै समाधान भएको थापाको दाबी छ।

'फागुन यता विभिन्न रूपमा देखा परेको दाउपेचयुक्त विवाद समाधान भएर केन्द्रीय सचिवालय र स्थायी कमिटी बैठकको निर्णयअनुरूप पुन: दुई अध्यक्षको समझदारीमा फर्केको छ,' उनले लेखेका छन्।

पार्टी एकतादेखिको प्रचण्डको बार्गेनिङ अब के होला?

नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा एकता भएको घोषणा भयो। २०७४ फागुन ७ मै एकीकरण भएको भए पनि प्रचण्डको पार्टीमा कुन भुमिका हुने भन्ने विवादले एकता घोषणा सभा हुन सकेको थिएन। तर जेठ २ मा ओली प्रचण्डबीच गोप्य सहमति भएपछि भने जेठ ३ मा घोषणा सभा भएको थियो। गोप्य सहमतिमा पालैपालो सरकार चलाउने सहमति थियो। तर ओलीले सहमतिको पालना नगरेको भन्दै प्रचण्डले असन्तुष्टि जनाउन थालेपछि भने २०७६ मंसिर ४ मा अर्को सहमति भएको थियो-प्रचण्ड कार्यकारी अध्यक्ष र ओली ५ वर्ष नै प्रधानमन्त्री हुने।

तर त्यो सहमतिको पनि पालन नभएपछि भने प्रचण्ड चिढिएका थिए। उनले चैत २७ गते एक टेलिभिजन कार्यक्रममा उच्चस्तरीय राजनीतिक संयन्त्रको माग गरेको जानकारी दिएका थिए। तर पछि ओलीले ठाडै अस्वीकार गरेपछि भने प्रचण्ड आफ्ना एजेण्डाबाट पछि हटेका थिए। लामो समयदेखि ओलीसँग असन्तुष्ट रहँदै आएका प्रचण्डका लागि ओलीले वैशाख ८ मा राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि भने गतिलो मसला बनेको थियो। त्यसयता लगातार ओलीमाथि दबाव कायम गरेका प्रचण्डले पछिल्लो समय भने पार्टीभित्रको विवाद भागबण्डामा टुंग्याएका छन्। वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने र अर्थमन्त्री युवराज खतिवडालाई बिदाई गरेर पार्टीभित्रको भागबण्डा मिलाउने पहल सुरु भइसकेको छ। माधव नेपाललाई साथमा लिएर ओली माथि दबाव कायम गर्न सफल बनेका प्रचण्ड पछिल्लो समय भने माधव नेपाल रुष्ट बनेपछि ओलीसँगै हात मिलाएर अघि बढ्ने मनस्थितिमा पुगेका छन्। ओली-प्रचण्डबीच देखाउने एउटा सम्झौता र भित्र अर्कै सम्झौता भएको नेकपाका नेताहरुले बताएका छन्।

योसँगै दुई अध्यक्षको चोचोमोचो मिलेरमात्र हुँदैन भनी घुर्क्याउँदै प्रचण्डलाई साथ दिने नेपालले के गर्लान्? यो हेर्न बाँकी नै छ भने प्रचण्डले नेपालसँग कस्तो सम्बन्ध बनाउलन् त्यो पनि हेर्न बाँकी नै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell