PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

हुम्लामा भेटिएन हराएको सीमा पिल्लर, सिडिओलाई नक्सा देखाएरै चिनियाँ पक्षले भवन बनाएको भूमिमा गर्‍यो आफ्नो दाबी



कमलराज भट्ट

हुम्लामा भेटिएन हराएको सीमा पिल्लर, सिडिओलाई नक्सा देखाएरै चिनियाँ पक्षले भवन बनाएको भूमिमा गर्‍यो आफ्नो दाबी

काठमाडौं : पिल्लर हराएको हुम्लाको सीमा क्षेत्रमा चीनले दाबी गरेको छ। १३ वर्षदेखि हराइरहेको नेपाल चीन ११ नम्बर सीमा स्तम्भ भएको क्षेत्रमा एकतर्फी रुपमा भवन बनाएको चीनले नक्सा देखाएरै सो क्षेत्र आफ्नो रहेको दाबी गरेको हो। 

हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ स्थित लिमी गाउँको लाप्चा क्षेत्रमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाएपछि स्थलगत निरीक्षणका लागि शनिवार प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरिको नेतृत्वमा संयुक्त सुरक्षा टोली त्यसतर्फ गएको थियो। भवन बनाएको क्षेत्र ५१ सय मिटर उचाइँमा छ।

सिडिओको टोलीलाई चिनियाँ पक्षले नक्साअनुसार भवन बनाएको भूमि चीनकै भएको बताउँदै नक्सा समेत देखाएको टोलीका सदस्य एवं नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु लामाले जानकारी दिए। उनका अनुसार नेपाली पक्षलाई भेट्न सीमामा पीपीई लगाएर २५ जनाको चिनियाँ टोली आएको थियो।

अध्यक्ष लामा सोमवार गाउँपालिका कार्यालय फर्किसकेका छन्। सिडिओ गिरिको नेतृत्वमा जिल्लाका सशस्त्र प्रहरी प्रमुख डीएसपी मोहन विष्ट, नेपाल प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका अधिकारीसहितको टोली भने लाप्चाबाट सीमा निरीक्षणका लागि हिल्सातिर लागेको छ।

चिनियाँ पक्षले सीमामा एकतर्फी भवन बनाएको जानकारी आएपछि सिडिओको नेतृत्वको टोली पिल्लर अनुगमन तथा हराएको ११ नम्बर पिल्लरको अवस्थाबारे बुझ्न सीमा स्थलतर्फ गएको थियो। यसबारेमा चिनियाँ अधिकारीलाई पनि खबर गरिएको थियो। तर, न त पिल्लर भेटियो, न राम्रोसँग कुरा नै भयो।

गाउँपालिका अध्यक्ष लामाले चिनियाँ पक्षले उक्त भवन व्यापारिक प्रयोजनका लागि बनाएको जानकारी दिएको बताए। ‘मैले सोधेको थिएँ। व्यापारिक प्रयोजनका लागि बनाएको भने। चिनियाँ सरकारले नै बनाएको हो। सीमामा तिब्बतीहरुले प्रयोग गर्छन्,’ उनले भने।

चिनियाँहरुले नक्साका आधारमा सो क्षेत्र आफ्नो भएको दाबी गरेको र ११ नम्बर पिल्लर नभेटिँदा आफूहरुले केही भन्न नसकेको उनले सुनाए।

‘उनीहरुले हाम्रै नक्सामा पर्छ भने। नक्सा पनि देखाए। भवन निर्माण क्षेत्र पनि हाम्रै हो भने,’ अध्यक्ष लामाले भने, ‘पिल्लर नभेटिँदा हामीले बोल्ने आधार नै रहेन। चिनियाँको कुरा सुन्यौं र सो क्षेत्रको निरीक्षण गरेर फर्कियौं।’  

पिल्‍लर नभेटिँदा विवाद

यहाँको ११ नम्बर पिल्लर हराएको २०६४ सालमै हो। दायाँ भेगमा एक घण्टाको दुरीमा १२ नम्बर पिल्लर छ। यी पिल्लरहरु विक्रम सम्वत् २०१९ सालमा बनेको हो। ११ नम्बर पिल्लर कहाँनेर थियो भन्ने कसैलाई थाहा छैन। लाप्चा क्षेत्र शून्य पहुँच छ। सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरीको पनि उपस्थिति छैन।

गाउँपालिका अध्यक्ष लामाले लाप्चा क्षेत्रमा राज्यको नजर नै नपुगेर बेवारिसे अवस्थामा रहेको गुनासो गरे। ’हाम्रो शून्य पहुँच छ। बेवारिसे छ। ११ नम्बर पिल्लरको खोजी हुनुपर्‍यो। गाउँपालिकाले सक्ने होइन राज्यले गर्नुपर्‍यो,’ उनले भने। उनले लाप्चामा सशस्त्रको बीओपी स्थापना हुनुपर्ने माग पनि गरे।

१२ नम्बर पिल्लरका आधारमा सो भूमि नेपालकै हो वा चीनको भनेर भन्न नसकिने अध्यक्ष लामाको भनाई छ। ‘चाइनिजले घर बनाएको ठाउँ कसको एकीन गर्ने अवस्था छैन। कुन ठाउँमा पिल्लर छ भन्ने पनि स्पष्ट छैन। १२ नम्बरका आधारमा मार्किङ गर्ने आधार छैन। दुबैले मेरो नै हो भन्ने अवस्था छैन,’ उनी भन्छन्, ‘११ नम्बर स्तम्भ नभेटिएसम्म जे आर मार्किङ गर्न सकिँदैन। किनकि सीमा लाइन कहिले सिधा, कहिले घुमाउरो हुन्छ। १२ नम्बरकै आधारमा ठम्याउन सकिएन।’

अध्यक्ष लामा ११ नम्बर पिल्लर खोज्न र चिनियाँ भवन निर्माणको विवाद सुल्झाउने काम राज्यले गर्नुपर्ने आफूहरुको धारणा रहेको बताउँछन्।

नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेका अनुसार लाप्चा क्षेत्रमा चिनियाँ पक्षले ९ वटा भवन बनाएको छ। जसको स्थानीयले विरोध गरेका छन्। उनीहरुले उक्त भूमि नेपालकै भएको बताउँदै आएका छन्। तर पिल्लर हराउँदा नेपाली अधिकारीहरुले चिनियाँसँग स्पष्ट रुपमा ‘डिल’ गर्न सकेका छैनन्।

लिमी–लाप्चा सडक बनाउने क्रममा २०६६ सालमै पनि चिनियाँ पक्षले पशु उपचारका लागि भन्दै लाप्चामै केही भवन निर्माण गरेको थियो। स्थानीयको विरोधपछि रोकिएको निर्माण कार्य अहिले फेरि अगाडि बढेपछि विवाद देखिएको हो। भवन निर्माण भएको ठाउँमा चिनियाँले स्थानीयलाई भने जान दिएका छैनन्।

सिडिओ र सुरक्षा अधिकारीहरुको लेभलमा २०७२ सालमा सम्पन्न नेपाल(चीन सीमा बैठकमा पनि चिनियाँ पक्षद्वारा एकलौटी रुपमा निर्मित भवनबारे अनौपचारिक रुपमा कुरा उठेको थियो। त्यतिबेला चिनियाँ अधिकारीहरुले ‘तपाईहरुको गाइवस्तु रोगी हुन्छ। सीमा पार गरेर हाम्रोतिर आउँछ। रोग सार्दा हाम्रो वस्तुभाउ पनि रोगी हुन्छ। त्यहीँ भएर दुबै देशका पशुको उपचारका लागि बनाइएको’ भन्ने तर्क गरेका थिए।

सम्बन्धित समाचार

पिल्लर हराएको हुम्लाको विवादित भूमिमा चिनियाँ भवन, नापीसहित सिडिओको टोली लाप्चामा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell