PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

पेरिसडाँडामा बस्ने भनिएको नेकपा सचिवालय बैठक अब बालुवाटारमा, आजका लागि बोलाइएको बैठक किन भयो स्थगित?



प्रकाश भण्डारी

पेरिसडाँडामा बस्ने भनिएको नेकपा सचिवालय बैठक अब बालुवाटारमा, आजका लागि बोलाइएको बैठक किन भयो स्थगित?
आइतवार पेरिसडाँडामा बसेको नेकपा सचिवालय बैठक। फोटो : गंगा दाहाल

काठमाडौं:  सोमवारका लागि बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंगलवारसम्मका लागि स्थगित भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो।

आइतवार सुरु भएको बैठक चार एजेन्डा तय गर्दै आजका लागि बोलाइएको थियो। तर आज बोलाइएको बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। अबको बैठक मंगलवार दिउँसो १२: ३० बजे बालुवाटारमा बस्ने उनले जानकारी दिएका छन्।

नेकपाको लामो समयको आन्तरिक किचलो साम्य भएपछि पहिलोपटक पेरिसडाँडामा बैठक सुरु भएको थियो। यसअघि असोज २ गतेका लागि बोलाइएको बैठक पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको व्यस्तताका कारण ४ गतेका लागि सारिएको थियो।

के कारण स्थगित भयो बैठक?

पूर्व माओवादीको केन्द्रीय कार्यालय हो हालको पेरिसडाँडाको पार्टी कार्यालय। पार्टी एकतापछि पनि पेरिसडाँडाको कार्यालयमा जान ओली अनिच्छुक थिए। यद्यपि एकीकरण पछि भने ओली पेरिसडाँडामा देखिएका थिए। उनी पार्टी विवाद समाधान भएपछि पेरिसडाँडामा सचिवालय बैठक राख्न सहमत भएका थिए।

सोमवारका लागि बोलाइएको बैठक स्थगित के कारणले भएको हो भन्नेबारे आफूलाई कुनै जानकारी नभएको प्रवक्ता श्रेष्ठले बताए। दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डको सल्लाहमा बैठक स्थगित भएको उनले बताए। 'दुई अध्यक्षको सहमतिमा बैठक स्थगित भएको हो। के कारणले हो मलाई थाहा भएन,' श्रेष्ठले भने।

के थिए एजेन्डा?

आइतवारको बैठकमा मन्त्रिपरिषद पुनर्गठन र मन्त्री फेर्दाको मापदण्ड कस्तो बनाउने भन्ने विषयमा छलफल भयो। तर बैठक कुनै निष्कर्षमा भने पुग्न सकेन। कसलाई मन्त्री बनाउने र कसलाई मन्त्रीमण्डलबाट बिदा गर्ने भन्ने विषयमा पनि तय भइनसकेको नेकपाका नेताहरुले बताएका छन्।

तर आइतवारको बैठकले चार एजेण्डा भने तय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक आयोगमा नियुक्ति, पार्टी एकताका बाँकी काम र विविध गरी चार एजेण्डा नेकपाले तय गरेको हो।

के छ ओली प्रचण्डको विचार?

आइतवारको सचिवालय बैठकमा सबै मन्त्री फेर्ने विषयमा छलफल भए पनि ओली भने सबै मन्त्री फेर्ने विचारमा नरहेको बताइएको छ। मन्त्रीको कार्यसम्पादनका आधारमा मन्त्रिपरिषद पुनर्गठन गर्न ओली प्रचण्ड सहमत भएको सचिवालय सदस्यले बताएका छन्।

दुई वर्ष पुरा गरेका मन्त्रीलाई विदाइ गर्ने विषयमा पनि छलफल भइरहेको छ। नेकपाको आन्तरिक विवाद मिलाउन मन्त्रिपरिषदको पुनर्गठन गर्न लागिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell